–जोन बेलामी फोस्टर
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सबीचको राजनीतिक र बौद्धिक मित्रताको हाराहारीमा आउन कसैको पनि राजनीतिक र बौद्धिक मित्रतालाई गाह«ै पर्ला । उनीहरुले सन् १८४८ मा प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’ मात्र लेखेनन्, त्यो कालखण्डमा भएका सामाजिक क्रान्तिहरुमा पनि उनीहरु उत्तिकै सक्रिय थिए । दुवै जना मिलेर सन् १८४५ मा पवित्र परिवार (द होली फ्याम्ली) र सन् १८४६ मा जर्मन विचारधारा (द जर्मनी आइडोलोजी) पुस्तक लेखेका थिए ।
सन् १८७०–दशकको पछिल्ला वर्षहरुमा यी दुई वैज्ञानिक समाजवादीहरु–माक्र्स र एंगेल्स अन्ततः एकअर्कासँगै बस्न सक्ने परिस्थिति बन्यो । उनीहरु हरेक समय एकअर्कालाई भेट्न सक्ने भए । माक्र्सको अध्ययन–कक्षभित्र उनीहरु दुई जना दुई कुनामा बसेर अध्ययन गर्थे । उनीहरु कुनै पनि विषयमा छलफल गर्न एक–अर्काको अध्ययन टेबुलमा ओहोरदोहोर गर्थे । आफ्ना विविध विचार, योजना र कामबारे एक–अर्कासँग कुरा गर्न कोठाभित्र ओहोरदोहोर गर्दा भुई खुइलिएर बाटो जस्तो बनिसकेको थियोे । उनीहरु दुवै आफूले लेख्दै गरेको कुनै पनि लेखको प्रत्येक नयाँ अनुच्छेद एक–अर्कालाई सुनाउने गर्थे । एंगेल्सले आफ्नो कृति ‘डुरिङ मतखण्डन’ प्रकाशनपूर्व पुरै पढेर माक्र्सलाई सुनाएका थिए । (त्यो कृतिमा माक्र्सले पनि एउटा पाठ लेखेका थिए ।) एंगेल्सको अर्को कृति ‘समाजवादः काल्पनिक वा वैज्ञानिक’ को लागि माक्र्सले भूमिका लेखेका थिए । सन् १८८३ मा माक्र्सको निधन भयो । उनको निधनपश्चात् उनले छोडेका टिप्पणी र खेस्राहरुका आधारमा एंगेल्सले ‘पूँजी’ का खण्ड दुई र तीनको प्रकाशनको तयारी गरेका थिए । एंगेल्स स्वंयले सबभन्दा पहिला आफू माक्र्सको छायाँमा परेको स्वीकारेका थिए । तथापि उनी आफैमा एक जना गम्भीर वौद्धिक र राजनीतिक चिन्तक थिए ।
दशकौंसम्म केही प्राज्ञहरुले एंगेल्सले माक्र्सका विचारलाई तल झारेको र बङ्ग्याएको भनिरहे । राजनीतिक वैज्ञानिक जोन एल. स्टेन्लेले सन् २००२ मा प्रकाशित पुस्तक ‘मूलधारमा माक्र्स’(मेनलाइनिङ माक्र्स) मा माक्र्सलाई एंगेल्ससँग अलग बनाउने प्रयास गरेका छन् । माक्र्स र एंगेल्स दुई जना भिन्न–भिन्न रुची र प्रतिभा भएका फरक–फरक व्यक्ति भएको सहज तथ्यबीच उनले त्यो पुस्तकमा सकेसम्म एंगेल्सलाई माक्र्सबाट अलग बनाएका छन् । उनले माक्र्सवादका सबै निन्दनीय कुराको स्रोतको रुपमा एंगेल्सलाई दोषारोपण गरेका छन् । अनि माक्र्सलाई सभ्य लेखकको प्रतिमान मानेका छन् । साथै उनले माक्र्स आफै माक्र्सवादी नभएको कुरा पनि लेखेका छन् ।
आजभन्दा चालिस वर्षअघि सन् १९७४ को डिसेम्बर १२ मा वाशिङ्टनको ओलम्पियास्थित द एभरग्रिन स्टेट कलेजमा आयोजित डेभिड मेकलेलानको ‘कार्ल माक्र्सः साखको परिवर्तन’ विषयक प्रवचन कार्यक्रममा सहभागी बन्ने मौका पाएको थिएँ । मेकलेलानको कृति ‘कार्ल माक्र्सः जीवनी र कृतित्व’ पुस्तक प्रकाशित भएको एक वर्षपछि त्यो कार्यक्रम भएको थियो । मेकलेलानको उक्त कृति मैले निकै गम्भीरतापूर्वक पढेको थिएँ । त्यस कारण पनि मैले त्यो साँझ उनको विचार सुन्न आतुरीका साथ प्रतिक्षा गरेका थिएँ । तर त्यो साँझ मैले जे सुन्ने त्यो निकै अलमल्याउने खालको थियो । त्यो साँझ मेकलेलानको प्रवचनको सार थियोः कार्ल माक्र्स फ्रेडरिक एंगेल्स थिएनन् । आधिकारिक माक्र्स पत्ता लगाउन माक्र्सको गहँुलाई एंगेल्सको चोकरबाट अलग निकाल्नुपर्ने उनको भनाई थियो । मेकलेलानले माक्र्सवादमा निश्चयवाद एंगेल्सले भित्र्याएको तर्क राखेका थिए । पछि द्वितीय र तृतीय अन्तर्राष्ट्रिय हँुदै समयान्तरमा स्तालिनले माक्र्सवादमा यो वाद बलियो बनाएको उनको भनाई थियो । मेकलेलानले केही वर्षपछि प्रकाशन गरेको ‘फ्रेडरिक एंगेल्स’ नामको एंगेल्सको छोटो जीवनीमा पनि यीमध्ये केही आलोचनाहरु समावेश गरेका थिए ।
एंगेल्सविरोधी दृष्टिकोणसँग यो नै मेरो पहिलो साक्षात्कार थियो । पश्चिमा वामपन्थी वुद्धिजीवीहरुबीच यो एउटा पारिभाषिक विशेषताको रुपमा उदाएको थियो । ‘पश्चिेली माक्र्सवाद’ को रुपमा भिन्न दार्शनिक परम्पराको उदयसँग यो धार नजिकबाट जोडिएको छ । यो धारलाई कहिलेकाहीँ आधिकारिक वा सोभियत माक्र्सवादको विपरीतार्थको रुपमा पनि लिने गरिएको छ । यस अर्थमा पश्चिमेली माक्र्सवादको मूलआधार भनेकै प्रकृतिसम्बन्धि एंगेल्सको द्वन्द्ववादको अस्वीकोक्ति हो । जर्ज लुकासले एंगेल्सको द्वन्द्ववादलाई ‘फगत वस्तुगत द्वन्द्ववाद’ भनेका छन् ।

जोन बेलामी फोस्टर
अधिकांश पश्चिेली माक्र्सवादीहरुका लागि द्वन्द्ववाद भनेको चेतना–बस्तुबीचको समरुप सम्बन्ध हो । अर्थात् हामीले संसारलाई त्यत्ति नै मात्रामा बुझ्न सक्छौं, जति हामीले बनाएका छौं । यस्तो आलोचनात्मक दृष्टिकोणले अधिकांशको माक्र्सवादबारे बुझाईमा संक्रमित आधिकारिक सोभियत विचारधाराअन्तर्गत तर्कपूर्ण ठह¥याइएको काँचो निश्चयवादमा भूलसुधार गर्नुपर्ने निष्कर्षमा पु¥याउँछ । तथापि ऐतिहासिक भौतिकवादलाई मानविकी र सामाजिक विज्ञान अनि राजनीतिसँग मात्र सम्बन्धित नभई बरु भौतिकवादी प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित विषयको रुपमा माक्र्सवादलाई हेर्ने लामो परम्परा त्याग्दै त्यसलाई थप आदर्शवादी दिशामा धकेल्न पश्चिमेली माक्र्सवादको भूमिका खेल्यो ।
वामपन्थी प्राज्ञहरुबीच एंगेल्सको बद्ख्वाई कुनै समय निकै व्यापक बन्यो । टेरेल कार्भरजस्ता राजनीतिक सिद्धान्तकारले त यही विषयलाई नै आफ्नो परिचयको विषय बनाए । माक्र्सलाई माक्र्सवादबाट निकाल्ने माध्यम एंगेल्सलाई माक्र्सबाट निकाल्नु हो भन्ने आम हल्ला व्यापक बन्यो । सन् १९८४ मा कार्भरले लेखेका थिए,‘कार्ल माक्र्सले आफूलाई माक्र्सवादी स्वीकार गरेका थिएनन् । फ्रेडरिक एंगेल्सले माक्र्सको यो भनाई दोहो¥याइरहे तर उनले खासमा माक्र्सको मूल आशय बुझ्न सकेनन् । वास्तवमा अब प्रष्ट भएको छ, एंगेल्स प्रथम माक्र्सवादी थिए र उनले नै कुनै रुपमा माक्र्सवाद आविस्कार गरेको थिए । यो कुरा अब धेरैका लागि स्वीकार्य बन्दैछ ।’ कार्भरको बुझाईमा एंगेल्सले माक्र्सवाद आविस्कार गर्ने जघन्य अपराधमात्र गरेनन् बरु अर्ध–हेगेलवाद, भौतिकवाद, निश्चयवाद र द्वन्द्ववादको विस्तार गर्ने जस्ता अरु धेरै पाप कर्म गरे । यी सबै कुरा ‘माक्र्सको कष्टसाध्य व्यापक दर्शनलाई कोशौं टाढा’ भएको उनको भनाई थियो ।
माक्र्सको ‘प्रक्रिया’ (ब mभतजयमययिनथ) थियो भन्ने विचार एंगेल्सको हो भन्ने मान्यता एंगेल्सका आलोचकहरुको थियो र त्यही कारण त्यो प्रक्रियालाई गलत घोषणा गरियो । एंगेल्ससँगको संगत र केही निश्चित विचारबाट अलग बनाएर माक्र्सलाई सहज रुपमा यथास्थितिलाई स्वीकार्य बनाइयो । अर्थात् एंगेल्सबाट अलग बनाएर मात्र एक्लो माक्र्सलाई बौद्धिक अग्रदुतको रुपमा प्रस्तुत गरियो । बिना कुनै व्यङ्ग्यभाव हालै मात्र कार्भरले भने,‘माक्र्स एक उदार चिन्तक थिए ।’
तर एंगेल्सका अधिकांश आलोचना ‘डुरिङ मतखण्डन’ र पुरा हुन नसकेको उनको कृति ‘प्रकृतिको द्वन्द्ववाद’मा उनको कथित विज्ञानवादप्रति लक्षित छन् । मेकलेलानले लेखेको एंगेल्सको जीवनीमा प्राकृतिक विज्ञानप्रति एंगेल्सको चासोका कारण ‘उनको ध्यान इतिहासप्रतिको भौतिकवादी चिन्तनभन्दा प्रकृतिप्रतिको भौतिकवादमा बढी केन्द्रित बन्न पुग्यो’ भनी लेखेका छन् । एंगेल्सलाई माक्र्सवादमा ‘वस्तुको अवधारणा’ ल्याएको आरोप लगाइयो र त्यो अवधारणा ‘माक्र्सको विचारभन्दा नितान्त पराई’ भएको एंगेल्सका आलोचकहरुको भनाई थियो । उनीहरुको विचारमा एंगेल्सको मुल गल्ती भनेको ‘द्वन्द्ववादको आत्मगत पक्ष’लाई त्यागेर वस्तुगत भौतिकवादको विकास गर्ने प्रयास र त्यसले ‘माक्र्सवादको दृष्टिकोणलाई वैज्ञानिक विश्व दृष्टिकोणमा क्रमशः मिलाएको’ भन्ने थियो ।
मेकलेलानले आरोप लगाए,‘सोभियत सत्ताको आडमा एंगेल्सको विद्रुप्तीकरण सोभियत पाठ्यपुस्तकको प्रमुख दार्शनिक सार हुनु कुनै आश्चर्यको कुरा होइन ।’ माक्र्सलाई शुद्धिकृत बौद्धिकका रुपमा जसरी प्रस्तुत गरियो, त्यही गतिमा एंगेल्सलाई भद्दा प्रचारकको रुपमा प्रस्तुत गरियो । त्यही भएर माक्र्सवादसम्बन्धि प्राज्ञिक बहसहरुमा एंगेल्सलाई ‘एक जना सजिलो हल्लाबाज केटो’को रुपमा चर्चा गरिन थाल्यो ।
यद्यपि एंगेल्सका प्रशंसकहरु पनि नभएका होइनन् । समकालीन माक्र्सवादी सिद्धान्तभित्र उनको धमिलो बन्दै गएको छवि उल्टिने पहिलो सङ्केत भने सन् १९७८ मा इतिहासकार ई.पी.थोम्पसनले लेखेको कृति ‘सिद्धान्तको गरिबी’(पोबर्टी अफ थ्योरी) प्रकाशित भएपश्चात देखियो । त्यो कृति आधारभूत रुपमा लुइस अल्थुसरको संरचनागत माक्र्सवादको विरोधमा लेखिएको थियो । थोम्पसनले ऐतिहासिक भौतिकवादको प्रतिरक्षा गर्दै कुनै पनि ऐतिहासिक विषयवस्तुबाट सम्बन्धविच्छेद गरेका र कुनै पनि अनुभवजन्य ज्ञानबाट टाढा राखिएका अमूर्त र परिकल्पित सिद्धान्तको विरोध गरे । अनि यो क्रममा उनी आक्रामक रुपमा ‘बुढो बुद्धु फ्रेडरिक एंगेल्स’ को पक्षमा उभिए जसलाई अल्थुसरले आफ्नो आलोचनाको केन्द्र बनाएका थिए ।
त्यही आधारमा थोम्पसनले ऐतिहासिक भौतिकवादी विश्लेषणका लागि अत्यावश्यक एक प्रकारको द्वन्द्वात्मक अनुभववादलाई अघि बढाए । थोम्पसनले एंगेल्सको यही द्वन्द्वात्मक अनुभववादको सबभन्दा बढी प्रशंसा गरेका छन् । त्यसको केही वर्षपश्चात् माक्र्सवादी अर्थशास्त्री तथा मन्थली रिभ्यु पत्रिकाका संस्थापक सम्पादक पाउल स्वीजीले आफ्नो ‘माक्र्सवादबारे चार मन्तव्य’ मा द्वन्द्ववादबारे एंगेल्सको विचार र यान्त्रिक तथा एकनाले चिन्तनप्रति उनको आलोचनाको महत्वबारे व्यापक चर्चा गरेका छन् ।
माक्र्ससँगैको प्रमुख शास्त्रीय माक्र्सवादी सिद्धान्तकारको रुपमा एंगेल्सको छविलाई पुनस्र्थापना गर्नमा इतिहास र राजनीतिक अर्थशास्त्रतिरबाट भन्दा पनि प्राकृतिक विज्ञानतर्फको कसैले मात्र वास्तविक परिवर्तन ल्याउन सक्थ्यो । सन् १९७५ मा स्टेफन जे. गोउल्डको ‘प्राकृतिक इतिहास’(न्याचुरल हिस्ट्री) प्रकाशित भयो । त्यो कृतिमा गोउल्डले मानव विकास क्रमबारे एंगेल्सको सिद्धान्तको प्रशंसा गरेका छन् । एंगेल्सको सो सिद्धान्तमा श्रमको भूमिकालाई जोड दिइएको छ । मानव विकासक्रमसम्बन्धि एंगेल्सको विचारलाई गोउल्डले भिक्टोरियन युगको मानव विकासक्रमसम्बन्धि सबभन्दा विकसित चिन्तन भनी व्याख्या गरे । भिक्टोरियन युगले अस्ट्रालोपिथेकस अफ्रिकानस बारे बीसौं शताब्दीमा मानवशास्त्रीय अध्ययन हुने पूर्वानुमान गरेका थिए । केही वर्षपश्चात् सन् १९८३ मा गोउल्डले आफ्नो विचार न्यु योर्क रिभ्यु अफ बुक्समा पनि लेखे । त्यहाँ उनले मानव विकासक्रमका सबै सिद्धान्त ‘वंशाणु–विकासको सहविकासक्रम’को सिद्धान्त भएको तथा ‘वंशाणु–विकासको सहविकासक्रमबारे उन्नाइसौं शताब्दीमा लेखिएको सबभन्दा उल्लेखनीय लेख सन् १८७६ मा एंगेल्सको निधनपश्चात् प्रकाशित उनको लेख ‘प्रकृतिको द्वन्द्ववाद’ भएको चर्चा गरेका छन् ।
चिकित्सा समाजशास्त्री र मेडिकल डिरेक्टर हर्वार्ड वेट्जकिनले पनि सन् १९८३ मा प्रकाशित आफ्नो पुस्तक ‘द सेकेण्ड सिकनेस’ मा सामाजिक महामारीसम्बन्धि विचारका एंगेल्स अग्रणी भएको चर्चा गरेका छन् । कसरी चौबीस वर्षको उमेरमा सन् १८४४ मा ‘बेलायतमा मजदुर वर्गको अवस्था’ किताब लेखेर एंगेल्सले महामारी रोगका कारणबारे अध्ययन गरेको विषयमा वेट्नकिनले चर्चा गरेका छन् । त्यो अध्ययनले कालान्तरमा समाजमा फैलिने महामारीसम्बन्धि अध्ययनको लागि मद्दत पुगेको थियो । सन् १९८५ मा रिचार्ड लेवान्तिन र रिचार्ड लेभिन्स आफ्नो नयाँ किताब ‘द्वन्द्वात्मक जीववैज्ञानिक’(म्ष्बभिअतष्अब िद्यष्ययिनष्कत) लिएर आए । सो किताबमा उनीहरुले लेखेका छन्,‘लामो समयसम्म फ्रेडरिक एंगेल्सको गन्ती गरिएन तर जब सही समय आउँछ, उनको गन्ती नगरी सुखै छैन ।’
सन् १९८० को दशकमा माक्र्सवादभित्रै पर्यावरणीय समाजवादको परम्पराको जन्म भयो । पर्यावरणीय समाजवादको आरम्भको पहिलो चरण टेड बेल्टनको कृति प्रकाशनबाट शुरु भएको मानिन्छ । बेल्टनको सो कृतिमा माल्थसको प्राकृतिक सीमाङ्कनसम्बन्धि सिद्धान्तप्रति गम्भीर नभएको भन्दै माक्र्स र एंगेल्सको आलोचना गरेका छन् । तथापि सन् १९९०–दशकको उत्तराद्र्धसम्ममा पर्यावरणीय समाजवादको दोस्रो चरणको उदयसम्बधि बहस शुरु भइसकेको थियो । सन् १९९९ मा पाउल बुर्केटको ‘माक्र्स र प्रकृति’(माक्र्स एण्ड नेचर) पुस्तक प्रकाशन भयो । त्यसमा ऐतिहासिक भौतिकवादको शास्त्रीय आधारभित्रै पर्यावरणीय विषयवस्तुको खोजी गरिएको छ । त्यो खोजीले शुरुमा माक्र्सलाई नै मात्र केन्द्रमा राखिएको थियो तर त्यसमा पर्यावरणीय चिन्तनमा एंगेल्सको योगदानलाई पनि ध्यान दिइएको छ । त्यसले नवीकृत मेगा परियोजनालाई बलियो बनायो । त्यही परियोजनाअन्तर्गत माक्र्स र एंगेल्सको प्राकृतिक विज्ञानसम्बन्धि टिप्पणीहरुको पहिलो पटक प्रकाशन गरियो । परिणामतः शास्त्रीय माक्र्सवादी परम्परासम्बन्धि बुझाईमा एकप्रकारको क्रान्ति नै आयो । आजको युगीन सङ्कट(आर्थिक र पर्यावरणीय दुवै) को उत्कर्षसँगै गहिरिंदै गएको नयाँ–नयाँ पर्यावरणीय समस्याहरुसँगै यो कुरा अझ मुखरित बन्दै गएको छ ।
विज्ञानमा एंगेल्सको योगदानबारे बढ्दो जानकारीसँगै पर्यावरणीय माक्र्सवादको उदयले एंगेल्सको ‘प्रकृतिको द्वन्द्ववाद’ प्रति चासो दिनानुदिन बढिरहेको छ । सन् २००० यता म स्वंयका अधिकांश अनुसन्धान(धेरै चाँडो त्यसले पुस्तकको रुप लिंदैछ) पनि पर्यावरणीय द्वन्द्ववादको विकासमा एंगेल्ससँग नै सम्बन्धित वा उनीबाट प्रभावित विषयहरुमा छन् । मेरो मात्र होइन, राजनीतिक अर्थशास्त्री तथा पर्यावरणीय माक्र्सवादी इल्मर अल्भाटरले हालै जर्मनी भाषामा एउटा पुस्तक प्रकाशन गरेका छन्, जसमा एंगेल्सको ‘प्रकृतिको द्वन्द्ववाद’को चर्चा गरिएको छ ।
हाम्रो समयमा पूँजीवादको आलोचनाको लागि एंगेल्सको अनिवार्यता उनको चर्चित कृति ‘डुरिङ मतखण्डन’ मा लेखिएको वाक्य,‘द्वन्द्ववादको प्रमाण स्वंय प्रकृति हो’ भन्ने भनाई हो । पश्चिमेली माक्र्सवादी दार्शनिकहरुले प्रायशः यो भनाईको हाँसो उडाउने गर्दछन् । द्वन्द्ववाद र पर्यावरणीय विश्लेषणबारे एंगेल्सको गहिरो बुझाई प्रष्ट बनाउने उनको भनाईलाई आजको सन्दर्भमा यसरी भन्न सकिन्छ,‘द्वन्द्ववादको प्रमाण स्वंय पर्यावरण हो ।’ यो वाक्यप्रति आजको समयमा कमै मात्र मानिसले आपत्ति जनाउँलान् । यो कोणबाट हेर्दा समकालीन पर्यावरणीय समाजवादी छलफलमा एंगेल्सले कति धेरै महत्वपूर्ण ठाउँ ओगटेका रहेछन्, बुझ्न सजिलो हुनेछ । पर्यावरणीय माक्र्सवादसम्बन्धि कृतिहरुमा आजभोलि आम रुपमा एंगेल्सको ‘प्रकृतिको द्वन्द्ववाद’ पुस्तकबाट चेतावनीका निम्न शब्दहरु उद्र्धरण गरिने गरेको छः
‘प्रकृतिमाथि मानवको विजयका वृत्तान्तको क्रमावली बनाएर हामीले आफूले आफैलाई उल्लु बनाउने काम नगरौं । मानिसले प्रकृतिमाथि पाउने त्यस्ता हरेक विजयको बदला प्रकृतिले लिने गरेको छ । सत्य हो, मानिसले प्रकृतिमाथि पाउने विजयको पहिलो चरणमा हामीले चाहेजस्तै परिणाम आउने गरेको छ । तर दोस्रो र तेस्रो चरणमा त्यसको अपेक्षित प्रभाव नितान्त भिन्न आउने गर्दछ । पछिल्लो परिणामले शुरुको परिणामलाई समेत खारेज गर्ने गर्दछ ।…तसर्थ हामीले हरेक पाइला–पाइलामा सम्झनुपर्दछ–हामी प्रकृतिमाथि कोही विदेशी विजेता सम्राटजस्तै कब्जा गर्न सक्दैनौं मानो कि हामी प्रकृतिभन्दा बाहिर छौं । हाड–मासु र गिद्दीले बनेको हाम्रो शरीर पनि प्रकृतिकै हिस्सा हो र प्रकृतिकै बीचमा हामी छौं । हामीले प्रकृतिको नियम र तिनलाई सही तरिकाले लागु गर्न सके मात्र हामी अरु प्राणीहरुको तुलनामा अघि बढेको ठहरिनेछौं ।’
माक्र्सलाई जस्तै एंगेल्सका लागि पनि समाजवादको आधार भनेको मानव जाति र प्रकृतिबीचको समिलनको तार्किक नियमन थियो । मानवीय क्षमतालाई जति सम्भव अधिकतम विकास गर्ने र अर्कोतिर भविष्यको पुस्ताका आवश्यकताको रक्षा गर्नु नै समाजवादको सार हो । आज हामी एक्काइसौं शताब्दीमा एंगेल्सको पुनरागमनको प्रतीक्षामा छौं जसले माक्र्ससँगै सङ्घर्षको बिस्तार गर्नुका साथै हाम्रा आफ्नो सङ्कटग्रस्त अवस्था र अत्यावश्यक बनेको क्रान्तिकारी समयको व्याख्या गर्ने हाम्रो आशालाई अझ उत्साहित बनाउने काम गरेका थिए ।
स्रोतः मन्थ्ली रिभ्यु मार्च १, २०१७
नेपाली भाषान्तरः सुमन
Leave a Reply