सरकार देश र जनताप्रति जिम्मेवार हुनुपर्ने
- असार ११, २०८३
संसद्मा विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व छ । विभिन्न राजनीतिक दलहरू भएको संसद्मा आ–आफ्नो दलको विचार प्रस्तुत गर्नु स्वाभाविक हो; आ–आफ्नो दलको विचार राख्न पाइन्छ । तर, दलको विचार राख्ने नाउँमा, प्रजातान्त्रिक अधिकारको नाउँमा देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पुग्ने, देशलाई दूरगामी असर पार्ने विचार व्यक्त गर्नु उपयुक्त होइन । विकास र आर्थिक सहयोगको लोभमा असमान सन्धि सम्झौता गर्नु हुँदैन; देशघाती, जनघाती निर्णय गर्नुहुँदैन । न्याय, समानता, स्वतन्त्रता र बहुमतको नाउँमा बहुमत जनताको अहितमा कुनै निर्णय र काम गर्नु हुँदैन । यदि हुन्छ भने त्यसको विरोध गर्नुपर्छ† गलत काम र निर्णयको विरोध गरियो भनेर त्यो दल माथि नउठ्ने गरी संविधान संशोधन गर्ने, नेता, कार्यकर्ता तान्ने, पार्टी फुटाउने कार्य गर्नु उचित होइन । यहाँ त पार्टी सङ्गठन फुटाउन पाएपछि, नेता तथा कार्यकर्ता तान्ने र भड्काउन पाएपछि शासकहरू दङ्ग हुन्छन् । त्यसैलाई उनीहरू सङ्गठनको विस्तार मान्छन् । पार्टी सङ्गठन विस्तारको यो भाष्य गलत छ ।
संसद्मा वैचारिक सङ्घर्ष हुनु स्वाभाविक हो; वैचारिक लडाइँ हुन्छ; हुनुपर्छ । तर, वाक् स्वतन्त्रता र विचार स्वतन्त्रताको नाउँमा सांसदले संसद्मा हिलो छ्याप्ने होइन† गाली गर्ने होइन; अशिष्ट व्यवहार गर्ने होइन; आचारसंहिताविपरीत बोल्ने होइन । पद र व्यक्तिको आस्था, विश्वास, इज्जत, प्रतिष्ठाको ख्याल नगरी मनपरी बोल्ने होइन । आक्रोश र आवेशमा विचार व्यक्त गरेर समस्या समाधान हुने होइन; राजनीतिक निकास हुने होइन† दलको कुरा मान्य हुने होइन । रिस थाम्न नसकेर, आक्रोशलाई नियन्त्रण गर्न नसकेर सांसदहरूले बेलाबखत देशको अस्मितामा असर पर्ने, व्यक्तिको इज्जत, आस्थामा चोट पारेको घटना नभएको होइन । यसको कारण गाली बेइज्जति मुद्दा चलेको, भनाभन र घम्साघम्सी भएको घटना पनि संसद्मा नभएको होइन । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद डीपी अ¥याल र नेका सांसद रामहरि खतिवडाबिच आराप–प्रत्यारोप नै भयो । नेका सांसद खतिवडाले शनिबारको बैठकमा सुमिरे टुर्स एन्ड ट्राभल्स १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अरबौँ पैसा कमाएको आरोपको जवाफमा आइतबार डीपी अ¥यालले सुमिरे ट्राभल्स मेरो कम्पनी हो; म चोरेर खाने मान्छे होइन; मेरो कम्पनीबाट एकजना मान्छे भिजिट भिसामा जापान मात्र होइन कुनै देशमा गएको, पैसा लिएको प्रमाण छ भनी पेस गर्न चुनौती दिए । उनले राजनीतिलाई पेसा बनाएर वर्षाैँदेखि देश दोहन गरिरहनेले काम गरेर खानेले चोरेर खानेलाई जवाफ दिँदै हिँड्नुपर्ने ? भनी प्रतिप्रश्न गरे । यसै विषयमा आरोप प्रत्यारोप भयो । सारमा, दुइटै सांसदले अमर्यादित शब्द प्रयोग गरे ।
संसद् वैचारिक सङ्घर्ष गर्ने थलो हो । संसद्मा सिद्धान्त र विचारको सङ्घर्ष हुन्छ । संसद्मा संसद् बहिष्कार गर्न पाइन्छ; रोस्टम घेराउ गर्न पाइन्छ; नियमापत्ति गर्न पाइन्छ । तर, वाक् स्वतन्त्रताको नाउँमा अशिष्ट व्यवहार गर्नु, आमाचकारी गाली गर्नु, देश विखण्डन र सार्वभौमसत्तामा आँच पुग्ने खालको अभिव्यक्ति दिन पाइँदैन । साम्प्रदायिक भावना फैलिने, जातीय द्वन्द्व हुने, देश अर्काेमा गाभ्ने, ‘लिज’ मा दिने कुरा आपत्तिजनक हुन्छ । सरकारले आफ्नो कुरा सुनेन, आफ्नो माग सम्बोधन गरेन, न्यायोचित कुराप्रति बेवास्ता ग¥यो भनेर के देशघाती कुरा फलाक्ने ? देश विखण्डनको कुरा किन गर्ने ? देश टुक्रा गर्ने, उपत्यकामा नाकाबन्दी गर्ने र देश नरहने कुरा किन फुक्ने ? सत्तासीन दलका नेता, मन्त्रीहरूले गलत कार्य गरे भनेर हामीले अर्काे महागल्ती गर्नु मनासिब हुँदैन ।
सांसदहरूले संसद्को मर्यादाको ख्याल गर्नुपर्छ । संसद्को गरिमा घटाउने, संसद्मा गए पनि हुने नगए पनि हुने विचार कसरी सही हुन्छ ? संसद्मा विभिन्न विधेयकबारे चर्चा परिचर्चा भइरहेको हुन्छ; वाक् युद्ध भइरहेको हुन्छ तर सांसदहरूको उपस्थिति ज्यादै न्यून हुन्छ । हाजिरी रेकर्ड हुने तर संसद्मा देखा नपर्ने यो सांसदहरूको कस्तो चाला ¤ के यो पदको दुरूपयोग होइन ? पदअनुसारको आचरण सांसदहरूले पालना गर्नुपर्दैन ? देशलाई बाटो देखाउने, देश र जनताको निम्ति नीति निर्माण गर्ने सांसदहरू नै आफ्नो पदको ख्याल गर्दैनन् भने उनीहरूले अरुलाई कसरी आचरणमा राख्लान् ? कसरी मार्गनिर्देश गर्लान् ? हरेकले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्दैन ? कर्तव्य पालना नगर्ने र दायित्व निर्वाह गर्ने सांसदहरूले देश र जनताको सेवा गर्लान् ? नियम नीति बनाउलान् भन्ने विश्वास कसरी गर्ने ?
Leave a Reply