राजनीति देश र जनताको पक्षमा हुनुपर्छ
- कार्तिक २३, २०८२

युवाहरू समाजका सबभन्दा बढ्ता सक्रिय र ऊर्जाशील शक्ति हुन् । उनीहरू सिक्न, सिकेको कुरा अरुमा हस्तान्तरण गर्न सबभन्दा बढी इच्छुक र जागरुक हुन्छन् । उनीहरू कम रुढिवादी हुन्छन्; अन्धविश्वासका विरोधी हुन्छन् । उनीहरूसित काम गर्ने जोस र जाँगर हुन्छ । उनीहरू अन्याय, पक्षपात, विभेद, शोषण र दमन सहन सक्दैनन् । यस अर्थमा समाज परिवर्तनमा युवाहरूको भूमिका बढी हुन्छ† हुनुपर्छ । यसैले चिनियाँ जनताका नेता माओ त्सेतुङले एक प्रवचनमा भनेका थिए, “संसार तिमीहरूको हो, हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरूकै हो । शक्ति र चेतनापूर्व तिमी युवकहरू बिहान आठ–नौ बजेको सूर्यझैँ जीवनको फक्रँदो बेलामा छौ । हाम्रो आशा तिमीहरूमै रहेको छ ।”
अन्याय नसहने, अन्यायविरुद्ध लड्न पछि नहट्ने युवाहरू समाज परिवर्तनको निम्ति नभई नहुने शक्ति हुन् । युवाहरू अनुशासित, देशभक्त, जागरुक र परिवर्तनकामी भएमा समाज बदल्न समय लाग्दैन । समाज बदल्ने उही युवाहरू अनुशासनहीन, चरित्रहीन, देशविरोधी, अपराधी, भ्रष्टाचारी, कमिसनखोर भएमा देश पछि मात्र पर्ने होइन; समाज बिथोलिन्छ; हिंसात्मक घटना बढेर समाजमा अराजकता निम्तिन्छ । यसकारण, समाज छिट्टै परिवर्तन गर्न युवाहरूलाई राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपले प्रशिक्षित गर्नुपर्छ† अनुशासित बनाउनुपर्छ† देशभक्त बनाउनुपर्छ । युवाहरूमा राजनीतिक, सैद्धान्तिक र वैचारिक अडान भएन, देश र समाजको परिस्थितिबारे जानकार भएन भने स्वाभाविकरूपमा समाज पछि पर्छ ।
युवाहरूमा पुरानो समाजको कमी कमजोरी र नयाँ समाजको आवश्यकताबारे ज्ञान हुनुपर्छ । पुराना समाजका अन्धविश्वास, विकृति, विसङ्गति अन्त्य गर्नेतर्फ युवाहरू क्रियाशील भएनन् भने, समयअनुसार अघि बढेनन् भने अहिलेका पिँढीले मात्र होइन नयाँ पिँढीले पनि दुःख पाउँछ । अधिकांश युवाहरू विदेश पलायन भएको र देशभक्त नभएको कारण सरकारले देशघाती र जनघाती सन्धि सम्झौता गरे पनि, नेपाली भूमि मिचे पनि युवाहरू खासै सडकमा उत्रेको देखिँदैन । देश जोगाउन र बनाउन युवाहरू आन्दोलित हुनुपर्ने थियो† अन्याय–अत्याचारको विरोधमा उठ्नुपर्ने थियो । युवाहरू जागरुक नभएकै कारण विदेशी थिचोमिचो, अतिक्रमण र दबाब बढिरह्यो । अतः शोषणरहित समाज स्थापना गर्न र आदर्शाेन्मुख समाज स्थापना गर्न युवाहरू अघि बढ्नुपर्छ† युवाहरूले अझ बढी कठिन परिश्रम गर्नुपर्छ ।
अहिले देशको एउटा जल्दोबल्दो समस्या शासकहरू विदेशी शक्ति राष्ट्रहरूको उठबसमा बस्नु हो । विस्तारवादी र साम्राज्यवादी देशको पछि लाग्नु हो; देश र जनताप्रति जिम्मेवार नहुनु हो । यसकारण, राजनीतिक दलले समाजका युवा, विद्यार्थी, किसान, मजदुर, महिला, शिक्षक, कर्मचारी तथा कार्यकर्तालाई राजनीतिक शिक्षा दिनुपर्छ । कामको सिलसिलामा आइपर्ने चुनौती या अप्ठेरो पार गर्दै अघि बढ्नुपर्छ । युवाहरू साहसिला, आँटिला र पराक्रमी हुनुपर्छ । युवाहरू इमानदार, निःस्वार्थी र दूरदर्शी हुनुपर्छ । युवाहरू कसैको लोभलालच, डर र धम्कीमा फस्नु हुँदैन; भुल्नु हुँदैन ।
यस अर्थमा युवाहरू सचेत, संवेदनशील, गम्भीर र चनाखो हुनुपर्छ । कुनै युवा परिवर्तनकामी छ या छैन भन्ने जाँच्ने आधार उसको कुरा होइन; व्यवहार हो । युवाहरू जनसमुदायसित भिजेका छन् कि छैनन्, थाहा पाउनुपर्छ । जनताको दुःखसुख बुझेर जनताको समस्या समाधानमा लागेर जनतालाई साथ दिएका छन् कि छैनन् भन्ने थाहा पाउनुपर्छ । यसरी जनताको दुःख बुझेर, दुःख सुखमा साथ दिन्छ भने उनीहरू प्रगतिशील या क्रान्तिकारी भनी चिन्नुपर्छ । परिवर्तन नचाहने, जनतामाझ नभिज्ने, समाजको दुःख सुखबारे वास्ता नगर्ने र पैसामा डुब्ने युवाहरू परिवर्तनकामी हुने छैनन् ।
अतः देश र जनताको हितको सेवा गर्ने सङ्कल्प युवाहरूले गर्नुपर्छ† जनताको आपत्विपत् या सङ्कटमा साथ दिनुपर्छ । युवाहरू जागरुक, आँटिला र साहसिला मात्र भएर पुग्दैन । उनीहरू त्यतिकै अध्ययनशील हुनुपर्छ† देश विदेशमा भइरहेको आन्दोलन, साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी देशहरूले गरिरहेको आक्रमण र थिचोमिचोको विरोध गर्नुपर्छ† थिचोमिचोको विरोधमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुपर्छ† समर्थन गर्नुपर्छ । हामीले सोच्नुपर्छ, जुनसुकै दर्जाका कार्यकर्ताहरू जनताका सेवक हुन्† आफूले गर्नुपर्ने काम जनताको सेवाको निम्ति हो; हाम्रो कर्तव्य जनताप्रति जिम्मेवार हुनु हो । प्रत्येक काम, प्रत्येक नीति र निर्णय जनताको हितसित सम्बन्धित हुनुपर्छ । जनताको हितमा समर्पित हुनुपर्छ । त्यही सन्देश अन्तर्राष्ट्रिय युवा दिवसले संसारभर फिजाओस् ।
Leave a Reply