भर्खरै :

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा काम शुरु

काठमाडौँ, ८ चैत (रासस) ः प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आजदेखि आफ्नो काम शुरु गरेको छ ।
समितिको आज बसेको पहिलो बैठकले नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेललाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको छ ।
सो अवसरमा सभापति पोखरेलले संसद्बाट आफ्नो काम शुरु गरेको एक महिनाभित्र काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी समितिले पाए पनि १० दिनभित्रै सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइने छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “अबको पाँच वर्ष प्रतिनिधिसभाले गर्ने क्रियाकलाप, निर्णय प्रक्रिया, संसदले प्रतिनिधिसभामा निभाउनुपर्ने भूमिका, आचारसंहिता, सभामुख, उपसभामुखको निर्वाचनका विषय, विभिन्न विषयगत समिति निर्माण गर्नेसम्बन्धी खाका यसले तयार पार्छ ।”
यो संसद्को आन्तरिक कार्यविधि रहेको तथा संसद्बाट पारित गर्ने ऐन सरहको यो नियमावली हुने उहाँले जानकारी दिनुभयो । यसले पारित गर्ने कार्यविधिका सम्बन्धमा कुनै अदालतमा प्रश्न नउठ्ने उहाँको भनाइ छ ।
तेह्र सदस्यीय समितिमा एमालेका पाँच, नेपाली काँग्रेसका तीन, नेकपा (माओवादी केन्द्र) का दुई, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र नेपाल मजदुर किसान पार्टीका एक-एक जना सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *