ट्रम्प आफै बोक्सी आफै धामी
- माघ ५, २०८२
पैसा कमाउने उद्देश्यले केही मानिसहरू कानुनविरोधी अनेक व्यापार तथा समाजमा अस्वीकार्य लेनदेनमा संलग्न भएको पाइएको समाचार सञ्चारमाध्यमहरूमा आएका छन् । ३०–४० वर्षअगाडि मूर्तिचोरीका धेरै घटनाहरू हरेक महिना सुनिन्थ्यो । ५० वर्ष अगाडिसम्म सम्भवतः मूर्ति चोरीको कुनै कानुन नहुँदा ठुलाबडा मानिसहरू नै त्यस पेसामा संलग्न थिए । मूर्ति चोरहरूले पहिले नै कानुन व्यवसायी (वकिल) लाई तयार गर्थे र तीमार्फत बन्दी प्रत्यक्षीकरण ऐनबाट छुट्दथे । कानुन बन्दासम्ममा धेरै मूर्तिहरू देशबाहिर पुगिसकेका थिए । शासक परिवारका मानिसहरूसमेत त्यसमा सामेल भएको जगजाहेर भयो । तिनीहरू कूटनैतिक सामान वा बाकस भन्दै मूर्तिहरू विदेश पु¥याउँथे ।
हरेक कानुनविरोधी कार्यमा जिल्ला र नगरका ठुलाबडा घरानाका छोराछोरी संलग्न हुन्थे । तिनीहरू आफै जिउ मास्ने व्यापारमा सरिक हुन्थे । प्रहरी कार्यालय र गुप्तचर विभागमै आफ्ना मानिस हुने हुँदा मुख्य अपराधीहरू छुट्थे । जति ठुलो पदका मानिस हुन्छन् त्यति नै तिनीहरूका ठुला कमजोरी पनि हुन्छन् । ठुलाबडाको ठुल्ठुलै काम हुन्छ, फुर्सद हुँदैन र छोराछोरी हेर्न सक्दैनन् अनि छोराछोरीहरू नराम्रो सङ्गतको कारण लागूपदार्थ सेवन सँगसँगै लागूपदार्थको बेचबिखनमा समेत संलग्न हुन्छन् ।
अपराधीहरू पनि नागरिक नै भएकाले तिनले गाउँ, टोल एवम् छिमेकमा प्रभाव भएकै छोराछोरीलाई प्रयोग गर्दै तिनीहरूको व्यवसाय र व्यापार चलाउँछन् । पैसाकै कारण समाजमा अपराधीहरूको धाक–धम्की बिक्छ । निर्वाचित वडाध्यक्ष, वडा सदस्य, मेयर, प्रदेश सांसद र सङ्घीय सांसदसँग उनीहरूको उठबस हुन्छ । ती नै निर्वाचित सदस्यहरू सरकारमा पुग्छन् । ती अपराधीहरूकै मानिस सिमानाका जिल्ला कार्यालयहरूमा तस्करी रोकथाम गर्नुपर्ने सुराकी र अन्य कर्मचारीहरूकै पदमा पुग्छन् ।
वन मास्ने तस्कर र भन्सारबाट सरकारको आम्दानी ¥हास गराउने अपराधीहरू ती नै गिरोहका हुन्छन् । गृहमन्त्रीको टोलीका मानिसहरूको पछाडि अपराधीहरूकै मानिसहरू हुन्छन् । अर्काे निर्वाचनमा पार्टीका उम्मेदवार जिताउने नाममा राजनैतिक दलहरू नै अपराधीहरूको गुट बन्ने सम्भावना छ । सुडान काण्ड, पासपोर्ट काण्ड र अनेक तार–टेलिफोन काण्डमा शासक दलकै छोराछोरीकै कारण सरकार फस्दै गएको कुरा गुप्त रहेन ।
पञ्चायतकालमा नखुलेका मूर्तिचोरहरू, पोखरामा खुर्सानीको व्यापार गर्नेहरू, रक्सी व्यापारीहरू, जुवाका व्यवसायीहरू, भिडियोका व्यवसायीहरू आदि बहुदलका विरोधी थिए । पुराना यस्ता अपराधीहरूका हाँगाबिँगासमेत अन्तर्राष्ट्रिय अपराधी गिरोहसँग संलग्न छन् कि भन्ने शङ्का गर्ने ठाउँ धेरै छ । किनभने, हाम्रो सीमा तीनतिर खुला छ ।
सुन तस्करी नयाँ विषय भएन तर गाजा र अन्य लागूपदार्थ अमेरिकादेखि नेपाल भएर दक्षिण पूर्वी एसियासम्म पुग्नुले अनेक व्यवसायी र व्यापारीहरूसमेत संलग्न भएको अनुमान गर्न गा¥हो छैन ।
यसकारण, सरकार र राजनैतिक पदमा बसेका नेताका छोराछोरीहरूको विद्यालय तहदेखिको सूचना आवश्यक छ । त्यसपछि सरकारसँग सिंहदरबारमा बस्ने सचिवदेखि तल्ला कर्मचारीहरूसम्मको सूचना हुनु आवश्यक छ र सोअनुसार बरोबर हेरविचार गर्नु उपयुक्त हुन्छ । न्यायपालिकाप्रति पनि सरकारले निगरानी पु¥याउन नसके धेरै अपराधीहरू छुट्नेछन् र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै जानेछ ।
३० वर्षदेखि तल्लो तहका कर्मचारीको तलब बढाउने हो वा मालसामानको भाउ सस्तो पार्ने हो वा कर्मचारीहरूका छोराछोरी वा शिक्षक, प्रहरी एवम् सेनाका छोराछोरीहरूको शिक्षालाई व्यवस्थित र सहुलियत दिने हो भन्नेबारे हुँदै आएको छलफल चालु राख्नु लाभदायक हुनेछ ।
समाजवादी व्यवस्थामा सेवा र उत्पादनको साधन र वितरण प्रणाली सामाजिकीकरण (राष्ट्रियकरण) हुने तथा विदेशी मुद्रामा निगरानी हुनाले भ्रष्टाचार तुलनात्मकरूपले कम हुन्छ । समाजवादी व्यवस्था आफै पुँजीवाद र साम्यवादको बिचको सङ्क्रमणकाल भएकोले र पुँजीवादको गर्भबाट जन्मेको हुँदा समाजवादमा पनि नयाँ शिशुमा जस्तै गर्भका रगतका टाटा रहने गर्छ । पुँजीवादी देशहरूसँगको कूटनैतिक सम्बन्ध, सांस्कृतिक, व्यापारिक र अन्य सम्बन्धहरूले गर्दा समाजवादी देशहरूले पुँजीवादी र साम्राज्यवादीहरूका अनेक षड्यन्त्र, हस्तक्षेप र आक्रमणहरूविरुद्ध सङ्घर्ष गरिरहनुपर्ने हुन्छ । माक्र्सवाद–लेनिनवाद र वर्गसङ्घर्षमार्फत समाजवादलाई कुखुरीले चल्लाहरू बचाएजस्तै जोगाइरहनु एक कष्टसाध्य विषय हो ।
Leave a Reply