भर्खरै :

नेपालबाट भाइरल हेपाटाइटिसको अन्त्य गरौँ

नेपालबाट भाइरल हेपाटाइटिसको अन्त्य गरौँ

संसारभर जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाउने तयारी भइरहँदा हामीले भाइरल हेपाटाइटिस विरुद्धको लडाइँमा हासिल गरिएको उपलब्धि र हाम्रोसामु रहेका चुनौतीहरूको समीक्षा गर्नु जरुरी छ । यस वर्षको नारा — ‘सबै मिलेर सङ्कल्प गरौँ, हेपाटाइटिस अन्त्य गरौँ’ ले हेपाटाइटिस निवारण र कलेजोको क्यान्सरको रोकथाममा बाधक बनेका आर्थिक, सामाजिक र प्रणालीगत अवरोधहरूलाई हटाउनका लागि तत्काल कदम चाल्न आह्वान गर्दछ ।
भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य चुनौती हुन् र प्रायः कुनै पनि लक्षण नदेखाएर जटिल रोग निम्त्याउने गर्छन् । यी भाइरसहरू मुख्यतया सङ्क्रमित रक्तजन्य उत्पादनहरू, असुरक्षित चिकित्सकीय अभ्यास, साझा सुइको प्रयोग, असुरक्षित यौन सम्पर्क र प्रसूतिका बेला सङ्क्रमित आमाबाट बच्चालगायताका माध्यमबाट सर्छन् । सङ्क्रमण लक्षणविहीन हुने भएकाले धेरैजसो सङ्क्रमितहरू कलेजोसम्बन्धी गम्भीर समस्या नदेखिएसम्म पहिचान हुँदैनन् ।
ग्लोबल हेपाटाइटिस रिपोर्ट २०२४ अनुसार सन् २०२२ मा ३० करोड ४ लाख मानिसहरूलाई हेपाटाइटिस बी र सीबाट सङ्क्रमण थिए । हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु कलेजोसम्बन्धी जटिलता र क्यान्सरका कारण हुने गर्छ, जुन दैनिक ३,५०० जनाको मृत्यु बराबर हो । यदि तत्काल दीर्घकालीन कदमहरू चालिएनन् भने सन् २०३० सम्ममा २८ लाख ५० हजार मृत्यु, ९५ लाख नयाँ सङ्क्रमण र थप २१ लाख क्यान्सरका नयाँ केसहरू हुने आकलन गरिएको छ ।
सङ्क्रामक रोगहरूमध्ये भाइरल हेपाटाइटिस मृत्युको प्रमुख कारण भए तापनि, यसले अझै पनि एचआत्ी वा क्षयरोगजस्तो विश्वव्यापी रूपमा प्राथमिकता पाउन सकेको छैन ।
नेपालको अवस्था
नेपालमा सामान्य जनसङ्ख्यामा हेपाटाइटिस ‘बी’ र ‘सी’ को प्रकोप क्रमशः ०.९ प्रतिशत र ०.३८ प्रतिशत रहेको छ । तर, एचआत्ी सङ्क्रमित व्यक्ति र सुईबाट लागूऔषध प्रयोग गर्ने व्यक्तिहरूजस्ता उच्च जोखिम समूहहरूमा यो दर अझै बढी छ । तिब्बतसँग सिमाना जोडिएको दुर्गम हिमाली क्षेत्र माथिल्लो डोल्पामा, केही प्रकाशित अध्ययनहरू अनुसार, हेपाटाइटिस ‘बी’ को प्रकोप १७ प्रतिशतसम्म रहेको छ । नेपालमा रोगको वास्तविक भार सम्बन्धी राष्ट्रिय तथ्याङ्क उपलब्ध नभएपनि, विश्वव्यापी आकलन अनुसार नेपालमा करिब १ लाख १५ हजार जना हेपाटाइटिस ‘सी’ सङ्क्रमित छन् । तीमध्ये केवल १८ प्रतिशतको निदान भएको छ भने मात्र १ प्रतिशतले उपचार पाएका छन् ।
यी तथ्याङ्कहरूले रोगको भार र उपचार तथा हेरचाहमा पहुँचबिचको गम्भीर खाडल प्रस्तुत गर्दछ । किफायती परीक्षण तथा उपचार उपलब्ध भए पनि सेवामा न्यून पहुँुच, जनचेतनाको कमी र आर्थिक कठिनाइका कारण धेरै सङ्क्रमितहरूको अझै पनि न त पहिचान हुन सकेको छ न त उपचार नै पाउन सकेका छन् । सेवा र पहुँचबिचको यो खाडलले हेपाटाइटिससम्बन्धी स्वास्थ्य सेवाहरू बिस्तार र ती सेवाहरूलाई समग्र स्वास्थ्य प्रणालीमा एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
हाल नेपालमा तोकिएका ९ वटा उपचार केन्द्रहरूले हेपाटाइटिस सी का लागि निःशुल्क उपचार सेवा प्रदान गरिरहेका छन्, तर यी सेवा अझै पर्याप्त छैनन् । अधिकांश हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमितहरूले निजी क्लिनिक वा अस्पतालबाट उपचार लिने गरेका छन्, जसका कारण विशेषगरी कलेजोसम्बन्धी गम्भीर रोग वा कलेजोको क्यान्सर भएको अवस्थामा उनीहरूले ठुलो आर्थिक भार बेहोर्नु परेको छ ।
यी चुनौतीहरूका बाबजुद पनि, नेपालले दृढ राजनीतिक इच्छाशक्ति र लक्षित जनस्वास्थ्य कार्यक्रमहरूमार्फत सुधार सम्भव छ भन्ने प्रमाणित गरेको छ । सन् २०१९ मा पाँच वर्षमुनिका बालबालिकामा हेपाटाइटिस ‘बी’ नियन्त्रण गर्न सफल विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसिया क्षेत्रका पहिलो देशहरूमध्ये नेपाल पनि बङ्गलादेश र भुटानसँगै एक बन्यो । यो उपलब्धि प्रभावकारी बाल खोप कार्यक्रमहरूको प्रतिफल हो ।
यस महत्वपूर्ण उपलब्धिको आधारमा, भाइरल हेपाटाइटिस नियन्त्रणका लागि तयार गरिएको राष्ट्रिय रणनीतिक योजनाले सन् २०३० सम्म नयाँ सङ्क्रमणहरूमा ९० प्रतिशत र मृत्युमा ६५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ । तर, यो योजनाको कार्यान्वयनमा बजेट तथा स्रोतको अभावका कारण चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
अब कदम चाल्ने समय हो
नेपालको सङ्घीय स्वास्थ्य प्रणाली र बलियो प्राथमिक स्वास्थ्य सेवा सञ्जालले भाइरल हेपाटाइटिससम्बन्धी सेवा विस्तार गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्यतर्फ अघि बढ्न रणनीतिक अवसर प्रदान गरेको छ । भाइरल हेपाटाइटिससम्बन्धी सेवाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवाहरू र राष्ट्रिय स्वास्थ्य बीमा प्याकेजहरूमा समावेश गरेमा विशेषगरी सेवामा पहुँच नभएका समुदायहरूका लागि उपचारलाई अझ सुलभ र किफायती बनाउनेछ ।
सेवाहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रहरूमा विकेन्द्रीकरण गर्दै, स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई हेपाटाइटिस केस व्यवस्थापनसम्बन्धी आधारभूत सीपहरू प्रदान गर्न सकिएमा जीवनरक्षक उपचार सबैभन्दा बढी आवश्यक पर्ने व्यक्तिहरूसम्म पु¥याउन सकिन्छ । साथै, भाइरल हेपाटाइटिससम्बन्धी भ्रम, लाञ्छना र विभेदविरुद्ध लड्नका लागि सटिक र प्रभावकारी सार्वजनिक शिक्षा प्रदान गर्नु आवश्यक छ ।
यस विश्व हेपाटाइटिस दिवसमा, म सरकार, नीतिनिर्माताहरू, स्वास्थ्य सेवा प्रदायकहरू, नागरिक समाज र आम जनतालाई भाइरल हेपाटाइटिसको अन्त्यका लागि यो अवसरको उपयोग गर्न आह्वान गर्दछु । हामीले स्वास्थ्य सेवा पहुँचका अवरोधहरू हटाउँदै, लाञ्छना अन्त्य गर्दै र सबैलाई रोकथाम, परीक्षण, उपचार र हेरचाहको अवसर सुनिश्चित गर्दै भाइरल हेपाटाइटिसको अन्त्यका लागि हाम्रो सामूहिक प्रयासलाई तीव्र पार्नैपर्छ ।
केही नगरी बस्नु विकल्प होइन । हाम्रो साझा प्रयासले जीवन बचाउन, नयाँ सङ्क्रमणहरू रोक्न र नेपाललाई हेपाटाइटिसमुक्त बनाउन सक्छौँ ।
(डा. राजेश सम्भाजिराव पाण्डव विश्व स्वास्थ्य सङ्गठनको नेपाल कार्यालयका प्रमुख हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *