भर्खरै :

माओवादी र समाजवादी पार्टीबिच एकता कम्युनिस्ट एकता कि अवसरवादीहरूबिचको एकता ?

माओवादी र समाजवादी पार्टीबिच एकता कम्युनिस्ट एकता कि अवसरवादीहरूबिचको एकता ?

यतिखेर ‘कम्युनिस्ट पार्टी’ हरूबिचको एकताको चर्चा चलिरहेको छ । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको (नेकपा) र महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबिच पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ । पार्टीहरू एउटा विचार, सिद्धान्त र वर्गीय आधारमा स्थापना हुने हुँदा विचार मिलेका पार्टीहरूबिच एकता हुनु स्वाभाविक छ । अहिले विभिन्न पार्टीहरूको नाउँको अगाडि कम्युनिस्ट पार्टी झुन्ड्याइएको छ । को के हो भने छुट्याउने आधार नामले होइन, उसको कामले हो । एकता प्रक्रियामा अगाडि बढेका पार्टीहरूले आफूलाई कम्युनिस्ट पार्टी दाबी गरे पनि उनीहरूले कम्युनिस्ट आचरण नगरेको कारण जनताबिच बदनाम छन् । उनीहरूले पटक पटक सरकारमा गएर जनताको हितमा काम गर्नुभन्दा पद र पसाकै निम्ति काम गरे । वास्तवमा कम्युनिस्टहरूले पद र पैसाको निम्ति राजनीति गर्दैनन् । कसैले त्यसताका गर्छन् भने ती कम्युनिस्ट हुनसक्दैनन् । माओवादी र एकीकृत समाजवादी पार्टी पटक पटक परीक्षण भएका सिद्धान्तच्युत पार्टीहरू हुन् । उनीहरूले आफ्नो नाममा कम्युनिस्ट पार्टी राख्नु त ‘जसको सिङ छैन उसको नाम तीखे’ भनेजस्तै हो ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार चल्ने पार्टीहरूबिच मोर्चा बन्न सक्छ,कार्यगत एकता वा पार्टी एकता हुनसक्छ । कम्युनिस्टहरू चुनाव नै सबथोक हो भनेर लाग्दैनन् । उनीहरू चुनावलाई जनताको हितमा उपयोग गर्छन् र जनताको चेतनास्तर उठाएर समाजवादी क्रान्तिको वातावरण निर्माण गर्ने प्रयत्न गर्छन् । संसद्, प्रदेशसभा जस्ता प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर पनि जनताको आवाज बुलन्द गर्छन्, प्रतिक्रियावादीहरूले गरेका जनविरोधी कार्य, देशघाती सन्धि—सम्झौताहरूको विरोध र जनपक्षीय कानुन निर्माणको लागि सङ्घर्ष गर्छन् । सच्चा कम्युनिस्टहरूले प्रतिक्रियावादीभन्दा घोर प्रतिक्रियावादी सङ्घ संस्थाहरूमा गएर जनताको सेवा गर्छन् । संसद्लाई पनि जनताको माग उठाउने सङ्घर्षको थलोको रूपमा प्रयोग गर्छन् । उनीहरू चुनावबाटै समाजवाद आउँछ भन्ने कुरालाई रतिभर विश्वास गर्दैनन् ।
माओवादीहरूले भारतको सहयोगमा १० वर्षसम्म सशस्त्र सङ्घर्ष गरे । त्यस क्रममा १७ हजार मानिसको ज्यान गयो, सयौँ बेपत्ता र घाइते भए । राज्यको खरबौँको भौतिक सम्पत्ति ध्वस्त भए । २०६२।६३ को संयुक्त जनआन्दोलनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै ५० प्रतिशत स्थान माओवादीले जिते । तर, सरकारको नेतृत्व पनि गरे । कम्युनिस्ट पार्टीको आचरण भने देखाउन सकेनन् ।
पार्टी सरकारमा जाने भन्नुको अर्थ घोषणापत्र कार्यान्वयन गर्नु हो । माओवादीले सशस्त्र सङ्घर्षको क्रममा जनतालाई जुन सपना देखाएका थिए, त्यो अनुसार काम नगरेका मात्रै होइनन् चुनावी घोषणापत्र कार्यान्वयनलाई पनि ध्यान दिएनन् । माओवादीलाई आफ्नो सही पहिचान देखाउने त्यो सुवर्ण अवसर थियो तर त्यसको सदुपयोग गर्न सकेन । माओवादी पनि विगतको एमालेकै पदचापमा हिँडे । पाइला पाइलामा व्यक्तिगत र दलगत स्वार्थलाई प्राथमिकतामा राखेर काम गरे । माओवादी पार्टीले केही गर्छ कि भनी आशा र विश्वासले मत दिएका जनतालाई उनीहरूले धोका र विश्वासघात गरे ।
माओवादी यो दुई दशकको संसदीय अभ्यासमा सिद्धान्तच्युत, संशोधनवादी, अवसरवादी र एक पुँजीवादी पार्टीमा रुपान्तरण भयो । चुनाव जित्नकै लागि वर्ग दुश्मन मानिएको नेकासँग संयुक्त भएर चुनाव लड्ने, प्रधाानमन्त्री नपाउने भएपछि त्यसलाई छोडेर सरकार गठन गर्न एमालेसँग मिल्ने र राष्ट्रपति निर्वाचनमा फेरि नेकासँग मिल्ने जस्ता माओवादीले चरम अवसरवादी चरित्र प्रदर्शन गरे । माओवादीको व्यवहार अन्य पुँजीवादी पार्टीहरूलाई पनि माथ गर्ने खालको थियो । व्यवहारको कसीमा घोटेर हेर्ने हो भने अहिले माओवादीलाई कम्युनिस्ट भन्नु कम्युनिस्ट शब्दकै अपमान हुनेछ ।
माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीले पनि आफूलाई कम्युनिस्ट पार्टीको दाबी गर्छ । नेपाल यसअघि नै पटक पटक एमालेको महासचिव भएर काम गरेका नेता हुन् । उनले एमाले महासचिव छँदै पटक पटक जनआन्दोलनलाई धोका दिने, पदको निम्ति जस्तोसुकै अनैतिक काम गर्नेजस्ता चरित्र प्रदर्शन गरेका थिए । राजाको शासन कालमा ‘प्रतिगमन आधा सच्चियो’ भनी दरबारभित्र छिर्नेदेखि विचारभन्दा मतसङ्ख्यालाई प्रधानता दिने ३ प्रतिशत मतलाई मापदण्ड तोकेर राष्ट्रिय पार्टीको परिभाषित गर्ने अप्रजातान्त्रिक काममा पनि उनको हात छ । कम्युनिस्ट पार्टीको नाउँमा अरू सच्चा कम्युनिस्टहरूको अस्तित्व समाप्त पार्न खोज्नेमध्येका एक हुन् नेपाल । अहिले ३ प्रतिशत मत मापदण्डको उनी आफै सिकार बनेका छन् । उनी पटक पटक प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भए तर समाजवादी नीतिअनुसार कुनै काम गरेनन् । पछिल्लो चरणमा एमालेसँग छुटिनुको कारण पनि पदीय भागबन्डा नै हो । एकीकृत समाजवादी पार्टी नेकासँग मिलेर संसद्, प्रदेश र स्थानीय चुनाव लड्यो । उसले आफ्नो बलले भन्दा पनि नेकाको सहयोगले संसद्, प्रदेश र स्थानीय पालिकामा केही स्थान जित हासिल ग¥यो । नेकाको लौरो हट्नासाथ एकीकृत समाजवादी पार्टीको वास्तविक आकार स्पष्ट हुनेछ । नेकालाई परम मित्र मानेर काम गर्ने एकीकृत समाजवादीलाई पनि ‘कम्युनिस्ट’ पार्टी मान्नु भ्रम मात्र हो । पार्टी एकताको लागि अन्तिम तयारीमा रहेका पार्टीहरूमध्ये विप्लव नेतृत्वको नेकपाको भने परीक्षण हुन बाँकी छ । समय समयमा विप्लवले ‘एक वर्ष सरकार हामीलाई चलाउन देऊ हामी …. गर्छौं’ भन्ने जस्ता अभिव्यक्तिहरूले उनी पुँजीवादी सरकारमा जान हतारिएका देखिन्छन् । यो पुँजीवादी बनिबनाउ सरकारमा गएर कम्युनिस्टहरूले केही सुधारका कामबाहेक आमूल परिवर्तन सम्भव छैन भने कुरा एमाले र माओवादीको पतनबाट उनले बुझेकै हुनुपर्छ । शासन सत्ता परिवर्तन गर्ने भनेर गएकाहरू उनीहरू आफै परिवर्तन भए । विप्लव नेतृत्वको पार्टीले पनि गएको स्थानीय निर्वाचनमा भाग लिएको थियो । उनको पार्टीले पश्चिमका विभिन्न जिल्लाहरूमा स्वतन्त्र चुनाव चिह्न लिएर निर्वाचन लड्यो । प्युठानमा केही वडाहरूमा जितेको देखिन्छ । अरुसँग पार्टी एकता गरेरै भए पनि चुनाव जितेर एकपटक मन्त्री बन्ने विप्लवको प्रमुख उद्देश्य देखिन्छ । जुन कम्युनिस्ट पार्टीको चरित्रभन्दा बिलकुल उल्टो छ ।
महेन्द्र राय यादव नेतृत्वको समाजवादी पार्टीको के कुरा गर्ने ? उनी मन्त्री हुँदा ‘पेस्की मन्त्रीको’ नाउँले बदनाम पात्र हुन् । योजना स्वीकृत गर्नपूर्व मन्त्रीलाई पेस्की बुझाउनुपर्ने अघोषित ‘नियम’ बनाएका उनी मन्त्रीहरूमध्ये पनि बदनाम मन्त्री हुन् । पदकै निम्ति उनी कहिले एमाले, कहिले उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा त कहिले आफ्नो नेतृत्वमा रहेका समाजवादी पार्टीमा पुगेका छन् ।
एकता किन र केका लागि ?
‘सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो’ भन्ने भनाइ नै छ । सिद्धान्तबिनाको एकताले सङ्ख्यात्मक रूपमा पार्टी ठुलो बन्न सक्छ तर विचार र सिद्धान्तको आधारमा कमजोर हुन पुग्छ । केही वर्षअघि एमाले र माओवादीबिच पार्टी एकता भयो । त्यो सिद्धान्त र विचारको आधारमा भएको थिएन । संसद्को सबभन्दा ठुलो दल बनाउने र लामो समयसम्म सरकार चलाउने एउटै उद्देश्य त्यतिबेलाका एमाले र माओवादीका नेताहरूको थियो । त्यो एकले अर्कोलाई सिध्याउने खेल पनि थियो । त्यसैले त्यो विचारको एकता नभई स्वार्थको एकता थियो । स्वार्थ पूरा नहुने देखिएपछि फेरि पार्टी अलग अलग भए । त्यो हुनु नै थियो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन ।
कम्युनिस्ट पार्टीहरू पद र पैसा कमाउन र नेता बन्न गठन गरेका हुँदैनन् । बरु इमानदारीपूर्वक देश र जनताको सेवा गर्न गठन गरेका हुन्छन् । पञ्चायती व्यवस्थाको अन्त्य गरी जनतालाई मौलिक र राजनैतिक अधिकार प्रदान गर्नु त्यतिबेला कम्युनिस्ट पार्टीको कार्यभार थियो भने अहिले पुँजीवादविरुद्ध बिनासर्त सङ्घर्ष गर्नु, बाह्य साम्राज्यवादी र विस्तारवादी शक्ति सङ्घ निरन्तर सङ्घर्ष गरेर देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्नु आजको कार्यभार हो । पुँजीवादी व्यवस्थालाई जरैदेखि उखेलेर कामदारवर्गको शासन सत्ता समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य हुनुपर्छ । के अहिले कथित कम्युनिस्ट पार्टीहरूबिचको एकता त्यसको निम्ति भइरहेको छ ?
निर्वाचन जितेर पुँजीवादी सरकारमा गएर समाजमा आमूल परिवर्तन हुन्छ भनी सोच्नु गलत मात्रै होइन त्यो असम्भव रहेछ भने विश्व कम्युनिस्ट आन्दोलनले देखाएको छ । माओवादी, एकीकृत समाजवादी र महेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी पुँजीवादमा चुर्लुम्मै डुबिसकेका छन् । ती पार्टीबिचको एकताले देशमा केही हुन्छ भने सोच्नु ‘आकाशको फल’ जस्तै हुनेछ । स्वार्थको लागि जुटेकाहरू स्वार्थकै निम्ति फुट्छन् । ती पार्टीहरूबिच एकता भए पनि कम्युनिस्ट एकता होइन, संशोधनवादी र अवसरवादीहरूबिचको एकतामात्र हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *