भर्खरै :

उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक भयो । गएको वर्षभन्दा यो वर्ष तुलनात्मकरुपमा विद्यार्थी बढी उत्तीर्ण भए । यसलाई सकारात्मक मान्न सकिन्छ । अघिल्लो वर्ष ४८ प्रतिशत उत्तीर्ण भयो भने यो वर्ष ६२ प्रतिशत भयो । यो नतिजा प्रगतिको सूचक भए पनि आशालाग्दो होइन । अझै ३८ प्रतिशत अर्थात् १ लाख ६७ हजार ५ सय ९७ परीक्षार्थी अनुत्तीर्ण भएका छन् । यो अनुत्तीर्ण सङ्ख्या कम होइन । यो प्रगति शिक्षक र विद्यार्थीहरूले मेहनत गरेर भएको हो भने ठिक्कै हो चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङले ‘सन्तोष अध्ययनको शत्रु हो’ भनेझैँ यतिमै सन्तोष हुने होइन; हारेको सिपाही झन् राम्रोसित लड्छ’ भनेझैँ अझ प्रगति गर्नको निम्ति अघि बढ्नुपर्छ; अघि बढ्न हौस्याउनुपर्छ ।
गएको वर्षझैँ यो वर्ष पनि अनुत्तीर्ण हुने अधिकांश विषय गणित र विज्ञान नै रहेको देखिन्छ । सबैभन्दा बढी अनुत्तीर्ण हुने विषय गणित, अङ्ग्रेजी र विज्ञान नै रहेको छ । जुन विषय देशको निम्ति महत्वपूर्ण छ† त्यही विषयमा सबभन्दा बढी अनुत्तीर्ण हुनु चिन्ताको विषय छ । विज्ञान र प्रविधिको यो युगमा गणित र विज्ञानमै विद्यार्थीहरू कमजोर भएपछि अध्ययन र अनुसन्धानमा बाधा पुग्छ र विज्ञान र प्रविधिको विकासमा असर पर्छ । यहाँ रहेका वैज्ञानिकहरूले देशमा कहाँ के कस्ता खनिज या प्राकृतिक स्रोत र साधन छ भन्नेतर्फ खोजीनीति गरिरहेको पाइँदैन । खोजीनीति गर्ने, अध्ययन अनुसन्धान गर्ने अवसर पनि सरकारले दिएको देखिँदैन । अध्ययन र अनुसन्धान नै हुँदैन, त्यसको लागि पर्याप्त बजेट छुट्याइँदैन भने देशमा नयाँ नयाँ आविष्कार कसरी हुन्छ† नयाँ नयाँ सामान उत्पादन कसरी हुन्छ ? अनि समयअनुसार देश कसरी अघि बढ्छ ?
राष्ट्रिय परीक्षा बोर्डका अनुसार गणितमा एक लाख २८ हजार २१५ जना ननग्रेड छन् । अङ्ग्रेजीमा ८०,६७२ र विज्ञानमा ७९२७१ जना अनुत्तीर्ण छन् । नेपाली विषयको सैद्धान्तिक पक्षमा ५४,७३५ जना र सामाजिक शिक्षामा ५३,१८६ जना अनुत्तीर्ण छन् । यसरी गणित, अङ्ग्रेजी र विज्ञानमा बढी किन अनुत्तीर्ण भए सोको राष्ट्रिय परीक्षा बोर्डले समीक्षा गर्नु आवश्यक छ । विज्ञान र गणित विषय बढी किन गाह्रो भयो ? विद्यालयमा गणित र विज्ञानबारे खासै अभ्यास भएन कि ! अभ्यासको निम्ति आवश्यक उपकरण भएन या पुगेन कि ! गुरुले सिकाएको कुरा विद्यार्थीले ग्रहण गर्न सकेन या विद्यार्थीको गणितप्रति रुचि नै भएन ! यसबारे राष्ट्रिय परीक्षा बोर्ड, शिक्षाविद्हरूमाझ मात्र होइन; हरेक विद्यालयका सम्बन्धित शिक्षकहरूले पनि चिन्तनमनन गर्नुपर्ने देखिन्छ ।
परीक्षाको नतिजामा प्रगति हुनु राम्रो हो । अझ राम्रो गर्नुपर्छ† राम्रो गर्न अझ कोसिस गर्नुपर्छ । सम्भवतः यो नतिजा अहिलेसम्मकै बढी प्रतिशत हुनसक्छ । नतिजा राम्रो हुनुमा शिक्षक र विद्यार्थीको मेहनत पनि हुनसक्छ† शिक्षाको अधिकार स्थानीय तहमा गएकोले हुनसक्छ । सिकाइमा सुधार पनि हुनसक्छ । शिक्षाविद् विद्यानाथ कोइराला त कृपामा अङ्क थपियो कि विद्यार्थीकै क्षमता बढाएर पास गराइयो भनी शङ्का व्यक्त गर्छन् । एकै वर्षमा भएको यो प्रगति देखेर सिकाइमा सुधार गरिएको हो कि परीक्षा प्रणाली कमजोर पारियो भन्ने प्रश्न पनि उठाइएको छ । कतै खोलिएका कलेजहरू विद्यार्थी नभएर सुक्न थाल्यो भनेर उत्तीर्ण सङ्ख्या बढाइयो कि भन्ने विचार पनि प्रकट भएको छ । गुणस्तर बढेरै नतिजा राम्रो भएको भए त्यो जाती नै भयो । वास्तविकता जे भने पनि नतिजामा प्रगति भयो, यही राम्रो भयो ।
एसईईको परीक्षामा भएको यो प्रगति कलेज र विश्वविद्यालयमा पनि हुनुपर्छ । माध्यमिक शिक्षा परीक्षामा नतिजा राम्रो भएर कलेजमा जहिल्यै अनुत्तीर्ण हुन्छ भने राम्रो नतिजाको अर्थ लाग्दैन । कति विद्यार्थीहरू चिटिङ गरेर बढी अङ्क प्राप्त गर्छन् । परीक्षाको समयमा विद्यार्थीलाई चिटिङ गर्न छुट दिइयो भने पनि नतिजा सोचेको भन्दा प्रगति हुनसक्छ । चिटिङ गरेर परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूको अङ्क बढी भए पनि पढाइ कमजोर नै हुन्छ । यसकारण, परीक्षाको समयमा चिटिङ गर्ने अवसर विद्यार्थीलाई दिनु हुँदैन; शिक्षक या परीक्षा गार्डले उत्तर भन्नुहुँदैन । उत्तीर्ण विद्यार्थीले आ–आफ्नो रुचि, क्षमता, योग्यताको आधारमा कलेज रोज्नुपर्छ । विद्यालयमा झैँ कलेज र विश्वविद्यालयमा पनि प्रगति गरेर देशको लागि आवश्यक जनशक्ति पूर्ति गर्न सकियोस् । स्वदेशमै अध्ययन गरेर परिवार, समाज, देश र जनताको इमानदारीपूर्वक सेवा गर्नेतर्फ लागोस् । परीक्षामा उत्तीर्ण हुन सफल सबै विद्यार्थीलाई बधाई तथा शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *