भर्खरै :

लेखक चिनगिज आइतमातोभको ‘जमिला’ पढ्दा

लेखक चिनगिज आइतमातोभको ‘जमिला’ पढ्दा
‘जमिला’ किर्गिस्तानको एउटा सानो गाउँको कथा हो । किर्गिस्तान पूर्वसोभियत समाजवादी गणतन्त्रको एउटा अङ्ग थियो । दोस्रो विश्वयुद्घको समयमा किरगिस्तानी लेखक चिनगिज आइतमातोभले लेखेको उपन्यास जमिला पाठकका लागि एउटा बेग्लै पे्रमकथा लाग्छ । यो व्यापक चर्चा कमाएको उपन्यासमध्ये एक हो । लेखक जन्मेको किर्गिस्तान अत्यन्त दुर्गम गाउँ थियो । पछि त्यो गाउँले सोभियत रुसको छहारी पायो । उनले सोभियत विद्यालयमा अध्ययन गर्ने अवसर पाए । १४ वर्षकै उमेरमा एउटा गाउँको सचिव बनेर काम गरे । उनले म्याक्सिम गोर्की साहित्य संस्था मस्कोबाट साहित्य विषय अध्ययन गरे । उनले सोभियत रुसको महत्वपूर्ण पत्रिका ‘प्राब्दा’मा करिब आठ वर्ष काम गरे । किर्गिजमा उनको पहिलो कृति ह्वाइट रेन ९ध्जष्तभ च्बष्ल, ज्ञढछद्ध० थियो भने सन् १९५८ मा प्रकाशित ‘जमिला’ उनको लोकप्रिय उपन्यासमध्ये एक हो । आइतमातोभका लघुकथा, उपन्यासहरूमा सोभियत सङ्घको, खास गरेर केन्द्रीय एसियाली गणतन्त्रहरूको जीवनको जिउँदो चित्रण पाइन्छ । उनी एक कम्युनिस्ट लेखकको रूपमा चिनिन्छन् । सोभियत सङ्घको विघटनअघि उनका नाटक, उपन्यासहरूले किर्गिजको सोभियत गणतन्त्रसम्म सोभियत सङ्घको आवाज या सन्देश पु¥याउने काम गर्थे ।
उपन्यासका शूत्रधार जमिलाका देवर सेइत हुन् । सेइत एक कलाकार र चित्रकार हुन् । किर्गिस्तानको पहाड, पर्वत घाँसेमैदान र नदीहरूसँग सेइतको सामीप्यता उपन्यासको सुरुआतमै अनुभव हुन्छ । किर्गिस्तानको आकाश र धरतीप्रति उनको प्रेम महसुस हुन्छ । उनको स्मृति र संस्मरणमा उपन्यास अघि बढ्छ ।
युद्घको समयमा गाउँको अवस्था कस्तो हुन्छ, मान्छेहरूको जीवन कसरी गुज्रन्छ भन्ने एकखालको शब्ददृश्य ‘जमिला’का पृष्ठहरूमा भेटिन्छन् । उपन्यासको घटना परिघटनामा सेइत किशोर थिए । युद्घ सुरु भएको तेस्रो वर्ष भएको थियो । कुस्र्क र आरेलामा सेइतका बुबा र दाजुहरू दुस्मनसँग लड्दै थिए । सेइतसँगै गाउँमा आमाहरू, महिलाहरू र किशोर–किशोरी सामूहिक खेतीपाती सम्हालिरहेका थिए । एउटा वयस्क पुरुषले बोक्ने अजङ्गको भारी भर्खरका किशोर–किशोरी र उमेर पुगेका आमा–बुबाले उठाउनुपथ्र्यो । थान्को – मुन्कोको समय त सबैभन्दा सकसको बेला हुन्थ्यो । हप्तौँसम्म घरबाहिरै काम गर्नुपर्ने, सिङ्गो दिनरात खेत खलिहानमा बित्ने गथ्र्यो । धान या अन्न ओसारपसार गर्ने रेल्वे स्टेशन जाने कच्ची सडकमा दिनरात बिताउनुपर्ने समय हुन्थ्यो । दोस्रो विश्वयुद्घको समयमा सोभियत रुस र सोभियत गणतन्त्रलाई जर्मन फासीवादीबाट बचाउन, देश र माटोको निम्ति लड्न युवाहरू युद्घमैदानमा थिए । गाउँहरू झन्डै वयस्क या युवा विहीनताको अवस्थामा थियो । गाउँमा महिला, केटाकेटी र वृद्घवृद्घाहरूमात्रै थिए । अझ भनौं युवाहरू युद्घमैदानमा हुँदा महिला र किशोरहरू गाउँ सम्हाल्दै थिए ।
सेइतकी आमाले घर सम्हाल्थिन् । ठूलाघरपतिबाट सेइतका दुई दाजुहरू युद्घको अघिल्लो मोर्चामा थिए । वृद्ध बुबा जसोतसो सिकर्मी काम गर्थे । आमालाई सघाउने बहिनी मात्रै थिइन् । सानाघरपति (सेइतको आफनै दाजुभाइ) पनि दुवै छोरा युद्घमा पठाइएका थिए । जेठो छोरो सादयाकले  विवाहलगत्तै घर छोड्न परेको थियो । त्यहाँ पनि सानीआमाले घरव्यवहार हेर्थिन् । विवाहको चार महिनापछि युद्घमा गएका सादयाकका जहान थिइन् जमिला ।
सेइतका सानीआमा र भाउजू जमिला सम्पूर्ण खेतीपातीदेखि स्टेशनसम्म अन्न पु¥याउने काम गर्थे । घर मात्र होइन सिङ्गो गाउँको अर्थतन्त्र महिला र केटाकेटीहरूले सम्हालेको दृश्य अनुभव गराउँछ, उपन्यासले । सेइतका आमा र महिलाहरू श्रमशक्तिको रूपमा विकास हुनु युद्घकालीन समयको आवश्यकता पनि थियो सायद ।
जमिला त दह्रो, फुर्तिली र असाध्यै सुन्दरी पनि थिइन् । उनी घोडचढीमा अब्बल थिइन् । सादयाकसँग विवाह गर्नुअघि जमिलाले घोडा दौडमा सादयाकलाई हराएको प्रसङ्गले सोभियत गाउँमा महिलाहरूको अवस्था दर्साउँछ । उनी सा¥है राम्री भएकोले गाउँका निकम्मा पुरुषहरू पछि लाग्थे, युद्घमा गएका श्रीमान् नकुर्न भन्थे, अन्तै विहे गर्न भन्थे र जमिलाको हृदयमा प्रहार गर्थे । युद्घको बखत गाउँमा थोरै लोग्नेमान्छे हुन्थे । यसैको फाइदा उठाउँदै केही उद्दण्ड युवाहरू हर्कत देखाउँथे । छोरीमान्छेमाथि दुव्र्यवहार पनि गर्न खोज्थे । ती लोग्नेमान्छेहरूको आँखा जमिलामाथि पनि थियो । एकपटक खलिहानमा काम गरिरहेकी जमिलामाथि परको आफन्त पर्ने ओस्मनले घृणित व्यवहार देखाउँदा जमिला रिसले आगो भएकी थिइन् । उनले घृणासहित खबरदारी गरेकी थिइन् – “सय वर्षसम्म एउटा सिपाहीकी विधवा बनुँला तर तँ जस्तालाई मेरो शरीर छुन चाहिँ दिन्न म । मलाई एकदम घिन लाग्छ । यदि युद्ध मात्र हुन्नथ्यो भने म पनि हेर्थे तँ जस्ता कुकुरलाई कसले चाहिँ हेर्ने थियो ।” श्रीमान् युद्धमा गएका आइमाईहरूको मनोविज्ञानलाई उपन्यासले जमिलामार्फत बताएको महसुस हुन्छ । मान्छेको मन न हो समयसँगै एक्लोपनको अनुभूति स्वाभाविक हो, त्यस्तो बेला सासूले जमिलालाई सम्झाउँथिन् – “चित्त बुझाउनुको साटो किन पिर लिन्छेस् ? तेरो बुढो मात्र युद्धमा हिँडेको जस्तो लाग्छ ? तेरो मात्र यस्तो भएको होइन । सिङ्गै मुलुक रगतमा डुबेको छ । अरूलाई पनि त हेर । तँलाई लाग्छ ? आफ्नो बुढोलाई सम्झिएर नटोलाउने र नएक्लिएको कुनै पनि केटी छ यो मुलुकमा ?” जमिलाको उदासी र निरीह भाव अस्वाभाविक थिएन । यद्यपि, आमाहरूको अनुभव र भोगाइ जमिलाको अवस्थाभन्दा निकै बुढो थियो ।
गाउँमा एकदिन दानियार अर्थात् एउटा घाइते सिपाही आए । उनको आगमनले गाउँमा हल्लीखल्ली मच्चिएको थियो । कोही युद्धबाट फर्कियो भने सबै गाउँलेले उनलाई घेर्न कुदिहाल्थे । तीन वर्षकै उमेरमा बुबाआमा गुमाएको टुहुरो मात्र होइन युद्धका घाइते पनि थिए, दानियार । पीडा र वेदनाको पहाड मनमा लिएर फर्केका दानियार अन्तरमुखी थिए, खुल्दैनथे । गाउँका बुढा मुखियाले दानियारलाई स्वागत गर्दै भनेका थिए – “दुष्ट जर्मनहरूलाई हामी हराउनेछौँ, अनि एकपटक शान्तिसँग बस्नेछौँ । अरूको जस्तै तिम्रो पनि परिवार हुनेछ ।”
दानियार गाउँको लयमा मिसिए । गाउँको रङ्गमा रङ्गिए । युद्ध मोर्चाबाट एक्लै हिँड्न पनि नसक्ने भएर फर्केको दानियारको हृदयमा एक किसिमको सकस थियो । के त्यो युद्धमा अन्तिमसम्म लड्न नसक्नुको सकस या पीडा थियो ? पाठकको मनमा यो प्रश्न उठ्छ । सामूहिक खेतीपातीमा दानियारले पनि भाग लिए । ठूलठूला धानका बोरा उचाल्न उनलाई गाह्रो थियो । जमिलाले उठाउने जति पनि धानका बोरा पनि उचाल्न सकेनन्, जबर्जस्ती उचाल्न खोज्दा उनको खुट्टा खोचिएको थियो, गोलीको घाउ खुट्टैमा थियो क्यारे । स्टेशनमा बढी तौलका धानका बोरा उचाल्न पर्दाको मनस्थिति बेग्लै हुन्थ्यो । आइमाईहरू लस्करै बोरा बोक्थे । यदि युद्ध नहुँदो हो त महिला र केटाहरूलाई त्यत्रो बोझ उठाउन कसले दिन्थ्यो ? छोरीमान्छेहरू अस्वाभाविक ढङ्गले शारीरिक श्रममा जोतिन किन पथ्र्यो ? यी प्रश्नहरू उपन्यासले सोधेको छ ।
दानियार जमिलाको परिश्रम, व्यवहार, स्वरूपप्रति बेग्लै अनुभव गर्थे भन्ने ठम्याइ सेइतको थियो । दानियार केही नबोल्ने आफैमा हराउने स्वभावको भएका कारण उनलाई बुझ्न मुस्किल थियो । स्टेशनमा धान पु¥याएर गाडामा फर्कंदै गर्दा एउटा शरदको रात दानियारले गीत गाएको थियो –
“ए मेरा पर्वतमाला
निला सेता पहाडहरू
मेरो जीवनको शैशवकाल 
ए मेरा पहाडहरू
मेरा फाँट पठारहरू ।”
उनको स्वर र शब्दहरूमा प्रेमको अनुभूति थियो । सेइतले अनुभव गरे – “यो कुनै खास व्यक्तिसँग परेको प्रेम थिएन, त्यो प्रेम फरक थियो, भव्य थियो । त्यो त जीवनप्रतिको पे्रम थियो, धरतीप्रतिको प्रेम । हो, उसले उसको प्रेम आपूmसँग सुरक्षित राख्यो, आफ्नो अन्तरहृदयको झङ्कारमा । यो नै उसको जीवनको जीवनज्योति थियो ।”
जमिला, दानियार र सेइतको यात्रा त्यो शरदको रातमै टुङ्गिएन, निकै अगाडि बढ्यो । जमिला र सेइतले दानियारको स्वरमा पितापुर्खा र आफ्नो धरतीप्रतिको प्रेमसँगै युद्धको त्रासद र उत्तेजक यात्राले हृदयभित्र कारुणिक मर्म भरिदिएको पनि अनुभव गरे, युद्ध सुन्दर हुने कुरै भएन, युद्ध स्वाभाविक रूपले आक्रामक हुन्छ, युद्ध विनाशकारी हुन्छ । युद्धबारे दानियार किन मौन थिए, सोचनीय विषय जरुर थियो ।
दानियार र जमिलाबीच फुलेको प्रेमलाई सेइत नजिकबाट नियालिरहेका थिए । दानियार गीतहरूबाट जमिलालाई आपूmतिर तानिरहेको र जमिला आफै पनि दानियारको काँधमा एक्लोपनले भारी बिसाउन चाहन्थिन् । तर, जमिलालाई ज्ञात थियो उनी विवाहित थिइन् र उनको श्रीमान् युद्धमैदानमा थिए । विवाहको चार महिना नबित्दै हिँडेका श्रीमान्को सम्झना मानसपटलबाट धमिलिनु के अस्वाभाविक थियो ? यो मनोविज्ञानलाई लेखकले शब्दचित्रमा उतारेका छन् । सेइतले भने जमिला र दानियारको प्रेमलाई क्यानभासमा पोतिसकेका हुन्छन् । त्यो प्रेमलाई रङ्ग दिइसकेका हुन्छन् । यो नै उपन्यासको कथानक हो ।
यो उपन्यास कसैको प्रेमकथाभन्दा ज्यादा समयको एउटा यथार्थ चित्रण लाग्छ । उपन्यासले कुनै बाटो देखाउन नसके पनि एउटा गाउँको आर्थिक, सामाजिक र सांस्कृतिक परिवेश युद्धले कसरी प्रभावित बन्छ भन्ने सानो दृष्टान्त पस्कन्छ । त्यतिमात्र होइन युद्धले मान्छेको जीवन र आइमाईहरूको जीवन कसरी प्रभावित बन्छ ? तिनको भूमिका कसरी फेरिन्छ ? त्यसको सानो लेखाजोखा उपन्यासमा छ । यद्यपि, उपन्यासको गति र विषयवस्तुको प्राथमिकताबारे आलोचनात्मक धारणा राख्न सकिन्छ । समग्रमा युद्ध, र परिवेशबिच मान्छेको जीवनको एउटा बेग्लै अन्तरकथा नै ‘जमिला’ को स्वरूप हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *