भर्खरै :

राष्ट्रिय धान दिवस र दही चिउरा : कृषकहरूको श्रम र सम्मानसँग जोडिएको उत्सव

  • असार १४, २०८२
  • श्रीराम श्रेष्ठ
  • विचार
राष्ट्रिय धान दिवस र दही चिउरा : कृषकहरूको श्रम र सम्मानसँग जोडिएको उत्सव

नेपाल कृषिप्रधान देश हो । नेपालको अर्थतन्त्र कृषि क्षेत्रमा आधारित छ । नेपालको करिब ६५ प्रतिशत जनसङ्ख्या खेतीपाती, पशुपालन र कृषि पेसासँग सम्बन्धित छ । हिमाल, पहाड र तराई गरी तीन भौगोलिक संरचनामा आधारित कृषि प्रणालीले नेपाललाई कृषिप्रधान देशको रूपमा परिचित गराएको छ । नेपालमा हिमालदेखि तराईसम्म विविध किसिमको अन्नबाली उत्पादन हुन्छ  ।
नेपाली समाजको पुरानो, संस्कृति असार १५ गते दही चिउरा खाने र राष्ट्रिय धान दिवस मनाउने प्रचलन छ । यो चलन कृषिप्रधान समाजमा रोपाइँको समयमा किसानहरूको श्रम, सामूहिकता र उत्सवलाई जोडेर भएको मानिन्छ । असार महिनामा वर्षा अधिक हुने, खेतमा रोपाइँको चटारो हुने र मानिसहरू थकित हुने समय हो । यस्तो समयमा सजिलोसँग पाइने तथा सजिलै पचाउने र शरीरलाई ऊर्जा दिने परिकारको रूपमा दही चिउरा निकै उपयुक्त मानिएको छ ।
दही चिउरा परिकार मात्र होइन, यसमा शारीरिक, सांस्कृतिक र धार्मिक मूल्य पनि गहिरो रूपमा जोडिएका छ । दहीलाई शीतल, शुद्धताको रूप मानिन्छ भने चिउरा परिश्रमपछि तत्काल ऊर्जा दिने परिकार हो । हिन्दू धर्मशास्त्रअनुसार दही शुभता, चित्त शुद्धि र आरोग्यको प्रतीक हो । चिउरा कृषि उत्पादनको प्रतिफलको रूप हो । दहीमा पाइने लाक्टोबेसिलस नामक जीवाणु पेटको पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीले कब्जियत, अपचजस्ता समस्याबाट जोगाउँछ । दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘बी’ जस्ता पोषक तत्व प्रशस्त पाइन्छ । चिउरा सजिलै पच्ने, छिटो ऊर्जामा रूपान्तरण हुने र पेट भरिने आहार हो । लगातार खेतको हिलो, पानी र परिश्रमले थकित भएका किसानहरूलाई रोग प्रतिरोधी शक्ति बढाउन दही–चिउरा लाभदायक हुन्छ । गर्मीमा पसिना धेरै आउने हुँदा दही–चिउरा खानाले शरीरलाई हाइड्रेट राख्ने प्राकृतिक उपाय पनि हो । दही–चिउरा खाने चलनले खेतीपातीको सुरुवात, वर्षाको स्वागत र उत्पादनप्रतिको आशाको रूपमा धार्मिक आस्था पनि बोकेको छ ।
कृषिमा सक्रिय नेपाली समाजले परिश्रमको बेला उत्सव मनाउँदै, खानेकुरालाई अवसरसँग जोड्ने परम्परा बनाएको छ । दही चिउरा खाने चलन कृषिप्रति सम्मान, सामूहिक श्रमको कदर, र सकारात्मक ऊर्जा प्रदान गर्ने सामाजिक अभ्यास हो ।
कृषि हाम्रो संस्कृति, सभ्यता र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । परम्परागत कृषि प्रणालीलाई कृषिमा लगानी, वैज्ञानिक प्रविधि र नीतिगत सुधार उन्नत बीउबिजन, सिँचाइ सुविधा, कृषिमा प्रविधिको प्रयोग र वैज्ञानिक खेती प्रणाली अपनाएर कृषिलाई आधुनिक व्यवसायको रूपमा कृषिलाई देश समृद्धिको आधार बनाउनु आवश्यक छ ।
समाजमा एउटा पुरानो भनाइ छ, यो समय भनेको ‘मानो खाएर मुरी’ उब्जाउने समय हो । नेपाली समाजमा असारे चटारोको बेग्लै महत्व छ । खासगरी किसानका घरआँगनमा असारे व्यस्तता प्रस्टै देख्न सकिन्छ । किसानहरू मकै बाली भित्याउने र खेतलाई मलिलो बनाउने, बुट्यानहरू हटाई धान रोप्ने चटारोले किसानको भोक,तिर्खा कृषि कर्मतिरै बित्छ । कतिपय ठाउँमा गोरुले र कतिपय ठाउँमा ट्याक्टरले खेत खन्ने र खेत हिल्याएर धान रोप्न खेतका गरामा अझै रोपाहार नै देखिन्छन् । असारे झरीमा घुम, छाटा ओढेर बाउसेले खेतका छेउकुना खनेकै भेटिन्छन् ।
सिँचाइको पूर्ण सुविधा पुगेको पहाडी भेगमा जेठको पहिलो सातादेखि र तराईमा साउन पहिलो सातादेखि धान रोप्न सुरु हुन्छ । विसं २०६१ सालदेखि नेपाल सरकारले हरेक वर्ष असार १५ गते धान दिवस मनाउने निर्णय गरेको हो । २०६२ यता हरेक वर्ष धान दिवसलाई सरकारीस्तरमै निरन्तरता दिइएको छ ।
धान नेपालको मुख्य खाद्यबाली हो किनकि नेपालमा उपभोग हुने कुल खाद्य कृषिबालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ । धान नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि हो किनकि नेपालको कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब ५५ प्रतिशत छ । कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमध्ये धानको योगदान करिब २० प्रतिशत छ ।
नेपालका अधिकांश सांस्कृतिक चाडपर्व धान बालीसँग गाँसिएका छन् । नेवार समुदायमा मनाइने म्हपूजा, किजापूजा, लक्ष्मीपूजालगायत कतिपय पूजाआजा तथा चाडपर्वमा धान अति आवश्यक हुन्छ । उपभोगका लागि मात्रै नभएर, पितृ तथा देवदेवतालाई प्रसादका रूपमा चढाउन धानकै परिकारको प्रयोग गर्ने प्रचलन छ । जन्म संस्कारदेखि न्वारान, व्रतबन्ध, विवाह, मृत्यु, धर्म, संस्कृति, चाडपर्वलगायत अन्य संस्कारसम्म समेत धानको प्रयोग गर्ने कतिपय समुदाय अझै छ । नेपालका धेरैजसो चाडपर्व धानको बीउ राख्ने बेला लगत्तै सुरु भई धान भित्याउने अवधिभित्र मनाइन्छ ।
तुलसीको बिरुवा रोप्ने एकादशीलगत्तै केही समुदायका कृषकहरूले धानको ब्याड राख्न थाल्दछन् । त्यसको करिब २० देखि ३० दिन सम्म उक्त धानका बिरुवा रोप्नको लागि तयार हुन्छ । पछिल्ला केही दशकदेखि भने सिँचाइ तथा हावापानी अनुकूल भएको ठाउँमा धान रोपाइँको निश्चित समयतालिका छैन । धान रोपेको करिब ५–६ महिनाभित्रमा धान पाकिसकेको हुन्छ  । तुलसीको विवाह गर्ने एकादशीको भोलिपल्ट विशेष पूजाआजासाथ नयाँ धान भित्याउने धार्मिक प्रचलन अझै अधिकांश समुदायमा छ ।
धान प्रमुख अन्नबाली भएकोले यसको उत्पादन, प्रवद्र्धन र कृषकको योगदानको सम्मानस्वरूप नेपाल सरकारले ‘धान दिवस’ को मनाउन थालेको हो । यस दिवसको मुख्य उद्देश्य कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नु, परम्परागत खेती प्रणालीमा सुधार ल्याउनु र कृषकहरूलाई वैज्ञानिक तथा व्यावसायिक कृषि पद्धतितर्फ प्रेरित गर्नु हो । यस दिवसमार्फत कृषकको श्रमको सम्मान गर्दै उनीहरूलाई उच्च मनोबल प्रदान गर्ने प्रयास गरिन्छ । सामूहिक रोपाइँ, माटोमा खेल्ने परम्परा, गीत सङ्गीत आदिको माध्यमबाट समुदायमा एकता र सहकार्यको भावना बलियो बनाउँछ । अर्कोतर्फ, जलवायु परिवर्तन, बीउको गुणस्तर, सिँचाइको अभाव आदि विषयमा जनचेतना फैलाएर दीगो कृषि प्रणाली विकास गर्ने लक्ष्य लिइएको छ । नेपालले ठूलो मात्रामा धान आयात गरिरहेको वर्तमान परिस्थितिमा आत्मनिर्भरता हासिल गर्न र स्वदेशी उत्पादन बढाउन पनि धान दिवस उपयोगी मानिएको छ । त्यसैले, धान दिवस कृषि, संस्कृति, पर्यावरण तथा आर्थिक समृद्धिको समिश्रित उद्देश्यका साथ राष्ट्रव्यापी रूपमा मनाइन्छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा करिब ११८ जातका रैथाने धान पाइने तथ्याङ्क छ ।
आर्थिक, सामाजिक, भौगोलिक र नीतिगत पक्षसँग गाँसिएका केही विषयले गर्दा धान उत्पादनमा कमी आइरहेको छ । सिँचाइको अभावको कारण धेरै खेतमा वर्षामा भर परेर खेती गर्नुपर्छ, जसले उत्पादनमा अनिश्चितता ल्याउँछ । त्यस्तै, उत्पादन लागत अत्यधिक छ भने प्रतिफल न्यून हुने भएकोले किसानहरू धान खेतीबाट निराश हुँदै गएका छन् । सरकारी रूपमा तोकिएको समर्थन मूल्त्न्दा निकै कम मूल्यमा धान बेच्नुपर्ने बाध्यताले किसानको मनोबल घटेको छ । खेतीयोग्य जमिनमा प्लटिङ र घडेरीकरण हुनाले धान खेतीको क्षेत्रफल सङ्कुचित हुँदै गएको छ । युवाशक्ति वैदेशिक रोजगारमा पलायन भएकाले कृषि श्रमिकको अभाव देखिएको छ । आधुनिक प्रविधि र यान्त्रिकीकरणको कमी, भण्डारणको असुविधा र बजारको अस्थिरताले पनि धान उत्पादनमा नकारात्मक असर पारेका छन् । यी सबै कारणले गर्दा किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भई धान खेतीमा रुचि घट्दै गएको छ, समयमा बीउ, मलखाद, कीटनाशक औषधि, आवश्यक कृषि औजारहरूको व्यवस्था नहुनुले पनि समग्र रूपमा धान उत्पादन घटाएको छ ।
यस किसिमको समस्या वैज्ञानिक रूपमा समाधान गरी धान उत्पादन बढाउन वैज्ञानिक खेती प्रणाली र भूमि बाँडफाँडलाई ध्यान दिनुपर्छ । सिँचाइ सुविधा सबै कृषि योग्य जमिनमा सुनिश्चित गर्नुपर्छ ताकि वर्षामा भर पर्ने खेती प्रणालीबाट किसानलाई मुक्त गराउन सकियोस् । आधुनिक कृषि प्रविधि, यान्त्रिकीकरण र उन्नत बीउ प्रयोगलाई प्रोत्साहन दिई उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने नीति अपनाउनुपर्छ । किसानलाई उचित मूल्य प्राप्त हुने सुनिश्चितता गर्न सरकारको तर्फबाट कडाइका साथ समर्थन मूल्य कार्यान्वयन गरिनुपर्छ । कृषकहरूको श्रमको सम्मान र सुरक्षा गर्दै कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्नेछ, जसले धान उत्पादनसँगै मूल्य अभिवृद्धि पनि गर्नसक्छ । भण्डारण र बिक्रीको उचित व्यवस्था गरी किसानलाई प्रत्यक्ष बजार पहुँच दिनुपर्छ । रैथाने जातको संरक्षण, अनुसन्धान तथा प्रचारमा लगानी आवश्यक छ । यी उपायहरूलाई समन्वयात्मकरूपमा कार्यान्वयन गर्न सकेमा धान उत्पादनमा पुनः वृद्धि ल्याउन सकिन्छ र नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *