भर्खरै :

भक्तपुरको मौलिक यन्याँ पुन्ही (इन्द्रजात्रा) प्रारम्भ

भक्तपुरको मौलिक यन्याँ पुन्ही (इन्द्रजात्रा) प्रारम्भ

भक्तपुर, १९ भदौ । भक्तपुरका परम्परागत २४ वटा टोलहरूमा यम द्यः (इन्द्र ध्वज) ठड्याउँदै भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) आजबाट प्रारम्भ भएको छ । विगतमा भक्तपुरको पुरानो नगर क्षेत्रभित्र उभ्याउने यम द्यः को गुठीको लागि छुट्याइएका स्रोत जग्गाहरू म्हासिँदा धेरै यम द्यः ठडिन छोडेको छ । स्थानीय जनसमुदायका अनुसार इन्द्रका छोराले इन्द्रका श्रीमतीको व्रतको लागि पृथ्वी लोकबाट खाइसी (सुन्तला जातको एक फल) लिन आउँदा बगैँचाको मालिकले चोरीको अभियोगमा समातेर बाटोमा बन्दी बनाई उभ्याइएको प्रतीकको रूपमा रहेको जनविश्वास छ । त्यसैले, उक्त यम द्यः लाई इन्द्रजात्राको पूर्णिमाको दोस्रो दिनदेखि पृथ्वीलोकको राजाको प्रतीक मुपात्र र राजाका गण धिच्चाहरूसमेत भई नगरका सबै यम द्यः हरूको घुम्दै तरवारले हानेर दण्डित गरेको प्रतीकको संस्कृति हालसम्म प्रचलन रहेको छ ।
सोही जात्राको अन्तिम दिन भक्तपुरमा इन्द्रको बहान ऐरावतको प्रतीक बाँसको चोयाबाट निर्मित मान्द्रा (पुलु किसी) लाई पुरानो नगरभरि परिक्रमा गराई उक्त यम द्यःलाई पृथ्वी लोकको राजा मुपात्रबाट मुक्ति गराएपछि भक्तपुरको येन्याँ पुन्ही (इन्द्रजात्रा) विधिवतरूपमा अन्त्य हुन्छ । सोही क्रममा मुपात्रसँगै सलाँ गणेश, छुमा गणेश र मान्द्रोको भैरव (पुलुयाम्हा भैल द्यः) र याँ मताहरूसमेत नगर परिक्रमा गराउने प्रचलन रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *