भर्खरै :

देशको सार्वभौमसत्तामा चुनौती !

देशको सार्वभौमसत्तामा चुनौती !

वडाध्यक्षको डायरीबाट
आज म वडा कार्यालयमा समयमै पुगेको थिएँ । प्रथम प्रहर भएकोले अलि बढी सेवाग्राहीहरूको भीड थियो । म क्रमैसँग कुराकानी गर्दै थिएँ । त्यहीँ समयमै एकजना परिचित वडावासी आइपुगे । सेवाग्राहीहरूको भीड छिचोलेर उनी मेरो अगाडिको सोफामा बस्न आइपुगे । उनले एउटा इमरजेन्सी कुरा छ भन्दै आफ्नो कागजमा हस्ताक्षर गराउन खोजे । मैले सरसरती कागज हेरेँ । पसल दर्ताको फारम र साथमा भारतीय नागरिकको नागरिकता र भारतीय दूतावासको पत्र रहेछ । नेपालमा बस्दै आएका आफ्ना एक नागरिकलाई यस वडामा पसल दर्ता गर्नको लागि नेपालमा कार्यरत भारतीय दूतावासले यस वडालाई लेखेको पत्र रहेछ । मैले को भारतीय नागरिक भनी सोधेँ । त्यस व्यक्तिले भने, “भारतीय नागरिक यही ढोकामा बसिरहने साथी नै हो । उसले यस वडामा कवाडीको पसल हाल्नलाई पसल दर्ता गर्न खोजेको हो । विचरा काम गरेर खाने मान्छेलाई पसल दर्ता गर्दा हुन्छ कि भनी सोधिदिनु भनेकोले म यहाँ आएको हुँ । तपाईँ परिचित र आफ्नै वडाध्यक्ष भएकोले यस सम्बन्धमा बुझ्न पनि आएको हुँ । फेरि भारतीय दूतावासको पत्र पनि छ । काम गर्ने मान्छेलाई पसल दर्ता गर्दा राम्रै होला । अनि राजस्व पनि नगरपालिकालाई राम्रैसँग उठ्ने भएकोले दिँदा राम्रो हो ।” त्यत्ति बोल्दासमेत त्यस भारतीय नागरिकले एक शब्द बोलेनन् । सायद नेपाली भाषा नजानेर पनि नबोलेको हुनसक्छ ।
त्यसपछि मैले त्यस व्यक्तिलाई सोधेँ, “भारतीय नागरिकलाई नेपालमा सजिलै पसल खोल्न दिन मिल्दैन । फेरि एक सामान्य भारतीय नागरिकले दूतावासको यसरी पत्र लिएर आउँदैन र ल्याउन पनि सक्दैन । यसरी दूतावासको सिधै वडालाई पसल खोल्न दिनको लागि आदेश दिन मिल्दैन । साँच्चिकै भारतीय नागरिकले यहाँ पसल खोल्न चाहेको भए, भारतीय दूतावासले स्थानीय विकास मन्त्रालयमा पत्र लेख्ने, मन्त्रालयले आफ्नो मातहतमा स्थानीय तहलाई निर्देशन दिने र स्थानीय तहले वडालाई पत्र लेख्ने हो । यसरी नियमविपरीत पत्र वडालाई लेख्नु भनेको हेपाहा प्रवृत्ति हो । नेपाललाई भारतले आफ्नै प्रान्तसरह यसरी पत्र लेख्नु भनेको नेपाल र नेपालीहरूको स्वाभिमानमाथि आँच पुग्नु हो । यो देशको सार्वभौमसत्तामा चुनौती हो । यो देश र जनताको अपमान हो । त्यसैले, यो पसल खोल्ने भारतीय नागरिक सामान्य नागरिक होइन । यिनी या त जासुसी हुनुपर्छ या त कुनै कूटनैतिक व्यक्ति हुनुपर्छ । व्यवसायीको आवरणमा नेपालको जासुस गर्न आएको व्यक्तिले मात्र यस्तो पत्र लेख्ने पहुँच राख्न सक्छ । नत्र एक जना सामान्य भारतीय नागरिकले यसरी दूतावाससम्म पत्र लेख्ने सोच विकास गर्न सक्दैन र पत्र लेखाएर ल्याउन पनि सक्दैन ।”
मेरो प्रतिउत्तर सुनेर त्यस व्यक्तिले जवाफमा मलाई भने, “तपाईँले कहाँबाट कहाँ कुरा पु¥याउनुभयो । उनी त सामान्य भारतीय नागरिक नै हुन् । कहाँको जासुस हो र ? मेरो घर नजिकैको घरमा भाडामा बस्ने व्यक्ति हो । मेरो पसलमा सधैँ किन्न आउने मान्छे हुँदा मैले वडाध्यक्ष आफ्नै चिनेकै मान्छे भनेकोले मात्र म यहाँ आएको हो । मलाई त जासुस जस्तो लाग्दैन । सधैँ काम गरेर खाने मान्छे कहाँको जासुस हुन्छ र ? पसल दर्ताको लागि आउँदा यत्रो बखान सुनाउनु आवश्यक छैन जस्तो लाग्छ । सिधै पसल दर्ता हुँदैन भन्ने भइहाल्यो नि । तपाईँलाई भोट हालेर जिताएको हुँदा र परिचित भएकोले मात्र म यहाँ आएको हुँ । यत्रो देशभक्तिको कुरा गर्न आवश्यक छ र ?”
मेरो कुराले उनी रिसाएको जस्तो लाग्यो । तर, पनि मैले त्यस व्यक्तिलाई फेरि जवाफ दिँदै भनेँ, “नेपाल मजदुर किसान पार्टीले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै आएको छ । भारतले सधैँ नेपाल र नेपालीलाई हेप्दै आएको छ । तपाईँ हामी सामान्य नागरिक यस्ता जासुसहरूको प्रलोभनमा परेर आफ्ना सूचनाहरू उपलब्ध गराउँछौँ । तपाईँ पनि भारतीय साम्राज्यवादका दलाल प्रमाणित हुन्छ । आफ्नो पसलमा किन्न आयो भन्दैमा र केही नाफा भयो भन्दैमा यस्ता भारतीय नागरिकलाई पसल दर्ताको लागि सिफारिस दिन मिल्छ ? तपाईँ त शिक्षित मान्छे हो । तपाईँ आफैँ भन्नुस्, तपाईँको हाम्रो नेपाली दूतावासमा पहुँच छ ? के तपाईँलाई त्यस व्यक्तिको पृष्ठभूमि थाहा छ ? के तपाईँले उसको सबै गतिविधि अध्ययन गर्नुभएको छ । भारतीय दूतावासले एउटा वडालाई निर्देशन पत्र लेख्न मिल्छ ? यो भनेको दादागिरी गरेको होइन र ? तर, तपाईँ हामी भक्तपुर नगरपालिकामा बसिरहेका छौँ । यहाँ नेमकिपाका सबै जनप्रतिनिधिले जितेका छन् । त्यसैले, यहाँ चुनावी घोषणापत्र, नगरपालिकाको निर्देशन, जननिर्वाचित जनप्रतिनिधि र स्थानीय भद्रभलाद्मीसँग छलफल गरेर काम हुने गर्दछ । भारतीय दूतावासको निर्देशन मान्न म यहाँ बसेको होइन । म तपाईँजस्तै भारतीय दलाल हुन चाहन्नँ । तपाईँ पनि भारतीय दलाल नबन्नुस् ।”
मेरो शब्द सुनेर त्यस भारतीय नागरिकले एक शब्द बोलेनन् । मेरो कुरा सुनिरहे । त्यस परिचित व्यक्तिसँग मेरो कुरा सहमत भएन । उनले भने, “होइन यस मान्छेले काम गरेर त खान पाउँछ । पसल दर्ता गर्ने कुनै न कुनै प्रक्रिया होला । तपाईँ यो प्रक्रियामात्र बताउनुस् न । कहाँ तपाईँले मलाई भारतीय दलाल भन्न भ्याउनुभयो । तपाईँको कुरा मिलेन । तपाईँले मलाई केही उपाय बताइदिनुस् ।”
मैले जवाफमा भनेँ, “यस वडामा भारतीय नागरिकको कुनै पनि हालतमा पसल दर्ता हुँदैन । यहाँ मात्र होइन, नेपालभरि दर्ता गर्न हुँदैन । त्यसमाथि भारतीय दूतावासको पत्र लिएर आउने मान्छे व्यापारीको भेषमा आएका भारतीय जासुस हुनसक्छ । यस्ता मान्छेसँग हामी नेपाली सबै सचेत हुनैपर्छ । तपाईँ पनि यस्ता मान्छेको दलाल नबन्नुस् । मेरो यही आग्रह छ । हामीले जानेर वा नजानेर पनि यस्ता मान्छेको लागि सहयोग गर्नु भनेको भारतीय हस्तक्षेपलाई बढावा दिनु हो । यसले दीर्घकालमा नेपाल र नेपालीको हित गर्दैन । तपाईँ हामीलाई सहयोग गरेजस्तो लाग्छ । तर, यसले देशलाई धेरै नोक्सानी गर्नसक्छ । पछि गएर देश र जनताको लागि घातक हुनसक्छ ।”
वडा कार्यालयमा रहेका अन्य सेवाग्राहीहरूले पनि पसल दर्ता गर्नु हुँदैन भनी भन्न थाले । त्यस भारतीय नागरिकलाई कसरी दूतावासको पत्र लिएर आएको भनी प्रश्न गर्न थाले । तर पनि त्यस भारतीय नागरिकले एक शब्द पनि बोलेनन् । एक जना सेवाग्राहीले हिन्दी भाषामै पत्रको विषयमा प्रश्न राख्दा त्यस व्यक्तिले जवाफ दिएन । मैले साथमा आउने वडावासीलाई कुनै पनि हालतमा पसल दर्ताको लागि सिफारिस हुँदैन भनी जवाफ फर्काएँ । तर, उनीहरू वडाबाट बाहिर जान तयार भएनन् । जसरी भए पनि सिफारिस दिनको लागि उनीहरूले अनुरोध गरिरहे । यसबाट मलाई झन् उनीहरूको व्यवहारमा शङ्का लाग्यो । एक त उनीहरू अरू सेवाग्राहीभन्दा पछाडि आएका थिए । सिफारिस हतार भयो भनी आउने सेवाग्राहीसँग सचेत रहन अग्रज राजनीतिक कार्यकर्ताले भन्नुभएको कुरा याद आयो । त्यसैले, मैले सिफारिस दिन मानिनँ । उनीहरू घण्टौँसम्म कुरिरहे । सबै सेवाग्राही गइसक्दासमेत उनीहरू दुई जना बसिरहे र सिफारिसको लागि अनुरोध गरिरहे । तर, मैले सिफारिस दिन मानिनँ । धेरै बेरपछि म आफू बैठक भएको बहाना गरेर आफ्नो कुर्सीबाट उठेँ । त्यसपछि बल्ल उनीहरू वडाबाट गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *