चे ग्वेभारालाई चिनाउने पुस्तक ‘बोलिभियाली डायरी’
- जेष्ठ ११, २०८३
पुस्तक समीक्षा
चिनियाँ आधुनिकीकरणका बारेमा चासो राख्ने र बुझ्न चाहने जो सुकैका लागि ताई मुछाईको पुस्तक ‘चिनियाँ आधुनिकीकरण : एउटा नयाँ बाटो’ राम्रो स्रोत हो । सन् २०२४ मा यो पुस्तक चीनको विदेशी भाषा छापाखानाबाट प्रकाशित भएको हो ।
यस पुस्तकलाई चीन सरकारले चौधौँ पञ्चवर्षीय योजनाअन्तर्गत राष्ट्रिय प्रमुख प्रकाशन परियोजनाका रूपमा सूचिबद्ध गरेको थियो । पहिले चिनियाँ भाषामा प्रकाशित यो पुस्तक पछि अङ्ग्रेजी, फ्रान्सेली, स्पेनी, पोर्तुगालीलगायत धेरै भाषामा अनुवाद गरिएको छ ।
यो पुस्तकका लेखक प्रख्यात चिनियाँ प्राध्यापक ताई मुछाई हुन् । दर्जनौँ गहकिला कृति र सयौँको सङ्ख्यामा लेखहरू प्रकाशित गरेका उनी सन् १९६५ जुलाईमा च्याङ्सी प्रान्तको चियान सहरमा जन्मिएका हुन् । ताई मुछाई हाल छिङ्हुआ विश्वविद्यालयको माक्र्सवाद स्कूलका प्राध्यापक तथा डक्टरेट सुपरभाइजर हुन् ।
च्याङ्सी सामान्य विश्वविद्यालयबाट राजनीति शिक्षा कानुनमा स्नातक गरेका उनले हुनान सामान्य विश्वविद्यालयबाट दर्शनशास्त्रमा पीएचडी गरेका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कूलमा सन् २००१ देखि २००६ सम्म काम गरेका छन् भने सन् २००६ देखि २०१६ सम्म केन्द्रीय प्रचार विभागमा काम गरेका छन् । सन् २०१६ पछि उनी छिङ्हुआ विश्वविद्यालयमा आबद्ध भएका हुन् ।
चिनियाँ समाज र राजनीतिमा प्रगाढ सम्बन्ध राख्दै नजिकबाट काम गरेका ताई मुछाईको यो कृति यस अर्थमा पनि महत्वपूर्ण छ । यसले चीनको विकास र आधुनिकता बुझ्नका लागि पाठकलाई सहज बनाउँछ ।
यस पुस्तकले पाँच हजार वर्ष पुरानो सभ्यता बोकेको चीनमा समाजवादी आधुनिकीकरण कसरी निर्माण गर्ने भन्ने मौलिक प्रश्नको उत्तर दिन्छ । पुस्तकमा ६ च्याप्टर रहेका छन् । विश्वव्यापी सन्दर्भमा चिनियाँ आधुनिकीकरण, मानव इतिहासमा अभूतपूर्व आधुनिकीकरण बाटो, चिनियाँ आधुनिकीकरणको मौलिकता, चिनियाँ आधुनिकीकरण र यसका विश्वव्यापी विशेषताहरू, चिनियाँ आधुनिकीकरणको अद्वितीय अर्थ र प्राचीन पूर्वी सभ्यताको आधुनिकीकरण र यसको विश्वव्यापी प्रभाव च्याप्टरका शीर्षकहरू हुन् ।
पहिलो च्याप्टरमा विश्वव्यापी आधुनिकीकरणको तेस्रो लहर, तीनवटै औद्योगिक क्रान्तिमा चीनको अनुपस्थिति, चिनियाँ राष्ट्रको महान् सपनालगायतका विषयमा चर्चा गरिएको छ ।
दोस्रो च्याप्टरमा नयाँ जनवादी क्रान्तिको समयमा औद्योगिकीकरणको प्रस्ताव, समाजवादी निर्माणमा ‘चार आधुनिकीकरण’ (कृषि, उद्योग, राष्ट्रिय प्रतिरक्षा र विज्ञान तथा प्रविधि), १९७८ पछिको सुधार र खुलापनको युगको क्रमशः चर्चा छ ।
तेस्रो च्याप्टरमा विचार बौद्धिक स्वतन्त्रता र आधुनिक सोच, समाजवादी बजार अर्थ व्यवस्था, जनकेन्द्रित विकास दर्शन, शासन प्रणाली र क्षमताको आधुनिकीकरणजस्ता विषयलाई उपशीर्षकमा राखेर वर्णन गरिएको छ ।
चौथो च्याप्टरमा आधुनिकीकरण भनेको पश्चिमीकरण होइन भन्ने शीर्षकमा एउटा लेख छ । वास्तवमा पुस्तकको चुरो नै यही लेख हो । यसबाहेक विश्वव्यापी आधुनिकीकरणको विविधताका बारेमा निकै सटिक ढङ्गले दर्शाइएको छ ।
पाँचौँ च्याप्टरमा ठुलो जनसङ्ख्याको आधुनिकीकरण, साझा समृद्धिको आधुनिकीकरण, भौतिक र आध्यात्मिक सभ्यताको सामञ्जस्य, मानव र प्रकृतिबिचको सद्भाव र शान्तिपूर्ण विकासको बाटो उपशीर्षकमा वर्णन गरिएको छ ।
पुस्तकको अन्तिम च्याप्टर अर्थात् छैटौँ च्याप्टरमा पाँच हजार वर्ष पुरानो सभ्यता, कृषि र ग्रामीण जनजीवनमा आधारित आधुनिकीकरण, विकासका लागि साँचो आधुनिकीकरण, चिनियाँ बाटो आदि विषयमा चर्चा गरिएको छ ।
लेखक ताई मुछाईका अनुसार, चिनियाँ आधुनिकीकरणको सफलताको मुख्य कारण यथार्थबाट अगाडि बढ्ने नीति र अभ्यास नै सत्यको एक मात्र कसौटी हो भन्ने सिद्धान्तको पुनस्र्थापना हो । १९७८ पछिको सुधार र खुलापनको नीति यसको महत्वपूर्ण आधार हो ।
चिनियाँ आधुनिकीकरणले माक्र्सवादलाई चिनियाँ परिस्थिति अनुकूल बनाउने र परम्परागत चिनियाँ संस्कृतिसँग एकीकृत गर्ने काम गरेको छ । यो बाटोले १ अर्ब ४० करोड जनसङ्ख्याका लागि साझा समृद्धिको मार्गप्रशस्त गरेको छ ।
चिनियाँ आधुनिकीकरण मानव इतिहासको सबैभन्दा भव्य स्तरको र अद्वितीय नवप्रवर्तन हो भनेर चिनियाँहरू दाबी गर्छन् । यसले विकासशील देशहरूको आधुनिकीकरणका लागि एउटा नयाँ नमुना सिर्जना गरेको छ । यसले पश्चिमी आधुनिकीकरणको एकाधिकारलाई चुनौती दिँदै ‘आधुनिकीकरण भनेको पश्चिमीकरण हो’ भन्ने धारणालाई पनि तोडेको छ ।
तपाईँ हामी सबैमा आधुनिकीकरण भनेकै पश्चिमाकरण हो भन्ने भ्रम अद्यापि छँदैछ । हामीमा यो भ्रम हुनुको मुख्यकारण पश्चिमा मुलुकले हामीमाथि थोपरेको भार हो । पश्चिमाहरूले आफूलाई आधुनिक र बाँकीलाई पुरातन भन्दै आएका छन् । यो द्वेषपूर्ण भनाइ आरोपलाई खण्डन गर्दै चिनियाँ अध्येताले आधुनिकीकरण भनेको पश्चिमाकरण होइन भनेर कडा टक्कर दिएका छन् । यस पुस्तकको चुरो पनि यही विषय हो भनेर मैले माथि नै उल्लेख गरिसकेको छु ।
पुस्तकको चुरो विषय भएकाले यस विषयमा अन्य सन्दर्भसहित पुस्तकमा भएको विषयको अलिक विस्तारमा चर्चा गर्न योग्य होला ।
‘आधुनिकीकरण भनेको पश्चिमीकरण होइन’ भन्नुको अर्थ, विश्वमा आधुनिक हुने एउटा मात्र बाटो छैन र त्यो पश्चिमी समाजले अपनाएको बाटो मात्र हो भन्ने सोचाइलाई चुनौती दिनु हो ।
धेरै विकासशील देशहरूमा यो धारणा बलियो थियो । प्रगति, उद्योग, प्रविधि र उच्च जीवनस्तर प्राप्त गर्न पश्चिमी (युरोपेली वा अमेरिकी) मोडेलको नक्कल गर्नुपर्छ । चीनको अनुभवले देखाएको छ – फरक ऐतिहासिक, सांस्कृतिक र राजनीतिक अवस्था भएका मुलुकले आफ्नै तरिकाले आधुनिकता हासिल गर्न सक्छन् ।
पश्चिमी आधुनिकीकरण प्रायः पुँजीवाद, बहुदलीय लोकतन्त्र, व्यक्तिवाद र धर्मनिरपेक्षतासँग जोडिएको छ । चिनियाँ आधुनिकीकरण समाजवादी व्यवस्था, राज्यको महत्वपूर्ण भूमिका, साझा समृद्धिमा जोड, सामूहिक हित र परिवारकेन्द्रित मूल्यमा केन्द्रित छ । चिनियाँ आधुनिकीकरणले परम्परागत चिनियाँ दर्शनलाई पनि समावेश गर्छ । जस्तैः– सद्भाव, कर्तव्य, योग्यतामा आधारित शासन र सामूहिक भलाइ । यी पश्चिमी मूल्त्न्दा फरक छन् र यिनले आधुनिक समाजलाई सफलतापूर्वक चलाउन सक्छन् ।
चीनले आफ्नै मोडेलमा आधुनिकीकरण गर्न सकिन्छ भन्ने प्रमाण पेस गरेको छ । ती प्रमाणहरू हुन् ः ८० करोड मानिसलाई गरिबीबाट मुक्त गर्नु, विश्वकै ठुलो मध्यम वर्ग खडा गर्नु, उच्च गतिको रेलवे सेवा निर्माण गर्नु, दूर सञ्चारमा फात् जीको व्यापक प्रयोग, अन्तरिक्ष प्रविधि, हरित ऊर्जामा अग्रणी, ठुलो जनसङ्ख्याको जीवनस्तरमा अभूतपूर्व सुधार । यस्ता उपलब्धि पश्चिमी राजनीतिक वा आर्थिक प्रणाली नअपनाई हासिल भएका हुन् ।
यो अवधारणाले गरिब वा अल्पविकसित देशहरूलाई पश्चिमाको नक्कल नगरी पनि आधुनिक बन्न सकिन्छ भन्ने प्रेरणा दिन्छ । प्रत्येक देशले आफ्नो परिस्थिति (इतिहास, संस्कृति, जनसङ्ख्या, स्रोत) अनुसारको आफ्नै आधुनिकीकरण बाटो बनाउन सक्छन् ।
चिनियाँ राष्ट्रपतिले प्रजातन्त्र भनेको कोकाकोलाको स्वादजस्तो एउटै हुँदैन भन्ने भनाइलाई बारम्बार दोहो¥याउने गर्छन् । त्यस्तै, आधुनिकता पनि एउटै अनुहारको हुँदैन । चीनले आफ्नो सांस्कृतिक पहिचान र समाजवादी व्यवस्था जोगाउँदै, फरक बाटोबाट आधुनिक बन्न सकिन्छ भन्ने उदाहरण दिएको छ । यो विचारले विशेष गरी ती देशहरूलाई प्रभाव पारेको छ जो पश्चिमी नियममा चल्न नचाहने तर आधुनिकता चाहने छन् ।
लेखकले ‘प्राचीन पूर्वी सभ्यताको आधुनिकीकरण र यसको विश्वव्यापी प्रभाव’ शीर्षकमा चीनजस्तो पाँच हजार वर्ष पुरानो सभ्यता भएको मुलुकले कसरी आधुनिकीकरण हासिल गरेको छ र त्यसको प्रभाव विश्वव्यापी रूपमा के पर्छ भन्ने चर्चा गरेका छन् ।
चिनियाँ सभ्यता विश्वको सबैभन्दा पुरानो, निरन्तर जीवित रहेको सभ्यता हो । पाँच हजार वर्षदेखि चिनियाँ सभ्यताले दर्शन र नैतिकतालाई बोकेको छ । कन्फ्युसियस, मेन्सियस, लाओत्से, चुआङचीजस्ता विचारकहरूको दर्शनलाई अहिले पनि चिनियाँले गहन अध्ययन गर्दछन् ।
साढे सात दशकदेखि कम्युनिस्ट शासन अँगालिरहेको चीनमा केन्द्रीकृत शासन, योग्यतामा आधारित कर्मचारीतन्त्र, कृषिप्रधान अर्थतन्त्र, परिवार, कुल, राष्ट्रको हितलाई व्यक्तिभन्दा माथि राख्ने मान्यता हजारौँ वर्ष पुरानो हो । त्यस्तो ‘प्राचीन सभ्यता’ लाई आधुनिकीकरण गर्नु निकै चुनौतीपूर्ण काम हो । यही कुरालाई पुस्तकले तीन चरणमा उल्लेख गरेको छ ।
पहिलो चरण बहिष्कार र सङ्घर्ष (सन् १८४०–१९४९) हो । यस चरणमा पश्चिमी शक्तिहरूले चीनलाई युद्धमा पराजित गरेपछि चिनियाँहरूले महसुस गरे कि उनीहरूको प्राचीन सभ्यता आधुनिक युद्ध र प्रविधिभन्दा पछाडि छ । यही क्रममा ‘चिनियाँ सभ्यता नै समस्या हो, त्यसलाई पूर्ण रूपमा त्यागेर पश्चिमीकरण गर्नुपर्छ’ भन्ने बहस पनि सुरु भयो । अन्ततः चीनले आफ्नो सांस्कृतिक जरा नछाडी आधुनिकीकरणको बाटो रोज्यो ।
दोस्रो चरण समाजवादी आधुनिकीकरणको प्रयोग (सन् १९४९–१९७८) हो । यस चरणमा माक्र्सवादलाई चिनियाँ परिस्थितिमा ढाल्ने प्रयास भयो । ‘चार आधुनिकीकरण’ (कृषि, उद्योग, रक्षा, विज्ञान) को अवधारणा विकास भयो ।
तेस्रो चरणमा सुधार र खुलापनपछिको सफलता (सन् १९७८–वर्तमान) लाई लिइएको छ । यो चरण सबैभन्दा महत्वपूर्ण छ । चीनले आफ्नो परम्परागत मूल्य (मेहनत, बचत, शिक्षाप्रति सम्मान, राष्ट्रिय एकता) लाई आधुनिक प्रविधि, बजार अर्थतन्त्र र विश्वव्यापी व्यापारसँग जोडेको छ । फलस्वरूप चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र, ठुलो मध्यम वर्ग, प्रविधिमा अग्रणी मुलुक बनेको छ ।
पुस्तकका अनुसार चीनले पश्चिमी एकाधिकार तोडेको छ । आधुनिकीकरण भनेकै पश्चिमाकरण हो भन्ने मान्यतालाई परिवर्तन गराएको छ । गैरपश्चिमी, गैर बहुदलीय राजनीतिक प्रणाली, गैरपुँजीवादी मोडेलले पनि काम गर्छ भन्ने कुरा चीनले प्रमाणित गरेको छ ।
चीनले पश्चिमा आधुनिकीकरणलाई चुनौती दिएर नयाँ मान्यता स्थापित गराएपछि विकासशील देशहरूका लागि नयाँ बाटो खुलेको छ । अब अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका देशहरूले पश्चिमाको प्रतिलिपि गर्नुपर्छ भन्ने छैन । उनीहरूले आफ्नै संस्कृति, इतिहास र राजनीतिक अवस्थाअनुसारको मोडेल बनाउन सक्छन् ।
यसपछि विश्व अर्थतन्त्रमा पनि परिवर्तन देखिएको छ । चीनको आधुनिकीकरणले विश्व आपूर्ति शृङ्खला, व्यापार मार्ग (बेल्ट एन्ड रोड पहल) र हरित प्रविधिमा ठुलो भूमिका खेलेको छ । चीन अब विश्वको सबैभन्दा ठुलो निर्यातकर्ता र धेरै देशको मुख्य व्यापार साझेदार बनेको छ ।
चिनियाँ भूमिकाले विश्व शासन मोडेलमा नयाँ बहस सिर्जना गरेको छ । केही देशहरूले चीनको ‘विकास पहिले, लोकतन्त्र पछि’ भन्ने दृष्टिकोणलाई हेरिरहेका छन् । बहुदलीय चुनाव नगरिकन पनि दीर्घकालीन विकास सम्भव छ भन्ने चीनको उदाहरणले पुष्टि गरेको छ ।
यो मोडेलमा पनि चुनौतीहरू रहेका पुस्तकमा स्वीकार गरिएको छ । पहिलो चुनौती वातावरणीय क्षति हो । द्रुत आधुनिकीकरणले प्रदूषण निम्त्याउँछ । चीन अहिले प्रदूषणसँग पौँठेजोरी खेलिरहेको छ । त्यसैगरी, चीनका पूर्वी तटीय क्षेत्र र पश्चिमी ग्रामीण क्षेत्रबिचमा व्यापक असमान विकास वितरण छ । पश्चिमा जगतले बौद्धिक स्वतन्त्रता र मानव अधिकारको प्रश्न उठाउने गरेका छन् । पुस्तकका अनुसार यी समस्याहरू समाधान हुँदै छन् र चीनको बाटो अझै आफ्ना जनताका लागि सबैभन्दा उपयुक्त छ ।
नेपालजस्तो प्राचीन सभ्यता (किराँत, लिच्छवी, मल्लकालदेखि) भएको तर आधुनिकीकरणको खाँचोमा रहेको मुलुकका लागि चीनको यो अनुभव महत्वपूर्ण छ । आफ्नो मौलिकता गुमाउनु पर्दैन, आफ्नै बाटो बनाउन सकिन्छ भन्ने प्रेरणा पुस्तकबाट प्राप्त हुन्छ ।
सन् २०२४ मा प्रकाशित यो पुस्तक सरल अङ्ग्रेजी भाषामा छ । २२० पृष्ठको यो पुस्तक चिनियाँ समाजको गहिरो ऐतिहासिक विश्लेषणात्मक दस्ताबेज पनि हो । लेखकले चीनको लामो इतिहासलाई आधुनिकीकरणको आँखाले हेरेका छन्, जसले पाठकलाई ‘चीन कहाँबाट आयो र कहाँ जाँदै छ’ भन्ने स्पष्ट बाटो देखाउँछ ।
यस पुस्तकले चीनको सफलताको प्रशंसा मात्र गरेको छैन, यसका चुनौतीहरू पनि स्वीकार गरेको छ । लेखकले वातावरणीय क्षति, क्षेत्रगत असमानता र बौद्धिक स्वतन्त्रताको प्रश्नलाई पनि छोएका छन् । यसले पुस्तकलाई सन्तुलित र विश्वसनीय बनाएको छ ।
Leave a Reply