भर्खरै :

थोमस मोरको कल्पनालोक (युटोपिया) – २

थोमस मोरको कल्पनालोक (युटोपिया) – २

यी नै विचारहरू उनले अपनाए । मास्टर भेस्पुसी फर्केपछि उनले आफ्ना पाँच गुलिकीयालीहरूसहित धेरै देशहरूको यात्रा गरे तथा अन्तमा संयोगबस उनी आजको श्रीलङ्का ताप्रोवेन (aproben) मा पुगे । त्यहाँबाट उनी आजको केराला क्यालिकट (Calicat) पुगे जहाँ उनले आफ्नै देशका केही जहाजहरू भेटे । त्यहाँबाट उनी पुनः आफ्नो देश फर्के ।
पिटरले यी सबै कुरा बताएपछि मैले उनको सहृदयताको लागि धन्यवाद दिएँ किनभने उनले मलाई त्यस्तो व्यक्तिसँग भेटाए जसको वार्तालाप मेरो लागि रोचक र स्वीकार्य थियो । त्यसपछि म राफेलतर्फ फर्केँ । एक आपसमा अभिवादन गरी पछि हामी मेरो घरमा पुग्याँै । घरको बगैँचामा हरिया पातहरूले ढाकेको एउटा बेञ्चमा बसेर हामी कुरा गर्न थाल्यौँ । भेस्पुसीले गुलिक छाडेपछि गुलिकमा बाँकी रहेका उनी र उनका साथीहरूले राम्रा राम्रा र शालीन कुराहरू गरे तथा अलि–अलि गरी त्यस देशका जनताको माया जितेको तथा थोरै समयभित्रै तिनीहरूसँग बिना कुनै हानि नोक्सानी घुलमिल भएको कुरा उनले मलाई बताए । त्यहाँ कुनै एक महान् व्यक्तिको कारण तिनीहरूले धेरै ख्याति र अनुकूल वातावरण पाए । ती व्यक्तिको उदारताको कारण उनी र उनका पाँच मित्रहरूको यात्रा खर्च ती नै व्यक्तिले बेहोरे । त्यसबाहेक यात्रामा अगुवाइ गर्न एक विश्वस्त पथप्रदर्शक पनि उपलब्ध गराइयो ।
धेरै दिनको यात्रापछि तिनीहरूले नगर, सहर र राज्यहरू भेट्टाए, त्यहाँको जनसङ्ख्या धेरै थियो तथा त्यहाँ राम्रा कानुनहरू थिए । भूमध्यरेखीय क्षेत्रमा ठुलठुला मरुभूमिहरू थिए, प्रचण्ड गर्मीले गर्दा उजाड थियो । सबै कुरा नराम्रो र भयानक थियो† खस्रो, जङ्गली पशुहरूले भरिएको थियो अथवा पशुहरूजस्तै जङ्गली व्यवहार देखाउने व्यक्तिहरूले भरिएको थियो । तर, केही पर पुगेपछि अलिअलि गर्दै सबै कुरा राम्रो र उब्जाउ देखिन थाल्यो । हावाको गति शान्त हुन थाल्यो । जमिन हरियो घाँसले भरिएको थियो, पशुहरूमा कम जङ्गलीपना थियो । अन्तमा, हामीले जनता, सहर र नगरहरू भेट्यौँ जहाँ आफूहरू माझमात्र नभई, सीमा क्षेत्रमा र टाढाका देशहरूसँग पनि समुद्री स्थलमार्गबाट व्यापार विनिमय हुन्थ्यो । त्यहाँ आफूले हरेक ठाउँका धेरै देशमा भ्रमण गर्ने मौका पाएको उनले बताए । त्यहाँ यात्राको लागि तयार एउटा पनि जहाज थिएन तर पनि उनी र उनका साथीलाई जहाजमा खुसीसाथ स्वागत गरियो । तिनीहरूले पहिले भेटाएको जहाज सादा र चेप्टो थियो । जहाजका पालहरू बाँस र छालाले बनेको थियो । त्यसपछि तिनीहरूले टाट कपडा आदिले बनेका पालहरूले युक्त जहाज र अन्तमा आफ्नो जस्तै जहाजहरू पाए ।
जहाजीहरू समुद्र र मौसम दुवैको विषयमा विज्ञ थिए । तर, तिनीहरूलाई विभिन्न काम र चुम्बकको प्रयोग सिकाएपछि उनको तिनीहरूसँग मित्रता बढ्यो । त्यसभन्दा पहिले चुम्बकप्रति तिनीहरू अनभिज्ञ थिए ।
तैपनि, तिनीहरू समुद्री यात्रा गर्न डराउँदैथे । तर, गर्मीयाममा मात्र तिनीहरू यात्रा गर्थे । अहिले तिनीहरूलाई चुम्बकप्रति यति विश्वास छ भने तिनीहरू समुद्री आँधी आउने जाडोयामबाट पनि तिनीहरू डराउँदैनन् र तिनीहरू सबै किसिमको चिन्ताबाट अभ्यस्त भइसकेका छन् । आफ्नो लागि राम्रो र उद्देश्यमूलक ठानिएको कुरा नै पछि नराम्रो र हानिकारक बन्न सक्नेछ भन्ने कुरामा शङ्का उत्पन्न भयो ।
तर, उनी पुगेको हरेक देशमा देखेको कुरा यहाँ उल्लेख गर्नु लामो हुनेछ । यहाँ यी सब उल्लेख गर्नु मेरो उद्देश्य पनि होइन । तर, अन्य ठाउँहरूको भ्रमणबाट फाइदा हुने कुरा थाहा पाउन सकिन्छ, नागरिक नीति र राम्रो व्यवस्थामा बाँच्न जनतामाझ ल्याइएको ऐन–कानुन र अध्यादेशहरूको विषयमा थाहा पाउनु राम्रो हुनेछ । यस्ता कुराको लागि हामीले उनलाई सोध्यौँ तथा उनले पनि इच्छापूर्वक बताए । तर, राक्षसहरूको लागि यो केही नौलो कुरा थिएन, तिनीहरूको लागि हामी उत्सुक पनि थिएनौँ । राक्षस ६ टाउके सलानास खाली अपसकुनको भविष्यवाणी गर्ने सेलानोस र लाइस्ट्राइगोन (Laestrygons) जस्ता र नरभक्षीहरूजस्ता असामान्य कुराहरूबाट पाठकहरूको मनोरञ्जन गर्नुभन्दा विभिन्न देशहरूका सक्षम प्रशासनको विषयमा लेख्नु बढी राम्रो हुनेछ । तर, राम्रो र सम्पूर्ण कानुनहरूद्वारा शासित नागरिकहरू भेटाउनु दुर्लभ र गा¥हो कुरा हो । ती नयाँ भूमिमा धेरै काम नलाग्ने र मूर्खतापूर्ण कानुनहरू पाएपछि उनले विभिन्न क्रियाकलापहरू र संविधानको अभ्यास गरे जसबाट हाम्रा सहर, राष्ट्र, देश र अधिराज्यहरूले आफ्नो कमी–कमजोरी र गल्तीहरू सच्याउने उदाहरण दिन सकून् ।
म उनले बताएका कल्पनालोकवासीहरूको आचरण, रीतिरिवाज, नियम, कानुन र अध्यादेशहरूको विषयमा बताउन गइरहेछु । तर, पहिले म हाम्रो पहिलेको वार्ता र त्यो ठाउँको चर्चा कसरी भयो भन्ने कुरा दोहो¥याउनेछु । राफेलले विभिन्न देशका नियम र कानुनहरूको विज्ञको रूपमा विभिन्न विषयको ठीक ठीक ढङ्गले वर्णन गरे तथा त्यहाँ र यहाँ दुवैतिर स्थापित हुनुपर्ने राम्रो नियम कानुनको विषयमा बताए । यी सबै कुरा सुनेर पिटरले आश्चर्य चकित हुँदै भने, “त्यो भए तपाईँले किन कुनै राजाकहाँ काम गर्नुभएन ? तपाईँजस्तो धेरै देश र जनताको विषयमा ज्ञान भएको मान्छेले तथा उदाहरण दिएर सल्लाह दिनसक्ने मान्छे पाएर कुनै पनि राजा खुसी हुनेछन् । यसो गरेर तपाईँले आफूलाई राम्रो गर्नसक्नुहुन्छ र आफ्नो मित्र र नातेदारहरूलाई पनि मद्दत गर्नसक्नुहुनेछ ।”
“मेरो मित्र र नातेदारहरूको विषयमा म धेरै कुरा गर्न चाहन्न । मलाई लाग्छ, मैले तिनीहरूको लागि आफ्नोतर्फबाट पर्याप्त गरेँ । यस्ता कुराहरूमा अरु व्यक्तिहरूलाई नभनिएसम्म र बिरामी नभएसम्म आफ्नो पद छाड्दैन तथा असक्षम भएपछि पनि छाड्न गा¥हो मान्छन् । त्यस्ता कुराहरू मैले मेरो युवावस्थामा, राम्रो स्वास्थ्य स्थितिमा गरिसकेको छु । मेरो यो उदारताले तिनीहरूलाई खुसी पार्नेछ तर तिनीहरूको खुसीको लागि म राजाको बन्धक बन्न सक्दिन्नँ ।”
पिटरले भने, “तपाईँ राजाको बन्धक हुनुपर्छ भन्ने मेरो भनाइ होइन तर सेवक हुनु राम्रो हो । यसबाट तपाईँले आफ्ना मित्रहरूको व्यक्तिगत सुख सयलको लागि मात्र नभई सबै जनताको लागि र अहिलेको भन्दा आफ्नो आर्थिक अवस्था सम्पन्न पार्नको लागि आफ्नो समयको सदुपयोग गर्न सकिन्छ भन्ने मेरो सोचाइ हो ।”
राफेलले भने सम्पन्न अवस्थामा त्यो पनि मेरो विचारविरुद्ध ? अहिले म मेरो सोचाइ र सहुलियतअनुरूप स्वतन्त्र भएर बाँचेको छु तथा ठुलठुला राज्यका थोरै व्यक्तित्वहरूले मात्रै यस्तो कुरा भन्न सक्छन् । ठुलठुला व्यक्तित्वहरूको मित्रता खोज्नेहरू पर्याप्त छन् । तसर्थ, म र मजस्ता तीन–चार व्यक्ति त्यस भीडमा सामेल नहुँदा कसैलाई फरक पर्दैन ।
राफेल तपाईँलाई सम्पत्ति र शक्तिको चाहना छैन, शक्ति र अधिकार सम्पन्त ती कुनै पनि व्यक्तिहरूलाई भन्दा तपाईँलाई कम सम्मान गर्दिन ।
तर, तपाईँ यसको लागि योग्य हुनुहुन्छ तथा तपाईँसँग भएको ज्ञान, उच्च साहसअनुसार आफ्नो पीडा र कठिनाइ सहेरै भए तापनि जनताको हितको लागि आफ्नो बुद्धि र परिश्रम लागु गर्नुपर्दछ । कुनै राजकुमारको परिषद्मा रहनुभए तपाईँले यस्तो गर्न सक्नुहुन्छ तथा उनको दिमागमा इमानदार मत र नैतिक प्रोत्साहन भर्न सक्नुहुन्छ । राजकुमारको दिमागबाट जनताको लागि निरन्तर राम्रो वा नराम्रो कुरा निस्किरहन्छ । तर, तपाईँसँग यति धेरै ज्ञान छ कि बिना कुनै अनुभव तपाईँ कुनै पनि राजाको सल्लाहकार बन्न सक्नुहुन्छ ।
मोर महाशय ! तपाईँ दुईपटक ठगिनुभयो । पहिलो, मेरो विषयमा र दोस्रो कुराहरूको विषयमा । तपाईँले ममाथि लाद्नुभएको क्षमता ममा छैन तथा मैले जनताको कल्याणमा केही गरिनँ । पहिलो, राजकुमारहरूलाई शान्तिमा भन्दा युद्धको विषय र शूरवीरहरूको भोज भतेरमा जुन बढी चासो छ त्यो ज्ञान ममा छैन र चाहना पनि छैन । तिनीहरू आफूसँग पहिले नै भएको राज्यमा शान्तिपूर्वक शासन चलाउनुभन्दा आफ्नो अधीनमा रहेका क्षेत्रहरूमा सही र गलत तरिकाबाट विस्तार गर्नुमा बढी ध्यान दिन्छन् । यसबाहेक राजाका हरेक सल्लाहकारहरू धेरै बुद्धिमान हुन्छन्, तिनीहरूलाई अरु कसैको साथ चाहिँदैन वा आफूलाई यति बुद्धिमान ठान्छन् कि उसले अरुको सल्लाहलाई प्रयोग गर्न दिंँदैन । राजकुमारहरूको कृपापात्र बन्न तिनीहरू निर्लज्जतापूर्वक चाकडी र चाप्लुसी गर्छन् तथा तिनीहरूको मूर्खतापूर्ण भनाइ र तर्कहरूलाई पनि सहमति दिन्छन् । निश्चय पनि स्वाभाविकरूपमा सबै मानिसहरू आफ्नो प्रस्ताव राम्रो होस् भन्ने चाहन्छन् । त्यसो त बाँदरले समेत आ–आफ्नो भुरा बच्चाहरू सबभन्दा राम्रो सम्झन्छन् । यस्तो समूहमा अन्य योग्य व्यक्तिहरू हुँदाहुँदै पनि आफूलाई सर्वश्रेष्ठ ठानेर अरुको अपमान गर्ने व्यक्तिहरूको समूहमा कुनै व्यक्तिले विगतको समयमा आफूले पढेको तथा अन्य ठाउँमा देखेको कुरालाई अगाडि राख्यो भने अरुले आफ्नो सबै बुद्धिमत्ता खतरामा पर्ने तथा आफू प्रहसनको पात्र बन्ने सोच्छन् तथा अरुको काममा कमी–कमजोरीहरू निकाल्छन् ।
तिनीहरूका अनुसार यी कुराले आफ्ना पुर्खाहरू खुसी हुन्छन्† हामी पनि तिनीहरूजस्तै बुद्धिमान हुन्छौँ । तिनीहरूले चलाखीपूर्वक समस्या सुल्झाएपछि यही जवाफ दिएर हरेकको मुख बन्द गर्छन् र पुनः शुरुआत गर्छन् । आफ्ना पुर्खाहरूभन्दा बढी बुद्धिमान हुनु खतरनाक कुरा हो भनेर कसले भन्ने छ ? तिनीहरूको असल र चलाखीपूर्ण आदेशहरू लागु नहुनुको पीडा सहन हामी इच्छुक छौँ तर तिनीहरूको भन्दा राम्रो कुनै आदेश आयो भने त्यहाँ कमी–कमजोरीहरू हुने विश्वास गर्छौँ । धेरैपटक मैले यस्ता घमण्डी, अहङ्कारी, फोहर अधकल्चो र दुराग्रही निर्णयहरू देखेको छु, बेलायतमा पनि ।
मैले सोधेँ – के तपाईँ हाम्रो देशमा आउनुभएको छ ?
अँ, हो, म आएको छु – उनले भने । म त्यहाँ ४ वा ५ महिनासम्म बसेँ, पश्चिमी बेलायतीहरूले राजाविरुद्ध गरेको विद्रोह र तिनीहरूको दमनका साथ विद्रोह अन्त्य भएको थोरै समयपछि नै म त्यहाँ थिएँ । त्यहाँ म क्यान्टरबरी (Canterbury) का उच्च तहका पादरी, बेलायतका लर्ड चान्सलर, सम्मानित जोन मोर्टन (John Merton) प्रति धेरै आभारी थिएँ । मोर महाशयले उहाँलाई चिन्नुहुन्छ । पिटर महाशय, उनी आफ्नो अधिकारका लागि बाहेक आफ्नो गुण र होशियारीको लागि सम्मानित थिए । उनी आफ्नो योग्यताको लागि प्रख्यात थिए र उमेरले पाको भए तापनि ठाडो भएर हिँड्डुल गर्न सक्थे । उनको अनुहारमा मैत्रीपूर्ण भाव झल्कन्थ्यो । उनका बोलीचाली शिष्ट थियो । उनी गम्भीर तथा बुद्धिमान थिए । हरेक मानिसमा कस्तो चलाखी र साहसी भावना थियो भन्ने कुरा प्रमाणित गर्न उनले विना कुनै हानि आफ्ना समकक्षीहरूलाई बुद्धिमत्तापूर्ण उत्तरहरू दिएर खुसी पारे । उनको व्यवहारमा अहम्पना थिएन तथा उनी मनोरञ्जनप्रेमी थिए । लोककल्याण हुने प्रशासनको काम पनि उनले राम्रै सम्हाले । उनका वक्तव्यहरू शिष्ट र वाक्पटु तर अर्थपूर्ण हुन्थ्यो । कानुनमा उनको गहन ज्ञान थियो, बुद्धिमा उनी अतुलनीय थिए तथा उनको स्मरणशक्ति अत्यन्त राम्रो थियो  । प्राकृतिकरूपमा प्राप्त यी गुणहरूलाई उनले ज्ञान र प्रयोगबाट पूर्ण बनाएका थिए । राजाले आफ्नो सल्लाहकारमाथि धेरै विश्वास गर्थे तथा जनता पनि उनीमाथि भरोसा गर्थे । आफ्नो युवावस्थामा नै उनलाई विद्यालयबाट झिकेर अदालत लगियो तथा त्यहाँ उनको समय र काम, दुर्भाग्य र कठिनाइहरूको लहरमा डुब्दै, उभ्दै बित्यो । धेरै खतराबाट उनले विश्वको अनुभव प्राप्त गरेर यसरी सिकेको अनुभव चाँडै बिर्सेनन् ।
एक दिन म उनको साथमा छँदा त्यहाँ एक साधारण व्यक्ति पनि थिए जुन बेलायतको कानुनबारे जानकार थिए । त्यसबेला अपराधीहरूमाथि लागु गरिएको कठोर न्यायको उनले गम्भीररूपमा प्रशंसा गर्न सुरु गरे, उनका अनुसार एकपटकमा २० जनालाई एकैचोटि झुन्ड्याउनु सामान्य थियो । सजायबाट बच्ने केहीको सन्दर्भमा आफ्नो भाग्यको कारण बचेको भनी उनले आश्चर्य व्यक्त गरे तथापि त्यसबेला हरेक ठाउँमा चोरहरूको बिगबिगी थियो ।
मैले भनेँ, “होइन त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन, चोरहरूलाई दिइने यो सजाय जनताको लागि पनि दुःखद छ । किन भयो चोरीको लागि मृत्युदण्डको सजाय ! यो सजायबाट मान्छेलाई चोरी गर्नबाट टाढा राख्न सकिँदैन । साधारण चोरी अपराध नभएको हुँदा यसको लागि मृत्युदण्डको सजाय आवश्यक थिएन । आफ्नो जीवनयापन गर्नको लागि कुनै रोजगार नभएका व्यक्तिको लागि यस भयानक सजायले पनि चोरी गर्नबाट टाढा राख्न सक्तैन । यसो गर्यो भने हामी ती विद्यालयका शिक्षकहरू जस्तै हुन्छौँ जो आफ्ना विद्यार्थीहरूलाई सिकाउन छोडेर कुटपिट गर्छन् । चोरहरूको लागि भयानक सजाय तोक्नुभन्दा त्यो मान्छेलाई जीवनगुजारा गर्ने जोहो गरिदिनु आवश्यक छ किनभने कोही पनि व्यक्ति चोरी गर्न र पछि मर्न बाध्य होस् ।”
हो – उनले भने । यो विषयमा पहिल्यै छलफल भइसकेको छ । तिनीहरूको लागि हस्तकला, खेतीपाती आदि उपलब्ध गराइने छ ।
होइन, तपाईँ यसरी भाग्न सक्नुहुन्न मैले भनेँ । ब्ल्याकहिथ (Blackheath) फ्रान्स र अन्य युद्धहरूबाट घाइते र अङ्गभङ्ग भएर निस्केकाहरूको जनता वा राजाको लागि आफ्नो ज्यान खतरामा पारेकाहरू, कमजोरी र अशक्तताको कारण आफ्नो पुरानो पेसा जारी राख्न नसक्ने नयाँ कुरा सिक्न धेरै उमेर छिपिसकेकाहरूको विषयमा मैले केही बोलेको छैन । युद्ध त बारम्बार भइरहन्छ तर दैनिकरूपमा हाम्रो आँखा अगाडि घट्ने घटनाहरूको विषयमा सोचौँ ।
पहिलो, काम नगरी त्यतिकै बस्न नचाहने भलादमीहरू धेरै छन् । तिनीहरू आफ्नो घरमा भाडामा बस्नेहरूलाई भाडा बढाएर आर्थिक दबाब दिन्छन् । ती भलादमीहरू आफू केही काम नगरी बस्छन् र आफ्नो पछाडि पनि त्यस्तै व्यक्तिहरूको एउटा जमात खडा गर्छन् । जसले आफ्नो जीवनयापन गर्न केही काम सिकेका हुँदैनन् र आफ्नो मालिकको मृत्युपछि तिनीहरू घरबाट बाहिर फ्याँकिन्छन् । भलादमीहरूले आफ्नो साथमा अल्छी व्यक्तिहरूलाई राखेका हुन्छन् र मालिकको मृत्युपछि उनका उत्तराधिकारीहरूले तिनीहरूलाई पाल्न नसक्ने हुन्छ । त्यसपछि तिनीहरूले कुनै काम पाउँदैनन् र चोर बन्न बाध्य हुन्छन् । देश विदेश धेरै घुमेर आफ्नो स्वास्थ्य बिगारेर आएपछि तिनीहरूलाई कसैले रोजगार दिँदैन । काम नगरी खान पल्केका तिनीहरू थोरै ज्यालाको लागि एउटा गरिब व्यक्तिकहाँ नोकरी गर्ने र बफादार रहने क्षमता तिनीहरूसँग हुँदैन । वकिलले मेरो कुराको खण्डन गर्दै भने, “यसो होइन सेन्ट मेरी (Saint Mary) महाशय कृषकहरूभन्दा त्यस्ता साहसी व्यक्तिहरू हाम्रो सेनाको शक्ति र सामथ्र्य हुन् ।”
युद्धको लागि तपाईँलाई चोरहरू चाहिन्छ, चोरहरूको कहिल्यै कमी हुनेछैन । चोरहरू कमजोर सैनिक हुनुपर्छ । सैनिकहरू चोर हुनुहुँदैन भन्ने केही छैन । यी दुई कलाहरू एक आपसमा मेल राख्छ । तर, यो दोष तपाईँको मात्र होइन सबै राष्ट्रहरूमा छ ।
फ्रान्स योभन्दा अर्कै सरुवा रोग र समस्याबाट पीडित छ । शान्तिको बेलामा पनि अनेक निहुँमा फ्रान्सेली सेना भरौटे सैनिकले भरिएको छ तथा तपाईँले ती अल्छी सेवकहरूलाई राखेजस्तै तिनीहरूले भरौटेहरूलाई सेनामा भर्ती गरेका छन् । ती बुद्धिमान मूर्खहरू र मूर्खका नेताहरू युद्धको अभ्यास भएका सैनिकमाथि भर पर्छन् तथा अभ्यासहीन सैनिकमाथि भर पर्दैनन् । तसर्थ, तिनीहरू युद्ध र मान्छे मार्ने अभ्यास गर्छन् अन्यथा अल्छीपना र अभ्यासहीनताको कारण तिनीहरू अल्छी बन्छन् । तर, यस्ता जनावरहरू पाल्नु कतिको घातक छ भन्ने कुरा फ्रान्सेलीहरूले आफूमाथि लादेको क्षतिबाट थाहा पाइसकेका छन् । रोमन, क्याथागिपाली (Cathaghians), सिरियाली र अन्य देशमा पनि यसको प्रमाण देखिन सकिएको छ । साम्राज्यमात्र होइन सहर र खेतहरू पनि तिनै भरौटे सेनाको कारण नष्ट भएका छन् । आफ्नो युवाकालदेखि नै अभ्यास र हातहतियार सञ्चालनमा दक्ष भएका फ्रान्सेली सैनिकहरू तपाईँको नयाँ अभ्यासहीन सैनिकहरूको अवधारणासम्म पुगेनन् । म यहाँ धेरै शब्दको प्रयोग गर्दिनँ, तपाईँको सहरको हस्तकलाका कलाकारहरू र सरल किसानहरू भलादमीहरूको अल्छी सेवकहरूको जमातसँग डराउँदैनन् । जहाँसम्म तिनीहरूको गरिबीले आफ्ना शक्ति र साहसलाई तर्साउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *