भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजका ९३ जना विद्यार्थीलाई रु. ४४ लाख २८ हजार बराबरको छात्रवृत्ति रकम वितरण

ख्वप इन्जिनियरिङ कलेजका ९३ जना विद्यार्थीलाई रु. ४४ लाख २८ हजार बराबरको छात्रवृत्ति रकम वितरण

भक्तपुर, ६ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले गरिब, जेहेनदार तथा अनुशासित विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति रकम वितरण ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इ. कलेजमा स्नातक तहको इन्जिनियरिङ र आर्किटेक्चर शैक्षिक कार्यक्रम २०७७, २०७८, २०७९ र २०८० मा भर्ना भई अध्ययनरत ९३ जना विद्यार्थीहरूलाई रु. ४४ लाख २८ हजार बराबरको छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले कमजोर विद्यार्थीलाई उत्कृष्ट अङ्कसहित परीक्षामा उत्तीर्ण गराउनमा शिक्षकको सफलता रहने बताउनुभयो ।
विद्यार्थीहरूलाई न्यून शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्ने, सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१ औँ शताब्दीको लागि योग्य विद्यार्थी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न विषयका कलेजहरू स्थापना गरेको बताउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरू जनताको श्रम र करबाट सञ्चालित सामुदायिक कलेज हो भन्नुभयो ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले जहिल्यै देश र समाजप्रति उत्तरदायी बन्न प्रेरित गर्दै उहाँले हाम्रो शिक्षा विदेशको सेवाको लागि हुनुहुन्न भन्नुभयो ।
नयाँ पुस्तामा सरकारप्रति अविश्वासले गर्दा नेपाली विद्यार्थी विदेश पलायन हुने प्रवृत्ति विकास भइरहेको बताउँदै उहाँले विद्यार्थीहरूलाई परीक्षामा उत्तीर्ण मात्र होइन, आफूले अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्ने ढङ्गले उच्च शिक्षा अध्ययनमा जोड दिन मार्गनिर्देश गर्नुभयो ।
इन्जिनियरिङ विषयमा भ्रष्टाचार तथा आर्थिक अनियमितताका विषयहरू धेरै हुने गरेको हुँदा आफ्नो कार्यक्षेत्रमा सतर्कता अपनाएर काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “देशमा इन्जिनियरहरूको कमी छैन, इमानदार इन्जिनियरहरूको अभाव भएको हो ।”
त्यस्तै छात्रवृत्ति छनोट समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले आर्थिक कारणबाट उच्च शिक्षा अध्ययनबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले गरिब, जेहेनदार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो ।
उहाँले कलेजमा नगर बाहिरका धेरै विद्यार्थीहरू अध्ययनरत छन् भन्दै नपाले देशभरिका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेज स्थापना गरेको बताउनुभयो । छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले कलेज स्थापनाको उद्देश्य प्राप्तिका लागि थप मेहनत गर्नुपर्ने बताउँदै नपाबाट सञ्चालित कलेजहरूलाई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्ने कोसिस गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजले प्रदान गर्दै आएको छात्रवृत्तिको उद्देश्य र प्रक्रियाबारे प्रस्ट पार्दै कलेजको नतिजालाई थप सुदृढ बनाउन कलेजले जोड दिँदै आएको बताउनुभयो । विद्यार्थीहरूको छात्रवृत्ति सुविधा नभई अवसरको रूपमा प्रदान गरिएको बताउँदै उहाँले कलेजको आचारसंहितालाई कडाइका साथ पालना गर्न विद्यार्थीलाई अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले आर्थिक वर्ष २०८१/८२ मा कलेजमा अध्ययनरत स्नातक तहका आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङका विद्यार्थीहरूलाई रु.१ करोड ६० लाख ६९ हजार ३२६ रुपैयाँ” वितरण गरिएको कलेजले बताएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत स्नातक तहका सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरूलाई रु.१ करोड १० लाख ५९ हजार ५३३ रुपैयाँ” वितरण गरिएको जनाएको छ ।
दुवै इन्जिनियरिङ कलेजको गरी जम्मा २ करोड ७१ लाख २८ हजार ८५९ रुपैयाँ छात्रवृति रकम वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *