भर्खरै :

नरसंहारबाट नाफा कमाउने अमेरिकी कम्पनीहरू

  • श्रावण ७, २०८२
  • जेरेमी कुजमारोभ
  • विचार
नरसंहारबाट नाफा कमाउने अमेरिकी कम्पनीहरू

जून महिनाको आरम्भमा फ्रान्चेस्का अल्बानिजले एउटा निन्दात्मक प्रतिवेदन सार्वजनिक गरिन् । फ्रान्चेस्का अल्बानिज संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक हुन् । सन् १९६७ यता इजरायलले कब्जा गरेको अतिक्रमित प्यालेस्टिनी भूभागमा विद्यमान मानव अधिकारको स्थितिबारे प्रतिवेदन लेख्नु उनको जिम्मेवारीमा पर्छ । पछिल्लो प्रतिवेदनमा उनले पश्चिम किनार तथा गाजामा इजरायलले (२०२३ अक्टोबर ७ यता) चलाइरहेको जातिसंहारबाट अकुत नाफा कमाइरहेका बहुराष्ट्रिय कम्पनीहरूको विस्तृत विवरण दिइन् ।
अल्बानिज इटालीकी कानुनविद् एवम् मानव अधिकार विज्ञ हुन् । लामो समयदेखि उनले प्यालेस्टिनी भूभागमा इजरायलले गर्दै आएका ज्यादतीको तीखो आलोचना गर्दै आएकी छिन् । उनले नै गाजामा जातिसंहारको दोषी इजरायल हो भनी राष्ट्रसङ्घसमक्ष किटान गरेकी थिइन् ।
सन् २०२५ जून २० गते अमेरिकाको ट्रम्प सरकारले राष्ट्रसङ्घका महासचिवलाई सम्बोधन गर्दै एक पत्र लेख्यो । पत्रमा अल्बानिजलाई राष्ट्रसङ्घबाट बर्खास्त गर्न माग गरिएको थियो । अल्बानिज आतङ्कवादको पक्षधर र यहुदीहरूकी विरोधी (एन्टी सेमाइट) हुनाले उनलाई पदमुक्त गर्नुपर्ने ट्रम्प सरकारको दलिल थियो । तर, यो दलिलमा कुनै सत्यता छैन ।
(टिपोट : अल्बानिजले युद्ध अपराध र मानव अधिकार उल्लङ्घनका घटनामा अमेरिका र इजरायलको साँठगाँठको भन्डाफोर गर्दै आएकी छिन् । उनले ती देशका सरकारी अधिकारीहरूलाई तिनको दुव्र्यवहारका लागि जवाफदेही बनाउने प्रयास गर्दै आएकी छिन् । यसकारण, उनको निरन्तर चरित्रहत्या गर्न खोजिन्छ । उनले लगातार ज्यान मार्ने धम्की पनि पाउँदै आएकी छिन् । उनका यिनै कामका कारण पछिल्लोपल्ट अमेरिकाको ट्रम्प सरकारले उनीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।)
यसअघि इजरायल सरकारले अल्बानिजको चरित्रहत्या गर्ने अभियान नै चलाएको थियो । त्यसबेला विश्वका १०० भन्दा बढी मानव अधिकारवादी समूह अल्बानिजको पक्षमा एक भएका थिए ।
अल्बानिजले आफ्नो प्रतिवेदनको सुरुआत हार्वर्ड विश्वविद्यालयले हालै प्रकाशित गरेको अध्ययनबाट गरेकी छिन् । बेलायती साम्राज्य स्थापना गर्ने कर्पोरेसनहरूको विषयमा थियो हार्वर्डको त्यो अध्ययनपत्र । त्यसैलाई उद्धृत गर्दै अल्बानिज लेख्छिन्, “औपनिवेशिक अभियान र तद्जन्य जातिसंहारहरूलाई इतिहासमा सधैँ कर्पोरेट जगतले अघि बढाउँदै र साकार पार्दै आएका छन् ।”
सन् १९४८ को नक्बा तथा सन् १९६७ को ६ दिने युद्धमार्फत इजरायलले प्यालेस्टिनी भूमिमा उपनिवेश खडा ग¥यो । (६ दिने युद्धमा इजरायलले पश्चिम किनार र गाजा कब्जा गरेको थियो ।) यो औपनिवेशीकरणमा कर्पोरेट जगत्ले अतुलनीय भूमिका खेलेको अल्बानिज प्रतिवेदनमा उल्लेख गर्छिन् । उनी लेख्छिन्, “घर, स्कूल, अस्पताल, आराम र पूजापाठ गर्ने ठाउँमा, जैतुनका रुख र बगानजस्ता आजीविका तथा उत्पादनका साधनलाई ध्वस्त पार्न† प्राकृतिक संसाधनको पहुँचमाथि पावन्दी लगाउन; समुदायहरूलाई अलगअलग राख्न र नियन्त्रण गर्नका लागि इजरायललाई चाहिने जति हातहतियार तथा सैन्य उपकरण प्रदान गरेर (कर्पोरेट जगतले इजरायललाई सघाएको छ ।)”
अल्बानिज लेख्छिन्, “अतिक्रमित प्यालेस्टिनी भूभागमा अवैध इजरायली उपस्थितिलाई सैन्यकृत तथा उत्साहित गर्न सघाएर कर्पोरेट जगतले प्यालेस्टिनीहरूको जातीय सफाया गर्ने माहोल बनाउन भूमिका खेलेको छ ।”
अल्बिट सिस्टम, इजरायल एरोस्पेस इन्डस्ट्रिज र लकहीड मार्टिनलाई इजरायलको व्यापक कब्जा अभियान तथा युद्धबाट नाफा कमाउने मुख्य हतियार कम्पनी भन्छिन् अल्बानिज । यिनै कम्पनीले हतियार आपूर्ति गरेको हुनाले इजरायलले गाजामा जातिसंहार मच्चाउन सकेको हो ।
(टिपोट : सन् २०२३ देखि २०२४ सम्ममा इजरायलको सैन्य खर्चमा ६५ प्रतिशत बढोत्तरी भएर साढे ४६ अर्ब डलर पुग्यो । यो संसारकै सबैभन्दा ठुलो प्रतिव्यक्ति सैन्य खर्च हो । यो खर्चका कारण अल्बिट सिस्टम, इजरायल एरोस्पेस इन्डस्ट्रिज र युद्धलाई कमाउधन्दा बनाउने अन्य कम्पनीको वार्षिक मुनाफा ह्वात्तै बढेको छ ।)
लकहीड मार्टिनले एफ–३५ र एफ–३६ लडाकु विमान उत्पादन गर्छ । अल्बानिज लेख्छिन्, “१,७९,४११ भन्दा बढी प्यालेस्टिनीहरूलाई मार्न र घाइते पार्न तथा गाजालाई सखाप पार्न अनुमानित ८५ हजार टन बम (जसमध्ये अधिकतर अनिर्देशित छ) खसाल्न सक्ने गरी (इजरायलको) अभूतपूर्व हवाई क्षमता बनाउन (यी कम्पनीको) ठुलो हात छ ।”
अल्बानिजले अल्बिट सिस्टम, इजरायली रक्षा मन्त्रालय तथा म्यासाच्युसेट्स प्राविधिक संस्थान (एमआईटी) को साझेदारीको चर्चा गरेकी छिन् । यी निकायले प्यालेस्टिनीहरूलाई आतङ्कित पार्न प्रयोग हुने ड्रोन सलहलगायत नयाँ ड्रोन प्रविधिको विकासमा साझेदारी गर्दै आएका छन् ।
डेनमार्कको एपी मोलर–कायस्र्कलगायत विशाल जहाज कम्पनीहरूले इजरायललाई हतियार पैठारी गरेरै अकुत नाफा कमाएका छन् ।
त्यस्तै, प्राविधिक जगतका विशाल कम्पनीहरूले प्यालेस्टिनीहरूमाथि जासुसी गर्नका लागि विशेष कम्प्युटर, कृत्रिम बौद्धिकता तथा तथ्याङ्क विश्लेषण उपलब्ध गराउँछन् । यसरी तिनले इजरायललाई सशक्त सामाजिक नियन्त्रणका विधि विकसित गर्न सघाउँछन् ।
नाजीहरूले चलाएको आततायी होलोकस्टमा अमेरिकाको प्राविधिक कम्पनी ‘आईबीएम’ एउटा प्रमुख साझेदार थियो । सन् २०१९ यता ‘आईबीएम’ ले प्यालेस्टिनी जनताको बायोमेट्रिक डेटा उपयोग गर्नका लागि इजरायल सरकारलाई आफ्नो केन्द्रीय डेटाबेसमा पहुँच दिएको छ । यसरी ‘आईबीएम’ ले प्यालेस्टिनीहरूलाई अनुमतिपत्रको विभेदकारी जालोमा फसाउन इजरायललाई सघाएको छ ।
‘आईबीएम’ भन्दा अगाडि ह्युलेट प्याकार्ड (एचपीई) सँग डेटाबेस थियो । त्यसको इजरायली शाखाले अझै इजरायली सेना र प्रहरीलाई आफ्नो सर्भर उपलब्ध गराइरहेको छ । यसैले गर्दा यी दुई निकायले प्यालेस्टिनी जनतालाई कुल्चिराख्न सकेका हुन् ।
बिल गेट्स सहसंस्थापक रहेको माइक्रोसफ्ट यस्तै अर्को प्राविधिक कम्पनी हो । यसका प्रविधिहरू पनि इजरायली निकायहरूसँग अभिन्नरूपले जोडिएका छन् । आफ्नो सफ्टवेयर व्यवस्थित पार्न उसले इजरायली सेनासँग महत्वपूर्ण समझदारी गरेको छ ।
सन् २०२१ मा इजरायलले अल्फाबेट (गुगल) र अमेजन नामक दुई कम्पनीलाई १ अर्ब २० करोड डलरको ठेक्का दियो । यो रकमको ठुलो हिस्सा इजरायलको रक्षा मन्त्रालयबाट आउँछ । यसलाई निम्बस परियोजना भनिन्छ । यो परियोजनाअन्तर्गत यी दुई कम्पनीले इजरायललाई उन्नत प्राविधिक पूर्वाधार उपलब्ध गराउने छन् । माइक्रोसफ्ट, अल्फाबेट र अमेजनले इजरायल सरकारका सबैजसो निकायलाई आफ्नो क्लाउड र कृत्रिम बौद्धिकता (एआई) प्रविधिहरूमा पहुँच दिएका छन् । यसले गर्दा इजरायलको सामाजिक नियन्त्रण क्षमता कैयौँ गुणा बढेको छ ।
प्यालेन्टियर अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ को स्टार्टअप कम्पनी हो । यसले नयाँनयाँ ‘एआई’ प्रविधि खोजबिन गर्छ । यो कम्पनीले इजरायली सेना (आईडीएफ) लाई ‘लेभेन्डर’, ‘गस्पेल’ र ‘ह्वेर्स ड्याडी ?’ जस्ता कृत्रिम बौद्धिकताका प्रणालीहरू विकसित गर्न सघाएको छ । यी प्रणालीले डेटा प्रोसेस गर्न र बमबारीका लागि तारो तय गर्न सघाउँछ ।
सन् २०२४ जनवरीमा प्यालेन्टियरले इजरायलसँग नयाँ रणनीतिक साझेदारीको घोषणा ग¥यो र इजरायलप्रति ‘ऐक्यबद्धता’ मा तेल अभिभमा बोर्ड बैठक बस्यो ।
अल्बानिजले प्रतिवेदनमा क्याटरपिलर कम्पनीको चर्चा गरेकी छिन् । दसौँ वर्षदेखि यो कम्पनीले इजरायललाई प्यालेस्टिनी घर तथा भौतिक पूर्वाधार भत्काउन बुलडोजर तथा अन्य उपकरण उपलब्ध गराउँदै आएको छ ।
अल्बानिजको भनाइअनुसार इजरायलले क्याटरपिलर कम्पनीको डि–९ बुलडोजरलाई स्वचालित र रिमोट–नियन्त्रित हतियारमा विकसित गरेको छ । उसले सन् २००० यता आफ्ना प्रत्येक सैन्य कारबाहीमा यी बुलडोजरको प्रयोग गर्दै आएको छ । खासगरी तारबार हटाउन, बसोबास क्षेत्रलाई भताभुङ्ग पार्न र प्यालेस्टिनीहरूलाई मार्न यसको प्रयोग गरिन्छ ।
ह्युन्डाइ र भोल्भो कम्पनीले समेत इजरायली सेनालाई उपकरण उपलब्ध गराउँदै आएका छन् । यी कम्पनीले दिने उपकरणको मद्दतले इजरायली सेनाले प्यालेस्टिनी भूभागलाई तहसनहस पार्छ । पूर्वी जेरुसेलममा यिनै उपकरणको सहाराले इजरायली सेनाले प्यालेस्टिनी खेतबारी र जैतुनका बगैँचा ध्वस्त पार्दै छ । यी कम्पनीले इजरायललाई (अल्बानिजको भाषामा) ‘अवैध बस्ती’ बसाल्न उपकरण उपलब्ध गराउँछन् । यी बस्ती कम्तीमा १० वर्ष पुराना छन् । इजरायली बसोबासीहरूले प्यालेस्टिनीहरूसँग भूमि खोसेर यस्ता बस्ती बसालिरहन्छन् ।
(टिपोट : ह्युन्डाइ र भोल्भोबारे अल्बानिज लेख्छिन्, “आफ्ना उपकरणलाई इजरायलले आपराधिक कार्यमा प्रयोग गरिरहेको पर्याप्त प्रमाण बाहिरिए पनि र मानव अधिकार समूहहरूले सम्बन्ध विच्छेद गर्न लगातार आग्रह गरिरहे पनि (यी कम्पनीले) इजरायली बजारमा सामान आपूर्तिलाई जारी राखेका छन् । निष्क्रिय आपूर्तिकर्ताहरू पनि विस्थापनकारी व्यवस्थाका नियोजित सहयोगी हुन् ।”)
केलर विलियम्स घरजग्गा कारोबार कम्पनी हो । इजरायलको कब्जाकारी नीतिमा यसको साँठगाँठ रहेको तथ्य त्यतिबेला खुल्यो जब यसले क्यानडा र अमेरिकामा घरजग्गा कारोबारीहरूको रोड सो आयोजना ग¥यो । त्यस कार्यक्रममा भाग लिने कम्पनीहरूले पश्चिम किनारमा यहुदी बसोबासीहरूका निम्ति ठुला अपार्टमेन्टहरूको निर्माण तथा बजारीकरण गरिरहेका थिए ।
अमेरिकाको अलाबामामा मुख्यालय रहेको ड्रयुमोन्ड कर्पोरेसनका संस्थापक गेरी ड्रयुमोन्ड पूर्वराष्ट्रपति बिल क्लिन्टनका नजिकका मान्छे थिए । त्यस्तै, स्वीजरल्यान्डमा मुख्यालय रहेको ग्लेनकोर कम्पनी खोल्ने व्यक्ति मार्क रिच पनि क्लिन्टनकै सहयोगी हुन् । (रिच अहिले जघन्य अपराधका आरोपी हुन् ।) ड्रयुमोन्ड र ग्लेनकोर कम्पनी इजरायललाई कोइला पैठारी गर्ने प्रमुख आपूर्तिकर्ता हुन् ।
(टिपोट : जेरेमी कुजमारोभको पुस्तक ‘वारमोङ्गर’ (२०२४) मा यसबारे चर्चा गरिएको छ । सन् १९९० को दशकको अन्त्यतिर कोलम्बियाको भ्रमणमा ड्रयुमोन्ड पनि क्लिन्टनसँगै थिए । ड्रयुमोन्डविरुद्ध त्यसबेला अदालतमा मुद्दा चलिरहेको थियो । दक्षिणपन्थी अर्धसैन्य लडाकाहरूलाई पैसा खुवाएर ड्रयुमोन्डका दुई मुख्य खानीबाट क्यारिबियाली सागरस्थित बन्दरगाह पुग्ने १२० माइल लामो रेलमार्गको आसपास बसोबास गर्ने जनतालाई आतङ्कित पारेको अभियोग लागेको थियो ड्रयुमोन्डलाई । ती खानीमा ड्रयुमोन्डका साढे ७ अर्ब डलर बराबरको सम्पत्ति थियो । ड्रयुमोन्डका लठैतहरूले वामपन्थी फार्क विद्रोहीहरूलाई शरण दिएको आरोपमा सर्वसाधारण जनतालाई सघाउँथे, यातना दिन्थे र मार्थे । रैथाने जनतालाई उठिबास लगाएको र स्थानीय वातावरण प्रदूषित पारेको हुनाले फार्क विद्रोहीहरूले ड्रयुमोन्डका खानीहरूमा जाने रेलमार्गमा बमबारी गरिदिए । ड्रयुमोन्ड कर्पोरेसनमा काम गर्ने दुई युनियन नेताको हत्या भयो । यसमा पनि तिनै अर्धसैन्य लडाकाहरूको हात थियो ।
ग्लेनकोर कम्पनीले अफ्रिकाका धेरै खुफिया खानीहरूमा लगानी गरेको छ । यसका मालिक रिचलाई आफ्नो कार्यकालको अन्तिमतिर क्लिन्टनले आममाफी दिएका थिए ।)
इजरायलको ऊर्जा आपूर्तिमा शेभरोन घरानाको योग ७० प्रतिशतभन्दा बढी छ । उसले इजरायली प्रशोधन केन्द्रहरूमा तेल आपूर्ति गर्छ । यी केन्द्रमा गाजामा बमबारी गर्ने इजरायली सैन्य विमानमा प्रयोग हुने इन्धन उत्पादन हुन्छ ।
(टिपोट : ब्रिटिश पेट्रोलियम (बीपी) र शेभरोन इजरायलमा कच्चा तेल पठाउने मुख्य आपूर्तिकर्ता हुन् । अजेरी बाकु–तिब्लिस–सेहान पाइपलाइन र कजाख क्यास्पियन पाइपलाइन तथा ती पाइपलाइन सम्बद्ध तेल खानीहरू यिनै कम्पनीका हातमा छन् ।)
अल्बानिज लेख्छिन्, “इजरायललाई कोइला, ग्यास, तेल र इन्धन आपूर्ति गरेर (यी) कम्पनीहरूले ती भौतिक पूर्वाधार निर्माणमा टेवा दिँदै छन् जसलाई इजरायलले कब्जाकारी गतिविधि सघन पार्न प्रयोग गर्छ । अहिले गाजामा प्यालेस्टिनी जीवनलाई ध्वस्त पार्न यही पूर्वाधारको प्रयोग हुँदै छ । यी कम्पनीले जून पूर्वाधारमा संसाधन पैठारी गर्छन्, तिनै पूर्वाधारको मद्दतले इजरायली सेनाले गाजालाई ध्वस्त पार्दै छ । यसको लागि इजरायली सेनाले अचाक्ली ऊर्जा खपत गर्ने प्रविधिको प्रयोग गर्छ ।”
प्रतिवेदनको पुछारमा अल्बानिजले इजरायली युद्धमा लगानी गर्ने वित्तीय उद्योग तथा कब्जाबाट नाफा सोहोरिरहेका कम्पनीबारे छलफल गरेकी छिन् । यो युद्ध र कब्जामा वालस्ट्रीटको धनकुवेर कम्पनी ब्ल्याकरक अत्यन्त ठुलो लगानीकर्ता हो । प्यालेन्टियर, माइक्रोसफ्ट, अमेजन, अल्फाबेट र आईबीएममा लगानी गर्ने दोस्रो ठुलो लगानीकर्ता ब्ल्याकरक हो । त्यस्तै, लकहीड मार्टिन र क्याटरपिलरको तेस्रो ठुलो लगानीकर्ता पनि ब्ल्याकरक नै हो ।
वालस्ट्रीटको अर्को धनकुवेर कम्पनी भेनगार्डको पनि इजरायली युद्धमा साँठगाँठ छ । क्याटरपिलर, शेभरोन र प्यालेन्टियरको सबैभन्दा ठुलो लगानीकर्ता भेनगार्ड हो । त्यस्तै, लकहीड मार्टिन र अल्बिट सिस्टमको दोस्रो ठुलो लगानीकर्ता पनि भेनगार्ड नै हो ।
अल्बानिजको प्रतिवेदनमा धार्मिक सङ्घसंस्था तथा विश्वविद्यालयबारे पनि उल्लेख छ । प्यालेस्टिनमा भइरहेको जातिसंहार र सैन्य कब्जाका पूर्वाधारलाई यी पश्चिमा सङ्घसंस्था र विश्वविद्यालयले टेवा दिँदै आएका छन् ।
विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमबाट प्यालेस्टिनी पक्षको धारणा हटाएर यो कम गर्छन् । त्यस्तै, प्यालेस्टिनीहरूको हत्यामा प्रयोग हुने हतियार प्रणालीको अनुसन्धानमा पनि यिनको मिलेमतो हुन्छ । खासगरी ‘एमआईटी’ ले यो काममा अन्य अमेरिकी विश्वविद्यालयलाई पछि पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यही ‘एमआईटी’ मै पढेका थिए ।
अल्बानिजले बेलायती साम्राज्यसँग मात्र नभई नाजी जर्मनीसँग पनि वर्तमान स्थितिको तुलना गरेकी छिन् । नुरेम्बर्ग इजलासमा जर्मनीका कर्पोरेट जगत्का प्रमुखहरूलाई पनि कठघरामा उभ्याइएको थियो । आइजी फार्बेनलगायत जर्मन कम्पनीका मालिकहरूले हिटलरको नीति लागु गर्न सघाएका थिए । यहुदीहरूको जातिसंहारबाट ती कम्पनीले अकुत नाफा कमाएका थिए ।
गाजा तथा विश्वका अन्यत्र स्थानमा भइरहेका ज्यादती र अपराधमा जिम्मेवार कर्पोरेट जगतका प्रमुखहरूलाई जवाफदेही बनाउन आज नयाँ नुरेम्बर्ग इजलासको आवश्यकता महसुस हुँदै छ ।
दुर्भाग्य, आजमा मितिमा संरा अमेरिका वा इजरायलबाहेक अर्को बलशाली शक्ति छैन जसले त्यस्तो इजलास राख्न सकोस् र ती अपराधमा संलग्नहरूलाई जवाफदेही बनाउन सकोस् ।
त्यसकारण, अल्बानिज आफैले इजरायलमाथि आर्थिक प्रतिबन्ध लगाउन र पूर्ण सैन्य नाकाबन्दी लगाउन आह्वान गर्छिन् । उनी प्यालेस्टिनी पीडितहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने माग गर्छिन् ।
यी उपाय लागु भए सबैले स्वागतै गर्थे । तर, विश्वको वर्तमान शक्ति संरचनाभित्र यी उपाय लागु हुने सम्भावना देखिन्न ।
अन्ततः समाजवादी रूपान्तरणप्रति प्रतिबद्ध जनताको विशाल आन्दोलन उठाउनुको विकल्प छैन ।
इजरायली सैन्य अखडामा अमेरिकाको करोडौँ डलर
प्यालेस्टिनमा कर्पोरेट जगतले अकुत नाफा सोहोर्दै जाँदा इजरायली सेनाको तान्डव जारी छ । इजरायलको प्रमुख अखबार हारेत्जले हालै सार्वजनिक भएका अमेरिकी सेनाको इन्जिनियर कोरका दस्ताबेजहरूको समीक्षा छाप्यो । सो अध्ययनअनुसार अमेरिकाले इजरायलमा सैन्य संरचना निर्माणमा साढे १ अर्बभन्दा बढीका परियोजनाहरूको व्यवस्थापन गर्दै छ ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले इजरायललाई वार्षिक ३ अर्ब ८० करोड डलर बराबरको सैन्य प्याकेज सहयोग दिने सहमति गरेका थिए । यहीबाट सैन्य परियोजनाको लागत भरिनेछ । नयाँ परियोजनाअन्तर्गत सैन्य अखडाहरूको स्तरवृद्धि गरिनेछ । इजरायली वायुसेनाका नयाँ विमान र हेलिकप्टरहरूमा इन्धन भर्नलाई सहज बनाउने गरी यी अखडाको डिजाइन गरिँदै छ । इजरायली जलसेनाको शायतेत–१३ कमान्डो युनिटको नयाँ मुख्यालयको निर्माण हुँदै छ । साथै, यी अखडामा लकहीड एफ–१५ र एफ–३५ लडाकु विमानहरू प्रक्षेपण गर्न मिल्ने पूर्वाधार हुनेछ ।
हालै ‘मिडल इस्ट मोनिटर’ मा एउटा रिपोर्ट छापियो । अमेरिकी अधिकारीहरूले यी सहयोग साझा सुरक्षाको लागि हुने दाबी गर्दै छन् । तथापि, इजरायलमा अमेरिकाको निर्माण परियोजनाको आकार अत्यन्त ठुलो छ । रिपोर्ट भन्छ, “(आकार हेर्दा) भित्र गहिराइमा अर्कै थोक देखिन्छ – दीर्घकालीन सैन्य मोर्चाबन्दी ।”
ताइनोफ हवाई अड्डामा अमेरिकी लगानीमा एउटा नयाँ परियोजना चल्दै छ । धावनमार्ग फराकिलो पारिँदै छ र इजरायलको नयाँ ‘सीएच–५३ के’ सैन्य हेलिकप्टर राख्न नयाँ ह्याङ्गरको निर्माण हुँदै छ । अन्य परियोजनामा इजरायली जलसेनाको लागि नयाँ पायरको निर्माण, भूमिगत बङ्कर एवम् कमान्ड सेन्टरको निर्माण, हतियार भण्डार क्षमतामा विस्तार तथा इजरायली अखडाहरूमा बस्ने अमेरिकी सैन्य अधिकारीका लागि आवास व्यवस्थाको पुनर्निर्माण पर्छन् ।
‘मिडल इस्ट मोनिटर’ ले अर्को तथ्य पनि खुलासा ग¥यो । उसले लेख्यो, “(यी परियोजनाहरू) स्पष्ट चित्र कोर्छन् – संरा अमेरिकाले इजरायललाई हातहतियार मात्र सहयोग गरिरहेको छैन, बरु उसले भौतिकरूपमै इजरायली भूमिमा गएर अमेरिकी पैसाले इजरायलको सैन्य क्षमता बढाउन पूर्वाधारको निर्माण पनि गर्दै छ ।” यसबाट अन्ततः को लाभान्वित होला ? अल्बानिजको प्रतिवेदनमा तिनलाई ‘मृत्युका व्यापारी’ भनिएको छ ।
(कुजमारोभले अमेरिकी इतिहासमा विद्यावारिधी गरेका छन् । साथै, विभिन्न प्रसिद्ध कृतिका लेखक तथा राजनीतिक विश्लेषक हुन् । उनले अमेरिकाका विभिन्न कलेजमा अध्यापन गरेका छन् ।)
स्रोत : कोभर्ट एक्सन म्यागेजिन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *