आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
सन्दर्भ : प्रजग कोरिया स्थापना दिवस (सेप्टेम्बर ९)
एकचोटि चाङ्ग वेई ह्वाले किम इल सङलाई सोध्नुभयो, “सोङ्ग जु, सामाजिक मर्यादामा (Social status) देखिने भिन्नता के सर्वोच्च शिखर सगरमाथाको उचात्mैँ ठुलो कुरो हो ?” किम इल सङले मित्रलाई भन्नुभयो, “हाम्रो मित्रता अनि क्रान्तिको बाटोमा सामाजिक मर्यादाको विभेदले केही फरक पर्दैन । तपाईँको बुबाले तपाईँलाई कतै जान अनुमति दिनु हुन्न किनभने बुबा तपाईँ घरबाट कतै टाढा गएको म पराउनु हुन्न ।” त्यसपछि चाङ्ग वेई ह्वाले भन्नुभयो, “सामाजिक मर्यादामा विभेदको कारणले गर्दा नै बुबाले मलाई नियन्त्रण गर्नुहुन्छ भने हाम्रो मित्रताको खातिर म आफै गरिब भइदिन्छु । म तपाईँको साथमै रहन्छु ।” यद्यपि, त्यस्तै त्यस्तै व्यावहारिक कारणले गर्दा चाङ्ग वेइ ह्वा किम इल सङको साथमा बस्न पाउनुभएन । फुसोङ्गको एउटा विद्यालयमा अध्यापन अनि फोटो खिच्ने व्यवसाय चलाउनु भई भित्रभित्रै हर किसिमबाट क्रान्तिलाई सघाउनु हुन्थ्यो । विभिन्न गतिविधि र लडाइँको बेला आर्थिक सङ्कट पर्दा उहाँले आर्थिक सहयोग गरिरहनुहुन्थ्यो । शत्रुमाथि हमला गरेर बन्दुक, राइफल कब्जा गर्न नमिल्ने अवस्थामा घरका मान्छेहरूलाई थाहै नदिइकन दर्जनका दर्जन बन्दुक र राइफल सेनालाई सुम्पिदिनुहुन्थ्यो । उहाँले लत्ता कपडाको व्यवस्था गरिदिनुहुन्थ्यो । यद्यपि, कतिपय कामरेडहरूलाई किम इल सङले चाङ्ग वेई ह्वासँग हेलमेल बढाउनुभएकोमा पटक्कै चित्त बुझेको थिएन । तिनीहरू धनी चाङ्ग वेई ह्वासँग सशङ्कित थिए । एकजना कामरेडले सेनापति किम इल सङलाई भनिहाल्यो, “कामरेड सेनापति, धनी मान्छेको छोरा चाङ्ग वेई ह्वालाई तपाईँले भेटघाट नगर्नु नै वेश होला कि ? तपाईँ के भन्नुहुन्छ भने चाङ्ग वेई ह्वा तपाईँको प्राथमिक विद्यालयदेखिको साथी र केही वर्षदेखिको सङ्गठनको सदस्य हो, जे भए पनि वर्गीय स्वभाव फेरिँदैन । जे भए पनि ऊ शोषकवर्गको सन्तान हो ।” उत्तिखेर किम इल सङले भन्नुभयो, “तिमी वर्गीय चरित्रबारे भयभित भई कुरा गर्दै छौँ, मानौँ म नराम्रो धापमा फसेको छु । तर, तिम्रो कुरा मेरा अमूल्य मित्र चाङ्ग वेई ह्वाको अपमान र संयुक्त मोर्चाको हाम्रो नीतिको अपमान हो ।” त्यस कामरेडले भन्यो, “कामरेड सेनापति, हामी स्थानीय सङ्गठनहरूमा काम गर्दा हामीलाई वर्गचरित्र फेरिँदैन, त्यसो भएकोले कुनै पनि हालतमा धनी मान्छेहरूसँग मेलमिलाप गरिनु हुँदैन भनी निर्देशन दिइन्थ्यो । त्यसो भएर हामी जमिनदार र किसान, पुँजीपति र मजदुरबिचको वर्गसङ्घर्षको सिद्धान्तलाई मात्र विश्वास गर्छौँ र शोषकवर्गबाट आएका कुनै पनि सदस्यलाई सङ्गठनबाट निकाला गर्ने नीतिलाई आत्मसात गर्छौँ ।” त्यसपछि किम इल सङले निकै गम्भीर भई सम्झाउनुभयो, “शोषकवर्गविरूद्धको सङ्घर्ष वास्तवमा पूर्णरूपले सही छ । जमिनदार र पुँजीपतिहरू वर्ग शत्रु हुन् भन्ने कुरोमा म सहमत छु । तर, यहाँहरूले मनमा एउटा कुरो के राख्नुपर्छ भने सबै जमिनदार र पुँजीपतिहरूलाई एउटै दृष्टिकोणले मात्र हेर्नु हुँदैन । तीमध्ये कोही जमिनदार र पुँजीपतिहरू देशको माया गर्छन् र जापानीहरूसँग भिड्छन् । ….. चाङ्ग वेई ह्वाले उनका निजी सेनाहरूले प्रयोग गर्ने दर्जनका दर्जन राइफल मलाई उपहार दिए । यहाँहरू सबैलाई थाहा भएकै कुरा हो एउटा राइफल पाउनको निम्ति हामीले कतिको मूल्य चुकाउनु पर्यो । एउटा राइफल कब्जा गर्न थुप्रै कामरेडहरूले बलिदान गर्नु परेको थियो । हामीले एउटा राइफलको निम्ति ज्यानको बाजी लगाउनुपर्ने बेलामा “जे भए पनि चाङ्ग वेई ह्वाले हामीलाई ४० ओटा राइफल दिए । तब, हामीले चाङ्ग वेई ह्वालाई किन विश्वास गर्न नसक्ने………” सेनापति किम इल सङले चाङ्ग वेई ह्वाजस्ता अरू पनि देशभक्त र विशाल हृदयका कामरेडहरूको उदाहरण दिएर कामरेडहरूको गलत उग्र–क्रान्तिकारी धारणालाई हटाई दिनुभयो ।
चाङ्ग वेई ह्वा भूमिगत कार्यमा व्यस्त हुँदा पक्राउ पर्नुभयो । फुसोङ्ग गुरिल्ला क्षेत्रको सदरमुकाम र अन्य गुरिल्ला कारबाहीको भेद खोल्न लगाउन उहाँलाई निर्मम यातना दिइयो । गुरिल्ला क्षेत्रको मुख्य प्रधान सैनिक कार्यालय ध्वस्त गर्ने शत्रुको लक्ष्य थियो । उहाँले चुपचाप यातनाको मुकाबिला गर्दै जानुभयो, तर गुरिल्ला क्षेत्रको सदरमुकाम र गुप्त लडाइँको योजनाको भेद खोल्नु भएन । उहाँले प्रहरीको आँखा छलेर “कोरियाली जनसेनाको प्रधान सैनिक कार्यालय र अखडा पत्ता लगाउन शत्रु जासुसहरू प्रस्थान गरिसकेका छन् । कृपया, सम्भव भएसम्म छिटो प्रधान सैनिक कार्यालय अन्त सारिहाल्नुहोस्” भन्ने व्यहोरा उल्लेखित पत्र किम इल सङलाई पठाउनुभयो । दिन पर दिन उहाँमाथि कठोरभन्दा कठोर यातना दिइँदै गयो । उहाँले आफू मरेर भए पनि किम इल सङको ज्यानको सुरक्षाको प्रत्याभूति गर्ने, जनरल किम इल सङसँगको विश्वास र मित्रताको मूल्यलाई प्रमाणित गर्ने र गुरिल्ला क्षेत्रलाई जोगाउने प्रण गरेको कुरो आफ्नी धर्मपत्नीलाई बताउनुभयो । उहाँले आफ्नै धर्मपत्नीको हातबाट फोटोको फिल्म धुन प्रयोग गरिने विषालु रसायनिक तत्व एक मात्रा प्राप्त गर्नुभयो । सन् १९३७ अक्टोबर २ को दिन उहाँले त्यो विषालु रसायनिक तत्वको एकमात्रा निलेर आत्म–बलिदान गर्नुभयो । त्यसबेला उहाँ २४ वर्षको मात्र हुनुहुन्थ्यो । महान् अन्तर्राष्ट्रवादी चाङ्ग वेई ह्वाको सम्झनामा किम इल सङ भन्ने गर्नुहुन्थ्यो, “न जीवन न मृत्यु नै सहज कुरो हो । आत्महत्या पनि सबैभन्दा कष्टपूर्ण मृत्युमध्ये एक हो । ….. मात्र व्यक्तिगत कारणले आत्महत्याको घटना थुप्रै भएको छ । चाङ्ग वेई ह्वाले जस्तै अरूको निम्ति आत्म–बलिदान गर्नेहरू यस संसारमा विरलै होलान् । चाङ्ग वेई ह्वाको यो आत्म–बलिदान वीरतापूर्ण र पवित्र छ । प्रेम र विज्ञानको कुनै राष्ट्रिय सीमा नभएझैँ चाङ्ग वेई ह्वा, नोभेचिन्को, चे गुएभारा र नर्मन बेथुनले प्रमाणित गर्नु भएजस्तै क्रान्तिकारीहरूको पनि कुनै राष्ट्रिय सीमा हुँदैन । चाङ्ग वेई ह्वा पनि विश्वको सामु एक महान् अन्तर्राष्ट्रवादी दृष्टान्त हुन् ।”
किम इल सङको नेतृत्वमा अनेकन् नागवेली कष्ट नै कष्टका बाटाहरू पार गर्दै कोरियाली क्रान्तिले अन्तमा सन् १९४५ अगस्त १५ को दिन जापानी साम्राज्यवादीहरूलाई परास्त गरी कोरियालाई मुक्त गर्यो । तर, अमेरिकी साम्राज्यवादी सेनाहरू कोरियाको दक्षिणी भागमा घुसे । सन् १९४५–१९५० को बिच जनताको माझमा जानु भई किम इल सङले चौतर्फी तीव्र समाजवादी निर्माणको नेतृत्व गर्नुभयो । त्यस क्रममा उहाँले सन् १९४५ अक्टोबर १० मा उत्तर कोरियाको कम्युनिस्ट पार्टीको केन्द्रीय सङ्गठन कमिटीको गठन गरी पार्टी स्थापनाको आजुलाई पूरा गर्नुभयो । सन् १९४६ फेब्रुअरी ८ मा प्रान्तीय जन सरकार, सन् १९४६ अगस्त २८ मा उत्तर कोरियाको मजदुर पार्टी, सन् १९४७ को फ्रेब्रुअरीमा कोरियामा पहिलो सर्वहारावर्गको सरकार स्थापना, सन् १९४८ फेब्रुअरी ८ मा कोरियाली क्रान्तिकारी जनसेनालाई नियमित सेना ‘कोरियाली जनसेना’ मा विकास गर्नुभयो । सन् १९४८ सेप्टेम्बर ९ मा ‘प्रजातान्त्रिक जन–गणतन्त्र कोरिया’ को स्थापनापछि उहाँ प्रजग कोरियाको राष्ट्रपति पदमा चुनिनुभयो ।
सन् १९५० देखि १९५३ को अमेरिकी साम्राज्यवादविरोधी महायुद्धमा राष्ट्रपति किम इल सङले कोरियाको जनसेना र जनतालाई शक्तिशाली नेतृत्व प्रदान गर्नुभयो र कोरियाली जनतालाई महान् विजय प्राप्त भयो । अमेरिकी साम्राज्यवादीहरूले बेइज्जतीपूर्ण हार भोग्नु पर्यो ।
कोरियाली जनताका राष्ट्रपति किम इल सङले महायुद्धको चरणपछि ३ दशक अनवरत समाजवादी निर्माणको साथसाथै कोरिया पुनः एकीकरण अभियान, विश्व कम्युनिस्ट आन्दोलनलाई सहयोग र साम्राज्यवादीहरूको नाकाबन्दी र युद्धको धम्कीविरूद्ध सङ्घर्ष गर्नुभयो ।
सन् १९९० अप्रिल २० को दिन प्योङयाङमा विश्वका विभिन्न देशका साम्राज्यवादविरोधी, प्रजातन्त्रवादी, कम्युनिस्ट र मजदुर पार्टीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा ‘प्योङयाङ घोषणापत्र’ जारी भयो । सोभियत सङ्घमा समाजवादको अस्थायी हार भएपछि पूर्वी युरोपमा पनि एकपछि अर्को समाजवादी व्यवस्थाको अस्थायी हार हुँदै जानुलाई साम्राज्यवादीहरूले समाजवाद मिथ्या हो भनी संसारभर होहल्ला मच्चाइरहेको बेला प्योङयाङ घोषणापत्रले विश्वभरि कम्युनिस्ट र समाजवादप्रति आस्थावान् जनताको मनोबललाई उठाइदियो । प्योङयाङ घोषणापत्र जारी गर्न प्रजग कोरियाले गरेको अगुवाइ कुनै पनि समाजवादी ठुलो र शक्ति राष्ट्रको भूमिका र साहसभन्दा कम थिएन ।
जीवनभर नथाकिन समाजवाद र साम्यवादको निम्ति, कोरिया पुनः एकीकरणको निम्ति, साम्राज्यवादको विरोधमा रातदिन लाग्दालाग्दै वि.सं. २०५१ साल असार २४ गते ८३ वर्षको उमेरमा महान् नेता किम इल सङ अचानक बित्नुभयो । उहाँको देहावसानको शोक समाचारले प्रगतिशील संसार दुःखको सागरमा डुब्यो ।
समाप्त
स्रोत – का. किम इल सङ : हाम्रो सम्झनामा
Leave a Reply