भरतपुरमा ‘भक्तपुर काण्ड’को भत्र्सना कार्यक्रम
- भाद्र ९, २०८३
काभ्रे, ९ भदौ । नेपाल मजदुर किसान पार्टीविरुद्ध निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले विचार र सिद्धान्तबाट पराजित प्रतिक्रियावादी शासकहरूले षड्यन्त्रको तानाबाना बुन्ने गर्छन् भन्नुभयो । “नेमकिपा स्थापनाकालदेखि देश र जनताको निःस्वार्थ सेवामा लागेको कारण प्रतिक्रियावादी शासकहरूलाई असह्य भएर षड्यन्त्रपूर्वक समूल नष्ट गर्न खोजेको हो” उहाँले भन्नुभयो ।
भदौ ९ को घटना भक्तपुरमा भएको भए पनि पञ्चायती शासकहरूले देशभर नेमकिपाका कार्यकर्ताको घर घरमा गएर खानतलासी र धरपकड गरेर आतङ्क मच्चाएको, सबै नेपाली पञ्च सबै पञ्च नेपाली भन्ने गरिए तापनि व्यवहारमा नेपाली जनतालाई राजनीतिक र मौलिक हक अधिकारबाट बञ्चित बनाएको उहाँले स्मरण गर्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले वर्तमान दुईतिहाइको सरकारले एमसीसी र एसपीपीको विरोध नगरेको हुँदा साम्राज्यवादी संरा अमेरिकी शासकको कठपुतली भएको स्पष्ट छ भन्नुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुच्छे प्रधानले प्रतिक्रियावादीहरूको षड्यन्त्रबारे नयाँ पुस्तालाई सचेत गराउन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ओमप्रसाद मानन्धर, ज्ञानेन्द्र डंगोल, सत्यनारायण श्रेष्ठ, राममन्दिल श्रेष्ठ, राजु तामाङलगायतले निरङ्कुश पञ्चायती राज्यस्तरबाट २०४५ भदौ ९ गते षड्यन्त्रपूर्वक रचिएको ‘भक्तपुर काण्ड’ को स्मरण गर्दै आ–आफ्नो अनुभव व्यक्त गर्नुभयो ।
Leave a Reply