भर्खरै :

‘जेलका चिठीहरू’ को अङ्ग्रेजी संस्करण सार्वजनिक

‘जेलका चिठीहरू’ को अङ्ग्रेजी संस्करण सार्वजनिक

चिठीहरूले विश्वविद्यालयका कक्षामा बसिरहेको आभास दिलाउँछ

श्रद्धेय पार्टी अध्यक्षज्यूले शोभा मिसलाई सम्बोधन गर्दै जेलबाट लेख्नुभएका चिठीहरूले २३ वर्षपछि ‘जेलका चिठीहरू’ को नाउँमा पुस्तक आकार पायो । त्यसको झन्डै १३ वर्षपछि आज ‘Letters from Jail’  सार्वजनिक भयो । आजभन्दा १० वर्षअघि नेपालीमा पढ्दा र उही कृति अङ्ग्रेजीमा पढ्दा बेग्लाबेग्लै मिठास अनुभव भयो । पाठकहरूले रसास्वादन जरुर गर्नेछन्, यो नयाँ प्रकाशनको सुन्दर पक्ष जरुर अनुभूत गर्नेछन् ।
यो कृतिमा अनुवादक र सम्पादकहरूले ठुलै मेहनत लगाउनुभएको जोकोहीले अनुभव गर्नेछन् । किनभने, अध्यक्ष रोहितले जुन परिवेशमा यी रचनाहरू तयार गर्नुभयो त्यो अत्यन्त कठिन समय थियो, त्यो अत्यन्त कालो समय थियो । त्यो परिस्थितिले मागेको भाषालाई आज अङ्ग्रेजीमा अनुवाद गर्नुपर्दा सहज एवम् सामान्य नहुनु अनौठो होइन । यसर्थ अनुवादक अणुराज जोशी र सम्पादकहरूप्रति पाठकहरूले सम्मान गर्नैपर्छ ।
यो पुस्तकले एउटा अभाव भने हामीलाई जरुर महसुस गराउनेछ । कसैको अनुपस्थितिले बेस्सरी चिमोट्नेछ, कसैको खोजीमा आँखाहरू भौतारिनेछन्, स्मृतिका डोबहरूले पछ्याउनेछन्, चिठी पढिरहँदा पाठकले भेट्ने चाहना राख्नेछन् — चिठीहरूकी नायिका ‘Dear Shova’ लाई, हाम्रा आदरणीय शोभा भाउजू, कामरेड शोभा प्रधानलाई । तर अफसोस अब पाठकले उहाँलाई प्रत्यक्ष भेट्न सम्भव छैन ! चिठीहरूमा जीवन्त उहाँको आकृतिमा अब चित्त बुझाउनुको विकल्प छैन ।
अहिलेसम्मका चिठी साहित्य एकले अर्काेलाई लेखिएको हामी पाउँछौँ, जो नजिक या टाढा छन् । शोभा भाउजूले बिदा लिनुभएको ३ वर्ष नाध्यो । यो अवस्थामा अभैm पनि उहाँकै नाममा चिठी लेख्नुपरे अध्यक्षज्यूले कसरी लेख्नुहुँदो हो, त्यो उत्सुकता पुस्तक पढिरहँदा पाठकको मनमा छचल्किनु अस्वाभाविक होइन ।
एउटा कुरा साँचो हो, यी चिठीहरू पढिरहँदा पाठकहरू शोभा मिससँगै हिँडिरहेका हुनेछन्† कुराकानी गरिरहेका हुनेछन् र उहाँको भौतिक शरीर बाँकी रहेन भन्ने विश्वास गर्न गा¥हो अनुभव गर्नेछन् ।
उतिबेला कामरेड शोभा प्रधानले यी चिठी पढ्नुभयो; जोगाउनुभयो । त्यसैले आज यो रूपमा हामीले पढ्न पाएका छौँ । त्यसकारण यो कृतिको श्रेय रचनाकारलाई जति जान्छ शोभा भाउजुलाई पनि उति नै जान्छ । कहिलेकाहीँ मनमा कुरा खेल्छ — अध्यक्ष रोहित त साहित्यकार हुनुभयो; राजनीतिज्ञ हुनुभयो र उहाँले लेख्नुभयो । एकछिनको लागि त्यो अनौठो मान्न नमिल्ला । तर शोभा भाउजूले ती चिठीहरू सजाएर राख्नु, जोगाउनु त्यो समयका लागि साहसको विषय हो भन्ने लाग्दछ । उहाँले ती चिठी जोगाउन नसकेको भए ! (सोच्दैमा आङ सिरिङ हुन्छ) तर उहाँले गर्नुभयो । त्यो नेपाली साहित्यमा उहाँको योगदान हो भन्ने लाग्दछ, उहाँको पाश्र्वभूमिकाको कदर गर्नैपर्छ ।
अर्को मनले सोच्छ — उहाँले आफ्नो जीवनकालमा यी चिठीहरू एक्लै बसेर कति पटक पढ्नुभयो होला ? चिठीहरूलाई कति पटक सुम्सुम्याउनुभयो होला ? कति पटक बर्बरी आँसु बगाउनुभयो होला ? कति ठुलो ऊर्जा प्राप्त गर्नुभयो होला एक्लोपनसँग लड्न ? छोराहरूलाई एक्लै हेरचाह गर्न अनि बैरीसँग भिड्न ती चिठीहरूले कति बल दिए होलान् ? यी प्रश्नहरूको जवाफ दिनको निम्ति उहाँ हामीमाझ अब हुनुहुन्न । तर, हामी अनुभव गर्न सक्छौँ कि, यी चिठीहरूको गर्भमा आजसम्म नबताइएका अत्यन्त मार्मिक कथाहरू लुकेका छन् । यी चिठी पढ्दै जाँदा Letters from Jail  शीर्षक दिनुभन्दा पनि अझ उपयुक्त ‘Words from Heart’, ‘Heart talks with Heart’ पो हुनुपर्ने हो कि भन्ने पाठकलाई कहीँ कतै जरुर लाग्नेछ ।
नितान्त व्यक्तिगत भनेर लेखिएका यी चिठीहरू जब सार्वजनिक भए तब हरेक पाठकले यी चिठीहरू आपूm स्वयम्का निम्ति लेखिएको अनुभूत गर्छन् । लेखनीको हिसाबले भन्नुपर्दा यो लेखकको ठूलो सफलता हो । श्रद्धेय अध्यक्षज्यूलाई यसर्थ पनि हाम्रो हृदयदेखि सम्मान छ ।
यी चिठी, चिठीभन्दा पनि कुनै कविता पढिरहेभैmँ, उपन्यासको रोमाञ्चक खण्ड (विशेष गरी मीरा र माधुरीको खण्ड) पढिरहेभैmँ, अध्यक्षज्यूको जीवनी या आत्मवृतान्त पढिरहेभैmँ लाग्छ । पुस्तकका प्रत्येक चिठीले विश्वविद्यालयका कक्षामा बसिरहेको आभास दिलाउँछ । थुप्रै पुस्तकहरूको स्मरण गराउँछ । इतिहास, भाषा, कला, साहित्य, पुरातत्व, संस्कृति, सम्पदा, वास्तुकला, राजनीतिशास्त्र, भूगोल, समाजशास्त्र, अर्थशास्त्रका प्रसङ्गहरूले कामरेड रोहितलाई एक कलामर्मज्ञ, प्राज्ञ तथा एकजना चिन्तकको रूपमा परिचित गराउँछ । चिठीभित्र सेली, वर्सवर्थ र टैगोरका साहित्यदेखि नेपाली साहित्य, बङ्गाली, मैथली, संस्कृत साहित्यको विश्लेषणले उहाँलाई एक समालोचकको रूपमा पाठकमाझ परिचित गराउँछ ।
चिठीहरूमा राज्यको दमन र अत्याचारविरुद्धका असङ्ख्य प्रश्नहरू छन् । देश र जनताप्रति अध्यक्षज्यूको अथाह प्रेम तथा समर्पण चिठीहरूले महसुस गराउँछ । अध्यक्षज्यूको राजनीतिक विचारसँगै जीवनदर्शन पनि चिठीहरूमा छ । आफ्नोबारे कहिल्यै नसोच्ने, अरूको खुसीमा खुसी हुने, सादा जीवन तर उच्च विचार राख्ने, देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने उहाँको जीवनशैलीले नयाँ पुस्ताका पाठकलाई चिठीहरूले मार्गनिर्देश गर्ला ।
नेपाली र अङ्ग्रेजी दुबैमा उपलब्ध साहित्य नेपाली साहित्याकाशमा निकै कम छन् । यस्तो अभावमा यो प्रकाशनले एक किसिमको आशा एवम् ऊर्जा प्रवाह गरेको अनुभव हुन्छ, साहित्य प्रतिष्ठानहरूलाई बाटो देखाएको अनुभव हुन्छ । यी चिठीलाई बढीभन्दा बढी पाठकसम्म पु¥याएर छलफल अन्तरक्रिया गर्न आवश्यक छ । स्कुल, कलेज र विश्वविद्यालयमा समेत प्राज्ञ, प्राध्यापक र नयाँ पुस्ताबिच छलफल भएको खण्डमा एउटा बेग्लै उज्यालोको अनुभव मिल्नेछ ।
जेलका चिठीहरूमा नअटेका भनौँ या समेट्न अझै बाँकी चिठीहरू भए ढिलो नगरी बाहिर ल्याउनुहुन अध्यक्षज्यू समक्ष पाठकहरूको तर्पmबाट सादर अनुरोध छ । समय र नयाँ पुस्ताको मागअनुरूप जेलका चिठीहरूको अङ्ग्रेजी अनुवाद प्रकाशनको निम्ति प्रकाशक बाल विकास सेकेण्डरी स्कुललाई मनैदेखि साधुवाद छ । यस्तो बौद्धिक सेवा कर्ममा अन्य विद्यालय तथा संस्थाहरूको पनि अग्रसरता अपेक्षित छ ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवम् पुस्तकका स्रष्टा नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार एक समारोहबिच ‘जेलका चिठीहरू’ को अङ्ग्रेजी संस्करण ‘Letters from Jail’ लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रबुद्ध व्यक्तित्वहरूले पुस्तकबारे चर्चा एवम् छलफल गर्नुभयो । केही व्यक्तित्वहरूबाट पश्चिमा दर्शनको इतिहास बताउने उपन्यास ‘सोफिज् वर्ड’ सँग ‘जेलका चिठीहरू’ को तुलना भयो । उपन्यासमा नर्वेजियन लेखक जोस्टिन गार्डरले सोफी, एक नर्वेजियन किशोरी (छोरी) लाई मानिसको अस्तित्व, परिचय, विकासक्रमसँगै दर्शन र विश्व इतिहासबारे चिठीमार्फत सघन जानकारी दिइन्छ, त्यसैले त्यो कृतिलाई चिठी या उपन्यासभन्दा पनि दर्शनको इतिहास (सुकरात, प्लेटो, अरस्तुदेखि डार्विन, माक्र्स, साट्रासम्म) को रूपमा अध्ययन गरिन्छ । जेलका चिठीहरूमा पनि लेखक बिजुक्छेँले आफ्नी जीवनसङ्गीनी ‘शोभा’ मार्फत् पाठकलाई भक्तपुर चिनाउनुका साथै नेपाली समाजको दर्पण र माक्र्सवादी दर्शन प्रस्तुत गर्नुभएको छ । त्यसैले जेलका चिठीहरू देशकै निम्ति लेखिएको सुन्दर कृति हो, माक्र्सवादी साहित्यमा एउटा महत्वपूर्ण उपलब्धि हो भन्न सकिन्छ ।
अध्यक्ष बिजुक्छेँका चिठीहरूलाई ग्राम्स्की र मण्डेलाले जेलबाट लेखेका चिठी, नेहरूले छोरीलाई लेखेको चिठीसँग पनि तुलना भयो । ती साहित्यले झैँ जेलका चिठीहरूको अङ्ग्रेजी संस्करणले पनि एक अब्बल चिठी साहित्यको रूपमा अन्तर्राष्ट्रिय पाठक या साहित्य जगतको मन जित्ने विश्वास लिइएको छ ।
‘जेलका चिठीहरू’ वास्तवमै अध्यक्ष रोहितको राजनीतिक या कम्युनिस्ट आन्दोलनको एउटा झण्डा हो । इमान या विचारमा अविचलित राजनीतिको प्रमाण हो । कालरात्रीको बेला उज्यालोको खोजीमा फुलेको आशा हो । शिक्षक योगेन्द्रमान बिजुक्छेँले भन्नुभए झैँ हिलोमा फुलेको कमलको फूल हो, जेलका चिठीहरू । कवि अभय श्रेष्ठले भन्नुभए झैँ नेपालको साहित्यिक आन्दोलनमा एउटा योगदानको नाम हो, ‘जेलका चिठीहरू’ । जेलभित्र भावनालाई दिमागले जितेर लेखिएको यो कृतिमा देश र देशभक्ति भेट्न पाइन्छ, कवि नरेन्द्र प्रसाईँले यसो भन्नुभयो । पाठक, सम्पादक, अनुवादक, चिकित्सकको आँखाबाट पनि कृतिको मिहिन चर्चा भयो । एक पाठकको आँखामा ‘जेलका चिठीहरू’ जोकोहीले पढ्नै पर्ने पुस्तक प्रतीत हुन्छ ।
‘Letters from Jail’ को आवरण आकर्षक एवम् अर्थपूर्ण छ । आवरणमा शोभा भाउजूको तस्विरले बेग्लै महत्व बोकेको महसुस हुन्छ । आवरणका डिजाइनर यसर्थमा धन्यवादका हकदार हुनुहुन्छ । गाताको पछिल्लो पृष्ठमा कलाकार विकास तमखुको चित्र पनि उत्तिकै सुन्दर छ । भाषा अनुवाद सरल छ, सलल बगेको छ, अक्षरको आकार पनि पाठकमैत्री छ । पुस्तकको मूल्य समय सुहाउँदो नै मान्नुपर्ला ।
नयाँ पुस्तालाई पेपर पुस्तकको विकल्प आजको समयले पनि दिन सकेको छैन । यसमानेमा प्रकाशकको बुद्धिमत्ता प्रशंसनीय छ । अध्यक्ष रोहितका अरू चिठी साहित्य, कथा सङ्ग्रहसँगै दर्जनौँ पुस्तकहरूको पनि अङ्ग्रेजी अनुवाद समयको माग हो । यतातर्फ सम्बन्धित पक्षलाई आग्रहसहित लेखक, अनुवादक, सम्पादक, प्रकाशकप्रति पुनःआभार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *