भर्खरै :

भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने

भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने

नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न २०४५ सालमा पञ्चायती राज्य नै लागेर रचेको षड्यन्त्र भक्तपुर काण्डको विरोध एवं भत्र्सना आज पनि उत्तिकै आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टीलाई सिध्याउन भक्तपुर काण्ड नामको षड्यन्त्र रचेर पञ्चायती सरकारले भक्तपुरलगायत देशभरका न्यायप्रेमी देशभक्त जनतालाई दमन गरेको थियो । पञ्चायती राज्य लागेर गरेको त्यो दमन, त्यो अत्याचारबाट नयाँ पुस्तालाई बताएर सुसूचित गर्नु आवश्यक छ । घटनाबारे सही सूचना जानकारी सञ्चारमाध्यममार्फत साहित्य लेखेर, अनुभव लेखेर छोटो भिडियो बनाएर प्रसारण गरी नयाँ पुस्तालाई सचेत गर्नुपर्छ । यस्ता षड्यन्त्रहरू फेरिफेरि कुनै नाम या बहानामा हुन सक्छ । नेमकिपाले कम्युनिस्ट सिद्धान्तअनुसार आचरण, व्यवहारमा उत्रेर जनतालाई सचेत र सङ्गठित गरेको हुँदा विदेशी शक्ति, पुँजीवादी, साम्राज्यवादी, विस्तारवादीहरूका लागि असह्य भइरहेको छ, आँखाको कसिङ्गर भइरहेको छ । उनीहरूले लोभ र डर देखाएर जनताको आँखामा छारो हाल्ने दुष्प्रयास गरिरहेका छन् । यसप्रति सबै सचेत हुनु आवश्यक छ । कुनै लोभ र डरमा नफसी, नझुकिकन सबै एकढिक्का भएर प्रतिकारमा उत्रनु आवश्यक छ ।
देशघाती, प्रतिक्रियावादीहरूले पार्टी अध्यक्ष बिजुक्छेँको विरोधमा यतिसम्मको गलत, झूट प्रचार गरेका थिए कि पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यसमेत त्यसको शिकार भए । बिजुक्छेँ र केही साथीलाई उनले चिनेनन् । पार्टी अध्यक्ष बिजुक्छेँले विस्तारै देश र विश्वको परिस्थिति, राजनीतिक इतिहासबारे सभ्य र शालीन तरिकाले कुरा उठाउन थालेपछि मात्र उनले चिने । साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी, पुँजीवादीहरूले यस्तै गलत सूचना प्रवाह गरेर विश्वका साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाद, पुँजीवादविरोधी देशभक्त नेताहरूलाई षड्यन्त्र गरेर अनेक दुःख दिएका थिए ।
२०४५ सालको षड्यन्त्र भक्तपुर काण्डको बहानामा राज्यले टोल टोलमा गरेको दमन, अत्याचार, दुःख, पीडा र सङ्घर्ष, सुस्तालगायत देशभरको सीमा अतिक्रमण, भर्पाई आन्दोलन, महाकाली सन्धि, एमसीसीलगायतका देशघाती कदमबारे नयाँ पुस्तालाई बताउनुपर्छ । भोलि समाज र देश हाँक्ने योद्धा भनेकै नयाँ पुस्ता हो । शासक दलहरू भदौ २३ र २४ गतेको उपद्रोले गल हत्याउँदा पनि चेत खाएका छैनन् ।
फेरि प्रदेशसभामा शासकहरू पदको भागबन्डामा झगडा गर्दै छन् । नयाँ भनिएको दलमा पनि त्यही खरानी घस्ने जोगी भएर निस्केको कुरा जनताले अनुभव गर्दै छन् । जनता सचेत नभएसम्म देशमा यस्तै दलले शासन गरेर दुःख दिनेछन् । जनता सचेत र शिक्षित भएर लोभ र डरको अगाडि नझुक्न नजानेसम्म यस्तै दुःख जनताले पाइरहनेछन् ।
भक्तपुरको सांस्कृतिक गाईजात्रा सञ्चारमाध्यमबाट विश्वको जनताले हेर्ने हुँदा गाईजात्रालाई बाजाको ताल र सुरअनुसार नै कला, हाउभाउमा नाचेर देखाउनुपर्छ  । गलत आवाज, हाउभाउ पोशाकमा नभइकन हाम्रो आफ्नै संस्कृति झल्किने गरी सांस्कृतिक पोसाक, गरगहना, नृत्यकलामा नाच्नुपर्दछ । क्रान्तिकारी महिला दिदीबहिनीहरूको सङ्घर्षशील एकता र बलले नै पञ्चायतको अन्त्य भयो । यस्तो एकतालाई बिनास्वार्थ सधैँ कायम गर्नु आवश्यक छ । सङ्घर्षशील भावना भयो भने मात्र हामीलाई प्रतिक्रियावादी देशी विदेशी शक्तिले अन्याय, अत्याचार गर्न, दुःख दिन सक्ने छैनन् ।
भक्तपुर काण्डको समयमा देशका विभिन्न ठाउँमा गएर भूमिगत, कष्टकर जीवन र सङ्घर्ष गर्नुप¥यो । सङ्कटको बेलाको मित्र असल मित्र हुन्छ । रगतको नाताभन्दा वर्गीय नाता न्यानो र असल नाता मित्र हुन्छ । भूमिगत बसाइँको क्रममा समेत वैचारिक सङ्घर्ष गर्नु पर्दछ ।
नेमकिपाले ‘पञ्चायतलाई उपयोग गरी त्यसको जरा काट्ने काम गरेको थियो । पञ्चायत पत्रिका निकालेर पञ्चायतको विरोध गरेको र माओ र स्तालिनजस्ता नेताहरूको जीवनी छापिएको थियो । घटनाक्रमले माओवादी भन्नेहरू विचार र सिद्धान्त त्यागेर पुँजीवादी पोखरीमा पौडी खेल्दा चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्नेजस्ता भएको जनताले देखिरहेका छन् । ‘जो आगोसँग खेल्छ आगोमै मर्छ, जो पानीसँग खेल्छ पानीमै डुबेर मर्छ’ भनेजस्तै नेमकिपालाई सिध्याउन जसले षड्यन्त्र रच्यो, फुटाउने फोहरी खेल खेल्यो आज त्यसैको शिकार भएको घटना क्रमले प्रस्ट भइसकेको छ ।
नेमकिपाका कार्यकर्ताहरू विभिन्न ठाउँमा भूमिगत बसेको, जिल्लाबाहिर गएको, भूमिगत अवस्थामै कोही शिक्षक भएर काम गरेको कोही अन्य पेसामा लागेका थिए । कोही कार्यकर्ताहरू कानुनी व्यवसायी, मानव अधिकारवादी, पत्रकारहरूसँग भेटघाट गर्ने, सूचना, समाचार सम्प्रेषण गर्ने काममा लागेका थिए ।
अन्यायको विरोधमा क्रान्तिकारी महिला दिदीबहिनीहरूले मुठी कसेर राँको बालेर सङ्घर्ष गरे । त्यसैको परिणाम पञ्चायतको अन्त्य भयो ।
छोराछोरीहरूलाई समयसमयमा यस्तो षड्यन्त्र र अत्याचारबारे सुनाएर सचेत पार्नुको साथै त्यसको विरोधमा लड्न सङ्गठित हुन बताइरहनुपर्ने कुरा आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *