पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
भक्तपुर नाचगानको सहर हो । यो कलाकार र वाद्यवादकको सहरमात्र होइन मन्दिरै मन्दिरको सहर पनि हो । यहाँ मूर्तिकार, शिलाकार, काष्ठकलाकार, वास्तुकलाविद, मृत्तिकाकार, ताम्राकारमात्र होइन पुरानै शैलीका मठ मन्दिर, सत्तल, पाटी पौवा, विहार, चैत्य बनाउने डकर्मी, सिकर्मी या अग्रज कलाकारहरू पनि छन् । मौलिक शैलीका भवन, मन्दिर, मठ, पाटी, पौवा बनाउन यहाँका अग्रजहरू सिपालु छन् । अहिले नयाँ पुस्ता तयार हुँदै छ । यहाँका अग्रजहरूको कला, सीप र अनुभवकै कारण लक्ष्मीनरसिंह मन्दिर पुनः निर्माण भएको हो । अहिले थंथु दरबार बन्दै छ । यसरी नै अन्य मौलिक शैलीका कलात्मक मठ, मन्दिर र भवन बन्दै छ । यहाँ एकपछि अर्को मौलिक शैली या मल्लकालीन मन्दिर बनाउने क्रम चालु छ । दर्जनौँ बनिसकेको छ । तर, जीर्णोद्वार र पुनः निर्माण गर्नुपर्ने अझै दर्जनौँ सत्तल, मन्दिर, मठ, पाटी पौवा बाँकी छन् ।
असङ्ख्य सम्पदाहरू भएकाले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष एक टोल एक सम्पदा बनाउनैपर्ने नीति तयार गरेअनुसार टोलटोलमा पाटी, मन्दिर, सत्तल आदि निर्माण कार्य गरिरहेको हो । टोल–टोलमा आवश्यकताअनुसार थप सम्पदाहरू पनि निर्माण भइरहेको छ । भक्तपुर नगरको पुराना बस्ती वरपर अष्टमातृका देवगण र मन्दिरहरू रहेका छन् । ब्रह्मायणी माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली र महालक्ष्मी यसका दृष्टान्त हुन् । अष्टमातृका देवगणका मन्दिरहरू एउटै शैली र स्वरूपका छैनन् । मातृका देवगणका कति मन्दिरहरूको बेलाबखत जीर्णोद्धार भइरहेको पाइन्छ । कति मन्दिर विगतमा भूकम्पको कारण भत्केर अलगै शैलीमा बनाइएको छ भने कति देवगणको हाल मन्दिर नै छैन । हाल भक्तपुर नगरको एक अष्टमातृका ब्रह्मायणी देवी हो । ब्रह्मायणी देवीको मन्दिर पहिले मौलिक शैलीमै बनेको थियो । मौलिक शैलीमा बनेको मन्दिरको अवशेष अहिले रहेको काठ र इँटाले थाहा हुन्छ ।
हाल रहेको ब्रह्मायणी मन्दिरको स्वरूप र शैली पछि बनाइएको हो । अहिले सो मन्दिर पुरानै शैलीमा बनाउनुपर्ने सुझाव इतिहासकार, संस्कृतिविद्, पुरातत्वविद्, ज्येष्ठ नागरिकहरूले दिन थालेका छन् । ब्रह्मायणी मन्दिर पुनः निर्माण गर्ने कुरा जनतामाझ चर्चा भएपछि उक्त कुरा उठेको हो । ब्रह्मायणी मन्दिर पुनःनिर्माण गर्ने क्रममा भनपा वडा नं. ९ कार्यालयको अगुवाइमा मन्दिरको पहिलेको स्वरूप र शैलीबारे अध्ययन, अनुसन्धान तथा खोजीनीति भइरहेको छ । वडा कार्यालयले भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम राखी राय–सुझाव लिइरहेको छ । पहिलेको स्वरूप र शैलीको प्रमाण जुटेमा ब्रह्मायणी मन्दिर बनाउन वडा कार्यालय तयारीमा छ ।
वडा कार्यालयले ब्रह्मायणी मन्दिरको पुनः निर्माण भएपछि उक्त स्थानको आकर्षण बढ्नेछ र ब्रह्मायणीस्थान एकै मौलिक सम्पदा स्थल बन्ने छ । भक्तपुर नगर देवी देवगणहरूको घेराभित्र रहेको छ । भक्तपुर नगर प्रवेश गर्न नगरको चारै दिशातर्फ मौलिक शैलीकै प्रवेशद्वारहरू रहेका छन् । सुरक्षाको दृष्टिले भक्तपुरलाई पर्खालले घेरिएको इतिहासकारहरूको भनाइ रहेको छ । अहिले पनि मङ्गलतीर्थमा पहिलेको पर्खाल बाँकी रहेको छ । यसरी नै यहाँ विश्वविख्यात पाँचतले मन्दिर, भैरवनाथको मन्दिर, पचपन्न झ्याल दरबार, पशुपतिनाथको मन्दिर जीर्णोद्वार तथा मर्मत सम्भार भइसकेको छ । यहाँका हरेकजसो सम्पदाको टोल–टोलमा जीर्णोद्वार, मर्मतसम्भार र पुनः निर्माण भइरहेको हुँदा भक्तपुर सम्पदा संरक्षित स्थल बनेको हो । भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र र चाँगुनारायण मन्दिर विश्वसम्पदा सूचीमा रहेको छ । भक्तपुर नगरको पुरानो बजार क्षेत्र पनि सम्पदा स्थल हो । पहिले पहिलेको भक्तपुर नगरको पुरानो बस्तीमा रहेका सबैजसो घर मौलिक शैलीमै छन् । एकमुखे, तीनमुखे, पाँचमुखे या बेजोडामुखे झ्याल यहाँको विशेषता हो । इँटा र माटो जोडाइ, झिँगटी छाना र चारतले भवन यहाँको अर्को विशेषता हो । पहिलेको यो मौलिक शैली र सम्पदा कायम गर्न नै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले ‘सय वर्षपछिको भक्तपुर’ लेख रच्नुभएको हो र पुस्तकको रूपमा प्रकाशित भएको हो ।
यसरी नै यहाँ भाज्य पोखरी, रानी पोखरी र गुह्य पोखरीको मर्मत सम्भार गरिसकेको छ । अन्य पोखरी, ढुङ्गेधारा, इनारको पनि मर्मत सम्भार भइरहेको छ । सडक र गल्लीमा ढुङ्गा छपाइ र इँटा छपाइ आवश्यकताअनुसार भइरहेको छ । सरसफाइ र सम्पदा संरक्षणले भक्तपुर साँच्चै आन्तरिक र बाह्य पर्यटकहरूको लागि हेर्नलायक, आकर्षक, सुन्दर र सफा नगर बनेको छ; स्मारक संरक्षित नगर बनेको छ । देश विदेशका पर्यटकहरूको निम्ति घुम्नैपर्ने सहर बनेको छ । भक्तपुर आन्तरिक र बाह्य पर्यटकहरूको आगमन केन्द्र बनेको छ† आय आर्जन गर्ने महत्वपूर्ण स्रोत बनेको छ । यस्तै आयस्रोतबाट नै यहाँका मठ मन्दिर निर्माण, सम्पदा संरक्षण, स्वास्थ्य सेवा, सरसफाइ र शिक्षामा अनुकरणीय काम भइरहेको हो । नपाले देशभरिका विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा दिइरहेको छ । यसकारण, भक्तपुर पर्यटन केन्द्र, सम्पदा संरक्षित केन्द्र, शिक्षाको केन्द्र, सरसफाइको केन्द्र र सभ्य, असल, देशभक्तहरूको थलोमात्र होइन देश विदेशको निम्ति आकर्षक, सिक्ने, सिकाउने र अध्ययन केन्द्र बनेको हो; भक्तपुर उदाहरणीय नगर बनेको हो ।
Leave a Reply