भर्खरै :

कफ्र्यु जारी गर्दै सेना परिचालन

कफ्र्यु जारी गर्दै सेना परिचालन

काठमाडौँ, २५ भदौ । सरकारको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो अझै लागेको छैन । नयाँ सरकार नबन्नेसम्म देशमा अन्योल छाइरहन्छ । अन्योल भएसम्म कस्तो सरकार आउने हो, आउने सरकारले देशको नेतृत्व सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न होटेल, पसल, सडक, बजार र चोक चोकमा उठिरहेको छ । आन्दोलन दबाउन बल प्रयोग गर्ने सुरक्षाकर्मी, सुरक्षाकर्मीलाई आदेश दिने गृहमन्त्री या सरकार तथा आन्दोलनकारीले पु¥याएको क्षतिबारे राजनीतिक विश्लेषक, बुद्धिजीवी, लेखकहरू समीक्षा गर्दै छन् या सिंहावलोकन गर्दै छन् । क्षति भएको सरकारी भवन या कार्यालय कहिले कसले बनाउने हो ? सिंहदरबार, सर्वोच्च अदालतजस्ता सरकारी भवनमा तोडफोड र आगजनी गर्नु ठीक या बेठीक भन्ने प्रश्न पनि उठिरहेको छ । देशका महत्वपूर्ण सरकारी भवन र कार्यालयमा आगो लागेपछि आगो नियन्त्रण गर्न किन पहल गरिएन भन्ने प्रश्न पनि उठ्यो । सर्वाेच्च अदालतमा बाहेक आगलागी भएको दोस्रो दिनसम्म पनि आगो नियन्त्रण गर्नेतर्फ पहल गरिएन ।
अहिले कारागारभित्र अर्को आन्दोलन सुरू भयो । तर, त्यो आन्दोलन जेन जीको भन्दा पनि कारागारभित्रका कैदीहरूको आन्दोलन हो । कारागारभित्र पनि आगो दन्क्यो । केन्द्रीय कारागारका कैदीहरू सबै निस्के । त्यस्तै अरू कारागारभित्र पनि तोडफोड र झगडा भयो । कैदी र प्रहरीबिच हानाहान भयो । प्रहरी प्रशासनले नियन्त्रण गर्न नसकेपछि देशभरिबाट १३ हजारभन्दा बढी कैदीहरू कारागार छोडेको सञ्चारमाध्यमले जनाएको छ । कति कारागारमा कैदीहरू शून्य भए । कारागारमा राजनीतिक बन्दीदेखि चोर, डाका, ज्यानमारादेखि अन्य आपराधिक व्यक्तिहरू रहेका हुन्छन् । यस्ता अपराधीहरू छोड्ने जेन जीको उद्देश्य होइन । तर, कैदीहरूले आन्दोलनको फाइदा उठाएका छन् । त्यसरी नै आन्दोलनको नाउँमा अन्य अपराधीहरूले पनि फाइदा उठाउनेतर्फ सबै सचेत हुनुपर्छ ।
देशको विषम परिस्थितिको ख्याल गरी सेना परिचालन भएको छ । शान्ति र सुरक्षाको निम्ति सेना परिचालन भएको स्रोतको भनाइ छ । उपत्यकाभरि साँझपखदेखि कफ्र्यु जारी गरिएको छ । सडकको दायाँ बायाँको पसल बन्द गर्न, मानिस जम्मा भएर नबस्न र बाहिर निस्कनै पर्ने काममा मात्र बाहिर आउन सेनाले माइकिङ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *