भर्खरै :

बालबालिकासँगै अभिभावक पनि अपडेट हुनु किन आवश्यक छ ?

  • जेष्ठ २४, २०८३
  • सुजाता ध्वोजु, शिक्षिका
  • विचार
बालबालिकासँगै अभिभावक पनि अपडेट हुनु किन आवश्यक छ ?

मेरो धेरै वर्षको शैक्षिक यात्रामा हजारौँ बालबालिका र अभिभावकसँग नजिकबाट काम गर्ने अवसर प्राप्त भएको छ । यो अनुभवले मलाई एउटा महत्वपूर्ण सत्य सिकाएको छ –बालबालिकाको सफलताका लागि विद्यालय र शिक्षकमात्र पर्याप्त हुँदैनन्, अभिभावक पनि समयअनुसार अपडेट हुन आवश्यक छ ।
आजका बालबालिका हिजोका बालबालिकाजस्ता छैनन् । उनीहरू प्रविधिसँग हुर्किरहेका छन्, विश्वका सूचना केही सेकेन्डमै प्राप्त गरिरहेका छन् र नयाँ सोच तथा चुनौतीहरूसँग दैनिक रूपमा सामना गरिरहेका छन् । तर, कहिलेकाहीँ अभिभावक पुरानै सोच र शैलीमा सीमित रहँदा बालबालिका र अभिभावकबिच दूरी बढ्न सक्छ । बालमनोविज्ञ भन्छ कि बालबालिकालाई केबल खाना, लुगा र विद्यालय व्यवस्थापन गरेर मात्र पुग्दैन । उनीहरूको भावना, रुचि, डर, आवश्यकता, समस्या, इच्छालाई बुझ्नु पनि अति महत्वपूर्ण हुन्छ । पहिला बालबालिकाहरू धेरै समय बाहिर खेल्थे, बाहिरी वातावरण समुदायबाट सिक्छन् भने अहिले घरमा बसेर मोबाइल टीभीसँगै धेरै समय बिताउने गरेका छन् । यदि अभिभावकहरू अहिलेका बालबालिका कसरी हुर्किरहेका छन् भने जानकार छैनन् भने बालबालिकालाई सही बाटो देखाउन कठिन हुन्छ ।
मैले देखेको छु, जसका अभिभावकले समयअनुसार सिक्न, बुझ्न र परिवर्तन स्वीकार्न खोज्छन् । ती बालबालिकाहरूमा आत्मविश्वास, अनुशासन र जिम्मेवारीको भावना बढी विकसित हुन्छ । उनीहरू आफ्ना समस्या खुलेर राख्छन् र सही मार्गदर्शन पाउँछन् । अर्कोतर्फ, बालबालिकाको भावना, आवश्यकता र बदलिँदो परिवेशलाई नबुझ्दा अनावश्यक तनाव, आदरभाव र व्यवहारिक समस्या बढ्न सक्छ ।
अपडेट हुनु भनेको केवल प्रविधि चलाउन जान्नु मात्र होइन । बालबालिकाको मनोविज्ञान बुझ्नु, उनीहरूसँग संवाद गर्ने तरिका सिक्नु, सकारात्मक अनुशासन अपनाउनु र उनीहरूको रुचि तथा क्षमतालाई सम्मान गर्नु पनि हो ।
हामीले सधैँ सम्झनुपर्छ – बालबालिकाले हाम्रो कुराभन्दा हाम्रो व्यवहारबाट बढी सिक्छन् । यदि हामी आफैँ सिक्न, परिवर्तन स्वीकार्न र सकारात्मक बन्न तयार छौँ भने बालबालिकाले पनि त्यही बाटो पछ्याउँछन् । जसरी हामी सानो छन्दा ब्लाक एन्ड ह्वाइट टीभी हेर्छौँ भने अबको समयमा स्मार्ट टीभीको समय भइसकेको छ ।
त्यसैले, सम्पूर्ण अभिभावकहरूलाई एउटा सन्देश दिन चाहन्छु । आजको युगमा बालबालिकालाई मात्र होइन अभिभावकलाई पनि निरन्तर सिकाइ आवश्यक छ । जब अभिभावक र विद्यालय एउटै लक्ष्यका साथ अघि बढ्छन् तब बालबालिकाको भविष्य अझ उज्ज्वल, सुरक्षित र सफल बन्न सक्छ । अब विद्यालयको लागि राम्रो बालबालिकाभन्दा पनि राम्रो अभिभावक आवश्यक छ ।
“परिवर्तनशील संसारमा बालबालिकालाई अगाडि बढाउन चाहने अभिभावकले पहिले आफूलाई समय अनुकूल बनाउनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *