नगर प्रमुख प्रजापति रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पस अवलोकन भ्रमणमा
- कार्तिक २३, २०८२

भक्तपुर, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नपा वडा नं. १ दूधपाटीस्थित भाजु पोखरी परिसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित छिकोङ शारीरिक व्यायामको बृहत् प्रदर्शनी मङ्गलबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रदर्शनीमा भक्तपुर नगरपालिकाका १० वटै वडाका छिकोङ प्रशिक्षार्थीले एकैसाथ छिकोङ शारीरिक अभ्यास गरेका थिए ।
कार्यक्रममा सांसद सुवालले शारीरिक र मानसिक स्वास्थ्यको लागि व्यायाम निकै फाइदाजनक हुने उल्लेख गर्दै नियमित व्यायाम र स्वस्थ जीवनशैलीले शरीरलाई स्फूर्ति दिनुका साथै रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्ने बताउनुभयो ।
उहाँले राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने तर युवाहरूको भूमिका अझ अर्थपूर्ण र क्रियाशील हुने हुँदा युवाहरूलाई सशक्त बनाउनुपर्ने बताउनुभयो ।
अरुको देशमा काम गरेर नेपालको विकास नहुने स्पष्ट पार्दै उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकारले पहल गनुपर्ने उल्लेख गर्दै देशको कला संस्कृति जोगाउन युवाहरूलाई अग्रसर पार्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव जीवनलाई चलायनमान बनाइराख्न शारीरिक व्यायामको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्दै नगरवासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभयो ।
युवाहरूलाई सैद्धान्तिकरूपले सशक्त बनाउनुपर्ने बताउँदै उहाँले युवा उमेरले होइन उसको विचार र दृष्टिकोणले उसलाई युवा बनाउने धारणा राख्नुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले युवा परिवर्तनका संवाहक भएको उल्लेख गर्दै युवाहरूलाई राजनैतिक र सामाजिकरूपमा सक्रिय बनाउन सकेमात्र देश र समाजको विकासमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना त्वाती र सुनिता अवालले पनि शारीरिक अभ्यासको महत्वमाथि प्रकाश पार्नुभएको थियो । बृहत् छिकोङ प्रदर्शनीमा करिब ५०० भन्दा बढी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
Leave a Reply