भर्खरै :

नेक्राकिसङ्घद्वारा असिना पीडित किसानलाई राहत माग

भक्तपुर, २६ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले असिना पीडित किसानलाई राहत दिन र बिस्केट जात्रा शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ । समितिका अध्यक्ष किसान नेता गोविन्द दुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ–
गत चैत २१ गते बुधबार अपराह्न चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा असिना पानीले किसानको लाखौंको बाली नष्ट भएकोप्रति नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरको ध्यानाकृष्ट भएको छ । असिना पानीले दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथलीलगायत क्षेत्रमा लगाएको काउली, बन्दाकोबी, आलु, प्याज, लसुन, सिमी, बोडी, फर्सी, काँक्रो, घिरौला, गहुँ, फलफुललगायत बालीमा क्षति भएको थियो । नेक्राकिसङ्घ पीडित किसानलाई उचित राहत र अनुदानको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकृष्ट गराउँदछ ।
नेक्राकिसङ्घले विगत वर्षहरूमा पनि प्राकृतिक कारण बाली नष्ट हुँदा राहत उपलब्ध गराउन माग गरेकोमा बेवास्ता गरेको र आजसम्मका सरकारहरू किसान तथा गरिब जनताको समस्याप्रति गम्भीर नहुँदा लोकतान्त्रिक गणतन्त्रको बदनाम भएको सङ्घको ठहर छ । अतः कृषि विकास कार्यालयमार्फत पीडित किसानको विवरण सङ्कलन गरी तत्काल उचित व्यवस्था गर्न माग गर्दछ ।
साथै नयाँ वर्ष २०७५ तथा विस्केटजात्राको अवसरमा सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछ । बिस्केटजात्रा शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न सबै पक्षको सहयोगको अपेक्षा गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *