यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
२०२५ साउन २ गते नवदुर्गा बहुमुखी सहकारी संस्थाका भ्रष्ट पदाधिकारीहरूलाई जन कारबाही गरेको पुग नपुग एक वर्षपछि अर्को घटनाको वातावरण तयारी भइरहेको थियो । साउन २ गतेको भ्रष्टाचारविरोधी आन्दोलनमा किसानहरूले सक्रिय भाग लिएका थिए । त्यसैले, तिनीहरूलाई अरू बेलाभन्दा असार (रोपाइँ) को बेला सास्ती गर्न सकिने देखी संस्थाका भ्रष्ट पदाधिकारीहरू आफ्नो बेइज्जतीको बदला लिने सुरमा थिए ।
असार महिनाको आधाआधी बितिसकेको थियो । खेतमा पानी पर्याप्त भएर पनि मल नभएकोले रोपाइँ हुन सकेको थिएन । कृषिप्रधान देशमा कृषि उत्पादन र किसानवर्गलाई सुविधा दिन खडा भएको सहकारी संस्थाका पदाधिकारीहरू जानी जानी कुनै प्रयास नगरी चुपचाप बसे । छेकथुन गरी भँेडा, बाख्रा र भैँसीसमेत बेच्न लगाई उठाएको बचत रकमले संस्थाका भ्रष्ट पदाधिकारीहरू व्यक्तिगतरूपमा नाफा कमाउन हेटौँडा चितवनबाट काठ, मकै, तोरी, सुर्ती आदि ल्याएर व्यापार गर्नमा व्यस्त थिए । संस्थाले भक्तपुरको साकोलान खौमा, चोछेँ र गोल्मढीमा कृषिसम्बन्धी रासायनिक मल, बीउ आदि वितरण गर्ने डिपोहरू खोलेको थियो । असार नलाग्दै किसानहरू आफूलाई पायक पर्ने डिपोहरूमा मलको लागि धाउन थाले । तर, जहिले पनि आएको छैन भन्ने एकोहोरो जवाफले किसानहरू आजित भइसकेका थिए ।
२०२६ साल असार १७ गते किसानहरू आ–आफ्नो क्षेत्रको डिपोमा भेला भए । डिपोमा कार्यरत कर्मचारीसँग किसानहरूले मल नल्याउनाको कारण सोधे । सबै डिपोमा कर्मचारीहरूले आफूलाई कुनै जानकारी नभएको र संस्थाको जिम्मेवार पदाधिकारीसँग भेटे बेस हुने बताए । किसानहरू संस्थाका जिम्मेवार पदाधिकारीहरूलाई भेट्न तेखाचो टोल (वंशगोपाल) मा गए । संस्थाको मुख्य कार्यालय त्यहाँ थियो । किसान जनता डिपोडिपोमा मल लिन आएको थाहा पाउनासाथ अर्कै व्यक्तिलाई का.मु. मेनेजर दिएर जिम्मेवार पदाधिकारीहरू भागिसकेका थिए । का. मु. मेनेजरसँग किसानहरूले मल नआउनाको कारण सोधे । धेरै समयको वादविवादपछि असार १९ गते मल ल्याउने लिखित वचन दिए र किसानहरू फर्के ।
असार १९ गते बिहान ८ बजेदेखि किसानहरू मल पाउने आशामा आ–आफ्ना बोराहरू लिएर तेखाचोमा गए । किसानहरूलाई मर्का परेको मल पाउने भएपछि ठुलो जमघट हुनु स्वाभाविक थियो । तर, त्यहाँ भ्रष्ट पदाधिकारीहरूले प्रहरी र गुण्डाहरू बोलाइराखेका थिए । प्रहरीहरू देखाएर जनतालाई तर्साउने र आफूले गरेका भ्रष्टाचार लुकाउने असफल प्रयास भ्रष्ट पदाधिकारीहरूले गरे । किसानहरूले कृष्णभक्त चगुठीसँग सोधे, “आज मल दिन्छु भनेको खोइ ?”
कृष्णभक्त चगुठीले संस्थामा पैसा नै छैन, केले मल ल्याउने र दिने भनी ओठेजवाफ दिए । उनको ओठेजवाफ सुनेर किसानहरू आक्रोशित भए । किसान कार्यकर्ताहरूले घरका जहान परिवारलाई नखुवाई, हामीलाई कुटेर, थुनेर उठाएको बचतको रकम खोइ भन्ने प्रश्नहरू राखे । प्रश्न सोध्ने अधिकार प्रत्येक बचतकर्तालाई थियो । तर, भ्रष्ट अध्यक्षले प्रशासनको आड र गुण्डाको भरोसामा तिमीहरूलाई हिसाब हेर्ने अधिकार छैन, तिमीहरूलाई के मतलब भन्ने ठाडो जवाफ दिए । किसानहरू उत्तेजित भए । कोही किसान त आवेशमा आएर मुख छोड्न थाले । कसैले हातपात गर्न थाले । तर, किसान कार्यकर्ताहरूले तिनीहरूलाई शान्त पारे । तत्कालै किसान भएर किसानहरूको दुःखमा मोज गर्ने भ्रष्ट कृष्णभक्त चगुठीलाई समाते र उल्टो टोपी लगाए । त्यसपछि, मल लिन आएका किसानहरूको जुलुस भयो । प्रहरी र गुण्डाहरूले जुलुसलाई रोक्ने प्रयास गरे । गुण्डाहरूले किसान नेता तथा कार्यकर्ताहरूलाई कुट्ने प्रयास गरे । अन्यायको विरोधमा लड्दै आएका किसानहरू ती गुण्डाहरूलाई भगाउन सफल भए । उल्टो टोपी लगाएका कृष्णभक्त चगुठीलाई नगर परिक्रमा गराए । नगर परिक्रमा गराउँदा भ्रष्टाचारविरोधी र किसान एकताको नाराले नगर घन्केको थियो । जुलुस गोल्मढी पुग्दा प्रहरीहरू आइपुगे र उनीहरूले भ्रष्टाचारीलाई कानुनी कारबाही गर्ने वचन दिए । कारबाही हुने आशाले किसानहरूले उनलाई प्रहरीको जिम्मा लगाए । जुलुस सभामा परिणत भयो । सभामा किसान कार्यकर्ताहरूले भ्रष्टहरूको भण्डाफोर गरे ।
चीनको हुनान किसान आन्दोलनको क्रममा भ्रष्टाचारीहरूलाई लामो टोपी लगाएर गाउँ घुमाइन्थ्यो । त्यही शिक्षाअनुसार चगुठीलाई उल्टो टोपी लगाई नगर परिक्रमा गरिएको थियो ।
यसै क्रममा भ्रष्टाचार गरेको अभियोगमा भक्तपुर नगर पञ्चायतका तत्कालीन सदस्य कृष्णभक्त चगुठीलाई असार २० गते नगर पञ्चायतबाट निष्कासन गरियो । यसरी भ्रष्टहरूलाई जनताले सजाय र जनप्रतिनिधिहरूले भ्रष्ट पञ्चलाई निकाला गर्नुले गरेपछि भ्रष्टहरू आत्तिए । असार २० गतेकै दिन भ्रष्टाचारीहरूले आफ्नै ‘भाइ–बन्धु’ हरूको सहयोगमा एक आमसभा राखे । भक्तपुर डीएसपी कार्यालय अगाडि राखिएको त्यस सभामा गणेशबहादुर खत्रीलगायतका वक्ताहरूले भ्रष्टाचारीहरूको समर्थनमा बोले । देशको सम्पूर्ण ऐन कानुनले अपराध मानिएको भ्रष्टाचारको विरोध गर्ने न्यायप्रेमी र भ्रष्टाचारविरोधी जनतालाई खत्रीलगायतले ‘जेलमा हाल्नुपर्छ, जनताको अगाडि हामीलाई बेइज्जत गर्यो’ भनेर दुःख व्यक्त गरे ।
भ्रष्टाचारीहरूको मिलेमतोमा प्रशासनसँग भएको प्रमाण असारको अन्ततिर देखियो । प्रशासनले भ्रष्टाचार भएको देखेन र भ्रष्टाचारीलाई पनि चिन्न सकेन वा चाहेन । प्रशासकहरूको आँखामा भ्रष्टाचारीहरूको विरोध गर्ने किसान कार्यकर्ताहरू मात्र थिए । भ्रष्टाचार, अन्याय, अत्याचारका कट्टरविरोधी भएकाले तत्कालीन प्रधानपञ्च बाबुकाजी बासुकलालाई प्रहरीले नगर पञ्चायतको कुर्सीबाटै पक्राउ गरे । उल्टो टोपी लगाई कारबाही गरिएका भ्रष्ट कृष्णभक्त चगुठीलाई जिल्ला पञ्चायतको निमित उपसभापतिको कार्यभार सुम्पे । प्रशासनले नगर पञ्चायतको ‘स्वायत्तता’ मात्र होइन जनप्रतिनिधिको मान्यतालाई पनि अपमान गरेको यो उदाहरण हो ।
भक्तपुरका न्यायप्रेमी जनताले त्यसको घोर भत्र्सना र विरोध गरे । भ्रष्टाचारको विरोधमा भक्तपुरमा उठेको त्यो आवाज तत्कालीन व्यवस्थाको विरोधमा बन्दै गरेको आम जनमतमा एकाकार हुन पुग्यो । भक्तपुरको भ्रष्टाचारविरोधी आन्दोलनबाट देशभरिका जनताले ठूलो पाठ सिक्न पाए ।
स्रोतः किसान सङ्घर्ष, कार्तिक २०६९
Leave a Reply