आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
मध्य अफ्रिकाको पश्चिमी तट कङ्गो नदीसँगै रहेको देश कङ्गोलाई सन् १४८४ तिर पोर्चुगालीहरूले कब्जा गरे । त्यसपछि कङ्गो युरोपेलीहरूको उपनिवेश बन्यो । सन् १९०८ देखि सन् १९६० सम्म बेल्जिमेलीहरूले उपनिवेश बनाए । कङ्गोको सम्पत्ति ५ ओटा एकाधिकारवादी समूहले आपसमा भागबन्डा गरेर खान्थे । उनीहरूले कङ्गोको ९० प्रतिशत लगानीमा नियन्त्रण गरेका थिए । बेल्जियमको पुँजीले सबभन्दा ठुलो भाग खान्थ्यो भने बेलायत र अमेरिकाले पनि लुटको भाग पाउँथे । कङ्गोमा हिरा, विश्वको लगभग १० प्रतिशत तामा, सुन, विश्वव्यापी भण्डारको लगभग ३५ प्रतिशत कोबाल्ट, तेल, ग्यास, कोल्टन, फलामलगायतका खनिजहरू पाइन्छन् ।
प्याट्रिस इमेरी लुमुम्बा (Patrice Emery Lumumba)
उपनिवेशी प्रशासनले कङ्गोका जातीय गुटहरूबिच काटमार गराइ जनतामा फाटो ल्याउने काम गथ्र्यो । बेल्जिमेलीहरू त्यहाँका जनताबिच ‘भेद गर र राज गर’ को नीति लागु गर्थे । कङ्गोमा बेल्जिमेली मालिकहरूले प्रतिवर्ष ५ लाख फ्रान्सेली रुपैयाँ पाउँथे भने कङ्गोली मजदुरहरूले वर्षको करिब १५ हजार फ्राङ्कसम्म पाउँथे । केही करोडपति र अर्बपतिहरूको ऐøयासी जीवनको निम्ति लाखौँलाख कङ्गोली जनतालाई दासजस्तै श्रम गराइन्थ्यो । कङ्गोली जनताको जीवन पशुतुल्य बनाइएको थियो । यही देखेर सन् १९४० तिर प्याट्रिस लुमुम्बाले लेखे, “गोराहरू आफ्ना हब्सी नोकरहरूभन्दा आफ्ना कुकुरहरूलाई राम्रो व्यवहार किन गर्छन् ?”
२० औँ शताब्दीको मध्य अर्थात् १९५० को अवधि अफ्रिकामा औपनिवेशिक शासनको पतनको अवधि बन्यो । दोस्रो विश्वयुद्धपछि कङ्गोमा पनि ठुल्ठुला हडतालहरू भए । सन् १९४५ मा बन्दरगाहका मजदुरहरूले पहिलो ठुलो हडताल गरे । सन् १९४६–५० मा खानी मजदुरहरूले उपनिवेशवादविरोधी नारा लगाए । सन् १९५२ मा लिओपोल्डभिलमा मजदुर र कार्यालयका कर्मचारीहरूले उपनिवेशवादीविरुद्ध ठुल्ठुला हडताल गरे । स्वतन्त्रता आन्दोलन देशभरि फैलियो । यसले कङ्गोमा औपनिवेशिक शासनको जग हल्लियो ।
सन् १९२५ जुलाई २ मा कङ्गोको कासाइ प्रान्तको ओनालुआ गाउँमा स्वतन्त्रताका लडाकु प्याट्रिस लुमुम्बा जन्मिए । लुमुम्बा राजनैतिक रूपले कङ्गोमा औपनिवेशिक दासता उन्मूलन गर्न चाहन्थे । उनी कङ्गोलाई तत्काल स्वाधीन बनाउन चाहन्थे । यसकारण, उनी सारा कङ्गोली जनताको लागि लड्ने एउटा सङ्घर्षशील राजनीतिक दल स्थापना गर्न लागिपरे । उनी नयाँ, मौलिक, क्रान्तिकारी विचारका पक्षधर थिए ।
देशलाई जातजाति र भाषाभाषीको झगडाबाट मुक्त राखेर एकढिक्का बनाउन चाहन्थे लुमुम्बा । यही भावना देखेर बेलायतको ‘विदेशी खबर’ (Foreign Report) पत्रिकाले एकपटक लुमुम्बाबारे लेख्यो, “मेहनती, शारीरिक रूपले उत्साही र आकर्षक व्यक्तित्वका धनी लुमुम्बा कङ्गोलाई एकात्मक राज्यको रूपमा सँगै राख्न आवश्यक आकाङ्क्षा र गुण भएका एकमात्र कङ्गोली राजनीतिक नेता हुन् । उनी साँचो राष्ट्रवादी, जातीय र क्षेत्रीय साम्प्रदायिकताविरोधी कङ्गोली नेता हुन् । यो नै उनको शक्ति हो ।”
सन् १९५० मा कङ्गोमा बाकोङ्गो वन्यजातिलाई समेटेर उपनिवेशवादीहरूले जोसेफ कासभुबु (Kasa-vubu) को नेतृत्वमा ‘आबाको’ (Abako) नामको दल स्थापना गरेको थियो । उपनिवेशी प्रशासनले कासाभुबुको दललाई प्रयोग गरेर कङ्गोको जातीय गुटहरूबिच ‘भेद गर र राज गर’ को नीतिअनुसार काटमार गराई फाटो ल्याउने काम गथ्र्याे । लुमुम्बाले स्वाधीनताको सङ्घर्षमा जनतालाई जातजाति र भाषाभाषीको भेदभाव एवम् पूर्वाग्रह नराखी एक हुन आह्वान गरे ।
सन् १९५८ मा लुमुम्बाले उत्तर कङ्गोको स्टेन्लिभिलमा ‘कङ्गो राष्ट्रिय आन्दोलन’
(Congo National Movement–CNM) नामको राजनीतिक दल गठन गरे । त्यस पार्टीले बिनासर्त स्वाधीनता र कङ्गोली जनताको प्रजातान्त्रिक स्वतन्त्रता वा अधिकारको माग गर्दै अफ्रिकाको सम्पूर्ण मुक्ति आन्दोलनसँग घनिष्ठ सम्बन्ध राख्यो ।
सन् १९५९ जनवरी ४ मा राजधानी लिओपोल्डभिलमा एक जनसभाको आयोजना भयो । त्यस जनसभामा कङ्गोली जनताको अपार सहभागिता थियो । जनताको आकार देखेर बेल्जिमेली अधिकारीहरूले सो जनसभालाई रोक्ने षड्यन्त्र गरे । उपनिवेशवादी सरकारले जनताको भीडमा गोली चलाउन आदेश दियो । तर, जनताले देशव्यापी विद्रोह र हडताललाई अगाडि बढाए, गोलीको अगाडि झुकेनन् । बरू, जनताको दबाबबाट उपनिवेशवादीहरू झुक्न बाध्य भए । १३ जनवरी १९५९ को दिन बेल्जियमका राजा बाउडोविन (Baudowin) ले कङ्गोली जनतालाई स्वाधीनता दिने अस्पष्ट आश्वासन दिए ।
जनताको सङ्घर्ष रोकिएन, अघि बढ्दै गयो । आन्दोलन अघि बढ्दै गएपछि लुमुम्बालाई विद्रोह भड्काएको आरोपमा पक्राउ गरी कारागार पठाइयो । तर, पनि आन्दोलन रोकिएन झन् तेजिलो भयो । अप्रिल १९५९ मा लुलुअवर्ग
(Luluaburg) भन्ने ठाउँमा कङ्गोली राजनीतिक पार्टीहरूको महाधिवेशन भयो ।
सन् १९६० मई १७ देखि १९ सम्म भएको निर्वाचनमा लुमुम्बाको कङ्गो राष्ट्रिय आन्दोलन (CNM) ले बहुमत प्राप्त ग¥यो । सन् १९६० जून ३० को दिन लुमुम्बाले कङ्गोलाई स्वाधीन घोषणा गरे । उनले सदाको लागि औपनिवेशिक दासता अन्त भएको घोषणा गरे । बेल्जिमेलीहरूले लुमुम्बालाई एक व्यापारीबाट ऐøयासी बनाउने कोशिश गरेका थिए । तर, उनी देशभक्त तथा स्वाधीनताका हिमायती बने । कङ्गोले स्वतन्त्रता प्राप्त गर्नासाथ बेल्जिमेली उपनिवेशवादीहरूले षड्यन्त्र गरेर कटाङ्गा प्रान्त स्वतन्त्र भएको घोषणा गर्न लगाए ।
सन् १९६० जुलाई १७ को दिन संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले बेल्जिमेली सेना फिर्ता लानुपर्ने निर्णय ग¥यो । संयुक्त राष्ट्र सङ्घले आफ्नो सेना कङ्गो पठायो तर पनि बेल्जिमेली सेना फर्केन । सन् १९६० सेप्टेम्बर ५ मा राष्ट्रपति कासाभुबुले लुमुम्बाको सरकारलाई भङ्ग ग¥यो । लुमुम्बा सरकारले त्यसलाई अस्वीकार ग¥यो । लुमुम्बाले एक स्वतन्त्र र सार्वभौम देशको प्रधानमन्त्रीको रूपमा ४ महिना काम गरे । प्रधानमन्त्री भएर पनि उनले तलब भत्ता र सहुलियत सुविधा लिएनन् ।
१९६० सेप्टेम्बर १२ को दिन सेना प्रमुखको आदेशमा लुमुम्बालाई सशस्त्र प्रहरीले पक्राउ ग¥यो । १९६० सेप्टेम्बरमा राष्ट्रपतिले संसद् बैठक स्थगनको घोषणा गरे । साँझ सेनाप्रमुख जोसेफ मोबुतुले केन्द्रीय राजनीतिक अङ्गहरूलाई नियन्त्रणमा लिएको र सरकार सञ्चालनको जिम्मा सेनाको युवा कलेजको एक समितिलाई दिइएको घोषणा गरे । सेना प्रमुख मोबुतुले २० सेप्टेम्बरको दिन सैनिक जनरलहरूको एक टोलीले सरकार चलाउने घोषणा गरे ।
१९६० डिसेम्बर १ को दिन लुमुम्बा पक्राउ परे । जेलमा उनलाई चरम यातना दिइयो । उनलाई आत्मसमर्पण गराउने कोशिश गरियो तर उनी झुकेनन् । सन् १९६१ जनवरी १७ को दिन लुमुम्बालाई भागेको प्रचार गरीे निर्मम हत्या गरियो । ३५ वर्षको कलिलो उमेरमै उनी सहिद भए ।
जुलियस न्यरेरे (Julius Nyerere)
पूर्वी अफ्रिकाको एक देश तान्जानिया ९ लाख ४५ हजार वर्ग किलोमिटरमा फैलिएको छ । तान्जानियामा ४ करोड ३९ लाख २८ हजार ९ सय २३ जनसङ्ख्या रहेको छ । यहाँ सुन, चाँदी, तामा, कोबाल्ट, ग्राफाइट, युरेनियम, निकेल, फलामलगायतका खनिजहरू पर्याप्त पाइन्छ । अन्य अफ्रिकी मुलुकजस्तै तान्जानिया पनि युरोपेलीहरूको औपनिवेशिक चपेटामा प¥यो । सन् १९१८ मा जर्मनीको हारपछि तान्जानिया बेलायती साम्राज्यको उपनिवेश बन्यो ।
सन् १९२२ मार्चमा तान्जानियामा जुलियस न्यरेरे (Julius Nyerere) को जन्म भयो । उनले सन् १९४८ ताका बेलायतको एडिनवर्ग विश्वविद्यालयमा अध्ययन गरेका थिए । बेलायतमा उनले समाजवाद, सामूहिकता र लोकतान्त्रिक समाजवादी विचारमा आधारित ठुल्ठुला उद्योगलाई राष्ट्रियकरण गरी स–साना उद्योग निजी क्षेत्रलाई छोड्ने, कानुनी ढङ्गले निर्वाचनबाट सरकार बनाउने, विकेन्द्रीकरणमार्फत स्थानीय सरकारलाई बढी अधिकार दिने, वर्गसङ्घर्ष अस्वीकार गर्ने फेवियाली समाजवादी विचारबारे जानकारी पाए ।
सन् १९५३ मा उनी शिक्षण पेसा त्यागेर स्वाधीनताको सङ्घर्षमा होमिए । सन् १९६० मा तान्जानियामा विधायिका सभाको चुनाव भयो । सो चुनावमा उनको पार्टी ‘तान्गानिका अफ्रिकी राष्ट्रिय सङ्घ’ (Tanganyika African National Union-TANU) ले ७१ स्थानमध्ये ७० स्थानमा जित हासिल ग¥यो । सन् १९६१ डिसेम्बर ९ मा तान्जानियाले स्वाधीनता प्राप्त ग¥यो । उनी प्रधानमन्त्री बने । सन् १९६२ को निर्वाचनबाट उनी राष्ट्रपति बने । सन् १९६४ मा उनले छिमेकी टापु जन्जिबारलाई मिलाएर एक सङ्घ राज्य ‘तान्जानिया’ बनाए ।
न्येरेरेको उद्देश्य तान्जानियामा समाजवादी राज्य स्थापना गर्नु थियो । आफ्नो कार्यकलामा उनले उत्पादनका मुख्य मुख्य साधन सार्वजनिक स्वामित्वमा ल्याउने काम गरे । उनको समयमा स्वास्थ्य, शिक्षाले उच्च प्राथमिकता पायो । उनकै कारण तान्जानिया अफ्रिकाको धेरै साक्षरता दर भएको देश बन्यो । उनी अफ्रिकी एकताका पक्षधर तथा साम्राज्यवादविरोधी थिए । उनको समयमा तान्जानिया अफ्रिकी स्वतन्त्रता सेनानीहरूको शरणस्थल थियो । उनी करिब २०, २१ वर्ष तान्जानियाको राष्ट्रपति बनेर जनताको सेवामा लागेपछि सन् १९८५ मा राजनीतिबाट अवकाश लिए । सन् १९९९ अक्टोबर १४ मा लण्डनमा क्यान्सर रोगको उपचार गर्दागर्दै बिते । क्रमशः
२०८२ भदौ २२ गते
Leave a Reply