राजनीतिक कार्यकर्ताले अध्ययन गर्नैपर्ने ‘लामो हिँडाइमा अध्यक्ष माओसँग’
- असार २२, २०८३
चिनियाँ क्रान्तिको सुरुतिरका एकदमै कम क्रान्तिकारी महिलाहरूमध्ये एक थिइन् –याङकाइ हुई । उनी अध्यक्ष माओ त्सेतुङकी जीवनसङ्गिनी हुन् ।
याङकाइ हुईको जन्म सन् १९०१ पानसाङ गाउँमा भएको थियो । पानसाङ (Pantsang) हरिया पहाडहरूले घेरिएको हुनान प्रान्तमा अवस्थित च्याङ्सा (Chyangsha) को सुन्दर गाउँ हो । उनका बुबा याङचाङ ची एक शिक्षक थिए । चीनको भ्रष्ट राजनीति फेर्न चिनियाँ समाजको मौलिक परिवर्तन आवश्यक छ भन्नेमा उनका बुबा विश्वास गर्थे । बेलायत र जापानमा अध्ययनको क्रममा आफ्नो देश निकै सम्झन्थे । त्यसकारण, उनले आफ्नो नाम नै याङ हुआइचुङ (Yang Huai Chung) राखे जसको अर्थ चीनप्रतिको प्रेम हो ।
आफ्नो बुबाको प्रभावले याङकाइ हुई सानैदेखि अध्ययनमा अत्यन्त उत्सुक थिइन् । आधारभूत विद्यालय शिक्षा सकेपछि उनले घरमै चिनियाँ भाषाको गहिरोे अध्ययन गरिन् । चिनियाँ भाषाको राम्रो आधार प्राप्त गरिन् । अध्ययनको स्वभावबाट विस्तारै उनले सही र गलत छुट्याउन सिकिन् । याङ हुइ चुङ सन् १९१३ मा स्वदेश फर्के । त्यसपछि च्याङसाको हुनान शिक्षक विद्यालय नम्बर १ मा पढाउनको लागि सम्पूर्ण परिवारसहित बसाइँसराइ गरे । माओ त्सेतुङ त्यतिबेला भर्खर २० वर्षको हुनुभयो । उहाँ त्यही विद्यालयमा पढ्दै हुनुहुन्थ्यो । तत्कालीन समयमा जनतामाथि सामन्तवादी युद्धसरदारहरूको शोषण चीनमाथि साम्राज्यवादी देशहरूको जनतामाथि हस्तक्षेप र आक्रमण बढ्न थालेको थियो ।
माओ त्सेतुङ र अन्य प्रगतिशील विचारका युवाहरू याङ हुई चुङको घरमा तात्कालीन अवस्थाको विषयमा छलफल र देश र जनतालाई जोगाउने बाटोको खोजीका लागि सल्लाह गर्न जानुहुन्थ्यो ।
‘मेरो युवा उमेरमा’ मा अध्यक्ष माओले याङको विषयमा लेख्नुभएको छ – “मिस्टर याङ मेरो सोचाइ र विचारलाई प्रभावित बनाउने एक व्यक्ति हुनुहुन्थ्यो । पछि पेचिङमा उनी मेरो सच्चा मित्र बने ।” याङको घरमा हुने हरेक बैठक र छलफलमा याङकाइ हुई अत्यन्त उत्सुकतापूर्वक सुन्थिन्, अनुशासित भई सहभागी बन्थिन्, आफ्नो विद्यालयको राम्रा र रमाइला खबरहरू बताउँथिन् । देशको जटिल र डरलाग्दो परिस्थितिले उनको कलिलो मस्तिष्कलाई पनि निकै सताएको थियो । याङकाइ हुई चीन र चिनियाँ जनतामाथिको अत्याचारविरुद्ध आक्रोशित हुन्थिन् । अध्यक्ष माओ र युवाहरूले ल्याएका कार्यक्रम र गतिविधिहरूको प्रस्तावमा सुन्दर भविष्यका निम्ति अगाडि बढ्ने बाटोबारे छलफल हुन्थ्यो । तब याङकाइ हुईको आँखामा आशाको किरण उजेलिन्थ्यो । दृढ निश्चयको भावना चम्किलो हुन्थ्यो । ती युवाहरूको जीवन्त छलफलहरूमा उनी खुलेर आफ्ना जिज्ञासाहरू राख्थिन् । आफूलाई लागेको विषय निर्धक्क भन्थिन् ।
याङकाइ हुईले अध्यक्ष माओको विचारलाई बुझ्न र आत्मसात गर्न थालिन् । उहाँको विचार प्रचारको एक संवाहक बन्न अग्रसर बनिन् । चीनलाई जोगाउन, चिनियाँ जनतालाई युगाँै युगदेखि दमन गरेको सामन्तवादी व्यवस्था फाल्न, अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्न, चिनियाँ जनताको क्रान्ति उठाउन अध्यक्ष माओको विचार र दूरदृष्टिको विकल्प छैन भन्थिन् याङकाइ हुई । त्यो समय उनको वैचारिक तथा सैद्धान्तिक आधार तयार भयो । त्यही विचारधारात्मक विकासले उनलाई पछि एक क्रान्तिकारी कम्युनिस्ट योद्धा बनायो । वर्गसङ्घर्ष र क्रान्ति नै चीन र चिनियाँ जनताको भविष्य हो भन्नेमा उनी दृढ निश्चयी थिइन् ।
सन् १९१८ को ग्रीष्म ऋतुमा उनको बुबा पेचिङ विश्वविद्यालयमा अध्यापनको लागि जाँदा परिवार नै उत्तरतिर बसाईँ स¥यो । त्यही वर्षको शरद् ऋतुमा अध्यक्ष माओ युवाहरूलाई कार्य–अध्ययन कार्यक्रमअन्तर्गत फ्रान्स पठाउन व्यवस्थापकीय सहयोगको निम्ति पेचिङ पुग्नुभयो । प्राध्यापक याङ (काइ हुईका बुबा) को सहयोगमा अध्यक्ष माओले पेचिङ विश्वविद्यालयको पुस्तकालयमा काम पाउनुभयो । चाङसामा जस्तै अध्यक्ष माओ र प्रगतिशील र क्रान्तिकारी युवाहरू बैठक, छलफलका निम्ति प्राध्यापक याङको घरमा आउँथे । विभिन्न विचार, दृष्टिकोण, सिद्धान्त र योजनाको विषयमा घण्टौँ विचारविमर्श चल्थ्यो । विशेषतः सन् १९१७ को रुसी समाजवादी अक्टोबर क्रान्तिको पृष्ठभूमि र परिस्थितिमा सर्वहारावर्गका महान गुरू कार्ल माक्र्स र नेता लेनिनको विचारले कसरी मार्ग प्रशस्त ग¥यो भन्ने सन्दर्भमा लामो–लामो गन्थन चल्थ्यो । याङकाइ हुईले माक्र्सवादी विचार ग्रहण गर्न थालिन् । माक्र्सवादी विचारले उनलाई क्रान्ति र सङ्घर्षप्रति समर्पित हुन थप ऊर्जा मिलेको थियो ।
याङकाइ हुईका बुबा प्राध्यापक याङको मृत्यु सन् १९२० जनवरीमा भयो । बुबाको मृत्युपछि उनको परिवार पुनः चाङसा फक्र्यो । त्यतिबेला उनी भर्खर १८ वर्षकी थिइन् । त्यसपछि उनी चाङसाको साम्राज्यवाद र सामन्तवादविरोधी सङ्घर्षमा निकै सक्रियतापूर्वक अगाडि बढिन् । उनी माओ नेतृत्वको हुनान विद्यार्थी सङ्गठनमा आबद्ध भइन् । उनलाई सङ्गठनको प्रचार तथा प्रकाशनको जिम्मेवारी दिइयो । उनले साम्राज्यवाद र सामन्तवादी व्यवस्थाविरुद्ध लेखहरू लेख्न थालिन् । त्यतिमात्र होइन उनी पत्रपत्रिका र बुलेटिनहरू प्रकाशन गरी सामन्तवाद र साम्राज्यवादविरोधी सङ्घर्षलाई विद्यार्थी र युवामाझ सञ्चार गर्दै थिइन् । सङ्गठनको प्रचार एवम् प्रकाशन संयोजकको जिम्मेवारीमा रहँदा उनले हुनान प्रान्तका सम्पूर्ण विद्यार्थी प्रतिनिधि र नेताहरूसँग भेट्ने तथा सहकार्य गर्ने मौका पाइन् । उनी निरन्तर एउटै कुरामा जोड दिन्थिन् –“सङ्घर्षले मात्र हामीलाई विजयी बनाउँछ ।” सङ्घर्ष र समर्पणको बाटो चीन र चिनियाँ जनताको मुक्तिको बाटो छ ।” सङ्घर्ष र समर्पणको बाटो चीन र चिनियाँ जनताको मुक्तिको बाटो हो भन्दै विद्यार्थी युवाहरूलाई हौस्याउँथिन् ।
चीनमा सहशिक्षाबारे निकै कम जानकारी भएको बेला याङकाइ हुई सहशिक्षाको पक्षमा वकालत गर्थिन् । शिक्षा प्रणालीमा सामन्तवादी चिन्तनविरुद्ध उनले सङ्घर्ष गरिन् । पुरुष पढ्ने विद्यालय या विश्वविद्यालयमा प्रवेशका लागि उनी र अन्य चिनियाँ छोरीहरूले आफ्नो चुल्ठो काटेको घटना रोचक छ । उनी र अन्य युवा नेतृहरूलाई ‘कट्टरपन्थी’ र ‘उग्रक्रान्तिकारी’ भनी निन्दा गरिन्थ्यो । तर, प्रतिक्रियावादीहरू उनीहरूको फलामे इच्छाशक्ति र सङ्घर्षको अगाडि टिक्न सकेनन् ।
सन् १९२० पछिका वर्षहरूलाई याङकाइ हुईले आफ्ना क्रान्तिकारी वर्षहरू भनेकी छिन् । सन् १९२० जुलाईमा माओ त्सेतुङ चाङसा फर्कनुभयो र माक्र्सवाद–लेनिनवादी विचार प्रचारका निम्ति एउटा सांस्कृतिक पुस्तक पसल खोल्नुभयो । याङकाइ हुईले उक्त काममा सघाइन् । उनले आफ्नी आमालाई बुबाको अन्त्येष्टिमा पुरस्कार स्वरूप प्राप्त पैसाको केही अङ्क पुस्तक पसल निर्माणका लागि चन्दा या सहयोग गर्न अनुरोध गरिन् । उनले आफ्नी आमालाई भनेकी थिइन् –“आमा हामी एक छाक कम खाऔँ । एक जोर लुगा कम फेरौँ । पुस्तक पसल सुरुआतको निम्ति सहयोग गरौँ । यसले मात्र केही अर्थ राख्छ ।” पुस्तक पसल निर्माणको लागि उनको भावना र योगदान गज्जबको थियो । त्यो पुस्तक पसलले बृहत् आकारमा माक्र्सवादी पुस्तक र समसामयिक प्रकाशनहरू वितरण ग¥यो । जसले तात्कालीन समयमा परिष्कृत नयाँ आन्दोलनको आँधी ल्याइदियो । राजनीतिक पार्टी स्थापना गर्ने अध्यक्ष माओको प्रयासका निम्ति त्यो पुस्तक पसल महत्वपूर्ण सम्पर्क केन्द्र बनेको थियो ।
सन् १९२० को शरद् ऋतुमा अध्यक्ष माओले पहिलो हुनान कम्युनिस्ट समूह निर्माण गर्नुभयो र समाजवादी युवा लिग गठन गर्नुभयो । याङकाइ हुई त्यो युवा लिगको सुरूआती सदस्यहरूमध्ये एक थिइन् । पछि त्यही वर्ष अध्यक्ष माओ र याङकाइ हुईको विवाह भयो । त्यसपछिको वर्ष जुलाइमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । साङ्घाईमा भएको पहिलो पार्टी अधिवेशनमा अध्यक्ष माओ हुनान र होसु हेङ (Ho shu heng) ले कम्युनिस्ट समूहको तर्फबाट प्रतिनिधित्व गर्नुभयो । याङकाइ हुई पार्टीको प्रारम्भिक सदस्यहरूमध्ये एक थिइन् ।
चाङसाबाहिर चिङसुइताको घरमा हुनान क्षेत्रीय पार्टी समितिको केन्द्रीय कार्यालय थियो । पार्टीका धेरैजसो बैठकहरू त्यही हुन्थे । त्यसकारण, माओ त्सेतुङ र याङकाइ हुईले त्यसै ठाउँलाई आफ्नो घर बनाए । याङकाइ हुई पार्टी हेडक्वार्टर/कार्यालयको विश्वसनीय सचिव एवम् सम्पर्कव्यक्ति थिइन् । देशका अन्य क्षेत्रबाट आएका कामरेडहरूलाई स्वागत सत्कार गर्ने एवम् व्यवस्थापन गर्ने काम चुस्तताका साथ गर्थिन् । त्यतिमात्र होइन अध्यक्ष माओको विचार पार्टीको विचारलाई प्रवाह गर्न सञ्चार विभागलाई निर्देशन दिन्थिन् र विभिन्न मजदुर, विद्यार्थी र महिला आन्दोलनहरूलाई बाटो देखाउन सघाउँथिन् ।
सन् १९२३ अप्रिल महिनामा माओ त्सेतुङ पार्टी केन्द्रीय समितिको कामका लागि साङ्घाई जानुभयो । याङकाइ हुई उहाँसँगै साङ्घाई गइन् र मजदुरहरूको रात्रि कक्षामा पढाउन थालिन् । उनको थाइकट (छोटो) कपाल, कपडाको जुत्ता र साधारण लुगा र उनको व्यक्तित्वले उनलाई त्यो महानगरले छिट्टै स्वीकार्यो ।
सन् १९२५ फेब्रुअरीमा याङकाइ हुई आफ्नो श्रीमान् माओ त्सेतुङसँग उहाँको जन्मथलो हुनान प्रान्तको शाओशान (Shaoshan) गइन् । उहाँहरूले त्यहाँ गरिब किसानहरूसँग भेट्नुभयो । किसानहरू कसरी जमिनदारहरूबाट शोषित–पीडित छन् भन्ने प्रत्यक्ष अध्ययन गर्नुभयो । उहाँहरूले त्यहाँ किसानहरूको निम्ति करिब २० वटा रात्रि विद्यालयहरू स्थापना गर्नुभयो । ती विद्यालयहरूको प्रमुखको जिम्मेवारी याङकाइ हुईले सम्हालिन् । उनले ती विद्यालयमा स्थानीय नेताहरूको विषय, चीनको इतिहास र भूगोलको विषयसँगै साम्राज्यवादीहरूले चीनमा कसरी हस्तक्षेप गरिरहेका छन् भन्ने विषयमा पढाउँथिन् । उनले स्थानीय गीत बनाएर किसानहरूलाई सुनाइन् –“किसानहरूका लागि जीवन कठिन छ । किसानहरू मिहिनेत गरी उब्जाएको अन्न सबै जमिनदारको भखारीमा पुग्छ । हरदिन हर महिना हातगोडा खियाउनुपर्छ तर सधँै–सधँै हात रित्तो हुन्छ, पेट भोको हुन्छ, अन्नभण्डार रित्तो हुन्छ ।” यही यथार्थबोध गराउँदै उनी किसानहरूलाई प्रशिक्षित गर्थिन् । मानिसले मानिसलाई शोषण गर्ने समाजमा किसानहरू बाँच्न परेको यथार्थ तस्बिर उजिल्याउँथिन् ।
शोषणको व्यवस्थाविरुद्ध किसानहरू एकजुट नभएसम्म यथार्थ सङ्घर्षको बाटोमा नहिँडेसम्म शोषणबाट मुक्ति सम्भव छैन भन्दै किसानहरूलाई उत्साहित गर्नुहुन्थ्यो । किसानहरूलाई वर्गीय भावना र शिक्षा दिइयो भने चीनजस्तो किसानको देशमा वर्गीय क्रान्ति पर सर्छ भन्ने विचार याङकाइ हुईको हो । उनले किसानहरूको सङ्गठन निर्माण र विस्तारमा योगदान गरे । “साम्राज्यवादी शक्तिहरूलाई परास्त पारौँ ! राष्ट्रिय लज्जाहरूलाई फालौँ मेटाऔँ !” भन्ने नारासहित गाउँगाउँमा किसान समाजहरू निर्माण गरिए । ती सङ्गठनको मुख्य शक्ति या सदस्यहरू गोप्य या भूमिगत रूपले किसान सङ्गठनहरू निर्माण गर्दै थिए । किसान सङ्गठन, समाज र अभियानमा धेरै–धेरै किसानहरू जोडिन थालेपछि अध्यक्ष माओले त्यहाँ साओसान पार्टी एकाइ गठन गर्नुभयो । त्यो पार्टी एकाइ विकट क्षेत्रको पार्टी एकाइहरूमध्ये प्रारम्भिक अर्थात् सुरुआती प्रयास थियो । याङकाइ हुई उक्त पार्टी एकाइको प्रचार संयोजक बनाइन् । त्यो जिम्मेवारीमा याङकाइ हुईको अधिकांश समय व्यतित हुन्थ्यो । घर र बच्चाहरूलाई हुर्काउने, रेखदेख गर्ने जिम्मेवारीसँगै उनी पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्थिन् । पार्टीले उनको यही गुणको प्रशंसा ग¥यो ।
सन् १९२५ मा माओ त्सेतुङ क्यान्टोन जानुभयो र त्यहाँ राजनीतिक साप्ताहिक पत्रिकाको सम्पादनमा लाग्नुभयो । त्यो साप्ताहिकले तात्कालीन समयमा क्रान्तिकारी एकता मोर्चालाई गर्ने विभाजन कोमिन्ताङ दक्षिणपन्थी खेमाले गरेको षड्यन्त्रको विरोध ग¥यो । कोमिन्ताङ दक्षिणपन्थीहरूको प्रतिक्रियावादी प्रवृत्ति तथा षड्यन्त्रविरुद्ध लड्न याङकाइ हुई पनि उक्त साप्ताहिकसँग जोडिइन् ।
त्यसपछिको वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी मात्रको नेतृत्वमा चीनको उत्तरी भाग क्वाङचाउबाट साम्राज्यवाद र सामन्तवादविरुद्धको सङ्घर्षलाई तीव्र बनाइयो । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व र प्रभाव बढ्दै गयो । उत्तरी भेगबाट सुरु भएको त्यो अभियान या सङ्घर्षलाई सघाउन माओ त्सेतुङले क्वाङचाउमा किसान आन्दोलनको राष्ट्रिय सङ्घ स्थापना गर्नुभयो । जसले आन्दोलनका मेरुदण्ड कामरेडहरूलाई तालिम दियो ।
माओ र चाउएन लाइले नै आन्दोलनका कमान्डर र कामरेडहरूलाई तालिम गर्नुभएको थियो । कार्यालयको काम गर्नुका साथै याङका दुई प्रशिक्षक तालिम कक्षाको विद्यार्थी थिइन् । पछि उनले उत्तरी अभियानका राजनीतिक कार्यकर्ता र सेनालाई तालिम दिइन् । त्यही वर्षको हिउँदमा उनी हुनान प्रान्तको किसान अधिवेशनमा सहयोग गर्न चाङसा फर्किइन् । किसानहरूको त्यो अधिवेशनले जमिनदार र मालिकहरूको शोषणविरुद्ध नयाँ कृषि क्रान्तिको उद्घोष गर्याे ।
हुनानको त्यो किसान अधिवेशनपछि माओले पाँच हुनान काउन्टीको अनुसन्धान थाल्नुभयो र ‘हुनानमा किसान आन्दोलन’ भन्ने प्रशिद्ध प्रतिवेदन तयार पार्नुभयो ।
याङकाइहरूले त्यो प्रतिवेदन सम्पादन र अन्य प्रति तयारीमा सघाएका थिइन् ।
सन् १९२७ वसन्त र ग्रीष्मतिर क्रान्ति तीव्ररूपमा अघि अढ्दै थियो । कोमिन्ताङ प्रतिको प्रतिक्रियावादी एवम् साम्राज्यवादी शक्तिका पिछलग्गू च्याङकाईसेकले संयुक्त क्रान्तिकारी मोर्चा भङ्ग गर्ने र कम्युनिस्टविरुद्ध हमला गर्ने नीति लियो । चिनियाँ कम्युनिस्ट पार्टीभित्रकै दक्षिणपन्थी अवसरवादी नेता चेन तुश्यु (Chen Tuhsiu) ले प्रतिक्रियावादी च्याङकाईसेकसामु आत्मसमर्पण गर्ने लाइन अघि सा¥यो । हजारौँ–हजार कम्युनिस्ट पार्टी सदस्य र क्रान्तिकारीहरूको हत्या गरियो र पहिलो महान् क्रान्तिको अगुवाइ असफलतामा टुङ्गियो ।
अगस्ट १ मा कोमिन्ताङ प्रतिक्रियावादीहरूविरुद्ध चिकपाको नेतृत्वमा भएको नानचिङ (Nanchang) विद्रोहले देशैभरि कम्युनिस्टहरूबिच उत्साहको सञ्चार ग¥यो । अगस्ट ७ मा तत्काल चिकपाको पूर्ण बैठक बोलाई पार्टीभित्रको अवसरवादी लाइनको विरोध र कोमिन्ताङ प्रतिक्रियावादीविरुद्ध ससस्त्र सङ्घर्षको घोषणा गरियो ।
त्यसपछि माओले शरद्कालीन बाली काट्ने आन्दोलन या विद्रोहको घोषणासँग छियाङसी (Kiangsi) प्रान्तमा क्रान्तिकारी आधार स्थापना गर्नुभयो । याङकाइ हुई त्यतिबेला चाङसाको गाउँगाउँमा क्रान्ति र सङ्घर्षका निम्ति काउन्टीहरूलाई निर्देशन दिने कान गर्थिन् ।
कोमिन्ताङ प्रतिक्रियावादी धमाधम क्रान्तिकारी किसानहरूको हत्या गरिरहँदा याङकाइ हुई किसानहरूलाई प्रतिकार गर्न र शत्रुविरुद्ध जाइलाग्न परिचालन गर्दै थिइन् । उनी हरेक दिन पार्टी कार्यकर्ता र किसान कार्यकर्ताहरूको बैठक राख्न एक ठाउँबाट अर्को ठाउँ धेरै माइल हिँड्थिन् । जहाँ गए पनि जमिनदार र कोमिन्ताङ प्रतिक्रियावादीहरू हतियारसहित गाउँ र बस्तीहरूमा हमला गर्न आइपुग्थे । त्यस्तो परिस्थितिमा उनले निडर भई पार्टी जिम्मेवारी पूरा गर्थिन् । उनी शत्रुको अखडाबाट गोप्य सूचनाहरू पार्टी केन्द्रसम्म पु¥याउँथिन् । शत्रुहरूबाट हातहतियार खोसेर शत्रुविरुद्ध जाइलाग्ने महिला नेतृ थिइन् याङकाइ हुई । ‘तपार्इंकी छोरी सैन्य सङ्घर्षका लागि एक्लै पर्याप्त थिइन् ।’ याङकाइ हुईकी काकासँग भेट्दा अध्यक्ष माओले काइ हुई लाई यसरी सम्झनुभएको थियो ।
कोमिन्ताङ प्रतिक्रियावादीहरूको आतङ्कले सीमा नाघ्दै थियो । सन् १९३० मा कोमिन्ताङले याङकाइ हुई बन्दी या पक्राउ गर्न सक्ने जोकोहीलाई १००० सिल्भर युआनको पुरस्कार घोषणा गर्यो । पार्टीका साथीहरूले उनलाई आफ्नो श्रीमान्सँगै छियानसी (Kiangsi) को क्रान्तिकारी आधारमा जोडिन सल्लाह दिए । उनले माओ त्सेतुङको निर्देशनबिना आफ्नो जिम्मेवारीको क्षेत्र हुनान नछोड्न अडान लिइन् ।
दुईपटक उनी कोमिन्ताङको घेराउमा परिन् तर दुवैपटक जनताको सहयोगमा उनी शत्रुकोे घेराबाट उम्कन सफल भइन् । उनी हरेक जटिल, कठिन परिस्थितिमा धैर्यले काम गर्थिन् । आफ्ना कामरेडहरूलाई पहिला सुरक्षित हुन निर्देशन दिन्थिन् र पार्टी दस्ताबेज सुरक्षित राख्न भन्थिन् । क्रान्ति या मुक्तिपछि एउटा तरकारी बारीमा एउटा जारमा पार्टीका दस्ताबेज राखी जमिनमुनि गाडिएको भेटिएको थियो ।
सन् १९३० अक्टोबर २४ मा उनी पानसाङको आफ्नो घरमा एउटा दस्तावेज सम्पादन सकाएर आफ्ना तीन सन्तान राम्ररी सुते नसुतेको हेरिरहँदा बाहिर बाँसको झ्याङबाट गोली चलेको आवाज सुनियो । याङकाइ हुईलाई आफ्नै सूचनाबाहकले धोका दिएको थियो । करिब ६० जना कोमिन्ताङ प्रतिक्रियावादीहरूले उनको घर घेरे । त्यसपछि उनले सम्पूर्ण पार्टी दस्ताबेज घरभित्र जलाइन् । कोमिन्ताङ प्रतिक्रियावादीहरू ढोका फोडेर भित्र छिर्दा उनी तयार थिइन् र निर्भिक आवाजमा भनिन् – “जाऔँ ! म तयार छु !” उनको जेठो छोरो माओ आन यिङ (Mao An-Ying) लाई पनि साथै लग्यो । उनलाई चरम यातना दिइयो ।
“अध्यक्ष माओसँग वैवाहिक सम्बन्ध परित्याग गरेको घोषणा गर । हामी तिमीलाई छोड्छौँ ।’ उनले जवाफ दिएकी थिइन्– “तिमीहरूले चाहेको कुनै पनि काम मबाट हुनसक्दैन ।”
उनलाई भेट्न आउने साथी र नातेदारहरूलाई उनी भनी पठाउँथिन्– “मृत्यु केही होइन । म क्रान्ति सफल भएको हेर्न चाहन्छु ।”
सन् १९३० नोभेम्बर १४ मा उनलाई बन्दीगृहबाट बाहिर ल्याइयो । आफ्नो कामरेड देखेर भनेकी थिइन् – “कामरेडहरू, दुःखी नहुनु, हाम्रो सङ्घर्षको बाटोमा प्रतिबद्ध हिँड्नु । एकदिन हामी विजयको टाकुरामा पुग्नेछौँ ।” उनलाई चाङसाको पहाडमा उभ्याइयो । उनले शीतल हावाको स्पर्श महसुस गरिन् र चिच्याइन्, “कोमिङ्ताङ प्रतिक्रियावादीहरू मुर्दावाद ! चिनियाँ कम्युनिस्ट पार्टी जिन्दावाद !” उनी भर्खर २९ वर्षकी थिइन् । उनको हत्याले अध्यक्ष माओ दुःखी हुनुभयो । भाइलाई लेखेको पत्रमा उहाँले भन्नुभयो, “याङ्काई हुइको मृत्युबाट पार्टी र क्रान्तिमा अपूरणीय क्षति भएको छ ।”
Leave a Reply