भर्खरै :

राजीनामा लगत्तै ओलीले काठमाडौँ छोडे

राजीनामा लगत्तै ओलीले काठमाडौँ छोडे

काठमाडौँ, २४ भदौ । जेन–जी आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका केपी ओली सेनाको हेलिकप्टर चढी काठमाडौँ छोडेका छन् ।
केपी शर्मा ओलीले राजीनामा दिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ ।
उनले मङ्गलबार दिउँसो मात्र राजीनामा दिएका थिए । राष्ट्रपतिबाट राजीनामा स्वीकृत भइसकेको छ ।
जेन जी समूहको आन्दोलनमा सरकारले अति बल प्रयोग गरेपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको थियो । सत्ता र प्रतिपक्षबाट समेत राजीनामा माग भएपछि ओलीले राजीनामा दिएका थिए ।
सबै पक्षलाई वार्तामा आउन राष्ट्रपतिको अपिल
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा आउन अपिल गरेका छन् ।
मङ्गलबार साँझ एक अपिल जारी गर्दै लोकतन्त्रमा नागरिकका माग जेन जीका प्रतिनिधिसमेत बसी पूरा गर्न सकिने भएकाले वार्तामा आउन सबै पक्षलाई उनले आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रधानन्त्रीको राजीनामा स्वीकृति भइसकेको भन्दै यो विषम परिस्थितिमा मुलुक र लोकतन्त्रलाई माया गर्ने सबैले समस्या समाधानको लागि सहयोग गर्ने अपेक्षा गरेका छन् ।
जेन–जी र देशवासीलाई संयमित हुन सेनाको आग्रह
नेपाली सेनाले पछिल्लो घटनाक्रमको विश्लेषण गरिरहेको उल्लेख गर्दै जेन जी आन्दोलनकारी र देशवासीलाई संयमित हुन आग्रह गरेको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले जारी गरेको विज्ञप्तिमा जेन जी आन्दोलनका विकसित घटनाक्रमहरू सेनाले विश्लेषण गरिरहेको उल्लेख गर्दै आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । शोकसन्तप्त परिवारप्रति सेनाले समवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
“नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ ।
यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ”, सेनाले भनेको छ ।
यसैबिच प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने भएका छन् ।
उनले जेनजी आन्दोलनपछिको घटनाक्रमबारे देशवासीलाई जानकारी गराउन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *