भर्खरै :

काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन कसरी हुन्छ ?

काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन कसरी हुन्छ ?

काठमाडौँ उपत्यकामा बसाइँसराइ बढाइएसँगै यहाँको फोहरमैला व्यवस्थापनामा पनि समस्या बढ्यो । भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रको फोहरमैला व्यवस्थापन आफै गर्ने प्रयास गरिरहेको छ । यसको लागि घर घरबाटै कुहिने र नकुहिने फोहरमैला अलग अलग सङ्कलन गर्नु महत्वपूर्ण हुन्छ । अर्थात्, फोहरमैला व्यवस्थापनमा नागरिकहरूलाई पनि जिम्मेवार बनाउनु जरुरी हुन्छ ।
काठमाडौँ उपत्यकाका अधिकांश स्थानीय तहले नुवाकोट जिल्लाको ककनी गाउँपालिका २, धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका १ को सीमा क्षेत्र बञ्चरे डाँडामा फोहरमैला व्यवस्थापन गर्दै छन् । फोहरमैलाको वैज्ञानिक बन्दोबस्त नहुँदा स्थानीय जनता फोहरको दुर्गन्ध लिच्चड, धुलो आदिको प्रदूषण र अन्य स्वास्थ्य जोखिमको शिकार भएका छन् । सङ्घीय र स्थानीय सरकारहरूले स्थानीय जनतासँग ठुला साना गरी ४० भन्दा बढी सम्झौताहरू गरे । ती सम्झौताअनुसार काम नहुँदा काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन जटिल बनिरहेको छ ।
संविधानमा स्वच्छ वातावरण र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको बन्दोबस्त छ । अहिलेसम्मका सरकारले यो संवैधानिक व्यवस्थाअनुसार जनतालाई बाँच्न दिने प्रत्याभूति गरेनन् । नेपाली जनताले संविधानमा उपलब्ध मौलिक हक बहालीको माग गर्नु स्वाभाविक हो । चुनावमा संविधानको पालना गर्ने वाचा गरी सरकारमा पुगेका दलहरूले जनताको बाँच्ने अधिकारमा बाधा पु¥याउनु गलत हो । संविधानमा उल्लेख भएका हक जनतालाई उपभोग गराउन नसक्ने सरकारले कुर्सी छाड्नुको विकल्प छैन ।
काठमाडौँ उपत्यका दुई महानगरपालिका काठमाडौँ र ललितपुरको १७ प्रतिशत फोहरमात्र सङ्कलन भइरहेको सार्वजनिक भयो । बञ्चरे डाँडामा ३० प्रतिशत फोहर थान्को लगाउने र ७० प्रतिशत फोहर प्राङ्गारिक मल पुनः प्रयोग गरी सामान छुट्याउन बिक्री गर्ने सरकारी योजना आदिले हावा खाएको अवस्था छ । यतिखेर काठमाडौँ उपत्यकाका अधिकांश स्थानीय तहले फोहरमैला उठाउने जिम्मा निजी क्षेत्रलाई दिएको र निजी क्षेत्रले फोहरमैला सहरबाट उठाएर बञ्चरे डाँडामा फाल्ने काम भइरहेको छ । बीस वर्षको लागि फोहर फाल्न पुग्ने भनिएको बञ्चरे डाँडा क्षेत्र यतिखेर ५ वर्षमै भरिभराउ भएको सार्वजनिक भयो ।
दुर्गन्धबाट पीडित जनताले मानव बस्तीरहित फोहरमैला फाल्ने क्षेत्र घोषणा हुनुपर्ने, फोहरमैलासम्बन्धी उद्योग खोल्नुपर्ने माग राखेको वर्षाैँ भयो । कतिपय देशमा फोहरमैलाबाट खाना पकाउने वा बत्ती बाल्ने उपाय तथा प्राङ्गारिक मल उत्पादन भइरहेको नेपालमा सरकारहरूले यसप्रकार दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यानै दिएनन् । कृषि, वातावरणलगायत क्षेत्रका वैज्ञानिकहरूलाई समेत नेपालमा रोजगारीको व्यवस्था नगरी सरकारहरूले वैदेशिक रोजगारीमा पठाइरहेका छन् ।
फोहरमैला, सडक जाम, प्रदूषण, अपराध न्यून पार्न सरकारले काठमाडौँ उपत्यकामा भइरहेको बसाइँसराइ तत्काल रोक्नु आवश्यक छ । साथसाथै काठमाडौँ उपत्यका बाहिरका स्थानीय तहका सदरमुकामहरूलाई व्यवस्थित सहरको रूपमा विकास गर्नु जरुरी छ । प्रधानमन्त्री, सांसद र उच्चपदस्थ अधिकारीहरूसमेत आ–आफ्नो थातथलो छोडेर काठमाडौँ उपत्यकामा बसाइ सरेको हुँदा यहाँ फोहरमैला व्यवस्थापन विकराल बनेको हो । पूर्वमा जन्मेर हुर्केर देशको प्रधानमन्त्री बनेका एक जनाले संसद्मा परिचय दिँदा स्थानीय बासिन्दा काठमाडौँ उपत्यकाको भनेका थिए । यसकारण, काठमाडौँ उपत्यकाको फोहरमैलाको समस्याको पहिलो जिम्मेवार ती प्रधानमन्त्री र मन्त्रीहरूलाई बनाउनु आवश्यक छ ।
काठमाडौँ उपत्यकाको जमिन ग¥हौँ भारी थेग्न नसक्ने किसिमको भएको भूगर्भशास्त्रीको मत रहेको छ । यहाँ बनिरहेको भारी संरचना सडक, पुल, भवन एकदिन चुर्लुम्म डुब्ने उनीहरूको मत हो । यसतर्फ पनि काठमाडौँ उपत्यकामा बसाइँसराइ रोक्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *