जनताको समस्या समाधान गर्न नेमकिपा लागिरहने
- चैत्र २१, २०८२
“साहित्य र कलाले आजसम्म सधैँ नै उदाङ्ग्याउने काम गर्दै आएका छन् ।” अघिल्लो भनाइजस्तै यो भनाइ पनि इतिहास विज्ञानको अनभिज्ञताबाट जन्मेको हो । हामीले पहिल्यै भनिसकेजस्तै साहित्य र कलाको काम कहिल्यै पनि खाली उदाङ्गो पार्नु मात्र रहेको छैन । जनसमूहहरू कहिल्यै पनि क्रान्तिकारी लेखक र कलाकारहरूका लागि उदाङ्ग्याउने कामको निशाना हुन सक्दैनन् तर अतिक्रमणकारी, शोषक–उत्पीडकहरू र तिनले जनतामा पारेको कुप्रभावहरू मात्रै त्यस्ता निशाना हुनसक्छन् । जनसमूहमा पनि कमजोरीहरू हुन्छन्, जनताका आफ्नै पङ्क्तिभित्र आलोचना र आत्मालोचना चलाएर ती कमजोरीहरू हटाउन सकिन्छ अनि साहित्य र कलाका ज्यादै महत्वपूर्ण अभिभाराहरूमध्ये यस्तो आलोचना र आत्मालोचना पनि एक हो । तर, यसलाई कहिल्यै पनि ‘जनतालाई उदाङ्ग्याउने’ खालको काम सम्झनु हुँदैन । जनताको हकमा, मूलभूत सवाल उनीहरूलाई शिक्षित तुल्याउने र उनीहरूको स्तर उकास्ने सवाल नै हो । प्रतिक्रान्तिकारी लेखक र कलाकारहरूले मात्र जनतालाई ‘जन्मजात मूर्ख’ र क्रान्तिकारी जनसमूहलाई ‘अत्याचारी हुल्याहा’ का रूपमा वर्णन गर्छन् ।
“यो अवधि अझै व्यङ्ग्यात्मक निबन्ध लेख्ने अवधि हो । लु शुनको लेखन शैलीको अझै खाँचो छ ।” काला शक्तिहरूको शासनमुनि बसेर अनि वाक् स्वतन्त्रताबाट वञ्चित रहेर लु शुनले पोल्ने व्यङ्ग्य र ठिहि¥याउने व्यङ्ग्योक्तिको प्रयोग गर्दै काला शक्तिहरूका विरोधमा जुध्नका लागि तिनलाई निबन्धको रूप दिनुभयो । उहाँले यसो गर्नु एकदमै ठीक थियो । फासिस्टहरू, चिनियाँ प्रतिक्रियावादीहरू र जनतालाई हानि–नोक्सानी गर्ने हरेक कुरालाई हामीले पनि आफ्नो व्यङ्ग्योक्तिद्वारा खिल्ली उडाउनुपर्छ तर सेनसी–कासु–निङ्स्या सिमान्त क्षेत्रमा र शत्रुको पछिल्लो भागमा रहेका जापानविरोधी आधार इलाकाहरूमा क्रान्तिकारी लेखक र कलाकारहरूलाई पूरापूर जनवाद र स्वतन्त्रता प्रदान गरिएको छ र प्रतिक्रान्तिकारीहरूलाई मात्रै यी कुराबाट बञ्चित गरिएको छ । त्यसैले यहाँको निबन्धको शैली लु शुनको जस्तो मात्र भएर पुग्दैन । यहाँ हामी सकेसम्म जोडले कराउन सक्छौँ र यहाँ जनतालाई बुझ्न गा¥हो पर्ने खालका अस्पष्ट र घुमाउरा अभिव्यक्तिहरूको कुनै खाँचो छैन । शत्रुहरूतिर व्यवहार गर्दा होइन जनतासित व्यवहार गर्दा लु शुनले आफ्नो ‘व्यङ्ग्य निबन्धको अवधिमा’ क्रान्तिकारी जनता र क्रान्तिकारी पार्टीलाई कहिल्यै खिल्ली उडाउनुभएन वा प्रहार गर्नुभएन । यी निबन्धहरू शैलीका दृष्टिले शत्रुलाई ताकेर लेखिएका निबन्धहरूभन्दा एकदमै बेग्लै छन् । हामीले पहिले नै भनेजस्तै जनताका कमजोरीहरूको आलोचना गर्नु आवश्यक छ तर यसरी आलोचना गर्दा हामीले सच्चा रूपले जनताको अडान लिनुपर्छ र जनतालाई जोगाउने र शिक्षित पार्ने हार्दिक अभिलाषाबाट बोल्नुपर्छ । कमरेडहरूसित शत्रुहरूसित जस्तो व्यवहार गर्नु भनेको शत्रुको अडान लिएर चल्नु हो । उसो भए के हामीले व्यङ्ग्यलाई निर्मूलै पार्ने हो त ? त्यसो होइन, व्यङ्ग्यको सधैँ खाँचो हुन्छ । तर व्यङ्ग्यहरू धेरै किसिमका हुन्छन् र हरेक व्यङ्ग्यको बेग्लाबेग्लै अभिप्रायः हुन्छ । जस्तैः– शत्रुहरूप्रतिको व्यङ्ग्य, हाम्रा सहयोगीहरूप्रतिको व्यङ्ग्य र हाम्रा आफ्नै पङ्क्तिहरूप्रतिको व्यङ्ग्य । हामीहरू सामान्यरूपले व्यङ्ग्यका विरोधी होइनौँ, हामीले निर्मूल पार्नुपर्ने कुरा व्यङ्ग्यको दुरूपयोग हो ।
“म प्रशंसा र गुणगान गर्ने काम गर्दिनँ । उज्यालोको गुणगान गर्ने मानिसका कृतिहरू महान् नै हुन्छन् भन्ने केही छैन र अँध्यारोको चित्रण गर्ने मानिसहरूका कृतिहरू तुच्छ नै हुन्छन् भन्ने केही पनि छैन ।” तपाईँ पुँजीवादी लेखक वा कलाकार हुनुहुन्छ भने तपाईँले सर्वहारावर्गको गुणगान नगरी पुँजीपतिवर्गकै गुणगान गर्नुहुन्छ अनि तपाईँ सर्वहारावादी लेखक वा कलाकार हुनुहुन्छ भने तपाईँले पुँजीपतिवर्गको गुणगान नगरी सर्वहारावर्ग र श्रमिक जनताकै गुणगान गर्नुहुनेछ । तपाईँले दुईमध्ये एकको गुणगान गर्नैपर्छ । पुँजीपतिवर्गको गुणगान गर्नेहरूका रचना महान् हुन्छन् भन्ने केही छैन र पुँजीपतिवर्गको अँध्यारोपनाको चित्रण गर्नेहरूका रचना तुच्छ नै हुन्छन् भन्ने पनि केही छैन । सर्वहारावर्गको गुणगान गर्नेहरूको रचना महान् हुँदैनन् भन्ने केही कुरा छैन तर सर्वहारावर्गको तथाकथित ‘अँध्यारो पक्ष’ को चित्रण गर्नेहरूका रचना भने निश्चितरूपले तुच्छ हुन्छन् । केही साहित्य र कलासम्बन्धी ऐतिहासिक तथ्यहरू होइनन् र ? मानवजातिको इतिहासको निर्माताका रूपमा रहेका जनताको हामीले गुणगान किन नगर्ने ? हामीले सर्वहारावर्ग, कम्युनिस्ट पार्टी, नौलो जनवाद र समाजवादको गुणगान किन नगर्ने ? एकथरी त्यस्ता मानिसहरू छन्† जसका मनमा जनताको ध्येयप्रति कुनै उत्साह छैन र तिनीहरू एक कुनातिर उभिएर सर्वहारावर्ग र यसको अगुवा पङ्क्तिका सङ्घर्ष र विजयहरूलाई बडो निरुत्साहपूर्वक हेर्ने गर्छन् । उनीहरूको चाख भएको र गुणगान गरेर उनीहरू कहिल्यै नअघाउने कुनै विषय छ भने त्यो हो तिनको आफ्नै व्यक्तित्व र तिनको साँघुरो घेराभित्रका अरू केही मानिसहरूको व्यक्तित्व । वास्तवमा यस्ता निम्न पुँजीवादी व्यक्तिवादीहरू क्रान्तिकारी जनताका पराक्रम र सद्गुणहरूको गुणगान गर्ने अथवा सङ्घर्ष गर्ने काममा उनीहरूको उत्साह उकास्न र विजय हासिल गर्ने काममा उनीहरूको आत्मविश्वास बढाउन इच्छुक हुँदैनन् । यस्ताखालका मानिसहरू क्रान्तिकारी पङ्क्तिभित्रका धमिरा नै हुन् । साँच्चै क्रान्तिकारी जनतालाई ‘गायकहरू’ को कुनै खाँचो छैन ।
“यो त अडानको सवाल होइन, मेरो वर्गीय अडान सही छ, मेरो अभिप्रायः असल छ र म कुराकानी एकदम राम्ररी बुझ्छु तर आफ्ना भावना व्यक्त गर्ने सीप मसँग छैन । त्यसैले, मेरा रचनाहरूको प्रभाव नराम्रो हुन्छ ।” अभिप्रायः र परिणामसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबारे मैले पहिले नै बताइसकेको छु । अब म सोध्न चाहन्छु– के परिणामको सवाल भनेको अडानकै सवाल होइन र ? खालि अभिप्रायःकै भरमा काम गर्ने र आफ्नो कामको के कस्तो परिणाम होला भनेर कहिल्यै खोजीनीति नगर्ने मानिस त्यो डाक्टरजस्तै हो† जसले खालि औषधि लेखिदिने काम गर्छ तर आफूले लेखिदिएको औषधिले गर्दा के कति रोगीहरू मरे भन्ने कुराको वास्तै गर्दैन । अथवा त्यस्तो एउटा राजनीतिक पार्टीलाई लिऔँ, जसले खालि घोषणाहरू गर्छ तर ती घोषणाहरू लागू भए वा भएनन् भन्ने कुराको ख्यालै राख्दैन । हामी यहीँनेर सोध्न सक्छौँ– के यो सही अडान हो र ? अनि यहाँ राम्रो अभिप्रायः रहेको छ त ? वास्तवमा परिणाममाथि पहिले नै ध्यान दिँदादिँदै पनि गल्ती हुनसक्छ तर परिणाम खराब निक्लेको कुरालाई तथ्यहरूले सिद्ध गरिसकेपछि पनि कसैले उही पुरानै कुरा दोहो¥याइरहन्छ भने उसको अभिप्रायः असलै छ भन्न सकिन्छ र ? कुनै पार्टी वा डाक्टरको मूल्याङ्कन गर्दा हामीले व्यवहार हेर्नुपर्छ, परिणाम हेर्नुपर्छ । कुनै लेखकको मूल्याङ्कन गर्ने कुरामा पनि सोही कुरा लागु हुन्छ । साँच्चै राम्रो अभिप्रायः भएको मानिसले परिणाममाथि ध्यान दिनुपर्छ, अनुभवको निचोड निकाल्नुपर्छ र कार्यपद्धतिहरू अध्ययन गर्नुपर्छ वा कुनै पनि सिर्जनात्मक कार्य भएको मानिसले आफ्नो काममा भएका कमजोरी र गल्तीहरूको ज्यादै खुला दिलले आलोचना गर्नुपर्छ र तिनलाई सच्याउने अठोट गर्नैपर्छ । कम्युनिस्टहरूले आत्मालोचनाको पद्धति लागु गर्नाको गाँठी कारण पनि यही हो । यो नै एक मात्र सही अडान हो । यसै गम्भीर र जिम्मेवारपूर्ण व्यवहारको प्रक्रियामा मात्र विस्तारै विस्तारै सही अडानलाई बुझ्न र त्यसलाई विस्तारै–विस्तारै आत्मसात् गर्न सम्भव छ । कुनै पनि मानिसले व्यवहारमा यस दिशालाई अनुशरण गर्दैन भने ‘मैले खुब राम्रोसँग बुझेको छु’ भनेर ऊ ढुक्क हुन्छ भने वास्तवमा उसले केही पनि बुझेको छैन ।
“माक्र्सवाद पढ भनेर हामीले भन्नु द्वन्द्वात्मक भौतिकवादी सिर्जनात्मक पद्धतिको गल्ती दोहो¥याउनु हो । यसले हाम्रो सिर्जनात्मक मनस्थिति तहस–नहस पार्छ ।” माक्र्सवादको अध्ययन गर्नुको अर्थ हो संसार, समाज र साहित्य तथा कलासम्बन्धी हाम्रो निरीक्षण कार्यमा द्वन्द्वात्मक भौतिकवादी र ऐतिहासिक भौतिकवादी दृष्टिकोण लागू गर्नु । यसको अर्थ साहित्य र कलाको सिर्जनकार्यमा माक्र्सवादले यथार्थवादलाई अँगाल्दछ तर त्यसको ठाउँ लिन भने सक्दैन । जसरी यसले भौतिक विज्ञानका आणविक र विद्युत् अणुसम्बन्धी सिद्धान्तलाई अँगाल्छ तर तिनको ठाउँ लिन भने सक्दैन । खोक्रो, निरस जडसूत्रहरूले सिर्जनात्मक मनस्थितिलाई निश्चय नै तहस–नहस पार्छन् । जडसूत्रवादी ‘माक्र्सवाद’ माक्र्सवाद नै होइन, यो त माक्र्सवादविरोधी कुरा हो । उसो भए माक्र्सवादले सिर्जनात्मक मनस्थितिलाई तहस–नहस पार्दैन त ? हो, तहस–नहस पार्छ । यसले सामन्ती, पुँजीवादी, निम्न पुँजीवादी, उदारवादी, व्यक्तिवादी, अनास्थावादी, कलाका लागि कलावादी, कुलघरानियाँवादी, पतनशील वा निराशावादी र व्यापक जनसमूह र सर्वहारावर्गका लागि बिराना रहेका यस्ता सबै सिर्जनात्मक मनस्थितिहरूलाई निश्चय नै तहस–नहस पारिदिन्छ । जहाँसम्म सर्वहारावादी लेखक र कलाकारहरूको प्रश्न छ, के उनीहरूले यसखालका सिर्जनात्मक मनस्थितिहरूलाई तहस–नहस पारिदिनुपर्दैन र ? मेरो विचारमा त्यसो गर्नैपर्छ, तिनलाई जरैदेखि तहस–नहस पार्नुपर्छ र तिनलाई तहस–नहस पार्दै जाँदा नौला कुराहरूको सिर्जना पनि गर्न सकिन्छ ।
५. हामीले यहाँ चर्चा गरेका समस्याहरू येनानकै साहित्य र कलाजगत्मा पनि पाइन्छन् । यसले के कुरा देखाउँछ त ? यसले के देखाउँछ भने हाम्रो साहित्य र कलाजगत्मा गलत कार्यशैलीहरू अझै गम्भीर मात्रामा रहेका छन् र हाम्रा कमरेडहरूमा अझै पनि आदर्शवाद, जडसूत्रवाद, फोस्रो मिथ्यावाद, फोस्रा गफ, व्यवहारप्रति घृणा र जनसमूहबाट अलग्याइँजस्ता थुप्रै खोटहरू पाइन्छन् । यी समस्याहरूको समाधान गर्न एउटा प्रभावकारी र गम्भीर शुद्धीकरण अभियान चलाउनु ज्यादै आवश्यक देखिन्छ ।
हाम्रा निकै कमरेडहरू सर्वहारावर्ग र निम्न पुँजीपतिवर्गबिचको भिन्नताबारे अझै राम्ररी प्रस्ट भएका छैनन् । निकैजसो पार्टी सदस्यहरू कस्ता छन् भने तिनीहरू सङ्गठनात्मक रूपले कम्युनिस्ट पार्टीमा सामेल भएका छन् तर विचारधारात्मक रूपले भने अझै पूर्णरूपले सामेल भएका छैनन् वा अलिकति पनि सामेल भएका छैनन् । विचारधारात्मक रूपले पार्टीमा अझै सामेल नभएका यी मानिसहरूले आफ्ना मगजमा शोषकवर्गहरूका थुप्रै फोहोर कुराहरू बोकेका छन् अनि तिनलाई सर्वहारावादी विचारधारा वा साम्यवाद वा पार्टीको कपुरी ‘क’ सम्म पनि थाहा छैन । ‘सर्वहारावादी विचारधारा रे ?’ उनीहरू तर्क गर्छन्, ‘फेरि उही थोत्रो विषय !’ यसै विषयको जानकारी हासिल गर्न पनि सजिलो छैन भन्ने कुरा उनीहरूलाई रत्तिभर थाहा छैन । यीमध्ये कसैकसैमा त पार्टीमा रहुञ्जेलसम्म अलिकति पनि साम्यवादी रङ चढ्दैन र आखिरमा उनीहरू पार्टीलाई छाडेर जान्छन् । त्यसकारण, हाम्रो पार्टी वा हाम्रो पङ्क्तिभित्रका बहुसङ्ख्यक मानिसहरू चोखा र इमानदार छन् तापनि क्रान्तिकारी आन्दोलनलाई अझ प्रभावकारी ढङ्गले विकास गर्ने हो र यसलाई अझ छिटो सफलतातिर पु¥याउने हो भने हामीले विचारधारात्मक र सङ्गठनात्मक रूपले सुव्यवस्थित तुल्याउनको लागि पहिले यसलाई विचारधारात्मक रूपले सुव्यवस्थित तुल्याउनु र गैर–सर्वहारावादी विचारधाराका विरुद्ध सर्वहारावादी विचारधाराको सङ्घर्ष चलाउनु आवश्यक छ ।
येनानमा साहित्य र कलाजगत्मा विचारधारात्मक सङ्घर्षको थालनी भइसकेको छ । यो ज्यादै जरुरी कुरा हो । निम्न पुँजीवादी स्रोतबाट आएका बुद्धिजीवीहरूले साहित्य र कलालगायत सबै खालका उपायहरूबाट सधैँ हठपूर्वक आफ्नो अस्तित्व जोगाउन र आफ्ना विचारहरू फिँजाउन कोसिस गर्छ । तिनले पार्टी र संसारलाई आफ्नै तस्बिरको साँचोमा ढालिएको देख्न चाहन्छन् । यस अवस्थामा हाम्रो कर्तव्य के हो भने हामीले यी ‘कामरेडहरू’ लाई बेस्सरी घच्घच्याउनुपर्छ, चर्को स्वरले भनिदिनुपर्छ, “लौ, यसरी काम चल्दैन ! सर्वहारावर्गले आफूलाई तपाईँहरूको विचारको साँचोमा ढाल्न सक्दैन । तपाईँहरूको अगाडि घुँडा टेक्नु भनेको साँचो अर्थमा जमिनदारवर्ग र ठुलो पुँजीपतिवर्गकै अगाडि घुँडा टेक्नु र पार्टी र हाम्रो देश दुवैलाई डुबाउने जोखिम उठाउनु हो ।” उसो भए हामी कसको विचारअनुसार चल्ने हो त ? हामीले पार्टी र संसारलाई सर्वहारावादी अगुवा दलको विचारको साँचोमा मात्र ढाल्न सक्छौँ । हामी के आशा गर्छौँ भने साहित्य र कलाजगत्का हाम्रा कमरेडहरू यस वादविवादको गम्भीरतालाई बुझेर सङ्घर्षमा सक्रियतासाथ डट्नुहुनेछ, जसले गर्दा हाम्रा सबै कमरेड दरिला हुन सकून् र हाम्रा समुच्च पङ्क्तिहरू विचारधारात्मक र सङ्गठनात्मक रूपले साँच्चै नै एकताबद्ध र सुदृढ हुन सकून् ।
हाम्रा धेरैजसो कमरेडहरू आफ्नो अन्योलपूर्ण सोचाइले गर्दा हाम्रा क्रान्तिकारी आधार इलाकाहरू र क्वोमिन्ताङ–शासित इलाकाहरूमाझको वास्तविक भिन्नता प्रस्ट रूपले छुट्याउनै सक्दैनन् र त्यसको परिणामस्वरूप धेरै गल्तीहरू गर्छन् । हाम्रा निकै कमरेडहरू साङ्घाईका साँघुरा कोठाहरूबाट यहाँ आएका छन् र ती साँघुरा कोठाहरूबाट क्रान्तिकारी आधार इलाकाहरूमा आउँदा उनीहरू एक किसिमको ठाउँबाट अर्को किसिमको ठाउँमा सरेका मात्र होइनन्, एउटा ऐतिहासिक युग पार गरेर अर्को ऐतिहासिक युगमा भित्रिएका छन् । अघिल्लो समाज ठुला जमिनदारहरू र पुँजीपतिहरूको शासनअन्तर्गत रहेको अर्धसामन्ती, अर्धउपनिवेशवादी समाज हो भने अर्को समाज सर्वहारावर्गको नेतृत्वअन्तर्गत रहेको क्रान्तिकारी नौलो जनवादी समाज हो । क्रान्तिकारी आधार इलाकाहरूमा आउनुको अर्थ हजारौँ वर्षको चिनियाँ इतिहासमै अभूतपूर्व रहेको एउटा युगमा प्रवेश गर्नु हो । एउटा यस्तो युग† जसमा व्यापक जनसमूहले आफ्नो हातमा राजसत्ता लिएका छन् । यहाँ हाम्रो चारैतिरका मानिसहरू र हाम्रो प्रचार कार्यका स्रोताहरू एकदमै बेग्लै खालका छन् । पुरानो युग फेरि कहिल्यै नफर्कने गरी बितेर गएको छ । त्यसैले हामीले पटक्कै सङ्कोच नमानीकन यहाँका नौला जनसमूहहरूसित गाँसिएर एक हुनुपर्छ ।
मैले यसअघि उल्लेख गरेजस्तै नौला जनसमूहहरूमाझ रहँदा–बस्दा केही कमरेडहरूमा अझै ‘ज्ञान र समझदारी’ को कमी हुन्छ र उनीहरू ‘शुर्याइँ देखाउन ठाउँ नपाएका शूरवीरहरू’ नै रहिरहन्छन् भने उनीहरूका अगाडि कठिनाइहरू उत्पन्न हुनेछन् । गाउँमा जाँदा मात्र होइन, यहीँ येनानमै पनि उनीहरूकै अगाडि कठिनाइहरू उत्पन्न हुनेछन् । केही कमरेडहरू यस्तो सोच्लान्, “अहो ! मैले त विशाल पछिल्लो इलाकाकै पाठकहरूका लागि लेख्दै गए बेस होला । त्यो त मैले राम्ररी जानेको काम हो र त्यसको ‘राष्ट्रिय महत्व’ छ ।” यो विचार पूरापूर गलत छ । विशाल पछिल्लो इलामा पनि बदलिँदै छ । त्यहाँका पाठकहरू क्रान्तिकारी आधार इलाकाहरूका लेखकहरूबाट नौला मानिस र नौला संसारसम्बन्धी कथा सुन्ने आशा राख्छन् र उनीहरू उही पुरानै कुरा सुनेर वाक्क भइरहन चाहँदैनन् । त्यसकारण, कुनै पनि रचना क्रान्तिकारी आधार इलाकाका जनसमूहलाई जति धेरै ध्यानमा राखेर लेखिन्छ, त्यसको त्यति नै धेरै राष्ट्रिय महत्व हुनेछ । ‘विध्वंस’ नामको उपन्यासमा फादेयेभले एउटा सानो छापामार टोलीको कथा प्रस्तुत गरेका छन् र त्यो कथा प्रस्तुत गर्दा पुरानो संसारका पाठकहरूको दिल बहलाउने उनको कुनै इरादा थिएन, तैपनि त्यस पुस्तकले संसारैभरि प्रभाव जमायो । तपाईँहरूलाई थाहा भएकै कुरा हो, चीनमा यसले सा¥है ठुलो प्रभाव पारेको छ । चीनपछाडि होइन, अगाडि बढिरहेको छ र पिछडिएका, पतनशील इलाकाहरूले होइन, बरु क्रान्तिकारी आधार इलाकाहरूले नै चीनलाई अगाडि दोहो¥याउँदै छन् । यो एउटा आधारभूत सवाल हो; जसलाई शुद्धीकरण आन्दोलनको सिलसिलामा कमरेडहरूले सबभन्दा पहिले राम्ररी बुझ्नैपर्छ ।
व्यापक जनसमूहको यस नौलो युगसित एक भएर गाँसिनु अति आवश्यक भएकोले व्यक्ति र जनसमूहमाझको सम्बन्धको समस्यालाई पूर्णरूपले समाधान गर्नु आवश्यक छ । लु शुनको एउटा कविताका यी दुई पङ्क्तिहरू हाम्रा लागि निर्देशक सिद्धान्त हुनुपर्छ ः
आँखीभौँ यी क्रुद्ध तुल्याउँदै
लिन्छु म टक्कर कत्ति नआत्तिई
मलाई ताक्ने यी हजार औँलाहरूको
शिर झुकाउँदैन
विनम्र गोरुझैँ
गर्छु म सेवा बालकहरूको ।
यहाँ ‘मलाई ताक्ने हजार औँलाहरू’ भनेका हाम्रा शत्रुहरू हुन् । तिनीहरू जतिसुकै डरलाग्दा भए पनि हामी तिनका अगाडि कहिल्यै घुँडा टेक्ने छैनौँ । यहाँ ‘बालकहरू’ भन्नाले सर्वहारावर्ग र व्यापक जनसमूहलाई जनाउँछ । सबै कम्युनिस्टहरू, सबै क्रान्तिकारीहरू र सबै क्रान्तिकारी लेखन तथा कलाकर्मीहरूले लु शुनको उदाहरणबाट सिक्नैपर्छ र जीवनको अन्तिम घडीसम्म पनि ढाड कुप्राएर काममा जोतिँदै सर्वहारावर्ग र व्यापक जनसमूहका ‘गोरु’ बन्नुपर्दछ । व्यापक जनसमूहसित गाँसिएर एक हुन चाहने र व्यापक जनसमूहको सेवा गर्न चाहने बुद्धिजीवीहरूले एउटा त्यस्तो प्रक्रियाबाट गुज्रनुपर्छ† जसबाट उनीहरू र व्यापक जनसमूहहरूले एक–अर्कालाई राम्ररी चिन्न सकून् । यो प्रक्रिया निकै कष्टपूर्ण छ र टक्करपूर्ण हुनसक्छ र निश्चय नै त्यस्तो हुनेछ, तर तपाईँहरूमा दरिलो अठोट छ भने यी माथिका आवश्यकताहरूलाई तपाईँहरूले अवश्यै पूरा गर्नसक्नुहुनेछ ।
आज हाम्रा साहित्य र कलाको आन्दोलनको आधारभूत दिशासम्बन्धी केही समस्याहरूबारे मात्र मैले चर्चा गरेँ, अरू थुप्रै विशेष समस्याहरू बाँकी नै छन्† जसबारे अझ माथि औँल्याइएको दिशातर्फ पाइला चाल्न अठोट गरिसक्नुभएको होला । मलाई के विश्वास छ भने शुद्धीकरण आन्दोलनको सिलसिलामा र अध्ययन तथा कामको आउँदो लामो अवधिमा तपाईँहरू आफूमा र आफ्ना कृतिहरूमा एउटा नौलो रूपान्तर गर्न, व्यापक जनसमूहले न्यानो ढङ्गले स्वागत गर्ने खालका राम्रा–राम्रा रचनाहरू सिर्जना गर्न र क्रान्तिकारी आधार इलाकाहरूको तथा सिङ्गै चीनको साहित्य र कलाको आन्दोलनलाई एउटा गौरवशाली नौलो अवस्थातिर लम्काउन अवश्यै सक्षम हुनुहुनेछ ।
समाप्त
(माओ सङ्कलित रचना, भाग ३ बाट)
Leave a Reply