भर्खरै :

भक्तपुर काण्ड (षड्यन्त्र) को विरुद्धमा क्रान्तिकारी महिलाहरूको सङ्घर्ष

भक्तपुर काण्ड (षड्यन्त्र) को विरुद्धमा क्रान्तिकारी महिलाहरूको सङ्घर्ष

निङ्कुश पञ्चायतको बेला भक्तपुर नगर पञ्चायतले पञ्चायत सरकारभन्दा एक कदम अगाडि बढेर कक्षा ७ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको थियो । देशको सेवा गर्न नै भक्तपुर नगरपालिकाले सरकारसँग ख्वप विश्वविद्यालयको स्वीकृति माग गरेको थियो । आफ्ना दल सम्बद्ध मान्छेले खोलेका विश्वविद्यालयलाई स्वीकृति दिएर पनि सञ्चालनमा आइसकेको छ । तर, कम्युनिस्ट भनिएका एमाले, माओवादी र प्रजातन्त्रवादी भनिएको शासक दलको सरकारले ख्वप विश्वविद्यालयको स्वीकृति दिएको छैन । यसलाई जनताले विभेदको रूपमा लिएका छन् । साम्राज्यवादी, पुँजीवादी, विस्तारवादी शासकहरूको निर्देशनमा परिचालित कठपुतली सरकारदेखि जनता सचेत र सङ्गठित हुनु आवश्यक छ । देश र जनताको सेवामा लागिरहेको नेपाल मजदुर किसान पार्टी समूल नष्ट गर्न पञ्चायती राज्य नै लागेर षड्यन्त्र रचेको थियो ।
२०४५ भदौ ९ गतेको घटनापछि पञ्चायती सरकारले पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायतका नेता, कार्यकर्ता र शुभचिन्तकलाई राति नै छापामार शैलीमा पक्राउ ग¥यो । पञ्चायतका मतियार र गुण्डाहरूको सूचनाको आधारमा ढोका फोरेर खानतलासीको नाममा पञ्चायत प्रहरीहरू आउन थालेपछि असुरक्षाको महसुस भएर क्रान्तिकारी महिला दिदीबहिनीहरू बाटो, दोबाटो, चौबाटो, चोक र टोल टोलमा धुनी बालेर जाग्राम बसे । त्यसपछि प्रहरीहरू पछि हट्न बाध्य भए† जुन अहिले प्यालेस्टिनमा इजरायली सुरक्षाकर्मीले गर्दै छन् । राति जाग्राम बसेका दिदीबहिनीहरूलाई पञ्चायती सरकारका प्रहरी गुण्डाहरूले गालीगलौज र दुव्र्यवहार गर्थे । त्यो पीडा पनि दिदीबहिनीहरूले सहे । परिस्थिति प्रतिकूल थियो । तर, पनि धैर्य र साहसका साथ क्रान्तिकारी दिदीबहिनीहरूले प्रतिकार गर्दै गए ।
नेमकिपालाई जगैदेखि सिध्याउन पञ्चायती राज्यले रचेको षड्यन्त्रलाई परास्त गर्न नेपाल क्रान्तिकारी महिला सङ्घका जुझारु क्रान्तिकारी महिलाको सङ्घर्षलाई जनताले बिर्सने छैनन् । त्यसबेला सङ्कटको घडीमा महिलाहरू पार्टीको निर्देशनमा रातदिन नभनिकन भोक, प्यास नभनिकन लागेका थिए । पञ्चायतका मतियारहरूले ज्यानमारा, ज्यानमाराकी स्वास्नी, तिम्रो लोग्ने अब जेलमै सडेर मर्छ, फिर्ता आउँदैन, पोइलो जा भन्नेजस्ता अभद्र, असह्य बोली र व्यवहार पनि महिलाहरूले धैर्य भएर सहे । त्यसबेला उनीहरूले राजाभन्दा पनि राजावादी भएर धाक धक्कु लगाए । समय परिवर्तनशील हुन्छ भन्ने कुरा तिनीहरूलाई थाहै थिएन । त्यसबेला युवाहरू बाहिर निस्कने वातावरण थिएन । बाहिर आउनासाथ गुण्डाहरूको रिपोर्ट या निर्देशनमा पुलिसले पक्रिहाल्थ्यो ।
सहिद राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मल शाक्य, हरिकृष्ण भुजुजस्ता योद्धाले बलिदान दिएर देशमा जनआन्दोलनको आगोको मुस्लो आउनुभन्दा अगाडिसम्म भक्तपुरमा यिनीहरूको ताण्डव नृत्य चलेको थियो । दिउँसै रातजस्तो थियो ।
विपरीत बुद्धि विनाश काल भनेजस्तै पञ्चायती सरकारले भक्तपुर काण्डको नाममा भक्तपुरलगायत देशभरका जनतालाई चरम शारीरिक र मानसिक यातना दियो । उनीहरूले कालको बीउ रोपे । उनीहरूले संविधान, ऐन, नियमविपरीत शनिबार बिदाको दिन प्रहरीको फौजको घेरामा सरजमिन गरे† घटनाका प्रत्यक्षदर्शी जनताको रोहबरमा होइन पुलिस र गुण्डाहरूको घेरामा सरजमिन गरे । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँलगायतका नेता कार्यकर्ताहरूलाई सरजमिनमा बाहिर निकाल्नुपर्ने थियो । तर, उहाँहरूलाई प्रहरीको भ्यान, ट्रकभित्रै थुनामा जस्तै राखे । सरजमिनमा बयान दिन सरजमिन स्थलमा जान दिइएन । त्यसको विरुद्धमा प्रहरी भ्यानभित्रका पार्टी अध्यक्षलगायत सबैले पक्षपात र अन्यायपूर्ण सरजमिन मान्दैन भन्दै नारा लगाउनुभयो । त्यसलाई त्यहाँ उपस्थित चारैतिर हेरेर बसेका सबै दाजुभाइ तथा दिदीबहिनीहरूले नारा लगाएर साथ दिए । गुण्डाहरूको निर्देशनमा प्रहरीहरूले लाठीचार्ज गरे, त्यसको विरुद्ध क्रान्तिकारी महिलाहरूले प्रतिकार गरे । सङ्घर्षको कारण एकतर्फी र पक्षपातपूर्ण सरजमिन असफल भयो । त्यसपछि भक्तपुरका क्रान्तिकारी महिला दिदीबहिनीहरूले जाली सरजमिन मुर्दावाद, जाली मुद्दा खारेज गर, नेमकिपाका नेता कार्यकर्ताहरूको बिनासर्त ससम्मान रिहा गर, क्रान्तिकारी महिलाहरू एक होऔँजस्ता नारा लगाउँदै महिलाहरूको जुलुसले नगर परिक्रमा ग¥यो ।
पार्टीका अग्रजहरू भूमिगत थिए । उहाँहरूलाई गुप्तरूपमा भेटघाट गर्ने, खबर पु¥याउने, आवश्यक बन्दोबस्त महिलाहरूले गरे । उनीहरू गिरफ्तार वा जेलभित्र परेका नेता कार्यकर्ताको पीडित परिवारलाई भेट्न गएर सान्त्वना दिन्थे । आफूहरू दिनरात, भोक, प्यास, दुःख नभनिकन क्रान्तिकारी महिला दिदीबहिनीहरूले गरेको अथक सङ्घर्ष चानचुने पक्कै थिएन ।
षड्यन्त्रबारे सत्य तथ्य कुरा जनतालाई दिएर सचेत पार्न उनीहरूले पर्चा छर्ने, बाँड्ने, पम्प्लेट टाँस्ने काम गरे । कहिले दसैँको नवरातमा त कहिले गाईजात्राको मौका छोपेर षड्यन्त्र र अन्यायको विरोधमा जुलुस गरे । त्यस्तै, गोप्य बैठक, छलफल, सभाहरू भइरहे । उनीहरूको जुलुसलगायतका विभिन्न गतिविधिको खबरले जेलभित्र र बाहिर बसेका भूमिगत अग्रज दाजुहरूलाई खुसी र साहस मिल्थ्यो ।
विभिन्न जेलमा बन्दी बनाइएका पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायतका नेता, कार्यकर्ता, समर्थक दाजुहरूलाई भेट्न जान, वकिलकहाँ जान ती महिला दिदीबहिनीहरूले बन्दीका परिवारलाई सघाउने काम गर्थे† त्यस्तै साहस र धैर्यका साथ जेलमा बन्दी दाजुहरूलाई भेट्न जान्थे । खानेकुरा, लुगाफाटो, औषधिलगायतका सामानहरू पु¥याउन जान्थे । जेलभित्रका नेता कार्यकर्ता, समर्थक दाजुहरूलाई भेट्न जाने, त्यसको खबर घरका परिवार बाँडेर केही चिन्ता लिनुपर्दैन, हामी छौँ, उहाँहरू चाडै छुट्नुहुन्छ भनेर सान्त्वना र सहयोग गर्थे । त्यसले गर्दा जेलभित्र र जेल बाहिरका भूमिगत नेता कार्यकर्ता दाजुहरू र उहाँका परिवारहरूलाई हौसला र सान्त्वना मिल्थ्यो ।
क्रान्तिकारी दिदीबहिनीहरू भक्तपुर काण्डको सत्य तथ्य कुरा बताउन वकिल, पत्रकार, मानव अधिकारकर्मीलगायत अन्य राजनीतिक दलका नेताहरूलाई भेट्न जान्थे । नेपाल मजदुर किसान पार्टी र त्यसका नेता, कार्यकर्तालाई सिध्याउन पञ्चायती राज्यले षड्यन्त्र गरेको हो भन्ने कुरा बुझेपछि कृष्णप्रसाद भण्डारी, सिन्धुनाथ ढुङ्गानाजस्ता वरिष्ठ वकिलहरू, ऋषिकेश शाह, डा. मधुराप्रसाद श्रेष्ठ, कृष्ण पहाडीजस्ता वरिष्ठ मानव अधिकारवादीहरू गोविन्द वियोगी, पद्म ठकुरानी, हरिहर विरहीजस्ता वरिष्ठ पत्रकारहरू, जागृतप्रसाद भेटवाल, सोमनाथ अधिकारी (प्यासी), रूपचन्द्र विष्टजस्ता रापसका सदस्यहरूले आ–आफ्नो क्षेत्रबाट षड्यन्त्र र अन्यायको विरोधमा साथ र सहयोग गरे । त्यो गुण पार्टी, क्रान्तिकारी महिला दिदीबहिनी, पीडित भक्तपुरका जनताले कहिल्यै बिर्सने छैनन् । त्यो गुण पार्टीले देश र जनताको निःस्वार्थ सेवा गरेर तिर्नेछ । यसले नेपाल मजदुर किसान पार्टीलाई महिला दिदीबहिनीलगायत सबैलाई सचेत हुन र सधैँ देश र जनताको इमानपूर्वक सेवा गर्न ऊर्जा दिइरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *