आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
मध्ययुगीन जन/कम्युनदेखि सन् १८७१ को पेरिस कम्युनसम्म
आधुनिक युगको आरम्भसम्म युरोपका किसानी गाउँहरू परम्परागत भूमि अधिकारमै निर्भर थिए । साथै ती गाउँमा ससाना वस्तु उत्पादन पनि हुन्थ्यो । यसरी युरोपमा साधारण जनसमूहको घेराबन्दी र तिनका परम्परागत अधिकारको अन्त्यसँगै सामन्ती समाज पुँजीवादी समाजमा फेरियो । बेलायतमा यो सङ्क्रमण पन्ध्रौँ शताब्दीमा भएको थियो । यसरी एउटा आधुनिक सर्वहारा वर्गको निर्माण भयो । यो प्रक्रिया सयौँ वर्ष चलिरह्यो । साझा वा सामुदायिक सम्पत्ति सामन्तीलगायत अन्य तिरोमा आधारित पद्धतिमा पनि देखियो । यो सम्पत्ति (प्रकृति) दोहनको सामूहिक अधिकारसँग नङमासु थियो । उपभोग मूल्य र विनिमयको गैर–माल (पुँजीवाद इतर) स्वरूपसँग यो सम्पत्तिले तादात्म्य राख्थ्यो । मालमा आधारित अर्थतन्त्रमा निजी सम्पत्ति अरूलाई हस्तान्तरण गर्न मिल्छ । तर, सामुदायिक सम्पत्तिलाई त्यसो गर्न मिल्दैन । त्यसैले यो समुदाय विशेषको परम्परागत अधिकारमा निर्भर रहन्छ । इतिहासकार पिटर लाइनबफले लेखेका छन्, “साझा अधिकार विशेष पर्यावरण र त्यसको स्थानीय कृषि प्रणालीसँग अभिन्न हुन्छ ।” मध्ययुगीन समाजमा कृषक समुदायहरूसँग भूमि/प्रकृतिको दोहन गर्ने परम्परागत अधिकार थियो । त्यसले भूमिमाथि सामन्ती शासकहरूको अधिकारमा सीमा लगाउँथ्यो ।
मध्ययुगताक बेलायतमा पाइने साझा सम्पत्तिमा प्रायः वनजङ्गल, सीमसार तथा पशु चराउन र अन्य प्राकृतिक संसाधनका लागि उपयोग गरिने खेती नगरिएका घाँसे मैदानहरू पर्थे । तर, साझा सम्पत्तिको अर्थ यति साँघुरो थिएन । गाउँ–नगरवरपर पाइने साझा खेतबारी पनि साझा सम्पत्तिमै पर्थे । ती खेतमा सामूहिक जोतभोग गरिन्थ्यो । सबैभन्दा उब्जाउ जमिनमा सबै गाउँलेको समान पहुँच सुनिश्चित गर्न जमिनलाई समान रूपमा बाँडिन्थ्यो ।
माक्र्सले ‘पुँजी’’ लगायत आफ्ना रचनामा साझा सम्पत्तिको घेराबन्दीबारे बारम्बार उल्लेख गर्नुभयो । पुँजीवादको विकासमा साझा सम्पत्तिको घेराबन्दीलाई अत्यन्त महत्वपूर्ण मान्नुभयो । ती सम्पत्ति हडप्न अपनाइएका क्रूर उपायहरूको आलोचना गर्दै माक्र्सले लेख्नुभयो, “राजनीतिक अर्थशास्त्रका विज्ञहरू पुँजीवादी उत्पादन प्रणालीको जग हाल्नका लागि गरिएको तथाकथित ‘सम्पत्तिको पवित्र अधिकार’ को सबैभन्दा घिनलाग्दो उल्लङ्घन तथा जनसाधारणविरोधी जघन्य हिंसालाई आनन्दसाथ हेर्छन् ।”
कम्युनेली समाजको अवधारणा सदैव समाजको राजनीतिक शक्ति–संरचना र सम्पत्ति÷उत्पादनसँग जोडिँदै आएको छ । यसले सधैँ कम्युनेली शासनमा जोड दियो । मध्ययुगको अन्त्यतिर खासगरी उत्तर इटली र फ्लान्डर्समा सहरी कम्युन वा स्वशासित नगरहरू देखापरे । समान स्तरका (प्रायः धनीमानी) नागरिकहरूले सँगै मिलेर बस्ने शपथ लिएर सामन्ती उचनीचको अवधारणालाई चुनौती दिँदै यी नगर बसाल्थे । मध्ययुगमा सहरी कम्युनहरू गिल्डको जगमा बनेका थिए । यिनले व्यापारिक कुलीनतन्त्रको रूप लिए । यी कम्युन नै पुँजीपति वर्गका जन्मस्थल बने । सामन्ती युगमा पुँजीपति वर्ग शिशु अवस्थामै थियो । तैपनि, त्यसले सहरी कम्युनको काल्पनिक अवधारणा जन्मायो । (फ्रान्सेली राज्य क्रान्तिको बेला) सन् १७८९ मा बेस्टिलको आक्रमणपछि पेरिस सहरमा बनेको सरकारलाई पेरिस कम्युन भनियो । पुँजीवादी क्रान्तिबाट जन्मेको यही प्रारम्भिक पेरिस कम्युनको सम्झनामा पछि सन् १८७१ मा क्रान्तिकारी श्रमिकहरूले आफ्नो समाजको नाम पेरिस कम्युन राखेका थिए । फ्रान्स–प्रसिया युद्धको बेला छोटो समयका लागि सन् १८७१ मा स्थापित पेरिस कम्युन मध्ययुगीन कम्युनहरू र सन् १७८९ को पेरिसको कम्युनभन्दा नितान्त भिन्न थियो । माक्र्सले (सन् १८७१ को) पेरिस कम्युनले नयाँ राज्यसत्ताको निर्माण गरेको नभई राज्यसत्तालाई नै निषेध गरेको बताउनुभयो । यस अर्थमा पेरिस कम्युनले राज्य र नागरिक समाजको अलग अस्तित्वलाई अस्वीकार ग¥यो । साँचो अर्थमा यो उन्नाइसौँ शताब्दीको क्रान्तिकारी श्रमिक वर्गले निर्माण गरेको सहरिया कम्युनेली व्यवस्था थियो । बहत्तर दिनपछि फ्रान्सको राज्यसत्ताले कम्युनार्डहरूको नरसंहार गरी त्यो कम्युन नष्ट गरेको थियो ।
माक्र्सको नजरमा पेरिस कम्युन एउटा नयाँ कम्युनेली राजनीतिक शक्ति संरचना थियो । पुँजीवादी राज्यमा सत्ता समाजभन्दा माथि रहन्छ । पेरिस कम्युनले त्यो परिपाटी भत्काएर राज्यले गर्ने काम जारी राख्यो । पुँजीवादी व्यवस्थाबाटै जन्मेको हुनाले त्यसमा पुँजीवादको असर रहिरह्यो । सबै पुरुषलाई मताधिकार दिइयो । निर्वाचित अधिकारीहरूलाई सामान्य मजदुरकै ज्याला बराबर तलब दिइयो । जनादेशअनुसार काम नगर्ने अधिकारीहरूलाई तुरुन्तै फिर्ता बोलाउने अधिकार सुनिश्चित गरिाये । पेरिस कम्युनले मृत्युदण्ड, बालश्रम र अनिवार्य सैनिक भर्तीको बन्दोवस्त खारेज ग¥यो । त्यसले जनताको ऋण मिनाहा ग¥यो । कारखाना सञ्चालन गर्न मजदुरहरूलाई सहकारी समाजहरूमा सङ्गठित गरियो र ती सहकारीलाई विशाल युनियनमा समेट्ने योजना थियो । महिलाहरूको युनियन गठन गरियो । सबैलाई धर्मनिरपेक्ष शिक्षा प्रणालीको बन्दोवस्त भयो । माक्र्सले ‘फ्रान्समा गृहयुद्ध’ (सन् १८७१) मा लेख्नुभयो, “(पेरिस) कम्युनले त्यो वर्गीय सम्पत्तिको उन्मूलन गर्न चाह्यो जसले बहुमत जनताको श्रमलाई मुठ्ठीभर मानिसको बनाउँछ । यसले शोषकहरूको दोहन/शोषण हटाउने लक्ष्य राख्यो । यसले उत्पादनका साधन, भूमि र पुँजीलाई रूपान्तरण गरी व्यक्तिगत सम्पत्तिलाई सत्य बनाउन चाह्यो । आज यी साधनश्रमलाई दास तुल्याउने र शोषण गर्ने माध्यम बनेका छन् । कम्युनले तिनलाई स्वतन्त्र र सामूहिक श्रमको औजार बनाउन चाह्यो । यही हो साम्यवाद, त्यो ‘असम्भव’ साम्यवाद !… (वास्तवमा) सहकारी उत्पादनलाई झुटो र धोका नबनाउने हो भने त्यसले पुँजीवादी व्यवस्थालाई विस्थापित गर्ने हो भने, एकताबद्ध सहकारी समाजहरूले एक साझा योजनाअन्तर्गत राष्ट्रिय उत्पादनलाई नियमन गर्ने हो र त्यो उत्पादनलाई आफ्नो नियन्त्रणमा राख्नुका साथै पुँजीवादी उत्पादनको अन्तिम नियति मानिनेझैँ बनेको अविरल अराजकता र आवधिक सङ्कटहरूको नामनिसान मेटाउने हो भने साम्यवाद वा भनौँ ‘सम्भव’ साम्यवाद बाहेक अर्को के छ ?… यो कामदार वर्गलाई समाजको अगुवाइ गर्न सक्ने एकमात्र वर्गको रूपमा स्वीकार गरिएको पहिलो क्रान्ति हो ।… कम्युनको सबैभन्दा ठूलो पाइला स्वयम् त्यसको क्रियाशील अस्तित्व थियो । त्यसका विशिष्ट कार्यलाई जनताद्वारा जनताको शासन मात्र भन्न सकिन्छ । यो कामदार वर्गको निकायले अर्को पाइला थाल्यो – सबै बन्द कलकारखाना श्रमिक सङ्घलाई सुम्पियो । कारखाना मालिकहरू भागेका वा कामबन्दीमा गएको भए पनि तिनलाई क्षतिपूर्ति दिने तय गरियो । सोही सर्तमा कारखाना मजदुरलाई सुम्पिएको थियो ।”
पेरिस कम्युनका कमजोरीहरू पनि थिए । माक्र्सको बुझाइमा त्यति हुँदाहुँदै पनि कम्युनले श्रमजीवी वर्गको गणतन्त्रमा राज्यसत्तालाई नागरिक समाजभन्दा माथि राख्न आवश्यक नरहेको पुष्टि ग¥यो । त्यहाँ पुँजीवादी नागरिक समाजको उन्मूलन गरियो । पेरिस कम्युन सहरी कम्युन थियो । त्यसले श्रमजीवी वर्गको गणराज्यको एउटा झलक दियो । त्यो राज्य साझा योजनासहितको सामूहिक उत्पादन तथा प्रजातान्त्रिक सामाजिक शासनमा आधारित थियो । यसकारण, पूर्ण साम्यवादी समाजतर्फ सङ्क्रमणको सुरुआती पाइला थियो त्यो । “कम्युनको संविधानले समाजको स्वतन्त्र गतिलाई अवरुद्ध पार्न राज्य नामक परजीवीले समाजको शरीरबाट चुसेको सबै तागत पुनः स्थापित गर्ने थियो ।”
कम्युनेली समाजको निर्माणसम्बन्धी यो समग्र तस्बिरलाई पेरिस कम्युनको अनुभवले अझ गाढा बनाइदियो । यो कुरा माक्र्सले सन् १८७५ मा लेख्नुभएको ‘गोथा कार्यक्रमको आलोचना’ मा प्रतिविम्बित भयो । माक्र्सको दृष्टिमा सन् १८७१ को पेरिस कम्युनले ‘सर्वहारा वर्गको क्रान्तिकारी हुकुम’ कस्तो हुन्छ भनी देखाइदियो । त्यो हुकुमले पुँजीको वर्गीय तानाशाहीलाई उखेल्ने माक्र्सको बुझाइ थियो । त्यो हुकुम समाजवाद÷साम्यवादतर्फ सङ्क्रमणमा एउटा नयाँ र अझ प्रजातान्त्रिक व्यवस्था थियो । माक्र्स र एँगेल्सले देखेको एउटा पूर्ण विकसित साम्यवादमा समाजभन्दा माथि कुनै सर्वशक्तिमान राजसत्ता रहँदैन । राजनीतिक शक्ति संरचना बहुमत जनताको हातमा हस्तान्तरण हुँदै गर्दा राजसत्ता ‘ओइलाउँदै जान्छ’ । एँगेल्सको भाषामा राजसत्तालाई ‘समुदाय÷कम्युन’ ले विस्थापित गर्छ । पुँजीवादी अर्थमा त्यहाँ कुनै नागरिक समाज रहन्न । अर्थतन्त्र साझा योजनामा अघि बढ्छ । त्यसको निर्णय सम्बद्ध उत्पादकहरूले पहिले नै लिन्छन्, (पुँजीवादमा जस्तो) बजारले पछि लिँदैन । रचनात्मक श्रम ‘जीवनको प्राथमिक आवश्यकता’ बन्छ । यसले गर्दा ‘सबैको स्वतन्त्र विकास’ नै ‘प्रत्येकको स्वतन्त्र विकास’ को आधार बन्छ । अर्थतन्त्रको समग्र संरचना ‘उत्पादनका साधनमाथि साझा स्वामित्वमा आधारित सहकारी समाज’ को जस्तो बन्छ । त्यो अर्थतन्त्र ‘प्रत्येकबाट उसको योग्यताअनुसार र प्रत्येकलाई उसको आवश्यकता अनुसार’ को सिद्धान्तमा आधारित हुन्छ । “उत्पादनका साधनमाथि साझा स्वामित्वमा आधारित सहकारी समाजमा उत्पादकहरूले आफ्ना उत्पादन साटासाट गर्दैनन् । अबदेखि पुँजीवादी समाजभन्दा विपरीत व्यक्तिगत श्रम परोक्ष ढङ्गले अस्तित्वमा रहन्न बरु प्रत्यक्ष रूपमा कूल श्रमको एक भागको रूपमा रहन्छ ।” त्यो समाजमा ‘विद्यालय, स्वास्थ्य सेवालगायत क्षेत्रबाट आवश्यकताको सामुदायिक पूर्ति’ गर्ने परिपाटीमा तीव्रता आउँछ । त्यस्तै सांस्कृतिक विकासको क्षेत्रमा ठूलो फड्को मारिन्छ । ‘जीवनको स्रोतहरू’ (वा भनौँ भूमि÷प्रकृति) लाई सबैको कल्याणको लागि साझा सम्पत्ति बनाइन्छ ।
उत्पादनको समग्र चरित्रको सार खिच्दै माक्र्सले ‘पुँजी’ मा लेख्नुभयो, “(प्राकृतिक आवश्यकताले तय गर्ने) यो परिधिभित्र मात्रै स्वतन्त्रता टिक्न सक्छ । त्यसले मान्छेलाई सामाजिक र सम्बद्ध उत्पादक बनाउँछ । त्यसले प्रकृतिसँग मान्छेको ऊर्जा आदानप्रदान (मेटाबोलिज्म) मा तार्किक ढङ्गले लगाम लगाउँछ । सकेसम्म कम ऊर्जा खपत गरी यो प्रक्रिया टुङ्ग्याइन्छ ।” यसले मान्छेको दिगो विकासलाई प्रवद्र्धन गर्छ । मानव जाति र प्रकृतिबिच हुने अलगावपूर्ण सामाजिक आदानप्रदान (मेटाबोलिज्म) को समस्याबाट पार पाइनेछ । माक्र्सले आफ्नो रचना ‘आर्थिक र दार्शनिक पाण्डुलिपि’ मा औँल्याउनुभएको थियो, “पूर्ण विकसित प्रकृतिवादको रूपमा साम्यवाद मानवतावाद हो । पूर्ण विकसित मानवतावादको रूपमा साम्यवाद प्रकृतिवाद हो । साम्यवाद मान्छे र प्रकृतिबिच हुने द्वन्द्वको साँचो समाधान हो ।”
जातीय अध्ययनमा क्रान्ति
सन् १८५९ मा चाल्र्स डार्विनको ‘प्रजातिको उत्पत्ति’ प्रकाशित भयो । इतिहासमै पहिलोपल्ट यसले प्राकृतिक उद्विकासको बलियो सिद्धान्त दियो । यही समयतिर ‘जातीय अध्ययनमा क्रान्ति’ आएको थियो । खासगरी दक्षिण–पश्चिम बेलायतका ब्रिक्सहाम गुफामा आदिम मानवको हाडखोर भेटिएपछि त्यो ‘क्रान्ति’ सुरु भयो । ब्रिक्सहाम गुफाको खोजले पृथ्वीमा मानव बसोबासको अवधि हजारौँ शताब्दी लम्बियो । यसअघि पनि मानव अवशेष भेटिएका थिए । कहिलेकाही ती हाडखोरसँगै आदिम औजारका अवशेष पनि भेटिन्थे । सन् १८५६ मा जर्मनीको नियन्डरथल उपत्यकामा नियन्डरथल मानवको पहिलो हाडखोर भेटिएको थियो । नियन्डरथलको खोजभन्दा उति अचम्मलाग्दो नभए पनि ब्रिक्सहाम गुफाको अवशेष पत्ता लागेपछि ‘मानव जाति अति प्राचीन हो’ भन्ने कुरामा शङ्का रहेन ।
परिणामतः मानव जातिको उद्विकास र उद्भवका साथै प्रारम्भिक समाजको चरित्र तथा परिवार, राज्य र निजी सम्पत्तिको उद्भवबारे व्यापक खोजबिन सुरु भयो । यस्तो खोजबिन थोमस हक्सको ‘प्रकृतिमा मान्छेको स्थानका प्रमाणहरू’ (सन् १८६३), चाल्र्स लेइलको ‘मान्छेको प्राचीनताबारे भौगर्भिक प्रमाणहरू’ (सन् १८६३), जोन लुब्बकको ‘इतिहासअघिको समय’ (सन् १८६४), हेनरी समनर माइनको ‘पूर्व र पश्चिममा ग्रामीण समुदायहरू’ (सन् १८७१), लेविस हेनरी मोर्गनको ‘प्राचीन समाज’ (सन् १८७७) र जोन बड फियरको ‘भारत र सिलोनमा आर्य गाउँ’ (सन् १८८०) जस्ता पुस्तकमा पाइन्छ । जर्मनीमा जर्ज लुडविग भोन मौरेरले आफ्नो अनुसन्धान अगाडि बढाए । सन् १८५४ मा जर्मन मार्क प्रथाबारे उनले एउटा ग्रन्थ लेखेर यो काम थालेका थिए । पुस्तकको नाम थियो – मार्क, ग्रामीण तथा नागर विधान एवम् जनसत्ताको ऐतिहासिक परिचय ।
सन् १८८०–१८८२ मा माक्र्सले मोर्गन, फियर, माइन र लुब्बकका रचनाबाट शृङ्खलाबद्ध रूपमा उद्दरण निकाल्नुभयो । त्यसलाई ‘जातीय नोटबुक’ भनिन्छ । त्यो भन्दा एक वर्षअघि उहाँले युवा रुसी समाजशास्त्री म्याक्सिम कोभालेभ्स्कीका जातीय अध्ययनसम्बन्धी रचनाबाट विस्तृत टिपोट बनाउनुभएको थियो । कोभालेभ्स्कीको पुस्तक ‘सामुदायिक भूस्वामित्व ः यसको विघटनको कारण, विवरण तथा परिणाम’ मा भारत, अल्जेरिया र ल्याटिन अमेरिकाका कम्युनेली सम्बन्धहरूको विश्लेषण थियो । सन् १८८०–१८८१ मा विलियम बी मनीको पुस्तक ‘जाभा ः उपनिवेशको बन्दोबस्त कसरी मिलाउने ?’ (सन् १८६१) का धेरै अनुच्छेदबाट माक्र्सले टिपोट तयार गर्नुभएको थियो ।
जीवनको अन्त्यतिर जातीय अध्ययनमा माक्र्सको चासो बढेको थियो । यो कुरा जर्मन मार्क प्रथाबारे मौरेरले लेखेको रचनामा प्रतिक्रिया दिँदै माक्र्सले सन् १८६८ मा एँगेल्सलाई लेख्नुभएको पत्रबाट थाहा लाग्छ । मौरेरले आफ्नो रचनामा मार्क प्रथाका जराहरू पहिले सोचेभन्दा पनि अगाडि कम्युनेली समाजसम्म पुग्ने पुष्टि गरेका थिए । पत्रमा मौरेरलगायत अध्येताका जातीय अनुसन्धानले नजानिँदो ढङ्गमा ‘मध्ययुग छिचोलेर प्रत्येक राष्ट्रका आदिम युगतर्फ नियाल्नुपर्ने र त्यसमा समाजवादी सिलसिला पाइने’ तथ्य उजागर गरेको माक्र्सले औँल्याउनुभयो । मौरेर र उनी जस्ता (भाषाविद् एवम् सांस्कृतिक इतिहासकार याकोब ग्रिमलगायत) जातीय अध्येता त्यो सिलसिलाबारे सजग नभएको माक्र्सले टिप्पणी गर्नुभयो । उहाँले लेख्नुभयो, “तिनीहरू सबैभन्दा पुरानोमा सबैभन्दा नयाँ चीज भेट्दा चकित पर्छन् ।” अतीतका समतापूर्ण समुदायका अवशेष तथा बचेखुचेका कम्युनेली रूपहरूले द्वन्द्वात्मक तवरले भविष्यको विकसित कम्युनिस्ट समाजतर्फ औँल्याए ।
(जोन बेलमी फोस्टर ‘मन्थ्ली रिभ्यू’ पत्रिकाका सम्पादक हुनुहुन्छ । उहाँ संरा अमेरिकाको ओरेगन विश्वविद्यालयमा समाजशास्त्र अध्यापन गर्नुहुन्छ ।
स्रोत : मन्थ्ली रिभ्यू । सम्यक)
Leave a Reply