भर्खरै :

सिम्का ल्याबोरेटोरिज्मा के हुँदै छ !

राजधानीको एक नाम चलेको कारखानामा २८/२९ महिनादेखिको सञ्चयकोषको रकम कोषमा जम्मा गरेन भन्दा तपाईँलाई आश्चर्य लाग्न सक्ला । २।३ दिनको सञ्चित बिदा स्वीकृत गराउन खोज्दा राजीनामा दिएर घरैमा बस भनिने कुनै उद्योग देख्नुभएको छ ? अनि राजीनामा गरेको कर्मचारीको तलब, सञ्चयकोष, उपदान, बिदाको हिसाब किताब ३।४ वर्षपछि पनि नगरेको एउटा कारखाना भक्तपुरमा छ– सिम्का ल्याबोरेटोरिज् प्रा.लि. ।
भक्तपुर इटापाकेस्थित सिम्का नामको औषधि कारखानामा कार्यरत मजदुर, कर्मचारीहरू हिजोआज खुसी छैनन् । विगत ४ वर्षदेखि मजदुरको तलब तथा ग्रेड बढेको छैन । मासिक रूपमा मजदुरको तलबबाट कटाएको सञ्चयकोषको रकम दाखिला गरेको छैन । २०७९÷८० मा नेपाल सरकारले मजदुरको मासिक तलब २३००/– रूपैयाँ वृद्धि गरे पनि त्यहाँ कार्यरत करिब ७० जना मजदुर कर्मचारीहरूको तलब सुविधा बढेन । युनियन र मजदुरहरूसँग सल्लाह नै नगरी विगतमा पाउँदै आएको सेवा सुविधा एकपछि अर्काे काटेका छन् ।
कारखानामा आर्थिक मन्दी लागेको छैन वा घाटामा गएको पनि होइन । वार्षिक उत्पादनमा निरन्तर वृद्धि भइरहेकै छ । उत्पादन बजारमा पुगिरहेकै छ । थप उत्पादनको लागि ओभरटाइम काम वा आउट सोर्सिङ पनि भइरहेको छ । कारखानामा मेसिन, भवन, जग्गा थपिएका छन् । तर, पनि सिम्काका मजदुर कर्मचारीले मासिक तलब अर्काे महिनाको २५ गतेभन्दा अगाडि कहिल्यै पाउँदैनन् ।
त्यसो त सिम्कामा मजदुरहरूले पटक पटक आफ्नो असन्तोष पोख्ने गरेका छन् । बेलाबेला मागपत्र पेस गरेका छन् । पटक पटक सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन ।
गत वर्ष असोजमा दिएको १५ बुँदे ध्यानाकर्षण पत्रमा ध्यान पुगेको छैन । नयाँ श्रम ऐनअनुसार कार्यरत मजदुर कर्मचारीहरूको उपदान रकम हिसाब किताब गरी चुक्ता गर्नुपर्ने भनिएकोमा हालसम्म नभएकोले क्षतिपूर्तिसहित दिलाउन, पारिश्रमिक वृद्धि गरी आधारभूत तलब र सुविधाको अनुपात ६०ः४० गराउन, प्रत्येक महिनाको पारिश्रमिक समयमा उपलब्ध गराउन, पूर्वसहमतिविपरीत एकतर्फी ढङ्गले खाईपाई आएको सुविधा, बिदा कटाएकोमा सो यथावत गराउन, युनियन सञ्चालनको लागि आवश्यक कोठा, फर्निचर र वार्षिक खर्च तीन वर्षदेखि उपलब्ध नगराएको हुँदा एकमुष्ट उपलब्ध गराउन, सञ्चित बिरामी बिदा, सञ्चित घरबिदाको रकम उपलब्ध गराउन, फ्याक्ट्रीमा दुर्घटना वा अन्य स्वास्थ्य समस्यामा औषधि उपचारको व्यवस्था गराउनलगायत मजदुरहरूको क्षमता वृद्धि, मनोरञ्जन, पिकनिकलगायत विषयमा दिएको ध्यानाकर्षण पत्रका विषयमा पटक पटक खबरदारी गराउँदा पनि आजसम्म बुँदागत छलफल भएको छैन ।
अन्यायको विरुद्धमा बोल्ने मजदुरलाई राजीनामा दिन बाध्य बनाएको घटना पनि सेलाएको छैन । घरमा विशेष काम परेर दुई दिनको बिदा माग्दा राजीनामा दिएर बस भनी भन्थे । राजीनामा दिए पनि स्वीकृत गरे नगरेको थाहा हुँदैन । काम गरेको दिनको तलब, सञ्चयकोषको रकम, सञ्चित बिदाको हिसाब पनि गरेको छैन । श्रम ऐनअनुसार काम गरेको वर्षको अनुपातमा उपदान रकम पनि दिएको छैन । आफ्नो बाँकी तलब सुविधा भुक्तानी पाउन पटक पटक कारखानाको गेटमा पुगे पनि कारखाना छोडेको व्यक्ति भन्दै गेटबाट छिराइएन । राजीनामा दिएको करिब एक वर्ष बितिसक्दा पनि पाउनुपर्ने उपदान, सञ्चयकोष, सञ्चित बिदालगायतको भुक्तानी नपाउँदा मजदुरको छटपटी कस्तो हुँदो हो ? काम छोडेका मजदुरको पक्षमा लाग्यो भनेर युनियनका अध्यक्ष र पदाधिकारीलाई स्पष्टीकरण लिने र सूचना जारी गरी अनुशासनको कारबाहीको धम्की दिनु न्यायसङ्गत हुनै सक्दैन ।
राजीनामा गरिसकेर पनि लिनुपर्ने सुविधा पाउन नसकेका चार जना मजदुरले श्रम कार्यालयमा उजुरी पनि दिए । ५ वर्षमा कारखाना छोड्ने ९ जना क्यू.सी. अफिसर तथा फर्माशिस्टको पनि सञ्चयकोष, उपदान, सञ्चित बिदा र तलब हिसाब गरेको छैन । तिनीहरूले आफ्नो सङ्गठन ल्एब् मार्फत ध्यानाकर्षण गराए पनि ध्यान पुग्न सकेन । ९ मध्ये २ जना फर्माशिस्टले आफ्नै औषधि पसल खोले भने ३ जना अर्कै कारखानामा काम गर्दै छन् । त्यसमध्ये २ जना विदेश पुगिसके भने २ जना बेरोजगार नै छन् । भएको जागिर छोडेर बेरोजगार बस्नुपर्ने अवस्था किन भयो ? मजदुरहरू श्रम कार्यालयमा जान झन्झट मान्दा रहेछन् भने कर्मचारीहरू श्रम कार्यालय आफ्नो निकाय ठान्दैनन् । त्यही भएर क्यू.सी. अफिसर र फर्माशिस्टहरू श्रम कार्यालय जान चाहेनन् । त्यसबारे श्रम कार्यालय आफैले स्पष्ट पार्नु आवश्यक छ ।
सिम्का ल्याबोरेटोरिज्मा मजदुरहरूमाथिको अत्याचार निन्दनीय छ, चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *