गाजा, इरान, लेबनान : यदि युद्धविराम लागू छ भने बमबारी किन जारी छ ?
- जेष्ठ २४, २०८३
जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीजीले ‘…..नेपालले भारतको जमिन मिचेको छ…..’ भनी दिएको अभिव्यक्ति आपत्तिजनक र देशविरूद्ध छ । तीन करोड नेपालीहरूको भावनाविपरीत छ । त्यसको विरूद्धमा स्वाभिमानी नेपाली अहिले आवाज उठाउँदै छन् । यस गरिमामय सदनबाट पनि नेपाल मजदुर किसान पार्टीको तर्फबाट हामी कडा शब्दमा विरोध गर्दछौँ ।
भारतीय विस्तारवादले निरन्तर नेपाल र नेपाली जनताको स्वाभिमान र हाम्रो सम्प्रभुतामाथि हाँक दिँदै आइरहेको जगजाहेर छ । ६० हजार हेक्टरभन्दा बढ्ता जमिन मिच्ने भारतीय विस्तारवाद नै हो । ७१ भन्दा बढ्ता ठाउँमा जमिन मिच्ने पनि भारतीय विस्तारवाद नै हो । भारतीय विस्तारवादले नेपाली भूमि कालापानीमा सेना राखिरहेको आज पाँच दशक नाघिसकेको छ । यति स्पष्ट हुँदाहुँदै देशको जिम्मेवार पदमा रहेको व्यक्तिबाट यस्तो आपत्तिजनक अभिव्यक्ति आउनु निश्चय पनि राष्ट्रिय लज्जाको विषय हो । त्यसको हामी घोर निन्दा तथा भत्र्सना गर्दछौँ । त्यो अभिव्यक्ति अविलम्ब फिर्ता लिन हामी माग गर्दछौँ ।
संसारको इतिहासले प्रस्ट पार्दछ कि नेपालले आजसम्म कुनै पनि देशमाथि हस्तक्षेप र हमला गरेकै छैन । कुनै देशमाथि थिचोमिचो गरेको छैन । नेपालले सहअस्तित्वको बाटो, शान्तिको बाटो, समन्वयको बाटोलाई पछ्याइरहेको इतिहासले बताउँछ । त्यसको ठीकविपरीत देशकै जिम्मेवार व्यक्तिबाट ‘हामीले भारतको जमीन मिचेका छौँ’ भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आउनु यो लज्जाको विषय, यो त विश्वासघात हो । यस्तो देशघात निश्चय पनि सह्य हुन सक्दैन । नेपाल मजदुर किसान पार्टीले आजभन्दा ५ दशक अगाडिदेखि नै अर्थात् २०२५ सालदेखि नै नवलपरासी जिल्लाको सुस्तामाथि भारतीय विस्तारवादले गरेको अतिक्रमणको विरोध गर्दै आएको हो । नेपाली जनताको भावनाबमोजिम देशभक्तिपूर्ण आन्दोलन र भारतीय विस्तारवादविरोधी आन्दोलनको नेतृत्व गर्दै छ । नेपाली जनतासँग मिलेर देशको पक्षमा सङ्घर्षलाई निरन्तर अगाडि बढाउँदै छ ।
हिजै मात्र फेरि पनि सुस्तामा नेपालले आफ्नै भूमिमा बनाइरहेको तटबन्ध निर्माण कार्यमा भारतीय फौज आएर रोकेको खबर सुन्यौँ । भारतीय विस्तारवादको त्यस हस्तक्षेपको यो सदनबाट पनि हामी विरोध गर्दछौँ । त्यस्तो हस्तक्षेपकारी कार्यको नेपाली जनताको तर्फबाट विरोध एवम् भत्र्सना गर्दछौँ ।
२०२५ सालमा नेपाल मजदुर किसान पार्टीले सुस्तामा भएको हस्तक्षेपको विरूद्धमा आवाज बुलन्द गर्दा कैयौँ नेता, कार्यकर्ता जेलमा पुगेको इतिहासबाट थाहा हुन्छ । त्यस्ता खालका प्रमाणहरू हुँदाहुँदै नेपालकै दोष र कमजोरी छ भनेर देशको जिम्मेवार व्यक्तिबाट आइरहेको अभिव्यक्तिको जति निन्दा गरे पनि अपुग नै हुनेछ ।
यतिखेर हिजो सुगौली सन्धिमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय र गजराज मिश्रका सन्तानहरू को–को हुन्, कहाँ–कहाँ छन्, हाल कुन–कुन जिम्मेवारीमा छन् ? अब खोतलखातल गर्नुपर्ने अवस्था छ । तिनीहरूलाई उदाङ्ग्याउनुपर्ने अवस्था छ । हिजो भीमसेन थापाविरूद्ध षड्यन्त्र गर्नेहरू, भीमसेन थापाको विरोधमा लाग्ने व्यक्तिका सन्तानहरू यतिखेर कुन–कुन ठाउँमा छन्, कुन जिम्मेवारीमा छन् त्यो पनि खोतल्नुपर्ने अहिलेको आवश्यकता छ । त्यो नगरिकन देशका शत्रु को हुन्, देशका मित्र को हुन् भनेर चिरफार गर्न अलि गा¥हो हुने अवस्था छ । आज सिंहदरबारमा पसिरहेका देशघातीहरूविरूद्ध नेपाली जनताको अभियान आवश्यक छ । यतिखेरको हाम्रो साझा कर्तव्य यही हो । यथार्थमा हाम्रो जमिन मिच्ने भारतीय विस्तारवाद हो । भारतीय विस्तारवादविरूद्ध आवाज बुलन्द गरौँ !
भारतीय विस्तारवादले जमिन मात्र मिचेको होइन अनेक हस्तक्षेप गर्दै छ । कैयौँ असमान सन्धि—सम्झौताहरू गरिसकेको अवस्था छ । सुगौली सन्धिमा हामी ठगियौँ । त्यसपछि कैयौँ हाम्रा मुख्य–मुख्य नदीनालाहरू भारतले एक–एक गरेर, असमान सन्धि गर्दै नेपालबाट खोसेको र देशघातीहरूले भारतीय विस्तारवादलाई सुम्पेको जगजाहेर छ । कोसी, गण्डक, महाकाली, कर्णाली यी सम्पूर्ण मुख्य–मुख्य नदीहरू ललाइ–फकाइ र बाध्य पारी भारतीय विस्तारवादले आफ्नो हातमा लियो । ती सम्पूर्ण नदीनालाहरू फिर्ता लिनसकेमात्र नेपालीको स्वाभिमान र नेपालको सम्प्रभुता जोगिनेछ । कालापानीबाट भारतीय सेना अविलम्ब फिर्ता पठाउन आवश्यक छ । त्यसको विरूद्धमा पनि हाम्रो सङ्घर्ष चालू छ ।
भारतीय विस्तारवादले कठपुतलीहरूमार्फत नेपाललाई आत्मसमर्पण गराउन षड्यन्त्र गर्दै छ । नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीविरुद्ध सङ्घर्षरत छ । नेपालका शासकहरूलाई भारतीय विस्तारवादसामु नझुक्न र देशविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति नदिन, देशघाती कदम नचाल्न नेपाल मजदुर किसान पार्टीको तर्फबाट सचेत गराउँदछौँ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जेठ १९ गते बसेको वाग्मती प्रदेश सभाको बैठकमा विशेष समय लिएर राख्नुभएको विचारको सम्पादित अंश)
Leave a Reply