भर्खरै :

रुढीवादको कारण ज्यान गुमाउन बाध्य नारीहरू

रुढीवादको कारण ज्यान गुमाउन बाध्य नारीहरू

महिलाहरू समाजका मेरुदण्ड हुन् । आमा, दिदीबहिनी, पत्नी र साथीको रूपमा परिवार र समाजको निर्माण तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । महिला लिङ्गको आधारमा चिनिने जैविक अस्तित्व मात्र होइनन्, उनीहरू समाजको सक्रिय, सक्षम र सृजनात्मक पक्ष हुन् ।
उनीहरूलाई वर्षौंसम्म घरपरिवारमा मात्र सीमित रहनु प¥यो, समान अधिकार अवसर र निर्णय लिने स्वतन्त्रता दिइएन । परिवारमा प्रमुखको दर्जा र बोल्ने अनुमति थिएन । नेपालको संविधानले मौलिक अधिकारअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ । के यो महिला अधिकारबारे सम्पूर्ण दिदीबहिनीहरूलाई थाहा छ ? यो अधिकार उनीहरूले प्रयोग गर्ने पाएको छ वा छैनन् ?
हिजो भर्खरै सुदूरपश्चिमको कञ्चनपुरमा एक महिला जो महिनावारीले गर्दा अशुद्ध अपवित्रता भन्ने मान्यता धर्म संस्कारले गर्दा छाउगोठमा नै राख्नु पर्छ यदि नराखेमा बिरामी हुने, नराम्रो हुने भन्ने मान्यताको कारण यो महिलाले आफ्नो ज्यान गुमाउन परेको छ ।
राज्यले छाउगोठ प्रथा अन्त्य गर्ने र नियन्त्रण गर्नको लागि विभिन्न नीति नियम बनाएको छ । मुलुकी अपराध संहिताको दफा १६८ मा अपराधजनक वा अमानवीय व्यवहार गर्न नहुने व्यवस्था छ । त्यस्तै उपदफा ३ मा महिला रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तो अन्य कुनै किसिमको भेदभाव छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने वा गराउनु हुँदैन । यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तिन हजार जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।
राज्यले यस्तो कठोर नीति तथा कानुन बनाउँदा पनि महिलाहरूले सर्पको टोकाइ तथा अन्य जनावरको शिकार, बन्न बाध्य छन् । कुनै गल्ती नै नगरी अकालमा ज्यान गुमाउन र पीडा सहनु महिलाहरूको बाध्यता बनेको छ । समाजमा महिनावारी हुँदा शरीरमा आउने परिवर्तनहरूबारे उचित ज्ञान दिन जरुरी छ । विभिन्न जनचेतनामूलक कार्यक्रम तथा विद्यालयमा शिक्षक, विद्यार्थी र समुदायमा छाउगोठ राख्न नहुने विषयमा सचेत पार्नु आवश्यक छ ।
राज्यले स्थानीय तहलाई महिला तथा बालबालिकाका अधिकार प्रवद्र्धन र संरक्षणको लागि अधिकारहरू दिएको छ । विभिन्न ठाउँमा छाउगोठ भत्काउने अभियान चलेको छ । यो प्रयास पनि केही हदसम्म महत्वपूर्ण छ । महिला अधिकार समूह, शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सामाजिक अभियान जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । समुदाय स्तरमा घरपरिवार, विद्यालय र स्थानीयसँग मिलेर महिनावारीबारे वैज्ञानिक जानकारी फैलाउने, छाउगोठ नहुन प्रोत्साहन गर्ने र सामाजिक व्यवहारमा परिवर्तन ल्याउने कार्यमा सघाउनु पर्छ ।
संविधानले समाजवादको व्यवस्था गर्दैगर्दा सरकार जनताबाट टाढिनु गलत हुन्छ । जनताको हरेक सुख दुःखमा साथ दिनु एउटा सक्षम सरकार उपलब्धि हो । सरकार मालिक हैन बहुमत जनताको सेवामा लाग्नुपर्छ । महिनावारीलाई अपवित्रता मान्ने परम्परागत सोच र छाउपडी प्रथाले महिलाको जीवन र सम्मानमा गम्भीर असर पु¥याएको छ । संविधानमा सुनिश्चित गरिएका अधिकारहरू व्यवहारमा लागु हुन जरुरी छ । कानुनले छाउगोठ प्रथालाई अपराध मानेको भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन देखिँदैन । समाजको सोच परिवर्तन गर्न वैज्ञानिक शिक्षा, सशक्त जनचेतना र समुदायको सहकार्य आवश्यक छ । राज्य, समाज र परिवारले मिलेर मात्र महिलाको सम्मान, स्वास्थ्य र अधिकारको पूर्ण संरक्षण सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *