समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२

आजका बालबालिकामा देखिने कतिपय व्यवहारले परिवार र समाज दुवैमा चिन्ता उत्पन्न गरेको छ । धेरै घरपरिवारका छोराछोरी बाबुआमासँगै बसेर खाना खान पनि मन पराउँनैनन् । बाबुआमाले सुनाएका आफ्ना पालामा भोगेका दुःखकष्टका कथाव्यथा सुन्न चाहँदैनन् । भान्सामा बनाएको खाना मीठो लाग्दैन, जङ्कफुडमा लत बसेको छ । जिज्ञासु, जाँगरिलो र फूर्तिलो उमेरका कारण, बाबुआमालाई सरसफाइको काममा मद्दत गर्न र सफासुग्घर बन्न सिकाउनुपर्नेमा उनीहरू आफूले खाएको थालकचौरासमेत सफा गर्न भ्याउँदैनन् । आफ्नो कोठामा भएको धुलोमैलोको वास्ता गर्दैनन् । उनीहरूमध्ये कतिलाई कुनै पनि तरकारी मन पर्दैन । केही भन्यो, सल्लाह सुझाव दियो भने झर्किन्छन् । यस्ता प्रवृत्तिहरू सामान्य भए पनि तिनले दीर्घकालीन रूपमा परिवार र हाम्रो सामाजिक चरित्रलाई चुनौती दिन सक्छन् ।
यस्ता समस्या उत्पन्न हुनुका पछाडि धेरै कारणहरू छन् । आधुनिक जीवनशैलीले आमाबाबुलाई यति व्यस्त बनाएको छ कि उनीहरू बच्चासँग बस्न, संवाद गर्न र जीवनका मूल्यबारे सिकाउन समय नै पाउँदैनन् । अधिकांश सहरी बालबालिकाले शारीरिक श्रम गर्ने अवसर नपाउँदा उनीहरू जिम्मेवारी र अनुशासन सिक्नबाट वञ्चित हुन्छन् । प्रविधि र बजार संस्कृतिले बालबालिकालाई सजिलो मनोरञ्जन र आकर्षक खानेकुरामा तान्दै आएको छ । मोबाइल, इन्टरनेट, टेलिभिजन र विज्ञापनले उनीहरूको रुचि बाह्य आकर्षणतर्फ स्वाट्टै मोडिदिएको छ ।
आजका बालबालिकामा नैतिक शिक्षाको कमी विशेष उल्लेखनीय छ । त्यस किसिमका कथा कविता सुन्ने सुनाउने बानी र वातावरण नै छैन । मनशान्तिका लागि बिहानै उठेर कुनै स्तोत्र पढ्ने, ध्यान/प्राणायाम गर्ने/गराउने चलन पनि छैन । बालबालिकाले विद्यालयमा किताबको ज्ञान त पाउँछन्, तर जीवनका मानवीय मूल्य, इमानदारी, अनुशासन र जिम्मेवारीबोध सिक्ने अवसर कम पाइरहेका छन् । विद्यालयमा नैतिक शिक्षा पढाइए पनि व्यवहारमा उतार्ने वातावरण नबन्दा उनीहरूले ‘के गर्नुपर्छ, के नगर्नु’ भन्ने कुरा राम्ररी बुझ्न सकेका छैनन् । घरमा पनि अभिभावकको व्यस्तताका कारण मानवीय मूल्य र संस्कारबारे संवाद कम हुने हुँदा उनीहरूको आत्मानुशासन कमजोर भएको छ ।
तर, सुधार असम्भव छैन । यसका लागि केही व्यावहारिक उपायहरू अवलम्बन गर्न सकिन्छ । सबै जना बिहान उठेर केही समय भए पनि सँगै बसेर ध्यान/प्राणायाम गर्ने, हप्ताको एक दिन भए पनि पारिवारिक सदस्य भएर नजिककै मन्दिर जाने गर्नु राम्रो हुन्छ । परिवारसँगै खाने संस्कार पुनः जीवित गर्न सकिन्छ । दिनको कम्तीमा एकपटक परिवारसँगै खाना खाँदा आपसी आत्मीयता बढ्छ र बच्चामा परिवारप्रतिको सम्मान उत्पन्न हुन्छ । सकारात्मक अनुशासन अपनाउनु आवश्यक छ । कठोर दण्ड वा गालीले होइन, प्रेम र धैर्यका साथ सम्झाउँदा बालबालिका ज्ञानी र आज्ञाकारी बन्छन् । उनीहरूलाई आफ्नो जिम्मेवारी नचाहिँदो बोझ होइन, कर्तव्य महसुस हुन थाल्छ ।
आजका बालबालिकालाई जबरजस्ती होइन, खेल र रमाइलो गतिविधिबाट सिकाउने अभ्यास प्रभावकारी हुन्छ । सरसफाइ, खाना खाने बानी वा घरको काममा सहभागी गराउने प्रतियोगिता वा खेलमार्फत गराए काम र सिकाइ स्थायी र रमाइलो हुन्छ । खानाप्रति रुचि बढाउन घरमा स्वादिलो र पोषिलो परिकार बनाउनुपर्छ । उनीहरूलाई मन पर्ने तरकारी किन्न लगाउने, भान्सामा बोलाएर पकाउने काममा सघाउन लगाउने गरेर खानामा उनीहरूको रूचि जगाउन सकिन्छ ।
विशेषतः आजका सहरी बालबालिकालाई व्यवहारिक शिक्षा दिनु पनि निकै महत्वपूर्ण छ । सधैँ साँघुरो ठाउँमा बसेका हुँदा तिनको विचार र व्यावहारिक ज्ञानको घेरा नै साँघुरो हुन्छ । त्यसैले तिनलाई बेलाबेलामा गाउँघरतिर लैजानुपर्छ । खेतबारी, डाँडाकाँडा र खोलानाला देखाउनुपर्छ । उकालीओराली हिँडाउनुपर्छ । त्यतातिरका किसानसँग भेट गराउने अभ्यासले उनीहरूले श्रम र सङ्घर्षको मूल्य प्रत्यक्ष अनुभव गर्न सक्छन् । त्यतातिर प्रयोग गरिने घरेलु प्रविधि आफैँले देख्न पाउँदा उनीहरूमा वैज्ञानिक ज्ञान र सीपको वृद्धि हुनसक्छ ।
आजकल डिजिटल प्रविधिले हाम्रा बालबालिकाको धेरै समय खाने गरेको छ । यसलाई पनि आवश्यक काम, सीमित समय र विवेकपूर्ण ढङ्गले प्रयोग गराउनु आवश्यक छ । त्यसका लागि अभिभावक आफैँले पनि कम प्रयोग गर्ने गर्नुपर्छ ।
बालबालिका प्रशंसाका भोका हुन्छन् । त्यसैले तिनका हरेक कुरामा सकारात्मक प्रतिक्रिया दिनुपर्छ । यसले उनीहरूमा सकारात्मक ऊर्जा ल्याई हरेक कामकुरामा सकारात्मक परिणाम ल्याउँछ । उत्प्रेरणा बढाउँछ । नैतिक शिक्षालाई व्यवहारमै उतार्नुपर्छ । अभिभावक आफैं इमानदार, अनुशासित र जिम्मेवार बनेर उदाहरण प्रस्तुत गरेमा बच्चा स्वतः त्यस्तै बानीतर्फ आकर्षित हुन्छन् । परिवार, समाज र संस्कारको शक्ति देख्दा बच्चाले पनि जीवनको मार्ग सरल र जिम्मेवार ढङ्गले चाल्ने बानी बसाउँछ ।
आजका बालबालिकामा देखिएका समस्या केवल तिनका व्यक्तिगत कमजोरी होइनन्; यो हाम्रो समय, समाज र वातावरणले उत्पन्न गरेको सामूहिक चुनौती हो । यदि अहिले नै सचेत भएर सुधारको बाटो समातिएन भने भविष्यमा बालबालिकाको स्वास्थ्य मात्र होइन, समाजको चरित्रसमेत कमजोर बन्नेछ । त्यसैले समयमै सजग भएर यी बानी सुधार्ने प्रयास गर्नु हाम्रै जिम्मेवारी हो ।
Leave a Reply