भर्खरै :

साम्राज्यवादविरोधी सङ्घर्षलाई तीव्र पारौँ

  • असार २१, २०८२
  • किम इल सङ
  • विचार
साम्राज्यवादविरोधी सङ्घर्षलाई तीव्र पारौँ

(‘साम्राज्यवादविरोधी, अमेरिकाविरोधी सङ्घर्षलाई तीव्र पारौँ’ शीर्षकको यो पुस्तिका एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको एकताको सङ्गठनको सैद्धान्तिक मुखपत्र ‘त्रि–कन्टिनेन्टल’
(तीन महाद्वीपीय) को पहिलो अङ्कमा प्रकाशित प्रजग कोरियाका महान् नेता किम इल सङको सैद्धान्तिक लेख हो । यो लेख १२ अगस्ट सन् १९६७ मा प्रकाशित भएको थियो । यस लेखलाई नेपाल–कोरिया मैत्री सङ्घ काठमाडौँले सन् १९७० मा पुस्तिकाको रूपमा प्रकाशित गरेको थियो । – सं.)
दुई वर्षपहिले क्युवाको राजधानी हवानामा तीन महाद्वीपका जनताको एकता सङ्गठनको स्थापना भयो । यो ठुलो महत्वको घटना थियो । यस सङ्गठनको उद्देश्य र आदर्शप्रति एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका दसौँ करोड जनताको सहानुभूति गएको छ । आज विश्वमा भइरहेको महान् परिवर्तनको क्रममा गहिरो प्रभाव पारिरहेको छ ।
सयौँ वर्षसम्म पश्चिमी पुँजीवाद र साम्राज्यवादले गरेको दमन र लुटबाट पीडित भइसकेपछि एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनता बहादुरीसाथ उठेर इतिहासको रङ्गमञ्चमा पसेका छन् । राष्ट्रिय मुक्तिको बलियो लहर रोक्नै नसकिने शक्ति लिएर उर्लिरहेछ । तीन महाद्वीपका दसौँ करोड जनता मुक्तिको निम्ति तथा उनीहरूले प्राप्त गरिसकेका क्रान्तिका सफलताहरूको सुरक्षा गर्नको निम्ति लडिरहेछन् । साम्राज्यवादको औपनिवेशिक व्यवस्था छिटछिटो छियाछिया भई गिरिरहेछ ।
साम्राज्यवादले आफ्नो पहिलेको स्थिति कायम राख्नलाई र गुमेको आधार फेरि पाउनलाई ज्यानतोड प्रयास गर्दै छन् । साम्राज्यवादको कालको घडी जति जति नजिक आउंँदै छ, सङ्घर्ष पनि त्यति नै चर्कँदै छ । त्यसकारण, साम्राज्यवाद पृथ्वीको सतहबाट पूरा निर्मूल नभएसम्म जनताले साम्राज्यवादविरोधी झन्डा उच्च उठाएर आफ्नो सङ्घर्ष जारी नराखी हुँदैन ।
साम्राज्यवादको जुवालाई फालिसकेका नवजात–स्वाधीन मुलुकहरूको सामु आफ्नो राष्ट्रिय स्वाधीनताको सुरक्षा गर्ने, क्रान्तिलाई अगाडि बढाउने र अझै साम्राज्यवादी सिक्रीमै बाँधिएका जनताको मुक्ति सङ्घर्षलाई सहायता दिने निकै गा¥हो र जरुरी कार्यहरू आइपरेका छन् । स्वाधीनता पाइसकेका राष्ट्रहरूले विदेशी साम्राज्यवादी र देशभित्रका प्रतिक्रियावादी शक्तिहरूद्वारा गरिने ध्वंसात्मक कारबाहीलाई दबाउन, उनीहरू बलियो पार्न प्रगतिशील समाजवादी व्यवस्था स्थापना गर्न र स्वाधीन राष्ट्रिय संस्कृति निर्माण गर्न सङ्घर्ष गर्नुपर्दछ । त्यसो गरेमा मात्रै, उनीहरूले क्रान्तिका उपलब्धिहरू सुरक्षा गर्न सक्नेछन्† आफ्ना आफ्ना मुलुक र राष्ट्रको उन्नति गर्नेछन् र साम्राज्यवादलाई खतम पारी गाडिदिने विश्वभरिका जनताको साझा सङ्घर्षमा देन दिन सक्नेछन् ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा विश्व जनसङ्ख्याको तीन खण्डको दुई खण्ड मानिस बस्छन् र त्यहाँ कहिल्यै नरित्तिने प्राकृतिक सम्पत्ति छ । यही जनतालाई थिचोमिचो पारी उनीहरूको सम्पत्ति लुटेर नै साम्राज्यवाद हुर्केको र मोटाएको हो । आज पनि साम्राज्यवादले यी इलाकाबाट हर वर्ष अरबौँ खरबौँ डलर चुसिरहेका छन् । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाबाट पुरानो र नयाँ उपनिवेशवाद पूरा हटेपछि साम्राज्यवादी पश्चिम युरोप नै रहने छैन, न साम्राज्यवादी उत्तर अमेरिका नै बाँकी रहनेछ ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनताले चलाएका साम्राज्यवादविरोधी उपनिवेशवादविरोधी सङ्घर्ष करोडौँ उत्पीडित र अपमानित जनताको पवित्र मुक्ति–सङ्घर्ष हो । विश्व साम्राज्यवादको जीवन–आधार नै काटिदिने महान् सङ्घर्ष हो । यो सङ्घर्ष र समाजवादको निम्ति अन्तर्राष्ट्रिय मजदुरवर्गको क्रान्तिकारी सङ्घर्ष हाम्रो युगका दुई प्रमुख क्रान्तिकारी शक्तिहरू हुन् । यी सङ्घर्षहरू एकै प्रवाहमा जोडिएका छन् । यसले साम्राज्यवादलाई चिहानमा पुच्याउने छ ।
साम्राज्यवादीहरूले औपनिवेशिक जनतालाई स्वतन्त्रता उपहारझैँ त्यसै दिन सक्दैन । पश्चिमी संसारले तीन महाद्वीपका जनतालाई स्वाधीनता र उन्नति प्राप्त गर्न मद्दत दिन सक्छन् र स्वतन्त्र र स्वाधीन एसिया, अफ्रिका र ल्याटिन अमेरिकासित सह–अस्तित्वमा बस्न सक्छन् भनी साम्राज्यवादीहरूले गरेको घोषणा झूटा छ भनी प्रमाणित गर्न कुनै आवश्यकता छ र ? साम्राज्यवादको प्रकृति कहिल्यै बदलिँदैन, बदल्न सकिन्न पनि । साम्राज्यवादले आफै खतम नभएसम्म जनतालाई शोषण गर्छ, दमन गर्छ र लुट्छ ।
उत्पीडित जनताले सङ्घर्षद्वारा मात्र आफूलाई मुक्त पार्न सक्दछ । इतिहासले प्रमाणित गरेको यो एक सरल र छर्लङ्ग देखिने सत्य हो । साम्राज्यवादीहरूको झूटा प्रचारको भण्डाफोर गर्नुपर्दछ, साम्राज्यवादीहरूले उपनिवेश र पराधीन मुलुकहरूमा आफ्नो स्थिति आफ्नै सदिच्छाले छोड्ने छन् भन्ने भ्रम पनि हटाउनुपर्दछ । जहाँ दमन हुन्छ, त्यहाँ सधैँ विरोध पनि हुन्छ । उत्पीडित जनताले आफ्नो मुक्तिको लागि लड्ने कुरा अवश्यम्भावी छ । साम्राज्यवादले साना र कमजोर राष्ट्रहरूलाई जबरजस्ती लुटिरहेसम्म र दमन गरिरहेसम्म, उत्पीडित राष्ट्रहरूले उठेर हातमा हतियार लिई आक्रामकहरूको विरुद्ध लड्नु खोस्नै नसकिने अधिकार हो ।
स्वाधीनता असल हो र क्रान्ति पनि असल हो, तर शान्ति झन् बढी अमूल्य वस्तु हो भनी साम्राज्यवादसित सिद्धान्तहीन सम्झौता गर्न खोज्नाले यसको आक्रामक कारबाहीलाई प्रोत्साहन मात्र मिल्दछ र युद्धको खतरा मन बढ्छ भन्ने कुरा पक्का होइन र ? दास भावना लिई आत्म–समर्पण गरेर पाइने शान्ति शान्ति नै होइन । शान्ति तोड्नेहरूको विरुद्ध सङ्घर्ष चलाएन भने, दासको शान्तिलाई अस्वीकार गरिएन भने तथा अत्याचारीहरूको राजलाई उल्टाइदिएन भने सच्चा शान्ति आउनै सक्दैन । साम्राज्यवादसित सम्झौता गर्ने नीतिको हामी विरोधी छौँ । साथै, साम्राज्यवादको विरोधमा खालि चिच्याउने तर साँच्चिकै काममा भने साम्राज्यवादविरूद्ध लड्न डराउने बानी पनि हामी सहन सक्दैनौँ । यो बानी पनि सम्झौताकै अर्को उल्टो प्रकारको रूप हो । साम्राज्यवादविरोधी सच्चा सङ्घर्ष यी दुवै होइन, आक्रमण र युद्धको साम्राज्यवादी नीतिलाई मात्र मद्दत हुनेछ ।
साम्राज्यवादविरूद्ध लड्न सबभन्दा पहिले त विश्व साम्राज्यवादको नाइके अमेरिकी साम्राज्यवादमाथि आक्रमण केन्द्रित पार्नुपर्दछ । विश्वभरि आफ्नो आक्रमणको चङ्गुल फिजाएर, अमेरिकी साम्राज्यवाद विश्वका सबै राष्ट्रका जनताको साझा शत्रु बनेको छ । पृथ्वीमा यस्तो कुनै पनि मुलुक छैन जसको सार्वभौमिकतामाथि अमेरिकी साम्राज्यवादले दखल गरेको छैन वा अमेरिकी साम्राज्यवादी आक्रमणको खतरामा परेको छैन । अमेरिकी साम्राज्यवादीहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनताको मुक्ति सङ्घर्षलाई निष्ठुरतासाथ दमन गरिरहेछन् तथा नवजात स्वाधीन मुलुकहरूलाई फेरि दासतामा राख्न आक्रामक र ध्वंसात्मक कारबाहीहरू निरन्तर चलाइरहेछन् । आफ्नो सच्चा रूप डाँकुको रूप खुलमखुला देखाएर अमेरिकी साम्राज्यवादीहरूले एक समाजवादी मुलुकमाथि आक्रमणको लडाइँ चलाइरहेछन् र अरु मुलुकहरूको घरेलु मामलामा हतियारको बलले हस्तक्षेप गर्दै छन् । दोस्रो विश्वयुद्ध अन्त भएदेखि यता यी बीस वर्ष चानचुनको अवधिमा अमेरिकी साम्राज्यवादले आक्रमण र युद्धको आगो सल्काएको हेर्न नपर्ने एकदिन पनि आएको छैन । अमेरिकी साम्राज्यवाद इतिहासमा आजसम्म थाहा भएका मध्ये सबभन्दा खुनी र निर्लज्ज लुटेरा हो । पृथ्वीभरका शान्ति, स्वाधीनता र उन्नति चाहने सबै राष्ट्रका जनता सबैलाई आपसमा मिली अमेरिकी साम्राज्यवादविरूद्ध संयुक्त मोर्चा बनाउन कर पार्ने अमेरिकी साम्राज्यवादीहरू आफै हुन्, अरू कोही होइनन् ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जनताका साझा स्वार्थहरू छन्, साम्राज्यवादविरोधी, अमेरिकाविरोधी सङ्घर्षमा उनीहरूको परस्पर सहयोगको सम्बन्ध छ । अफ्रिका र ल्याटिन अमेरिका स्वाधीन नभएमा एसिया स्वाधीन हुनेछैन; अमेरिकी साम्राज्यवादीहरूलाई एसियाबाट धपाएमा, यसबाट अफ्रिकी र ल्याटिन अमेरिकी राष्ट्रहरूका जनताको मुक्ति–सङ्घर्षलाई फाइदा हुनेछ । अमेरिकी साम्राज्यवादमाथि एक मोर्चामा विजय पाइनाले यसको त्यतिकै शक्ति घट्नेछ र अरू मोर्चाहरूमा विजय पाउन सजिलो हुनेछ । संसारको जुनसुकै भागमा अमेरिकी साम्राज्यवादी आक्रामक शक्तिहरू निर्मूल पारिएमा पनि, विश्वका सबै राष्ट्रका जनताको निम्ति यो अत्यन्त असल कुरा हुनेछ । त्यसकारण, जति सक्यो त्यति व्यापकरूपले अमेरिकाविरोधी संयुक्त मोर्चा बनाएर अमेरिकी साम्राज्यवादलाई पूरै एक्लो पार्न र जहाँ जहाँ अमेरिकी साम्राज्यवाद आक्रामक कार्यमा लाग्दछ त्यहाँ यसलाई संयुक्त प्रयासद्वारा मुक्का ख्वाउन आवश्यक छ । यस्तो गरेमात्रै अमेरिकी साम्राज्यवादको शक्तिलाई अन्तिम हदसम्मै तितरबितर पारी कमजोर पारिदिन र एकदम बलियो शक्तिद्वारा अमेरिकी साम्राज्यवादलाई हराइदिनाको निम्ति हर मोर्चामा जनतालाई नेतृत्व दिन सम्भव हुनेछ ।
बीस वर्षभन्दा बढी समयदेखि अमेरिकी साम्राज्यवादीहरूले हाम्रो मुलुकको दक्षिणी आधी भाग कब्जा गरिराखेका छन् । अमेरिकी साम्राज्यवादीहरूले दक्षिण कोरियामा औपनिवेशिक राज लागु गरेर यसलाई तमाम कोरिया तथा एसियामा उनीहरूले आक्रमण गर्ने सैनिक अखडामा परिणत गरेका छन् । जन–गणतन्त्र कोरियाविरूद्ध आक्रामक युद्धमा उनीहरू बेइज्जतिसाथ हारे तापनि अमेरिकी साम्राज्यवादीहरूले अझै सारा कोरिया जित्ने आफ्नो आक्रामक योजना छोड्न अझै मान्दैनन् र कोरियामा अर्को लडाइँ छेड्न निरन्तर साजीश रच्दै छन् । अहिले कोरियाली जनतासामु आइपरेको महान् कर्तव्य दक्षिण कोरियामा अमेरिकी साम्राज्यवादीहरूले चलाइरहेको औपनिवेशिक व्यवस्थालाई खतम पार्नु, राष्ट्रिय–मुक्ति क्रान्ति पूरा गर्नु र मुलुकको एकीकरण सफल पार्नु हो । कोरियाली जनताले राष्ट्रिय मुक्तिको आफ्नो पवित्र लक्ष पूरा गर्ने काममा सफल बन्न, तीन कार्यक्रमद्वारा शक्ति तयार पार्नुपर्दछ । ती हुन्, उत्तर कोरियामा समाजवादी शक्तिहरू बलियो पार्ने, दक्षिण कोरियामा क्रान्तिकारी शक्तिहरू जम्मा पार्ने र अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन बढाउने र यससित एकता बलियो पार्ने । उत्तर कोरिया कोरियाली आधारभूमि हो । उत्तर कोरियाको समाजवादी निर्माणमा सफलता अमेरिकाविरोधी राष्ट्रिय मुक्ति सङ्घर्षमा दक्षिण कोरियाली जनतालाई प्रोत्साहन हो र दक्षिण कोरियामा क्रान्तिकारी शक्तिहरूको तयारीको निम्ति अनुकूल छ । हामी उत्तर र दक्षिण कोरिया दुवैतिर क्रान्तिकारी शक्ति बढाउन, विकसित पार्न र साथै अन्तर्राष्ट्रिय क्रान्तिकारी शक्तिहरूसित एकता बलियो पार्न कोसिस गरिरहेका छौँ । सबै मुलुकका जनताले अमेरिकी साम्राज्यवादविरूद्ध चलाएको सङ्घर्षलाई कोरियाली जनता समर्थन गर्दछ । यो उनीहरूको आफ्नो मुक्तिको लक्षमा सहायता हो भनी सम्झन्छन् । संसारका साम्राज्यवादविरोधी शक्तिहरू सबै मिलेर अमेरिकी साम्राज्यवादविरूद्ध संयुक्त सङ्घर्ष चलाउनुपर्छ भन्ने हाम्रो धारणा छ । हामी यही लक्ष्यको निम्ति निरन्तर काम गरिरहेका छौँ ।
अमेरिकी साम्राज्यवादीहरू सबैभन्दा बढी त विश्वका क्रान्तिकारी जनताको संयुक्त शक्तिदेखि डराउँछन् । त्यसकारण, उनीहरूले अमेरिकाविरोधी संयुक्त मोर्चा बन्न नदिन सबै प्रकारका उपायहरू गर्नेछन् र साना र कमजोर मुलुकहरूलाई एक एक गरी दबाउने रणनीति अपनाएका छन् । अमेरिकी साम्राज्यवादको यो रणनीतिलाई पूरै हराउनुपर्दछ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका मुलुकहरूका सामाजिक व्यवस्था भिन्न भिन्न छन् र ती मुलुकहरूमा भिन्न भिन्न राजनैतिक विचारधारा भएका धेरै पार्टीहरू छन् । तर, सामाज्यवादका दलालहरू छोडी ती सबै मुलुक र त्यहाँका पार्टीहरूका साझा स्वार्थ अमेरिकी साम्राज्यवादले नेतृत्व गरेको साम्राज्यवादी आक्रामक शक्तिहरूको विरोध गर्नु हो । अमेरिकी साम्राज्यवादविरूद्ध संयुक्त सङ्घर्ष र संयुक्त कारबाही गर्न सामाजिक व्यवस्था र राजनैतिक सिद्धान्त बाधा हुन हुँदैन । आफ्नो विशेष राष्ट्रिय वा पार्टीगत स्वार्थलाई प्राथमिक महत्व दिई अमेरिकाविरोधी संयुक्त मोर्चामा फूट ल्याउन र संयुक्त कारबाही गर्ने इन्कार गर्न कसैलाई पनि दिनुहुन्न । यस्तो कार्यले त अमेरिकी साम्राज्यवादले नेतृत्व गरेको साम्राज्यवादलाई मात्र फाइदा हुनेछ र क्रान्तिकारी जनतालाई हानि हुनेछ ।
साम्राज्यवादविरोधी संयुक्त सङ्घर्षमा यो निकै जरूरी छ कि विजय प्राप्त भइसकेको क्रान्तिको सुरक्षा गर्नुपर्दछ । क्युवाको क्रान्तिका उपलब्धिहरूको रक्षाको निम्ति लड्नु सबै क्रान्तिकारी जनताको अन्तर्राष्ट्रिय कर्तव्य हो । क्रान्तिकारी क्युवाले ल्याटिन अमेरिकाको भविष्यको प्रतिनिधित्व गर्दछ । यसको अस्तित्व मात्रले पनि यस महाद्वीपका जनतालाई उनीहरूको मुक्ति आन्दोलनमा प्रोत्साहन मिल्दछ । क्युवाको क्रान्तिको विजयले एकदम राम्रो प्रमाण दिएको छ कि हाम्रो युगमा साम्राज्यवादको जरूर पतन हुनेछ । राष्ट्रिय–मुक्ति सङ्घर्ष तथा जनताको सङ्घर्षको जरूर विजय हुनेछ । यही कारणले गर्दा यस सानो टापु–देशलाई अमेरिकी साम्राज्यवादीहरू घृणा गर्छन् र त्यतिको डराउँछन् । अमेरिकी साम्राज्यवादीहरू क्युवा गणतन्त्रलाई घाँटी निमोठी मार्न खोज्दै छन् । ल्याटिन अमेरिकाका राष्ट्रका जनता र संसारभरका प्रगतिशील जनताले क्युवा गणतन्त्रको विरूद्ध अमेरिकी साम्राज्यवादीहरूले गरेको नाकाबन्दी नीतिलाई विफल तुल्याउन आफ्नो सारा शक्ति लगाउनुपर्दछ र क्युवामा सैनिक हमला गर्ने उनीहरूको प्रयासलाई पनि विफल पार्नुपर्दछ ।
अमेरिकी आक्रामक फौजको विरूद्ध राष्ट्रिय मुक्तिको निम्ति भियतनामी जनताले सामना गरेको लडाइँ आज साम्राज्यवादविरोधी सङ्घर्षको केन्द्रबिन्दु भइराखेको छ । अमेरिकी साम्राज्यवादी आक्रामक फौज र विश्वका साम्राज्यवादविरोधी, शान्तिप्रेमी फौज भियतनाममा सीधा भिडन्त गर्दै छन् । अमेरिकी फौजले भियतनामी जनताको वीरतापूर्ण जवाफी लडाइँद्वारा एकपछि अर्को हार खाँदै छन् र कहिल्यै नउम्किने दलदलमा फस्दै छन् । अमेरिकी साम्राज्यवादीहरूको अठोटको विपरित, भियतनाम लडाइँ आक्रामकहरूको निम्ति चिहान बनेको छ । भियतनामी जनताले राष्ट्रिय मुक्तिको निम्ति चलाएको मुकाबिला गर्ने लडाइँले फेरि एकचोटि स्पष्ट देखाइदिएको छ कि जस्तै बलिदान गर्न परे पनि आफ्नो स्वाधीनता र स्वतन्त्रता रक्षा गर्न दृढ सङ्कल्प लिएका र संसारभरका जनताको समर्थन पाएका जनतालाई कसैले हराउन सक्दैन ।
अहिले अमेरिकी साम्राज्यवादीहरूले लडाइँ झन्झन् बढाउँदै छन्, दक्षिण भियतनाममा आफ्नो सैनिक शक्ति निरन्तर बलियो पार्दै छन् र लोकतान्त्रिक गणतन्त्र भियतनाममा व्यापक बम वर्षा गर्दै छन् ।
आधुनिक युगको सबभन्दा बर्बर र खुनी सामाज्यवादको आक्रमणलाई आफ्नो वीरतापूर्ण सङ्घर्षले सामना गर्ने कठिन उत्तरदायित्व भियतनामी जनताले बोकिराखेका छन् ।
भियतनामी जनता आफ्नो स्वाधीनता र स्वतन्त्रता सुरक्षा गर्नलाई मात्र होइन, विश्व शान्ति र सुरक्षाको रक्षा गर्नको निम्ति पनि लडिरहेका छन् । भियतनाममा अमेरिकी साम्राज्यवादी आक्रमणलाई रोकेर विफल पारिदिएपछि, अमेरिकी साम्राज्यवादको भविष्य पश्चिममा अस्ताउन लागेको सूर्यको जस्तो हुनेछ । शान्ति, स्वाधीनता र उन्नतिको निम्ति लडिरहने सबै मुलुकका जनताको निम्ति झन् बढी अनुकूल परिस्थिति आउनेछ । भियतनामी जनतालाई सबै प्रकारका सहायता दिनु तमाम विश्वका शान्तिप्रेमी जनताको कर्तव्य हो । भियतनामी जनताको पनि यो सहायता पाउने अधिकार छ । समाजवादी मुलुक, नवजात स्वाधीन मुलुक र एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी देशका जनता तथा विश्वका सबै राष्ट्रहरूले संयुक्त प्रयासद्वारा अमेरिकाविरोधी संयुक्त मोर्चालाई विस्तृत पार्न, भियतनामी जनताले राष्ट्रिय मुक्तिको निम्ति चलाएको मुकाबिला गर्ने युद्धलाई सहायता दिन, अमेरिकी साम्राज्यवादी आक्रमणलाई रोक्न आफूआफूले सके जति प्रयास गर्नुपर्छ । भियतनामी जनतालाई उनीहरूको इच्छाविरूद्ध उनीहरूको भित्री मामलामा समाधानको उपाय जबरजस्ती लाद्ने कसैको हक छैन । अमेरिकी साम्राज्यवादी सेना भियतनामबाट हट्नै पर्छ र भियतनामी प्रश्न भियतनामी जनता आफैले निर्णय गर्नुपर्छ ।
हामीले अमेरिकी साम्राज्यवादको शक्तिलाई कम आँक्न र बढी आँक्न हुँदैन । अमेरिकी साम्राज्यवादले अरू धेरै अपराधहरू अझै गर्नेछन् । तर, अमेरिकी साम्राज्यवाद ¥हासतिर लागिरहेछ । आज अमेरिकी साम्राज्यवादले अत्यन्त हाकाहाकी अत्याचार गरिरहेको बेला, यसको कमजोरी पहिले कहिल्यै नदेखिए जति स्पष्ट छर्लङ्गिएको छ । अमेरिकी साम्राज्यवाद कस्तो छ भनी कोरियाली जनतालाई थाहा छ । हाम्रा जनताले अमेरिकी साम्राज्यवादको विरूद्ध लडेका छन् र यसको आक्रमणको विरूद्ध आफ्नो पितृभूमिलाई रक्षा गरेका छन् । कोरियाको लडाइँले छर्लङ्ग पारिदिएको छ कि अमेरिकी साम्राज्यवाद छुनै नसकिने अजेय होइन, यसलाई हराउन र खतम पार्न पनि सकिन्छ । क्युवाको क्रान्तिको विजयले हाम्रोभन्दा फरक परिस्थितिमा पनि यही सत्यलाई फेरि प्रमाणित गरिदिएको छ । भियतनामी जनताले राष्ट्रिय मुक्तिको निम्ति चलाएको मुकाबिला गर्ने युद्धले पनि यही सत्यलाई स्पष्ट प्रमाणित गरेको छ ।
अमेरिकी साम्राज्यवादको जरूर पूरा विनास हुनेछ । अमेरिकी साम्राज्यवादले नेतृत्व गरेको साम्राज्यवादको विरूद्ध एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका राष्ट्रका जनता एक भएर लडी एक नयाँ, स्वाधीन र उन्नत एसिया, अफ्रिका र ल्याटिन अमेरिका निर्माण गर्नेछन् र विश्व शान्ति तथा मानवको मुक्तिको निम्ति ठुलो देन दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *