चे ग्वेभारालाई चिनाउने पुस्तक ‘बोलिभियाली डायरी’
- जेष्ठ ११, २०८३
चिठीहरूले विश्वविद्यालयका कक्षामा बसिरहेको आभास दिलाउँछ
श्रद्धेय पार्टी अध्यक्षज्यूले शोभा मिसलाई सम्बोधन गर्दै जेलबाट लेख्नुभएका चिठीहरूले २३ वर्षपछि ‘जेलका चिठीहरू’ को नाउँमा पुस्तक आकार पायो । त्यसको झन्डै १३ वर्षपछि आज ‘Letters from Jail’ सार्वजनिक भयो । आजभन्दा १० वर्षअघि नेपालीमा पढ्दा र उही कृति अङ्ग्रेजीमा पढ्दा बेग्लाबेग्लै मिठास अनुभव भयो । पाठकहरूले रसास्वादन जरुर गर्नेछन्, यो नयाँ प्रकाशनको सुन्दर पक्ष जरुर अनुभूत गर्नेछन् ।
यो कृतिमा अनुवादक र सम्पादकहरूले ठुलै मेहनत लगाउनुभएको जोकोहीले अनुभव गर्नेछन् । किनभने, अध्यक्ष रोहितले जुन परिवेशमा यी रचनाहरू तयार गर्नुभयो त्यो अत्यन्त कठिन समय थियो, त्यो अत्यन्त कालो समय थियो । त्यो परिस्थितिले मागेको भाषालाई आज अङ्ग्रेजीमा अनुवाद गर्नुपर्दा सहज एवम् सामान्य नहुनु अनौठो होइन । यसर्थ अनुवादक अणुराज जोशी र सम्पादकहरूप्रति पाठकहरूले सम्मान गर्नैपर्छ ।
यो पुस्तकले एउटा अभाव भने हामीलाई जरुर महसुस गराउनेछ । कसैको अनुपस्थितिले बेस्सरी चिमोट्नेछ, कसैको खोजीमा आँखाहरू भौतारिनेछन्, स्मृतिका डोबहरूले पछ्याउनेछन्, चिठी पढिरहँदा पाठकले भेट्ने चाहना राख्नेछन् — चिठीहरूकी नायिका ‘Dear Shova’ लाई, हाम्रा आदरणीय शोभा भाउजू, कामरेड शोभा प्रधानलाई । तर अफसोस अब पाठकले उहाँलाई प्रत्यक्ष भेट्न सम्भव छैन ! चिठीहरूमा जीवन्त उहाँको आकृतिमा अब चित्त बुझाउनुको विकल्प छैन ।
अहिलेसम्मका चिठी साहित्य एकले अर्काेलाई लेखिएको हामी पाउँछौँ, जो नजिक या टाढा छन् । शोभा भाउजूले बिदा लिनुभएको ३ वर्ष नाध्यो । यो अवस्थामा अभैm पनि उहाँकै नाममा चिठी लेख्नुपरे अध्यक्षज्यूले कसरी लेख्नुहुँदो हो, त्यो उत्सुकता पुस्तक पढिरहँदा पाठकको मनमा छचल्किनु अस्वाभाविक होइन ।
एउटा कुरा साँचो हो, यी चिठीहरू पढिरहँदा पाठकहरू शोभा मिससँगै हिँडिरहेका हुनेछन्† कुराकानी गरिरहेका हुनेछन् र उहाँको भौतिक शरीर बाँकी रहेन भन्ने विश्वास गर्न गा¥हो अनुभव गर्नेछन् ।
उतिबेला कामरेड शोभा प्रधानले यी चिठी पढ्नुभयो; जोगाउनुभयो । त्यसैले आज यो रूपमा हामीले पढ्न पाएका छौँ । त्यसकारण यो कृतिको श्रेय रचनाकारलाई जति जान्छ शोभा भाउजुलाई पनि उति नै जान्छ । कहिलेकाहीँ मनमा कुरा खेल्छ — अध्यक्ष रोहित त साहित्यकार हुनुभयो; राजनीतिज्ञ हुनुभयो र उहाँले लेख्नुभयो । एकछिनको लागि त्यो अनौठो मान्न नमिल्ला । तर शोभा भाउजूले ती चिठीहरू सजाएर राख्नु, जोगाउनु त्यो समयका लागि साहसको विषय हो भन्ने लाग्दछ । उहाँले ती चिठी जोगाउन नसकेको भए ! (सोच्दैमा आङ सिरिङ हुन्छ) तर उहाँले गर्नुभयो । त्यो नेपाली साहित्यमा उहाँको योगदान हो भन्ने लाग्दछ, उहाँको पाश्र्वभूमिकाको कदर गर्नैपर्छ ।
अर्को मनले सोच्छ — उहाँले आफ्नो जीवनकालमा यी चिठीहरू एक्लै बसेर कति पटक पढ्नुभयो होला ? चिठीहरूलाई कति पटक सुम्सुम्याउनुभयो होला ? कति पटक बर्बरी आँसु बगाउनुभयो होला ? कति ठुलो ऊर्जा प्राप्त गर्नुभयो होला एक्लोपनसँग लड्न ? छोराहरूलाई एक्लै हेरचाह गर्न अनि बैरीसँग भिड्न ती चिठीहरूले कति बल दिए होलान् ? यी प्रश्नहरूको जवाफ दिनको निम्ति उहाँ हामीमाझ अब हुनुहुन्न । तर, हामी अनुभव गर्न सक्छौँ कि, यी चिठीहरूको गर्भमा आजसम्म नबताइएका अत्यन्त मार्मिक कथाहरू लुकेका छन् । यी चिठी पढ्दै जाँदा Letters from Jail शीर्षक दिनुभन्दा पनि अझ उपयुक्त ‘Words from Heart’, ‘Heart talks with Heart’ पो हुनुपर्ने हो कि भन्ने पाठकलाई कहीँ कतै जरुर लाग्नेछ ।
नितान्त व्यक्तिगत भनेर लेखिएका यी चिठीहरू जब सार्वजनिक भए तब हरेक पाठकले यी चिठीहरू आपूm स्वयम्का निम्ति लेखिएको अनुभूत गर्छन् । लेखनीको हिसाबले भन्नुपर्दा यो लेखकको ठूलो सफलता हो । श्रद्धेय अध्यक्षज्यूलाई यसर्थ पनि हाम्रो हृदयदेखि सम्मान छ ।
यी चिठी, चिठीभन्दा पनि कुनै कविता पढिरहेभैmँ, उपन्यासको रोमाञ्चक खण्ड (विशेष गरी मीरा र माधुरीको खण्ड) पढिरहेभैmँ, अध्यक्षज्यूको जीवनी या आत्मवृतान्त पढिरहेभैmँ लाग्छ । पुस्तकका प्रत्येक चिठीले विश्वविद्यालयका कक्षामा बसिरहेको आभास दिलाउँछ । थुप्रै पुस्तकहरूको स्मरण गराउँछ । इतिहास, भाषा, कला, साहित्य, पुरातत्व, संस्कृति, सम्पदा, वास्तुकला, राजनीतिशास्त्र, भूगोल, समाजशास्त्र, अर्थशास्त्रका प्रसङ्गहरूले कामरेड रोहितलाई एक कलामर्मज्ञ, प्राज्ञ तथा एकजना चिन्तकको रूपमा परिचित गराउँछ । चिठीभित्र सेली, वर्सवर्थ र टैगोरका साहित्यदेखि नेपाली साहित्य, बङ्गाली, मैथली, संस्कृत साहित्यको विश्लेषणले उहाँलाई एक समालोचकको रूपमा पाठकमाझ परिचित गराउँछ ।
चिठीहरूमा राज्यको दमन र अत्याचारविरुद्धका असङ्ख्य प्रश्नहरू छन् । देश र जनताप्रति अध्यक्षज्यूको अथाह प्रेम तथा समर्पण चिठीहरूले महसुस गराउँछ । अध्यक्षज्यूको राजनीतिक विचारसँगै जीवनदर्शन पनि चिठीहरूमा छ । आफ्नोबारे कहिल्यै नसोच्ने, अरूको खुसीमा खुसी हुने, सादा जीवन तर उच्च विचार राख्ने, देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने उहाँको जीवनशैलीले नयाँ पुस्ताका पाठकलाई चिठीहरूले मार्गनिर्देश गर्ला ।
नेपाली र अङ्ग्रेजी दुबैमा उपलब्ध साहित्य नेपाली साहित्याकाशमा निकै कम छन् । यस्तो अभावमा यो प्रकाशनले एक किसिमको आशा एवम् ऊर्जा प्रवाह गरेको अनुभव हुन्छ, साहित्य प्रतिष्ठानहरूलाई बाटो देखाएको अनुभव हुन्छ । यी चिठीलाई बढीभन्दा बढी पाठकसम्म पु¥याएर छलफल अन्तरक्रिया गर्न आवश्यक छ । स्कुल, कलेज र विश्वविद्यालयमा समेत प्राज्ञ, प्राध्यापक र नयाँ पुस्ताबिच छलफल भएको खण्डमा एउटा बेग्लै उज्यालोको अनुभव मिल्नेछ ।
जेलका चिठीहरूमा नअटेका भनौँ या समेट्न अझै बाँकी चिठीहरू भए ढिलो नगरी बाहिर ल्याउनुहुन अध्यक्षज्यू समक्ष पाठकहरूको तर्पmबाट सादर अनुरोध छ । समय र नयाँ पुस्ताको मागअनुरूप जेलका चिठीहरूको अङ्ग्रेजी अनुवाद प्रकाशनको निम्ति प्रकाशक बाल विकास सेकेण्डरी स्कुललाई मनैदेखि साधुवाद छ । यस्तो बौद्धिक सेवा कर्ममा अन्य विद्यालय तथा संस्थाहरूको पनि अग्रसरता अपेक्षित छ ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवम् पुस्तकका स्रष्टा नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार एक समारोहबिच ‘जेलका चिठीहरू’ को अङ्ग्रेजी संस्करण ‘Letters from Jail’ लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रबुद्ध व्यक्तित्वहरूले पुस्तकबारे चर्चा एवम् छलफल गर्नुभयो । केही व्यक्तित्वहरूबाट पश्चिमा दर्शनको इतिहास बताउने उपन्यास ‘सोफिज् वर्ड’ सँग ‘जेलका चिठीहरू’ को तुलना भयो । उपन्यासमा नर्वेजियन लेखक जोस्टिन गार्डरले सोफी, एक नर्वेजियन किशोरी (छोरी) लाई मानिसको अस्तित्व, परिचय, विकासक्रमसँगै दर्शन र विश्व इतिहासबारे चिठीमार्फत सघन जानकारी दिइन्छ, त्यसैले त्यो कृतिलाई चिठी या उपन्यासभन्दा पनि दर्शनको इतिहास (सुकरात, प्लेटो, अरस्तुदेखि डार्विन, माक्र्स, साट्रासम्म) को रूपमा अध्ययन गरिन्छ । जेलका चिठीहरूमा पनि लेखक बिजुक्छेँले आफ्नी जीवनसङ्गीनी ‘शोभा’ मार्फत् पाठकलाई भक्तपुर चिनाउनुका साथै नेपाली समाजको दर्पण र माक्र्सवादी दर्शन प्रस्तुत गर्नुभएको छ । त्यसैले जेलका चिठीहरू देशकै निम्ति लेखिएको सुन्दर कृति हो, माक्र्सवादी साहित्यमा एउटा महत्वपूर्ण उपलब्धि हो भन्न सकिन्छ ।
अध्यक्ष बिजुक्छेँका चिठीहरूलाई ग्राम्स्की र मण्डेलाले जेलबाट लेखेका चिठी, नेहरूले छोरीलाई लेखेको चिठीसँग पनि तुलना भयो । ती साहित्यले झैँ जेलका चिठीहरूको अङ्ग्रेजी संस्करणले पनि एक अब्बल चिठी साहित्यको रूपमा अन्तर्राष्ट्रिय पाठक या साहित्य जगतको मन जित्ने विश्वास लिइएको छ ।
‘जेलका चिठीहरू’ वास्तवमै अध्यक्ष रोहितको राजनीतिक या कम्युनिस्ट आन्दोलनको एउटा झण्डा हो । इमान या विचारमा अविचलित राजनीतिको प्रमाण हो । कालरात्रीको बेला उज्यालोको खोजीमा फुलेको आशा हो । शिक्षक योगेन्द्रमान बिजुक्छेँले भन्नुभए झैँ हिलोमा फुलेको कमलको फूल हो, जेलका चिठीहरू । कवि अभय श्रेष्ठले भन्नुभए झैँ नेपालको साहित्यिक आन्दोलनमा एउटा योगदानको नाम हो, ‘जेलका चिठीहरू’ । जेलभित्र भावनालाई दिमागले जितेर लेखिएको यो कृतिमा देश र देशभक्ति भेट्न पाइन्छ, कवि नरेन्द्र प्रसाईँले यसो भन्नुभयो । पाठक, सम्पादक, अनुवादक, चिकित्सकको आँखाबाट पनि कृतिको मिहिन चर्चा भयो । एक पाठकको आँखामा ‘जेलका चिठीहरू’ जोकोहीले पढ्नै पर्ने पुस्तक प्रतीत हुन्छ ।
‘Letters from Jail’ को आवरण आकर्षक एवम् अर्थपूर्ण छ । आवरणमा शोभा भाउजूको तस्विरले बेग्लै महत्व बोकेको महसुस हुन्छ । आवरणका डिजाइनर यसर्थमा धन्यवादका हकदार हुनुहुन्छ । गाताको पछिल्लो पृष्ठमा कलाकार विकास तमखुको चित्र पनि उत्तिकै सुन्दर छ । भाषा अनुवाद सरल छ, सलल बगेको छ, अक्षरको आकार पनि पाठकमैत्री छ । पुस्तकको मूल्य समय सुहाउँदो नै मान्नुपर्ला ।
नयाँ पुस्तालाई पेपर पुस्तकको विकल्प आजको समयले पनि दिन सकेको छैन । यसमानेमा प्रकाशकको बुद्धिमत्ता प्रशंसनीय छ । अध्यक्ष रोहितका अरू चिठी साहित्य, कथा सङ्ग्रहसँगै दर्जनौँ पुस्तकहरूको पनि अङ्ग्रेजी अनुवाद समयको माग हो । यतातर्फ सम्बन्धित पक्षलाई आग्रहसहित लेखक, अनुवादक, सम्पादक, प्रकाशकप्रति पुनःआभार !
Leave a Reply