भर्खरै :

सहिदका सन्तानलाई प्रजग कोरियामा माङयोङदाय क्रान्तिकारी स्कूल

  • असार २४, २०८२
  • गौरव प्रधान
  • विचार
सहिदका सन्तानलाई प्रजग कोरियामा माङयोङदाय क्रान्तिकारी स्कूल

माङयोङदाय क्रान्तिकारी स्कूल प्रजग कोरियाका महान् नेताको रेखदेखमा स्थापना भएको पार्टीको स्कूल हो । क्रान्तिको ऐतिहासिक, पवित्र जन्मथलोमा अवस्थित माङयोङदाय स्कूल क्रान्तिकारीहरूका शोकाकुल केटाकेटीहरूको लागि पावन गृह तथा विद्याको भव्य महल हो । महान् नेता किम इल सङको मार्ग दर्शनअनुसार स्थापित यो स्कूल १२ अक्टोबर १९४७ मा स्थापना गरिएको थियो । नेता किम इल सङले देश विदेशमा रहेका क्रान्तिकारी सहिदका केटाकेटीहरूलाई स्कूलमा समुचित शिक्षा दिने व्यवस्था गरे । सहिदका छोरा छोरीहरूलार्ई कुनै असुविधाबिना अध्ययन गर्ने र हुर्काउने उद्देश्यले उक्त स्कूल खोलिएको हो । स्कूलमा समाजवादी शिक्षाबारे जानकारी गराइन्थ्यो । पार्टीले स्कूलमा मुलुकमा भइरहेको विकास र प्रगतिबारे जानकारी दिन्थ्यो ।
देश सङ्कटको स्थितिमा सहिदका माता पिताले अग्रपङ्क्तिमा रहेर पार्टी र नेतालाई बचाएका थिए । स्कूलका विद्यार्थीहरूले क्रान्तिको मुख्यालय रक्षा गर्न अङ्गरक्षकहरूको एउटा टोली गठन गरेका थिए । आफ्नो ज्यानको बाजी लगाएर नेता र पार्टीलाई रक्षा गर्नु नै माङयोङदाय स्कूलको उद्देश्य रहेको छ । यो स्कूलले जुछे शैलीको क्रान्तिकारी स्कूलको रूपमा विकास गरिरहेको छ । शिक्षाको उच्च गुणस्तर, आधुनिक शैक्षिक सुविधा र जीवन निर्वाहको राम्रो व्यवस्था भएको उक्त स्कूल क्रान्तिकारी सहिदका केटाकेटीहरूको लागि एउटा आदर्श स्कूलको रूपमा विकसित गरिएको छ । प्रशिक्षण केन्द्रको रूपमा रहेको यो स्कूल पार्टी, सेना र जनताको लागि अत्यन्त गौरवको विषय बनेको छ ।
महान् नेता किम इल सङले थालेको यो स्कूल जुछेको क्रान्तिकारी विचार पुस्तौँसम्म अघि लैजाने र पूरा गर्ने पार्टी र जनताको क्रान्तिकारी कदम हो । यसले क्रान्तिकारी विचार र भावना सधैँ कायम गराउन, एक पुस्ताबाट अर्को पुस्तामा विचार प्रवाह गर्ने केन्द्रको रूपमा विकास गरिरहेको छ । सहिदका सन्तानलाई क्रान्तिकारी सशस्त्र फौजको मेरुदण्ड तयार गर्ने, जनसेनालाई क्रान्तिकारी सेनाको रूपमा विकास गर्ने लक्ष्य पनि सो स्कूलको रहेको छ । स्कूलले राजनीतिक एवं वैचारिक शिक्षालाई प्राथमिकता दिएको छ ।
क्रान्तिकारी स्कूलका विद्यार्थीहरू क्रान्तिकारीका छोराछोरी भएकाले मात्रै क्रान्तिकारी बन्दैनन् । उनीहरूलाई क्रान्तिकारी शिक्षा दिइनुपर्छ । सहिदका छोराछोरीलाई पनि क्रान्तिकारी बनाउने केन्द्र हो माङयोङदाय स्कूल । स्कूलमा पार्टी तथा नेताप्रति निष्ठावान बन्न सिकाइन्छ । अदम्य क्रान्तिकारी भावना, उच्च वर्गीय चेतना, देशभक्तिको भावना जगाउन, कम्युनिस्ट नैतिकतालाई बढावा दिन, क्रान्ति, देश तथा जनताको लागि आफ्नो ज्यान समर्पित गराउन तत्पर क्रान्तिकारी तथा उत्साही देशभक्त हुर्काउने काम उक्त केन्द्रको हो । यो सहिदका छोरा छोरीको लागि शिक्षाको विकासमा एउटा परिवर्तन हो ।
विद्यार्थीहरूको बौद्धिक क्षमता विकास गर्न, वैज्ञानिक तथा प्राविधिक जग बसाल्न स्कूलले गणित, भौतिकशास्त्र र रसायनशास्त्रजस्ता आधारभूत विज्ञानको शिक्षालाई जोड दिएको छ । गणित सबै प्राकृतिक विज्ञानहरूको आधारको आधार हो । माङयोङदाय स्कूलले सैनिक शिक्षालाई पनि प्राथमिकतामा राखेको छ । सैनिक शिक्षालाई जनसेनाको सैनिकको रूपमा विकास गरिएको छ । तिनीहरू हातहतियार र सैनिक उपकरण प्रयोग गर्नमा निपुण होस् भन्ने उद्देश्यका साथ काम गरिएको हुन्छ । स्कूलले कला शिक्षामा पनि जोड दिएको छ । साहित्यक कृतिहरूको लेखनतर्फ उद्यत बनाउने, बाजा सिकाउने, सांस्कृतिक कार्यक्रममा सरिक गराउने, गीत, नृत्यमा दख्खल गराउने क्षेत्रमा पनि स्कूलले कार्य थालनी गरेको छ ।
शारीरिक तालिम दिनु पनि स्कूलको उद्देश्य हो । स्कूलका विद्यार्थीमा साहस, सहनशक्ति र इच्छाशक्ति बढाउने काम हुन्छ । शारीरिक विकास गर्न खेलकुदसम्बन्धी गतिविधिलाई जोड दिइएको छ । शिक्षाको गुणस्तर बढाउन स्कूलले शिक्षकको तरिकालाई अगाडि बढाएको छ । स्कूलका शिक्षकहरूले पार्टीको नीतिलाई पाठ्यक्रममा सबै विषयसूचीमा समावेश गरेका छन् । तिनीहरूको राजनीतिक एवं वैचारिक स्वरूप, वैज्ञानिक विशुद्धतामा पूर्णतया प्रत्याभूति दिने प्रयास गरिएको हुन्छ । माङयोङदाय स्कूल क्रान्तिकारी सहिदका छोराछोरीहरूको निवास हो । स्कूलका शिक्षकहरू तिनीहरूका वास्तविक आमा बाबुसरहका हुन्छन् । शिक्षकहरू क्रान्तिकारी नभई विद्यार्थी क्रान्तिकारी हुँदैनन् । स्कूलका शिक्षकहरूले विद्यार्थीलाई अझ बढी क्रान्तिकारी बनाउनुपर्छ । अतः शिक्षकहरूको योग्यता सुधार्न स्कूलले सकारात्मक उपाय अपनाउनुपर्छ । तिनीहरूको योग्यता सुधार्ने कार्यमा कडा निगरानी राख्नुपर्छ । तिनीहरूको अनुभव आदानप्रदान गर्न सेमिनार, बैठक, अन्तरक्रिया, समीक्षा गोष्ठी बरोबर गरिएको हुन्छ । प्रजग कोरियाली पार्टीले विद्यार्थीहरू अध्ययन र जीवनका सबै पक्षमा देशको लागि नमुना बनून् भन्ने ध्येयले काम गरिरहेको हुन्छ । उनीहरूको स्कूल जीवन अवधिभर मेहनताका साथ अध्ययन गराएर पार्टी र नेताप्रति निष्ठा दर्शाउने स्कूलको ध्येय हो । कडा मेहनतका साथ अध्ययन गर्न, राजनीतिक, वैचारिक तथा सैनिक तवरले तयार गर्न, तिनीहरूको कदर गर्न, नेता, कार्यकर्तालाई सम्मान गर्न गराउन, सङ्गठनप्रति रुचि बढाउन, अनुशासित बनाउन र जीवनमा कर्मठ बनाउने प्रयास स्कूलले गरिरहेको हुन्छ । स्कूलमा पढ्ने सबै छोराछोरीलाई तिनीहरू कुनै पनि समयमा कुनै पनि ठाउँमा निडर र निःस्वार्थी भई अघि बढ्न सक्षम बनाउने प्रयास गर्छन् । स्कूलले समाजवादी शिक्षा विषयक थेसिस बनाउने यत्न गरेको हुन्छ । यसलाई सही ढङ्गले उत्तरदायित्वपूर्ण बनाउन र कार्यान्वित गर्न कडा अनुशासन लागु गरिएको हुन्छ । सैनिक नियमावलीअनुसार शिक्षक र विद्यार्थीलाई काम गर्न, सिक्न र क्रियाशील बन्न, अनुशासन एवं आचरणसहित अध्ययन गर्न प्रोत्साहित गरिएको हुन्छ । स्कूलले शैक्षिक प्रशासनलाई पनि प्राथमिकतामा राखेको छ । विद्यार्थीलाई सन्तुलित खाना, लुगा र स्वास्थ्यको ख्याल गरिएको हुन्छ । देशले स्कूललाई सुसज्जित पार्न, शैक्षिक सुविधा दिन, पाठ्यपुस्तक, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन, शिक्षा साधन एवं साजसामानहरू आपूर्ति गर्न, आपूर्तिको लागि आवश्यक सबथोकको प्रबन्ध गरेको हुन्छ ।
स्कूलको पार्टी सङ्गठनले क्रान्तिकारीका सन्तानलाई पार्टीको शैक्षिक नीति लागु गर्न सङ्गठनात्मक एवं राजनीतिक कार्य सञ्चालन गरेको हुन्छ । पार्टी सङ्गठनले स्कूलका शिक्षकहरूलाई पार्टी एवं नेताप्रति अत्यन्त निष्ठावान बनाउने कार्यलाई निरन्तरता दिइरहेको हुन्छ । स्कूलको पथ प्रदर्शन एवं व्यवस्थापनको लागि एउटा समुचित प्रणाली स्थापना गरिएको हुन्छ । सम्बन्धित अधिकारीहरूले शिक्षा एवं नैतिक उन्नतिदेखि आपूर्ति गर्ने कार्यसम्म स्कूलका सम्पूर्ण काममा उत्तरदायित्वपूर्ण तवरले मार्ग निर्देशन गरिरहेका हुन्छन् । स्कूलले क्रान्तिकारी युद्ध स्थलहरू, ऐतिहासिक स्थलका खोज यात्राहरू, कलकारखाना, उद्योग, सहकारी फर्म, सामाजिक, सांस्कृतिक एवं शैक्षिक संस्थाहरूको शैक्षिक भ्रमणको आयोजना गरेको हुन्छ । अन्य रचनात्मक क्रियाकलापमार्फत वैज्ञानिक, सैद्वान्तिक एवं प्राविधिक ज्ञान आर्जन गर्ने माध्यम बनाइरहेको हुन्छ ।
माङयोङदाय क्रान्तिकारी स्कूल देशका मेरुदण्ड उत्तराधिकारीहरूको प्रशिक्षण केन्द्र हो । प्रजग कोरियाली जनताका महान् नेता किम इल सङले आफ्ना परिवार एवं बालबच्चाहरूको ख्याल नराखी मुक्ति सङ्ग्राममा आफ्नो ज्यानको उत्सर्ग गर्ने छोरा छोरीहरूको शिक्षा दीक्षा दिने उद्देश्यले माङयोङदाय क्रान्तिकारी स्कूल स्थापना गर्नुभएको थियो । त्यस शैक्षिक संस्थाको ५० औँ वार्षिकोत्सवको अवसरमा प्रिय नेता किम जङ इलले क्रान्तिकारी स्कूलका शिक्षक एवं विद्यार्थीलाई बधाई दिँदै सन् १९९७ मा एउटा पत्र लेखेका थिए । यो पत्रलाई नेपाल–कोरिया मैत्री सङ्घले सन् १९९९ मा प्रकाशित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *