भर्खरै :

मागेको धोतीले लाज छोपिन्न

मागेको धोतीले लाज छोपिन्न

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेज्येन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री खड्गप्रसाद ओली २१ सदस्यीय टोलीको नेतृत्व गर्दै असार १४ गते स्पेन प्रस्थान गरेका थिए । उनी असार १६ देखि १९ गतेसम्म स्पेनको सेभियामा सम्पन्न विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) को चारदिने चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर असार २० गते शुक्रबार स्वदेश फर्केका थिए ।
स्पेनको भ्रमण फलदायी भएको सरकारले दाबी गरेको छ । स्पेनको भ्रमण नेपालको दीर्घकालीन समृद्धिमा टेवा पुग्ने गरी फलदायी भएको, सम्मेलनमा आफ्नो उच्च सक्रियताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको बताइएको छ । नेपालको दिगो विकास तथा स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेको, राष्ट्रहरूसँगको भेटघाटले सम्बन्ध थप शुधार भएको र विभिन्न महत्वपूर्ण सत्रमा सक्रियताका साथ सहभागिता जनाएकोमा संयुक्त राष्ट्रसङ्घले उच्च प्रशंसा गरेको खुसी पनि उनले बाँडेका थिए । त्यसलाई प्रम ओलीले सञ्चारमाध्यमबाट नेपाली जनतालाई प्रसादको रूपमा बाँडेका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेश सयर गरेका प्रधानमन्त्री, मन्त्रीहरूले यस्तै खुसी प्रसादको रूपमा नेपाली जनतालाई बाँडेर देश र जनताको ‘निःस्वार्थ सेवा !’ भन्दै आएका थिए । तर, देशको अवस्था झन्झन् दयनीय हुँदै छ । ती भ्रमणमा प्रधानमन्त्री, मन्त्रीहरूले नेपालको प्रगति र विकासको कुरा फलाक्न सकेका छैनन्† खालि हात थाप्ने काम गरे । उनीहरूले आफ्नै खुट्टामा उभेर देश बनाउने सोच कहिले पनि बनाएनन्; विदेशको प्रगति, विकासको अवलोकन गरेर त्यसको सीप, शिक्षा, अनुभव बोकेर देशको परिस्थितिअनुकूल आफ्नै खुट्टामा उभेर रचनात्मक उपयोग गरेनन् । त्यसैले उनीहरू बने तर, देश बनेन । सञ्चारमाध्यममा आएअनुसार सर्वोच्च अदालतले रोक्दा रोक्दै सङ्घ र प्रदेशमा प्रत्यक्ष निर्वाचित र समानुपातिकमा मनोनीत सांसदलाई पहिलाको सांसद विकास कोष होइन भौतिक पूर्वाधार विकास कोषको नाममा बजेट पठाउने भएका छन् ।
चर्चित नेपाली गायक एवं रचनाकार गोपाल योञ्जनले गाएको गीत त्यसै लोकप्रिय र देशभक्त भएको होइन । जसलाई राष्ट्र गान, स्वदेश गानको रूपमा रेडियो नपाललगायत विभिन्न सञ्चारमाध्यमले बजाउँदै आएका छन् । गीतका महत्वपूर्ण अंशहरूमध्ये एउटा महत्वपूर्ण अंशको बोल यस्तो थियो ।
खोसेको (मागेको) रोटीले मेरो पेट भरिन्न
मागेको रोटीले मेरो लाज छोपिन्न
मागेर पाएको दान भनेको सधैँको लागि पुग्ने पनि होइन । यसले मानिसमा माग्ने प्रवृति बढाउँछ† काम गरेर कमाएर खानुपर्छ भन्ने सोच, विचार गर्दैन । उनीहरूले ल्याएको अनुदानबारे नेपाली जनताको पेट भरेको छैन । देशको ऋण २७ खर्ब पुगिसकेको छ । अनुदान र ऋण सहयोग बालुवामा पानीजस्तो भएको छ । आज प्रत्येक नेपालीको टाउकोमा ९० हजार ऋणको भारी बोकाएको छ । उनीहरूमा विदेशीसँग हात नथापिकन देश आफ्नै खुट्टामा उभेर बनाउने सोच र आचरण कहिले आउने हो ? प्र्रम ओलीले स्पेनको विभिन्न कार्यक्रममा विदेशी ऋणको धेरै ब्याज तिर्नुपर्दा शिक्षा र स्वास्थ्यको विकास गर्न सकिएन; त्यही भएर सहयोगको लागि देशको इज्जत जाने गरी हात थपेको सञ्चारमाध्यममा सुनिन्छ । त्यस्तै ओलीले कोभिडको बेला विदेशी सहयोग ओइरिएजस्तै आज सहयोग नआएको दुखेसोे पोखेका थिए । प्रमको यो माग्ने कामले देशको शिर निहुराउने काम गरेको छ । यसले गर्दा मित्र राष्ट्रका महामहिमहरू, प्रतिनिधिमण्डल आउन अप्ठेरो मान्छन् । अरुसँग हात थपेर विश्वमा कुनै देश बनेको छैन । आफ्नै आत्मनिर्भर सोच, आफ्नै पाखुरा र खुट्टामा उभेर कठिन परिश्रमले मात्र देश बनेको पाइन्छ ।
दुःखको कुरा, सरकारले, देश विकासको मेरुदण्डको रूपमा रहेका झन्डै एक करोड युवा विभिन्न देशमा रोजगारीको लागि विदेशिन बाध्य पारेको छ । कति युवाहरू विदेशमा अलपत्र पारिएका, दुःख पीडा भोगेका, अङ्गभङ्ग भएका र बाकसमा बन्द भएर आएका छन् । त्यसको कुनै लेखाजोखा छैन । हालै सरकारले विदेश जाने युवाहरूलाई देश हेरी २ देखि ५ लाखसम्म ऋण दिने कुरा बाहिर ल्याएको छ । यो देशका युवालाई अझ विदेश पलायन गर्ने देशघाती काम हो । बरु, देशमै, सानोतिनो व्यवसाय गर्ने युवाहरूलाई सहयोग दिएको भए जाती हुन्थ्यो ।
देशको शिक्षा नीति गलत छ । देशमा विदेशी विद्यालय कलेजलाई हुल्याउँदा ७ लाख नेपाली विद्यार्थी पढ्ने नाममा बिदेसिएका छन् । यसबाट देशको ७ खर्ब रूपैयाँ बाहिरिएको छ । ती बिदेसिएका विद्यार्थीहरू कति स्वदेश फर्कने हुन् ? कति विद्यार्थीले विदेशमा पढेको, सिकेको, अनुभव गरेको ज्ञान, सीप प्रयोग गरेर देश बनाउन आउने हुन् ? त्यो भने समयले देखाउनेछ । यसरी उच्च शिक्षाको नाममा विदेश गएका नेपाली विद्यार्थीहरू देशमा रोजगारी हुँदैन भनेर फर्केका छैनन् । यो देशको दुर्भाग्य हो । यसको दोषी भनेका आज सत्तामा गएका काङ्ग्रेस, कम्युनिस्ट भनिएका दल नै हुन् । देशलाई स्वर्ग बनाउने, देशलाई सिङ्गापुर बनाउने भाषण दिने अधिकांश नेताका सन्तानहरू उच्च शिक्षाका नाममा विदेशमा छन् ।
देशका शासक नेताहरूले देश र जनतालाई सधैँ शिरमा राखेर, आफ्नै खुट्टामा उभेर, रगत पसिना बगाएर देश बनाउने, काम गर्ने विचार, सोच, उनीहरूमा देखिएन । त्यसैले यो कचौरा थपेर हिँड्ने सोचलाई त्यागेको खण्डमा देश र जनतालाई शिरमा राखेर अगाडि बढ्न सकेको खण्डमा देश छिटो बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *