भर्खरै :

इरानमा सत्ता परिवर्तन प्रयास र नेपाली राजावादी

इरानमा सत्ता परिवर्तन प्रयास र नेपाली राजावादी

कसैकसैलाई याद होला, इजरायलले इरानमाथि आक्रमण गर्दा नेपालका केही राजावादीहरूले पनि इजरायली आक्रमणको समर्थन गरेका थिए । यो समर्थन इजरायलमा नेपालीहरूले काम पाइरहेको कारणस्वरूप इजरायलसँग सहानूभुति रहेको होला भनेर धेरैले ठानेका होलान् तर वास्तविकता अर्कै छ ।
इरानमाथि इजरायली आक्रमण हुँदा उक्त आक्रमणको नाम ‘Operation Rising Lion’ नाम राखिएको थियो जुन संयोग मात्र होइन । तत्कालीन इरानका राजा शाह मोहम्मद रेजा पहलवीको शासनकालमा इरानको झन्डामा देखिने ‘उदाउँदो सूर्य र सिंह’ (Lion and Rising Sun) निरङ्कुशकालीन प्रतीक भनेर आज पनि धेरैलाई याद छ । यही नाम राखेर गरिएको आक्रमणले यो सङ्केत गर्छ कि अमेरिका र बेलायतलगायत पश्चिमी मुलुकहरू फेरि एकपटक शाह राजाको जस्तो शासन फर्काउने सोचमा छन् ताकि इरानमाथि फेरि उनीहरूको प्रभाव बलियो रहोस् । १९५३ मा शाहलाई फर्काएर गरेको हस्तक्षेपको झल्को अहिले फेरि देखिएको छ । यस्तो नामकरण सैन्य रणनीति मात्र होइन; पश्चिम अझै इरानलाई आफ्नो नियन्त्रणमा ल्याउन चाहन्छ भन्ने यो एक कुटिल सन्देश पनि हो ।
१९५१ मा निर्वाचित भएका डा. मोहम्मद मोसाद्देग इरानको प्रधानमन्त्री मात्र नभई इरानी जनताको चाहनाको प्रतिनिधित्व थियो । उनी एक विद्वान्मात्र थिएनन् सच्चा राष्ट्रवादी नेता पनि थिए । उनले इरानी तेलमा विदेशी कम्पनीको कब्जा देखेर यो अन्यायविरुद्ध आवाज उठाए — विशेषगरी बेलायतको Anglo–Iranian Oil Company (AIOC) जसले इरानको तेलबाट अर्बौं कमाइरहेको थियो, तर इरानी जनतालाई न्यूनतम लाभसमेत पाइरहेको थिएन । त्यही भएर मोसाद्देगले १९५१ मा इरानको तेल उद्योगलाई राष्ट्रियकरण गरे । यो कदम इरानी जनताको लागि स्वाभिमानको कुरा थियो तर आफ्नो नियन्त्रण गुमाउँदै गएको हुँदा बेलायत र अमेरिकाजस्ता साम्राज्यवादी मुलुकहरूको लागि खतरा पनि थियो ।
यो अवस्था बेलायत र अमेरिकाको लागि सहन सक्ने कुरै भएन । १९५३ मा अमेरिकी गुप्तचर CIA र बेलायती गुप्चतर MI6 ले संयुक्त रूपमा इरानमा एक गुप्त षड्यन्त्र रचेर Operation Ajax नामक सैनिक विद्रोह ‘कू’ सञ्चालन गरे । मोसाद्देगलाई प्रधानमन्त्रीबाट हटाउन सशस्त्र समूह र इरानी सेनाको केही भाग प्रयोग गरियो । जनताले चुनेको नेता हटाइयो र शाह मोहम्मद रेजा पहलवीलाई पूर्ण सत्तासहित पुनःस्थापित गरियो । यही कारण नेपा

तात्कालीन इरानी शाह राजतन्त्रको झन्डा

लमा राजतन्त्र समर्थकहरूले पनि इजरायलको इरानमाथिको आक्रमणलाई परोक्ष समर्थन जनाए, इरानी राजा शाहको पुनस्र्थापनाजस्तै अमेरिकाले कहिल्यै नेपालमा पनि राजतन्त्र फर्काउन सहयोग गर्न सक्छ भन्ने झिनो अपेक्षामा ।
पुनः फर्किएको पश्चिमको कठपुतली शाह राजा
शाह १९४१ देखि नै राजा थिए, तर मोसाद्देगको शक्तिशाली उपस्थिति उनका लागि चुनौती थियो । कूपछि उनी फेरि सत्तामा फर्किए तर अब उनी मात्र इरानका राजा थिएनन्, उनी पश्चिमी स्वार्थका प्रतिनिधि पनि बने । शाहले बेलायत र अमेरिकालाई फेरि इरानी तेलमा लगानी गर्न खुला गरे । इरानमा पश्चिमी शैलीको शिक्षा, संस्कृति, फेसन र विकास ल्याउने प्रयास भयो, तर त्यसको मूल्य थियो — जनताको स्वतन्त्रता । उनले राजनीतिक दलमाथि प्रतिबन्ध लगाए, स्वतन्त्र चुनावको अधिकार खोसे, सभाक नामक कुख्यात गुप्तचर संस्था प्रयोग गरी हजारौँ मानिसलाई बन्दी बनाए र यातना दिए ।
आजको BP (British Petroleum) कुनै सामान्य कम्पनी नभई यो इरानी राजाको सहयोगमा आधारित समृद्धिको गाथा हो । यसको जरा इरानमै थियो । १९०८ मा इरानमा तेल भेटिएपछि बनेको कम्पनी Anglo–Iranian Oil Company ले झण्डै आधा शताब्दीसम्म इरानी तेलमाथि कब्जा जमायो । इरानी जनता गरिब, भोका र पीडित रहे तर बेलायत धनी बन्यो । यही BP को समृद्धिमा इरानी दुःखको गन्ध मिसिएको छ ।
१९७९ को क्रान्ति ?
शाहको शासन एकाधिकारवादी, दमनकारी र पूर्ण रूपमा पश्चिमको समर्थनमा टिकेको थियो । जनतामा चिडचिडाहट बढ्दै गयो । इरानी जनता शाहलाई आफ्नो राजा होइन, पश्चिमको कठपुतली मान्न थाले । इरानी जनताले झण्डै तीन दशक लामो अन्याय सहेर अन्ततः विद्रोह गरे । १९७९ मा आयतोल्लाह खोमैनीको नेतृत्वमा राजा अपदस्थ हुने गरी इस्लामिक क्रान्ति भयो । इरानले आफूलाई अब पश्चिमी प्रभावबाट स्वतन्त्र बनायो र इस्लामिक गणराज्य घोषणा ग¥यो । यो क्रान्ति केवल शासन परिवर्तन थिएन, यो साम्राज्यवादविरुद्धको विजय थियो ।
पश्चिमी देशको ’लोकतन्त्र’को मुखौटो
सोध्न मन लाग्छ, “लोकतन्त्रको झण्डा बोकी हिँड्ने देशहरूकै मिलेमतोमा १९५३ मा एक लोकतान्त्रिक प्रधानमन्त्री मोसाद्देगलाई किन फालियो र निरङ्कुश राजालाई किन स्थापित गर्यो ?” जवाफ स्पष्ट छ — तेल र शक्ति । जसरी पश्चिमी मुलुकहरूले मोसाद्देगजस्तो लोकतान्त्रिक नेतालाई फालेर एक तानाशाहलाई समर्थन गरे, त्यसले देखाउँछ — पश्चिमको चासो सच्चा लोकतन्त्र होइन, आफ्ना स्वार्थ हुन् । जबसम्म शासन उनीहरूको अनुकूल हुन्छ, तानाशाह होस् या राजा, त्यो ठीक हुन्छ । शाहले लोकतन्त्र कुल्चे, पत्रकारहरूलाई बन्दी बनाए, मानव अधिकार हनन गरे तर अमेरिका र बेलायतले उनलाई निरन्तर समर्थन गरे । किन ? किनभने इरानी तेल अझै पनि उनीहरूको नियन्त्रणमा थियो ।
आज पनि केही मानिसहरू भन्छन्, “इरान विश्वको तर्फबाट पश्चिमी साम्राज्यवादविरुद्ध लडिरहेको छ ।” यो कुरामा केही सत्यता छ । इरानले अमेरिकाको एकछत्रता, इजरायलको समर्थन र साउदी अरबसँगको गठबन्धनको खुला विरोध गर्छ । इरानले पश्चिमी सैन्य हस्तक्षेपविरुद्ध आवाज उठाउँछ, चाहे त्यो अफगानिस्तान होस्, इराक होस् या प्यालेस्टाइन । यद्यपि यो पनि यथार्थ हो, इरान आफैँभित्र मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको समस्याबाट जुझिरहेको छ । तर, पश्चिमी देशहरू प्रायः यो विषय उठाउँदैनन्, जबसम्म त्यो राजनीतिक हतियार बन्न सक्दैन ।
आज हामी समाचारमा इरानमाथि लगाइएका प्रतिबन्ध, युद्धको धम्की वा तानाशाही शासनको आलोचना सुन्दै गर्दा इतिहासले हामीलाई सोध्छ, “के तिमीहरूलाई अझै लाग्छ पश्चिमी हस्तक्षेप सधैँ न्यायिक हुन्छ ?” इरानको कथा इरानको मात्र होइन । यो संसारका शक्तिशाली मुलुकहरूका स्वार्थको सिकार बनेका स—साना राष्ट्रहरूको कथा हो । इरानले आफ्नो भूमि, तेल र आत्मसम्मान जोगाउन जुन लडाइँ लडिरहेको छ त्यसले हामीलाई न्याय र असल नेतृत्वको मूल्य सिकाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *