अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौं, २६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रधानमन्त्री केपी ओली र भारतीय प्रम मोदी बीचको १२ बुँदाको सहमति नेपाललाई फकाउने मोदीको ‘ललिपप’ भएको टिप्पणी गर्नुभएको छ ।
आइतबार साँझ माउण्टेन टीभीको खरो प्रश्न कार्यक्रममा प्रस्तोता प्रकाश गिरीसँगको कुराकानीमा बोल्दै अध्यक्ष रोहितले भारत गएर ओलीले दाम चढाएर आएको धारणा राख्नुभयो ।
अध्यक्ष रोहितले भारतले नेपाललाई आफ्नो संरक्षणमा भएको र हरेक नेपाली प्रम पहिलो पटक आफूकहाँ हाजिर हुन आउनुपर्छ भन्ने सोच राखेको उल्लेख गर्दै ओली भारत नगए सत्तासमेत पल्टिने डर भएको स्पष्ट पार्नुभयो । उहाँले नेपालमा चीनले बुलेट ट्रेन बनाउने भएपछि आफू पछि पर्ने डरमा भारतले हतारमा केटाकेटीलाई खेलौना दिएझैं रेल बनाउने घोषणा गरेको उल्लेख गर्दै भन्नुभयो, ‘भारतमै फाल्नुपर्ने रेल लिएर के काम ?’
उहाँले थप्नुभयो, रेल के कुरा नयाँ होइन, जनकपुर–जयनगर रेल राणाकालमै बनेको थियो ।
जलमार्ग पञ्चायती व्यवस्थाकै कालमै उठेको विषय भएको भन्दै अध्यक्ष रोहितले तेल र ग्यासको पाइप आउने भनेर खुशी हुनु आवश्यक नभएको धारणा राख्नुभयो । उहाँले थप्नुभयो, ‘भारतलाई चिन्नुपर्छ ।’
पञ्चायत कालदेखिका प्रमहरूले भारत भ्रमणपछि प्रफुल्लित भएर आउने गरेको उल्लेख गर्दै सत्ताधारी पार्टीका केन्द्रीय सदस्यहरू को को भारतबाट पालितपोषित छन् भन्ने निक्र्योल नभएसम्म नेपालीको लागि खुशी नआउने विचार राख्नुभयो ।
अध्यक्ष रोहितले जनता देशभक्त भएमात्र नेता त्यस्तै हुने भन्दै जनताले पैसा खाएर भोट दिंदा देशले दुर्गति भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, बुद्धिजीवी पनि दोषी छन्, उनीहरु पद पाउन जे पनि गर्छन् ।
एमाले र माओवादी केन्द्रको दुईतिहाइ बहुमत आउनुमा भारतकै हात भएको भन्दै उहाँले माओवादी र तराईवादीको भोट भारतकै भोट भएको तर्क गर्नुभयो । उहाँको कथन थियो, ‘दिल्लीले जे भन्यो, माओवादी त्यही मान्छ ।’
एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताबारे सोधिएको एक प्रश्नमा अध्यक्ष रोहितले एमाले र माओवादीको एकता कम्युनिष्ट एकता नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, कम्युनिष्टले पद होइन, सिद्धान्तको कुरा गर्छन् । पार्टी एकता गरेर केपी ओलीको विकल्पमा प्रचण्डलाई खडा गरेको भन्दै उहाँले प्रचण्ड देशको निम्ति बढ्ता खतरा हुने विचार राख्नुभयो । माओवादी सरकारले भारतीय सेनालाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने निर्णय गरेको उल्लेख गर्दै भारतले नेपालमा मिलिटेरी मिसनलाई पुनःस्थापना गर्न खोजेको बताउनुभयो ।
Leave a Reply