एमालेलाई भाइ काङ्ग्रेस किन भनियो ?
- कार्तिक २५, २०८२

आन्दोलन या सङ्घर्षबिना समाजमा परिवर्तन सम्भव छैन । परिवर्तनकै निम्ति सङ्घर्षको आवश्यकता छ । आन्दोलन देश र जनताको हक हितको निम्ति गरिन्छ । आन्दोलन सरकारको दमन र शोषणको विरोधमा हुन्छ । आन्दोलन प्रजातान्त्रिक हक, अधिकार र अन्याय, अत्याचारको विरोधमा मात्र होइन आर्थिक समानताको निम्ति हुन्छ; काम–मामको व्यवस्थाको निम्ति हुन्छ । योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको निम्ति आन्दोलन हुन्छ । कसैले पुँजीपतिवर्गको शासन लम्ब्याउन या कायम राख्न आन्दोलन गरेको हुन्छ त कसैले श्रमजीवीवर्गमाथि शोषण कायम राख्न या आफ्नो स्वार्थ पूरा गर्न गरिएको हुन्छ । कुनै आन्दोलन भ्रष्टाचारको विरोधमा या भ्रष्टाचारीहरूमाथि कारबाही गर्नको निम्ति गरिएको हुन्छ । यसकारण, कुन राजनीतिक दल या समूहले कुन वर्गको हित या स्वार्थमा आन्दोलन गरेको हुन्छ भन्ने कुरा जनताले थाहा पाउनुपर्छ ।
वर्गीय समाजमा कुनै पनि नागरिकले कुनै न कुनै वर्गको प्रतिनिधित्व गरेको हुन्छ । वर्गमा विभाजित समाजमा युवाहरू विभाजित हुनु स्वाभाविक हो । प्रत्यक्ष या अप्रत्यक्षरूपमा मानिसमा कुनै एक वर्गको छाप परेकै हुन्छ । कति आन्दोलन विदेशी शक्ति राष्ट्रबाट प्रभावित हुन्छ । विदेशी शक्ति राष्ट्रहरूको उठबस या इसारामा हुने आन्दोलन भरपर्दाे हुँदैन या टिक्दैन । नेपाल र नेपालीको हितमा हुने आन्दोलनप्रति सबैको प्रतिबद्धता हुन्छ । देश र जनताप्रति समर्पित दल, युवा, विद्यार्थी या अन्य समूहको आन्दोलन हिंसात्मक हुँदैन । आन्दोलनको लक्ष्य तोडफोड गर्ने र आगजनी गर्ने हुँदैन । जेनजीले गरेको आन्दोलनको उद्देश्य पनि हिंसात्मक होइन भनिएको छ । तर, त्यो आन्दोलन तोडफोड र आगजनीमा परिणत भयो । यसले आन्दोलनभित्र षड्यन्त्रकारी र अराजकहरू छिरेको थाहा हुन्छ ।
कुनै शक्ति राष्ट्रहरूको इसारा या अन्य कुनै राजनीतिक दल या समूहको घुसपैठ नभएको, उत्तेजित पार्ने उच्छृङ्खल तत्व नमुछिएको भए सिंहदरबार, सर्वाेच्च अदालत, संसद भवन, शीतल निवास, जिल्ला प्रहरी कार्यालयलगायत अन्य कार्यालयहरूमा तोडफोड र आगजनी हुने थिएन; अरबौँ खरबौँ बराबरको धनसम्पत्तिको क्षति हुने थिएन; आन्दोलनको क्रममा ५१ जनाको ज्यान जाने थिएन । शासक दलका नेता, मन्त्री तथा सांसदहरूको आवासमा तोडफोड र आगजनी हुने थिएन । देशमा शोषक र शोषित भएसम्म, पुँजीपति र मजदुर भएसम्म, जमिनदार र किसान भएसम्म आन्दोलन भइरहनेछ । जहिलेसम्म देशमा शोषणरहित समाज स्थापना हुँदैन, आर्थिक समानता हुँदैन या समाजवाद स्थापना हुँदैन तहिलेसम्म आन्दोलन गरिरहनुपर्ने हुन्छ । यस्ता आन्दोलनहरू महिला, विद्यार्थी, शिक्षक, कर्मचारीहरूको मात्र होइन युवाहरूको निम्ति पनि हुनुपर्छ । बहुमत जनताको पक्षमा आन्दोलनलाई निरन्तरता दिनुपर्ने हुन्छ । व्यापक जनताले काम–मामको व्यवस्था नपाएसम्म, जीवन सुनिश्चित नभएसम्म आन्दोलन रोकिने छैन । हरेक देशभक्त युवाहरू देश र समाजप्रति समर्पित हुनुपर्छ; समाजवादी व्यवस्था स्थापनाको निम्ति अग्रसर हुनुपर्छ ।
उमेरले सबै कुराको निर्णय गर्दैन । हामीले कुनै युवा, विद्यार्थीको सवालमा मात्र होइन समग्र देश र जनताको पक्षमा आवाज उठाउनुपर्छ, सङ्घर्ष गर्नुपर्छ । देशमा समाजवादी व्यवस्था स्थापनाको निम्ति आधार तयार गर्नुपर्छ । व्यापक जनताको जीवन सुनिश्चित नभएसम्म न देशमा शान्ति हुन्छ न त सुरक्षित नै हुन्छ । देशमा शान्ति र सुरक्षाको ग्यारेन्टी पुँजीपतिवर्गको सरकारले गर्दैन । स्पष्ट छ, पुँजीपतिवर्गको सरकारले पुँजीपतिवर्गकै सेवा गर्छ । व्यापक जनताको सेवा गर्नु छ भने समाजवादी क्रान्ति नगरी सम्भव छैन । यसका लागि युवा, विद्यार्थी, शिक्षक, बुद्धिजीवीहरूमात्र राजनीतिक र वैचारिकरूपमा सुसूचित भएर पुग्दैन† तल्लो वर्गका जनतालाई नै सिद्धान्त, दर्शन र विचारबाट सुसूचित पार्नुपर्छ । कमसेकम कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले सिद्धान्तको राजनीति गर्नुपर्छ; व्यापक जनतालाई सुसूचित पार्नु आवश्यक छ । युवाहरू समाजवादप्रति समर्पित भएमा देश विकास गर्न गाह्रो हुँदैन; जनतालाई राजनीतिक चेतना दिन समस्या हुँदैन । अतः युवाहरू पनि व्यापक जनताको हितमा लाग्नुपर्छ । यसमा सरकारले पनि ध्यान दिनुपर्ने हो । युवाहरू आफ्नो लक्ष्य पूरा गर्न निश्चित मागसहित अघि बढ्नुपर्छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा तोडफोड र आगजनी भयो । देशको अमूल्य सम्पत्ति खरानी भयो । आखिर देशकै ठुलो सम्पत्ति क्षति भयो ।
Leave a Reply