भर्खरै :

भक्तपुरको शैक्षिक अवस्था : हिजो र आज

भक्तपुरको शैक्षिक अवस्था : हिजो र आज

(निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा २०८२ साउन २९ मा भएको ‘प्याब्सन कनक्लेभ—२०८२’ मा प्रमुख वक्ता भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार)

भक्तपुरको शैक्षिक अवस्थाको अध्ययन निम्न चार चरणमा गर्नु उपयुक्त हुनेछ :

१) पहिलो चरण : २०३६ सालसम्मको अवस्था
भक्तपुरको शैक्षिक अवस्था निकै कमजोर थियो । त्यतिखेर घोकन्ते विद्याको चलन थियो । पाटी–पौवा, सत्तल, मठ र निजी तथा सार्वजनिक भवनहरू नै विद्यालय थियो । विद्यालय नाम मात्रको थियो । अधिकांश शिक्षकहरू एसएलसी पास भएका मात्र थिए । चोरेर पास गर्नु सामान्य थियो । विद्यार्थीहरूलाई चोर्न सहयोग गर्नकै लागि कतिपय शिक्षकहरू गार्ड बस्थे । भक्तपुरको शिक्षा निकै गएगुज्रेको थियो । “एसएलसी पास गर्न भक्तपुर जानु” भन्ने जनतामा भक्तपुरप्रतिको नकारात्मक भावना थियो । पहिले उच्च घरानीयाहरूमा सीमित शिक्षा बिस्तारै किसानका छोराछोरीहरूले पनि पढ्न थालेको अवस्था थियो । गरिबीको कारण राम्रो पढाउन सक्ने क्षमता कमसँग मात्र थियो ।
समाजका अगुवाहरूको पहलमा बाल बालिकाहरूलाई पढाउनुपर्छ भन्ने चेतनाको जागरण भने आइसकेको थियो । सामाजिक अगुवाहरूले धमाधम विद्यालयहरू बनाउन थाले । पोखरी पुरेर होस् या सार्वजनिक जग्गामा विद्यालय निर्माण गर्दै पढाउन थालियो । भक्तपुरमा धेरै विद्यालयले यही बेला स्थापना र सञ्चालन स्वीकृति प्राप्त भएका थिए । भौतिक पूर्वाधारहरू भने नाम मात्रको थियो ।

दोस्रो चरण : २०३६–२०४६ सालसम्मको अवस्था
यो अवधिलाई भक्तपुरका विद्यालयहरूको पूर्वाधारहरू निर्माणको चरणको रूपमा पनि लिन सकिन्छ । हाल सञ्चालनमा रहेका अधिकांश विद्यालयहरूको आधुनिक भवन, पुस्तकालय र व्यवस्थित शौचालयहरूको निर्माण यहीँ चरणमा बनेको देख्न सकिन्छ । विद्यालयहरूको लागि सरकारी दरबन्दीको व्यवस्था, आर्थिक, भौतिक सहयोगसँगै क्रमशः पूर्वाधारहरूको निर्माण हुँदै गयो । शिक्षकहरूको तालिमहरू सुरु भयो । तालिमसँगै शिक्षामा क्रमशः गुणस्तर कायम हुँदै गयो ।

२०३६ सालमा तत्कालीन पञ्चायती सरकारले आममाफीको घोषणा गरेसँगै १० वर्षे प्रवास जीवनबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) नेपाल फर्किनुभयो । उहाँले शिक्षकहरूको बैठकमा विद्यार्थीहरूलाई चोराएर पास गराउने गलत प्रवृत्तिको चर्काे आलोचना गर्नुभयो । ‘चोरेर पास गर्नु भनेको विद्यार्थीले आ–आफ्नो खुट्टामा आफैले बन्चरो हानेसरह हुन्छ, त्यसले विद्यार्थीको जीवन बर्बाद पार्छ र त्यो एक प्रकारको धोका हो’ भन्नुहुँदै पटकपटक आलोचना गर्नुभयो । धेरै शिक्षकहरू उहाँको त्यो आलोचनालाई सहजै स्वीकार्न तयार थिएनन् । बिस्तारै शिक्षकहरूले बुझ्न थाले । कक्षामा राम्रो पढाउन थाले । चिट चोर्ने प्रवृत्ति क्रमशः कम हुँदै गयो । २०४६ सालसम्ममा अधिकांश विद्यालयमा चोराएर पास गराउने चलन पूर्णरूपमा बन्द भयो ।
२०३९ सालमा स्थानीय निकायको चुनाव भयो । नगर पञ्चायतमा बहुमत सदस्यहरू नेमकिपा समर्थितहरू जिते । जनप्रतिनिधिहरूले भक्तपुर नगरपञ्चायतभित्र कक्षा ७ सम्म निःशुल्क घोषणा गरे । त्यतिबेला पञ्चायत सरकारले देशभरि कक्षा ५ सम्ममात्र निःशुल्क व्यवस्था गरेको थियो । प्रत्येक सरकारी विद्यालयमा १–१ जना शिक्षकको व्यवस्था गरे । टोल टोलमा प्रौढ कक्षाहरू सञ्चालन हुन थालियो । भक्तपुरको शिक्षा विकासमा त्यो नयाँ अभ्यास थियो ।

२०४५ सालको “भक्तपुर काण्ड” ले शिक्षामा पारेको असर
२०४५ साल भदौ ९ गते पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ मा का. रोहितसहित नेमकिपाका अधिकांश नेता कार्यकर्ताहरूलाई फसाइएको थियो । त्यस काण्डमा धेरै विद्यालयका प्रअ र शिक्षकहरू पनि फसाइएको हुँदा भक्तपुरका धेरै विद्यालयहरूमा राम्रो पठनपाठन हुन सकेन । पुराना स्थापित शिक्षकहरू भूमिगत भए वा जेलमा थिए भने पञ्चहरूले पठाएका नयाँ शिक्षकहरूले राम्रो पढाउन सकेनन् । ती शिक्षकहरूलाई विद्यार्थीहरूले सहजै स्वीकारेनन् पनि । बन्द हड्तालले गर्दा विद्यालयहरूमा राम्रो पढाइ भएन । विद्यार्थीहरूको पढाइ नराम्ररी प्रभावित भयो । भक्तपुरको शैक्षिक प्रगतिमा त्यो अवधिमा ब्रेक लाग्यो । त्यतिबेलाका धेरै विद्यार्थीहरूले पढाइ छाडे । पढ्नेहरूको पनि शैक्षिकस्तर त्यति राम्रो भएन । २०४६ सालको जनआन्दोलनको सफलतापछि भक्तपुर काण्डको मुद्दा सरकारले फिर्ता लियो । त्यो २० महिना भक्तपुरको शैक्षिक अवस्था निकै कमजोर भएको र अस्तव्यस्त समय थियो ।

तेस्रो चरण : २०४६–२०५६ साल सम्मको अवस्था
२०४६ सालको जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रको अन्त्य गरी संवैधानिक राजतन्त्रसहित बहुदलीय व्यवस्थाको पुनःस्थापना ग¥यो । नेपालको संविधान २०४७ ले उदार अर्थनीति अवलम्बन ग¥यो । बिस्तारै शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत क्षेत्रलाई समेत लगानीयोग्य मानियो र व्यक्तिगत लगानीमा विद्यालय, कलेजहरू र अस्पतालहरू खुल्न थाले । धेरै सुविधासम्पन्न विद्यालय र कलेजहरू यही अवधिमा खोलिएका थिए । सरकारी र निजी विद्यालयबिच शैक्षिक गुणस्तरमा तुलना हुन थालियो । सरकारी विद्यालय र कलेजहरूले भन्दा निजी विद्यालय र कलेजहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न थाले । जनताको विश्वास निजी विद्यालयतिर बढ्न थाल्यो । सरकारी विद्यालयका शिक्षकका सन्तानहरूसमेत निजी विद्यालयमा पढाउने अवस्था आयो । प्रतिस्पर्धामा निजी विद्यालयहरू नै अगाडि पर्न थाले र यसले झन् झन् निजी विद्यालयहरूको सङ्ख्या बढ्न थाल्यो । एउटै देशमा बेरोकतोक दुई किसिमको शिक्षा नीति अघि बढ्न थाल्यो । सामुदायिक र संस्थागत विद्यालयबिच गुणस्तरमा प्रतिस्पर्धा तीव्ररूपमा हुन थाल्यो । सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेसम्म निजी विद्यालयको औचित्य घट्ने छैन भने प्रमाणित भयो । भक्तपुरको शैक्षिक गुणस्तर विकासमा यो असाध्य महत्वपूर्ण अवधि थियो ।

चौथो चरण : २०५६ सालदेखि हालसम्मको अवस्था
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्रमा ‘शिक्षालाई जोड दिने’ भन्ने उल्लेख थियो । त्यतिबेला प्रेम सुवाल प्रमुख पदमा जित्नुभयो । निर्वाचन घोषणापत्र कार्यान्वयनको सिलसिलामा २०५६ सालमा भक्तपुर नगरपालिकाले नेपालमै पहिलो ख्वप माविको स्थापना ग¥यो । ख्वप मावि स्थापना गर्नु त्यति सहज थिएन । त्यसको उद्देश्य प्रस्ट थियोः १) सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने, २) अनुशासित र देशभक्त नागरिक तयार गर्ने र ३) एक्काइसौँ शताब्दीका चुनौतीहरू सामना गर्न सक्षम नागरिकहरू तयार गर्नेलगायत थिए ।
त्यति बेलाका प्रशासकहरूले कानुनमा नगरपालिकालाई कलेज चलाउने अधिकार नभएको भन्दै निजी सञ्चालनमा जोड दिएका थिए । हामी नगरपालिकाले नै सञ्चालन गर्ने अडानमा बस्यौँ । अन्ततः २०५६ सालमा निकै लामो प्रयासपछि ख्वप मावि सञ्चालनको स्विकृति प्राप्त भयो ।

“एक घर एक स्नातक” को घोषणा
२०५८ साल माघ २१ गते ‘भक्तपुर जिल्लालाई पर्यटकीय गन्तव्यस्थल र शिक्षा तथा संस्कृतिको केन्द्र बनाउने’ विषयमा बृहत छलफल कार्यक्रम भयो । भक्तपुर जिल्लाका व्यापक बुद्धिजीवीहरूको उपस्थितिमा स्थानीय अरनिको सभाभवनमा आयोजित उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘१५ वर्षभित्र भक्तपुर जिल्लालाई देशको पहिलो स्मारक संरक्षित जिल्ला तथा पर्यटकको गन्तव्यस्थल, पहिलो साक्षर र प्रत्येक घरमा एक घर एक स्नातक वा सोसरहको नाचगान, चित्रकला, खेलाडी तयार गर्ने’ घोषणा गर्नुभयो ।
त्यतिबेला भक्तपुर नगरमा भक्तपुर क्याम्पस र निजीमा नवदुर्गा क्याम्पसबाहेक उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू थिएनन् । ‘एक घर एक स्नातक’ को घोषणाले समाजमा ठुलो हलचल ल्याइदियो । त्यसको प्रचारसँगै विपक्षीहरू मात्रै होइन, कतिपय हाम्रै साथीहरूले समेत त्यो असम्भव, चर्चामा आउनका लागि र महत्वाकाङ्क्षी योजना भनी आलोचना गरे । त्यस्ता आलोचनालाई बेवास्ता गर्दै अगाडि बढ्ने क्रममा २०५८ सालमा ख्वप कलेज, सोही वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति प्राप्त ख्वप इन्जिनियरिङ कलेज स्थापना भयो । २०६० सालमा नर्स र ओभरसियर पढाइका लागि सीटीईभीटीबाट स्वीकृति लिएर ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ, २०६७ सालतिर शारदा मावि÷कलेज र २०७९ सालमा ख्वप कलेज अफ ल सञ्चालन गरी हाल नपाको पूर्ण स्वामित्वमा ७ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा छन् । ७७ जिल्लाका ७ हजार ५०० भन्दा बढी विद्यार्थीहरू ती शैक्षिक संस्थाहरूमा अध्ययनरत छन् । ती सबै संस्थाहरूमा गरी हालसम्म ४४ हजारभन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरिसकेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०५९ सालमा ‘१०० वर्षपछिको भक्तपुर’ पुस्तक लेख्नुभयो । त्यस पुस्तकमा १०० वर्ष पछिको भक्तपुरको अवस्था चित्रण गरेको पाइन्छ । त्यतिबेला ‘भक्तपुर संसारकै आकर्षक नगर’ हुनेछ । बिहान प्राचीन सहरजस्तो, दिउँसो विश्वविद्यालयजस्तो राती, प्राचीन लुगा लगाएको नर्तकी वा सुन्दरी जस्तो देखिनेछ’ भन्ने उल्लेख गर्नुभएको छ । भक्तपुरका हरेक युवाहरूले चार वा पाँच वटा भाषा बोल्न जानेका हुने छन्, उहाँले कल्पना गर्नुभएको थियो । त्यही सपना साकार पार्न भक्तपुर नगरपालिकाले योजनाबद्ध काम गरिरहेको छ ।
भक्तपुर नगरपालिकाले विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षामात्र दिइरहेको छैन, नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि वार्षिक रु. ४ करोडभन्दा बढी छात्रवृत्तिको व्यवस्था पनि गरिरहेको छ ।
उच्च शिक्षा अध्ययनका लागि गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक ऋणको व्यवस्था पनि गरिरहेको छ । हालसम्म शैक्षिक ऋणको लागि नगरपालिकाले १६ करोड ९५ लाख ऋण प्रवाह गरिसकेको छ भने ऋण चुक्ता ७३ जनाले गरिसकेका छन् । साँवा ब्याज गरी ३ करोड ५० लाखभन्दा बढी फिर्ता पनि भइसकेको छ । नपाले इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा, अर्थशास्त्र, दर्शनशास्त्रलगायत पढ्ने नगरबासी विद्यार्थीहरूका लागि विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । यस्तो छात्रवृत्ति २५० जनाभन्दा बढीले पाइसकेका छन् ।
नगरपालिकाले ‘वडा वडामा शिशुस्याहारको व्यवस्था, कक्षा ५, ८ र १० मा नगरस्तरीय परीक्षा, स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरको कला संस्कृति सम्पदाकोे महत्वबारे विद्यार्थीहरूलाई पढाउँदै आएका छ ।

सामुदायिक र संस्थागत विद्यालयबिच प्रतिस्पर्धाको नीति
भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबिच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धाको नीति लिँदै आएको छ । सामुदायिक होस् या संस्थागत जुनसुकै विद्यालयमा पढ्ने विद्यार्थी पनि नेपालीकै सन्तान हुन् । ती हरेक विद्यार्थीलाई योग्य बनाउने हाम्रो साझा जिम्मेवारी र कर्तव्य हो ।
सामुदायिक र संस्थागत विद्यालयहरूलाई भनपाले समान व्यवहार गर्दै आएको छ । खेलकुद, चित्रकला, साहित्य प्रतियोगिताहरूमा सँगसँगै गइरहेका छौँ । शिक्षक तालिम, स्काउट तालिम, परीक्षा समिति गठन, शैक्षिक क्यालेन्डर निर्माणमा सहभागी गराई सबैलाई समान व्यवहार गर्दै आएका छौँ ।
गुणस्तरमा प्रतिस्पर्धाको नीतिले भक्तपुरको शैक्षिक नतिजामा उल्लेख्य वृद्धि भएको पाइन्छ । भनपाबाट ६० वटा विद्यालयका विद्यार्थीहरू एसईई २०८१ मा सहभागी भएका थिए । ती मध्ये १९ वटा विद्यालय १०० प्रतिशत, २१ वटा विद्यालय ९०–९९ प्रतिशत, ८ वटा विद्यालय ८०–९० प्रतिशत, ५ वटा विद्यालय ६०–८० प्रतिशत, ७ वटा विद्यालय ६० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भए ।
जम्मा पास प्रतिशत : ८९.८८ प्रतिशत
सहभागी विद्यार्थी : २४१०
उत्तीर्ण : २१६६
एसईई २०८० २०८१
सामुदायिक ७०.८२ ५ ८०.९० ५
संस्थागत ९१.०४ ५ ९४.७० ५
जम्मा ८४.२७ ५ ८९.८८ ५
प्याब्सन २० वटा विद्यालय : ९६.९३ ५
परीक्षामा सहभागी : ६२० जना
उत्तीर्ण सङ्ख्या : ६०१ जना

सामुदायिक विद्यालयको स्थिति
देशभर २५ हजार ८७६ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा छन्, जसमध्ये १५,२७३ वटा विद्यालयमा १ सत्न्दा कम विद्यार्थी अध्ययनरत छन् । सरकारले ती विद्यालयहरू गाभ्ने वा मर्ज गर्ने नीति बनाएको छ ।
आ.व.२०८२÷८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब रहेकोमा शिक्षाको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । शिक्षामा राज्यको लगानी कुल बजेटको २० प्रतिशत पु¥याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यताविपरीत झन् झन् घटेर १० प्रतिशतको हाराहारीमा पुगेको छ । सरकारले सार्वजनिक शिक्षामा लगानी बढाउन नचाहेको यसबाट प्रस्ट हुन्छ । लामो समयदेखि न एउटा सामुदायिक विद्यालय बढेको छ न शिक्षक दरबन्दी थपिएको छ । सरकार शिक्षाको जिम्मेवारीबाट भाग्न खोज्दै छ ।

भक्तपुर नगरपालिकाको भावी योजना
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय खोल्ने र सस्तो र गुणस्तरीय चिकित्सक उत्पादन गर्ने लक्ष्य राखेको छ । सरकारले ख्वप विश्वविद्यालय विधेयक पारित गरी दिएको खण्डमा छिट्टै त्यो लक्ष्य पूरा हुने विश्वास गर्न सकिन्छ ।

विद्यार्थी किन विदेश जान्छन् ?
नेपालमा विद्यालय, कलेजमा हुने बन्द, हड्ताल र तोडफोडका गतिविधिले गर्दा नेपाली विद्यार्थीहरू विदेशतर्फ आकर्षित हुँदै गएका छन् । समयमा परीक्षा नहुने र परीक्षाफल ढिलो प्रकाशित हुने तथा पढाइअनुसारको रोजगारी नपाउने कारणले पनि विद्यार्थीहरू बिदेसिरहेका छन् । आ.व. २०८१÷८२ मा १ लाख १२ हजार ५९३ जना विद्यार्थीहरू सरकारको स्वीकृति (NOC) मा विदेश गएको तथ्याङ्कले देखाएको छ । यसको खर्च हिसाब गर्ने हो भने झण्डै डेढ खर्ब हुन आउँछ । सोही वर्ष ८ लाख ३९ हजार युवा श्रम स्वीकृतिमा विदेश गएको देखिन्छ । यो भारतबाहेकको तथ्याङ्क हो । विदेश जाने क्रमलाई रोक्न सकेनौँ भन्ने भोलि राम्रा शिक्षक, डाक्टर नपाउने अवस्था आउनेछ ।
शिक्षा विधेयक
जिल्ला शिक्षा समन्वय एकाइ खारेज गर्नुपर्ने, मावि तहसम्मको सम्पूर्ण अधिकार पालिकामै रहनुपर्ने, एसईईको जिम्मा पालिकामा दिनु राम्रो हुने र बालविकास सहजकर्ताहरूलाई शिक्षकको रूपमा मान्यता दिनुपर्नेमा हामीले जोड दिँदै आएका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *