भर्खरै :

‘चिलीमा फासीवादको प्रतिरोध’ को इतिहास

‘चिलीमा फासीवादको प्रतिरोध’ को इतिहास

सन्दर्भ : चिलीको सेप्टेम्बर ११

दक्षिण अमेरिकाको दक्षिण–पश्चिम भागको एक लाम्चो देश चिली नाइट्रेट, आयोडिन र तामा उत्पादनमा संसारमै गनिएको देश हो । सन् १५३६ मा स्पेनियालीहरूले कब्जा जमाएको चिली सन् १६४० मा पूर्णरूपले स्पेनको उपनिवेश बन्यो । १९ औँ शताब्दीको सुरूतिर दक्षिण अमेरिकामा स्वतन्त्रताको आगो सल्कँदा चिली पनि अलग रहन सकेन । परिणामस्वरूप स्पेनियाली उपनिवेशवादीहरूको विरोधमा चिल्लीका जनताले सङ्घर्ष थाले । चिली स्वतन्त्र भयो ।
स्पेनियाली उपनिवेशवादबाट मुक्त भएपछि संरा अमेरिकी साम्राज्यवादले चिलीमाथि हस्तक्षेप गर्न थाल्यो । सन् १८२३ मा संरा अमेरिकी राष्ट्रपति जेम्स मुनरोले दक्षिण अमेरिकालाई आफ्नो साम्राज्यको ‘आँगन’ घोषणा गरे । उनको यो सिद्धान्तलाई नै ‘मुनरो सिद्धान्त’ भनिन्छ । यस सिद्धान्तलाई अमेरिकाका पछिल्ला शासकहरूले आजसम्म पनि मान्यता दिँदै आएका छन् । सन् १९७० को सेप्टेम्बर ४ मा राष्ट्रपति पदको चुनावमा ‘पपुलर युनिटी पार्टी’ का उम्मेदवार माक्र्सवादी नेता डा. साल्भाडोर एयेन्डे सबभन्दा बढी मत प्राप्त गरेर निर्वाचित भए । आफ्नो ‘आँगन’ मानेको क्षेत्रमा प्रजातान्त्रिक बाटोबाट वामपन्थी सरकार उदाएको संरा अमेरिकाको लागि असह्य भयो । संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएले एयेन्डे सरकार असफल बनाउन चिलीका सेना, विपक्षी राजनीतिक दल, सञ्चारमाध्यम, कर्मचारीतन्त्र, धार्मिक संंस्थाहरूलाई आफ्नो योजना कार्यान्वयनको मोहडा बनाउन पैसाको छेलोखेलो ग¥यो ।
सन् १९७० देखि १९७३ सम्म अर्थात् विशेषतः साल्भाडोर एयेन्डेकोे सरकारको पालामा चिलीमा संरा अमेरिकी हस्तक्षेप चरम उत्कर्षमा पुग्यो । सन् १९७० मा भएको चुनावमा वामपन्थी नेता एयेन्डे जित्ने सम्भावनाप्रति सजग हुँदै संरा अमेरिकाका तत्कालीन विदेश सचिव हेनरी किसिङ्गरले स्पष्ट भनेका थिए, “मलाई थाहा छैन, कुनै एउटा देश कम्युनिस्ट बन्दै गरेको हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छौँ ! यो त त्यहाँका जनताप्रतिको गैरजिम्मेवारी हो ।”
चिली
एयेन्डेले सरकार सम्हालेको समयसम्म चिलीमा संरा अमेरिकाका सत्न्दा बढी कम्पनी थिए । तीमध्ये केही त अमेरिकाकै सबभन्दा माथिल्लो स्थानका अमेरिकी ब्रान्डका बहुराष्ट्रिय कार कम्पनी, तेल कम्पनी, डो एन्ड डुपोन्ट केमिकल र इन्टरनेसनल टेलिफोन एन्ड टेलिग्राफजस्ता बहुराष्ट्रिय कम्पनीहरू थिए । संरा अमेरिकी कम्पनीहरूले चिलीमा गरेको लगानी कुल १ अर्ब अमेरिकी डलर बराबर थियो । सबभन्दा बढी लगानी सूचना प्रविधि क्षेत्रमा थियो ।
चिलीमा यस्ता थुप्रै प्रतिकूलताबिच पनि एयेन्डेले चिलीका जनताप्रति आफ्नो कर्तव्य निर्वाह गर्न छाडेनन् । उनले चिलीका तामाखानी राष्ट्रियकरण गरेर विदेशी लगानीलाई निषेधमात्र गरेनन् बरू उनीहरूले कमाएको नाफासमेत चिलीमै छोड्नुपर्ने बनाए । आफ्नो स्वार्थ र नाफामा धक्का परेपछि रन्थनिएको अमेरिकी पुँजीपतिवर्गले एयेन्डे सरकारविरूद्ध सैनिक विप्लवको व्युह रचना गरे । सन् १९७३ सेप्टेम्बर ११ मा वामपन्थी सरकारविरूद्ध सीआईएको निर्देशन र योजनाअनुसार सैनिक विप्लव भयो । राष्ट्रपति एयेन्डे फासीवादी सरकारविरूद्ध अन्तिम श्वाससम्म लडे । सीआईए निर्देशित सैनिक तानाशाह अगस्टो पिनोचे नेतृत्वको फासीवादी सेनाले चिलीका हजारौँ हजार क्रान्तिकारी, वामपन्थी र सङ्घर्षशील योद्धा, बुद्धिजीवी, मजदुरहरूको अमानवीय हत्या ग¥यो र कैयौँलाई बेपत्ता पा¥यो । पिनोचेको सैनिक सरकारले तत्कालै संसद्लगायत सबै प्रजातान्त्रिक निकायहरू विघटन ग¥यो । चुनावको प्रावधान खारेज ग¥यो, विरोध प्रदर्शन र हडताल गर्न पाउने प्रजातान्त्रिक अधिकार बर्खास्त गरियो । साथै पुस्तक, पत्रपत्रिका र विद्यालयको पाठ्यपुस्तकमाथि कडा सेन्सर थोपरियो । सेप्टेम्बर ११ चिलीका जनताका लागि कालो दिन बन्यो ।
सन् १९७३ सेप्टेम्बर ११ को घटनाबारे नेपाली पाठकहरूलाई जानकारी दिन पत्रकार समाज, नेपालले ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तक हालै प्रकाशित गरेको छ । वामपन्थी र कम्युनिस्टहरूको लागि उपयोगी यो पुस्तक मूलतः पिलार अगुइलिरा र रिकार्डो फ्रेड्सको सम्पादनमा प्रकाशित अङ्ग्रेजी पुस्तक Chlie;\ The Other September 11 को नेपाली अनुवाद हो । पुस्तकमा सेप्टेम्बर ११ को घटना र साल्भाडोर एयेन्डेका विचारसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको अभिव्यक्ति समावेश छन् । यी अभिव्यक्तिमार्फत चिलीको सो घटनाबारे यथार्थ चित्रण गरिएको छ । चिलीमा संरा अमेरिकाको लगातारको हस्तक्षेपको परिणामस्वरूप चिलीका जनताले सामना गरेको आतङ्कबारे बुझ्न यो पुस्तकमा समावेश सामग्री निकै महत्वपूर्ण छन् । पुस्तकको सुरूमा सम्पादकद्वय पिलार अगुइलिरा र रिकार्डो फ्रेड्सका महत्वपूर्ण विचार समावेश छ । चिलीका जनताको लागि यो घटना पीडा, यातना, दुःखका दिनको सुरूआत भएको र सैनिक विप्लवको कुप्रभाव अझै चिलीले भोगिरहेको उनीहरू बताउँछन् ।
सन् १९७३ सेप्टेम्बर ११ मा चिलीको सान्टियागोस्थित राष्ट्रपति भवनमा भएको घटना र सन् २००१ सेप्टेम्बर ११ मा संरा अमेरिकाको न्युयोर्कस्थित वित्तीय केन्द्र तथा वासिङ्गटनको सैनिक केन्द्रमा भएको हमलाबिचको तुलना लेखक एरिइल डोर्फम्यानले गरेका छन् । आफ्नो लेखमा उनले दुई घटनाको भोगाइ, दुःख, पीडा समान भएको विचार व्यक्त गरेका छन् । लेखक भन्छन्, “मानिसहरू आफ्ना छोरा, बुबा, श्रीमती, प्रेमिका, छोरीलगायत आफ्ना प्रियजन जिउँदा छन् या मरिसके भनी पीडाबोध गरिरहेका थिए । बेपत्ता भएका प्रियजनको अन्तिम संस्कार गर्न पनि सम्भव थिएन । मानिसको अन्यायपूर्ण व्यवहारले निम्त्याएका ठुलठुला विपत्तिको कारण भएका यस्ता अपत्यारिला घटना प्राकृतिक महाविपत्तिको सामना गर्नु जत्तिकै कठिन हुने गरेको छ ।” यसप्रकार यी दुवै आतङ्कको घटना मानव जीवनको लागि सा¥है पीडादायी भएको उनले लेखेका छन् ।

सन् १९७३ को सेप्टेम्बर ११ को दिन एयेन्डे
चिलीमा सैनिक विद्रोह भएको केही दिनपछि सेप्टेम्बर २८ मा क्युवाको राजधानी हवानामा क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको उपस्थितिमा चिलीका जनताप्रति ऐक्यबद्धता सभा भएको थियो । सो सभामा घटनाबारे प्रस्ट पार्न क्युवाली जनतामाझ क्यास्ट्रोले दिएको भाषण र घटनाको विश्लेषण पुस्तकको सबभन्दा महत्वपूर्ण पाठ हो । ‘चिलीमा सन् १९७३ सेप्टेम्बर ११ को फासीवादी सत्ताकब्जा’ शीर्षककोे उक्त लेखमा घटनाको विस्तृत विवरण छ । सन् १९७३ जुलाई २९ का दिन फिडेल क्यास्ट्रोले राष्ट्रपति एयेन्डेलाई पठाएको पत्रको पूर्ण पाठ पनि त्यसमा समावेश छ । लेखमा सैनिक विद्रोहको पृष्ठभूमिमा भएका घटनाक्रमको सैद्धान्तिक तथा राजनीतिक विश्लेषण छ । अनेक प्रतिकूलताबिच नेता एयेन्डेले फासीवादी सरकारसामु गरेको वीरतापूर्ण प्रदर्शन प्रशंसनीय भएको फिडेलको निष्कर्ष छ ।
एयेन्डे आफैँ वामपन्थी भए पनि चिलीमा त्यत्तिबेला पुँजीवादी राज्य व्यवस्था कायम नै थियो । चिलीको सेना आफूलाई ‘अराजनीतिक संस्था’ भन्दै क्रान्तिकारी प्रक्रियामा निस्क्रिय थियो । पुँजीवादी व्यवस्थापिकाका बहुमत सदस्यहरू पुँजीपतिवर्गकै तालमा नाच्थे । न्यायप्रणाली पूर्णरूपमा प्रतिक्रियावादीहरूको पक्ष लिन्थ्यो । चिलीको अर्थतन्त्र टाट पल्टेको अवस्थामा थियो । पत्रपत्रिका, टेलिभिजन र रेडियोजस्ता आमसञ्चार कुलीनतन्त्रको मुठीमा कैद थियो । साम्राज्यवाद, प्रतिक्रियावादीवर्ग र प्रतिक्रियावादी सञ्चारमाध्यमसँगको जटिल सम्बन्धलाई आगोमा घिउ थप्ने काम नेसनल पार्टी र क्रिश्चियन डेमोक्रेटिक पार्टीजस्ता पुँजीवादी राजनीतिक पार्टीहरूले गरिरहेका थिए । फलतः राष्ट्रपति एयेन्डेलाई काम गर्न असहज भएको अनुमान सजिलै लगाउन सकिन्छ ।
त्यस्तै चिलीका लाखौँ–लाख जनताको रगत–पसिना गरी बनाइएका तामाखानीहरू राष्ट्रियकरण गर्ने निर्णय गरेलगत्तै चिलीको सरकारलाई सबै अन्तर्राष्ट्रिय सङ्गठनहरूले गर्दै आएको सहयोग बन्द गरे । राष्ट्रपति एयेन्डेले अनेक जटिलता र चुनौतीका बिचमा पनि सङ्घर्ष जारी राखे ।
राष्ट्रपति एयेन्डेको विषयमा फिडेल भन्नुहुन्छ, “राष्ट्रपति एयेन्डेको दृढता, विलक्षणता, नेतृत्व र वीरता अमूल्य छ । यो गोलाद्र्धमा आजसम्म यस्तो घटनामा सहभागी हुने अरू कोही राष्ट्रपति छैन । सबै फासीवादी सेनाले भन्दा साल्भाडोर एयेन्डेले धेरै गुणा बढी आत्मसम्मान, स्वाभिमान, साहस र वीरता प्रदर्शन गरे । एयेन्डेको अतुलनीय सङ्घर्षले पिनोचेलाई होचो र सदाको निम्ति निरर्थक बनाइदिएको छ ।”
फासीवादले हिंसाको माध्यमबाट सबै प्रजातान्त्रिक निकायहरू नष्ट गर्छ । त्यसले विश्वविद्यालयहरूमा हमला गर्छ, बन्द गर्छ र दमनमा उत्रन्छ । त्यसले बुद्धिजीवीहरूलाई हमला गर्छ, दमन र हत्या गर्छ† राजनीतिक पार्टी र मजदुर सङ्गठनहरूलाई दबाउँछ । सबै जनवर्गीय सङ्गठन र सांस्कृतिक संस्थाहरूमा हमला गर्छ । संसारका जुनसुकै भागको भए पनि फासीवाद हिंस्रक, प्रतिक्रियावादी र असहिष्णु हुन्छ । फिडेलले ‘चिलीमाथिको हमला पनि संरा अमेरिकाको निर्देशनमा फासीवादीहरूले गरेको सैनिक विद्रोह हो” भनी उदाहरणसहित व्याख्या गर्नुभएको छ ।
फिडेल चिलीको उक्त घटनाले सिकाएको महत्वपूर्ण पाठबाट भविष्यको बाटो कोर्नेमा विश्वस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनताले मात्र क्रान्ति गर्न असम्भव छ, हतियार पनि आवश्यक छ । हतियारले मात्र क्रान्ति हुन असम्भव छ, जनता पनि आवश्यक छ ।” चिलीका वामपन्थी पार्टीले शान्तिपूर्ण बाटोको प्रयोग गरेर समाजवादको सपना देखे । तर, साम्राज्यवादी शक्ति र फासीवादीहरूले त्यसलाई असफल बनाए । यसले क्रान्तिकारी सशस्त्र सङ्घर्षबाट मात्र समाजवाद स्थापना हुन्छ भन्ने पाठ चिलीका जनताले सिकिसकेको अनुमान गर्न सकिन्छ । तर, त्यस्तो सशस्त्र क्रान्ति भने व्यापक जनता राजनीतिकरूपमा सचेत र सङ्गठित भएपछि मात्र सम्भव हुन्छ ।
सेप्टेम्बर ११ को दिन ६५ वर्षका राष्ट्रपति एयेन्डे टाउकोमा हेल्मेट र हातमा राइफलसहित बम र बारूदको घेरामा जीवनको अन्तिम लडाइँ लडिरहनुभएको थियो । आकाशमा फासीवादी सेनाका विमानहरू उडिरहेका थिए । राष्ट्रपति भवन जलिरहेको थियो । यस्तो जटिल परिस्थितिमा पनि एयेन्डेले स्वाभिमानका साथ चिलीका जनतासमक्ष रेडियो मागालानसमार्फत अन्तिम सम्बोधन गर्ने कर्तव्य पूरा गर्नुभयो । जसमा एयेन्डेले ‘इतिहास हाम्रो हो र जनताले इतिहास निर्माण गर्नेछन्’ भनी अन्तिम श्वास रहेसम्म जनताप्रतिको कर्तव्य निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘चिली जिन्दावाद ! श्रमिक जनता जिन्दावाद ! म ढुक्क छु, मेरो बलिदान निरर्थक हुनेछैन”, एलेन्डेले जनतालाई सम्बोधन गर्दै भन्नुभयो ।
अल्बानियाका समाजवादी नेता अनवर होक्साले ‘चिलीको वियोगान्त : संसारभरका क्रान्तिकारीहरूको लागि शिक्षा’ शीर्षकको लेखमा चिली घटनाको सैद्धान्तिक विश्लेषण गर्नुभएको छ । होक्सा सोभियत सङ्घमा स्तालिनको निधनपछि आएको ख्रुश्चेभपन्थी नेतृत्वको संशोधनवादी विचारका कडा आलोचक हुनुुहुन्थ्यो । चिलीको घटनाले चिलीका जनतालाई मात्र होइन, बरू संसारभरका क्रान्तिकारी, प्रगतिशील र शान्तिकामी जनतालाई प्रभाव पारेकोमा उहाँले लेखमा चिन्ता पोख्नुभएको छ ।
एयेन्डे सरकारको महत्वपूर्ण साझेदार चिली कम्युनिस्ट पार्टीले ख्रुश्चेभको ‘शान्तिपूर्ण सङ्क्रमण’ को सिद्धान्त व्यवहारमा लागु गर्नुका साथै त्यही बाटो भएर पुँजीपति र साम्राज्यवादी शक्तिलाई तह लगाउन सकिने निचोड निकाल्यो । तर, संशोधनवादीहरूको त्यो विचार चिलीमा हार खायो । संसदीय बाटोबाट समाजवादी व्यवस्थाको स्थापना किमार्थ सम्भव नभएको कुरा चिलीको घटनाले पुष्टि गरिसकेको होक्सा बताउनुहुन्छ ।
“जनतालाई सचेत बनाउन, चुनावमार्फत जनतालाई शिक्षित बनाउन र संसद्भित्र सङ्घर्ष गर्न क्रान्तिकारी सर्वहारावर्गको पार्टीले पुँजीवादी संसदमा भाग लिनुपर्छ । तर, वर्गसङ्घर्षलाई संसद्भित्र मात्र सीमित राख्नु वा संसदीय सङ्घर्षलाई नै अन्तिम सङ्घर्ष मान्ने र सङ्घर्षका अन्य निर्णायक माध्यमलाई उपेक्षा गर्नु भनेको वास्तवमा सर्वहारावर्गविरूद्ध पुँजीपतिवर्गको पक्ष लिनु हो ।” “हिंसात्मक क्रान्तिमार्फत पुँजीवादी राज्यसत्ता ध्वस्त भई सर्वहारा राज्यसत्ता सम्भव छ” भन्ने लेनिनका भनाइलाई उद्धृत गर्दै होक्साले सम्पूर्ण कम्युनिस्टहरूलाई संशोधनवादी खोटो विचारबाट सचेत रहन आग्रह गर्नुभएको छ । त्यस्तै उहाँले फासीवादी सैनिक तानाशाहीलाई टिकाउन साम्राज्यवादले नेपथ्यमा भूमिका खेलिरहेको हुन्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ ।

पाब्लो नेरुदा
साल्भाडोर एयेन्डेकी छोरी बीट्रिज एयेन्डे सेप्टेम्बर ११ को घटनाका प्रत्यक्षदर्शीमध्ये थिइन् । क्युवाली जनतामाझ चिलीका राष्ट्रपति एयेन्डेले चिलीको क्रान्ति र समाजवादको लागि अन्तिम श्वाससम्म लडेको घटना विवरण आफ्नो मन्तव्यमार्फत उनले बताएकी छिन् ।
प्रगतिशील गायक भिक्टर हाराको विषयमा उनकी श्रीमती जोएन हाराद्वारा लेखिएका दुई लेखहरू अत्यन्त मार्मिक र हृदयविदारक छन् । यी दुई लेखले वि.सं. २०४५ सालमा पञ्चायती राज्यस्तरबाट तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट पार्न रचिएको षड्यन्त्र भक्तपुर काण्डको स्मरण गराउँछ । जसरी त्यतिबेला भक्तपुर आतङ्कित बन्यो, धेरै किसान कार्यकर्ताहरू ज्यानमुद्दा र जालसाजीमा फसाइए । कतिलाई मरेतुल्य गरी यातना दिइयो । भक्तपुरका महिलाहरूलाई सामाजिक र राजनैतिक अपमान सहन गाह«ो परेको थियो । भक्तपुर काण्ड पीडित व्यक्तिहरूको अनुभव सुन्दा जसरी पनि जीउ सिरिङ्ग हुन्छ । त्यसरी नै सन् १९७३ सेप्टेम्बर ११ को घटनामा चिलीका जनताको अवस्था उस्तै खतरनाक र पीडादायी थियो भन्ने कुरा जोएन हाराको अनुभवबाट थाहा पाउन सकिन्छ ।
वामपन्थी तथा कम्युनिस्ट विचाराधाराका एक असल गायक भिक्टर हाराको निर्मम हत्या भएको थियो । घटनाको दिन चिलीको राजधानी सान्टियागोस्थित प्राविधिक विश्वविद्यालयमा रहेका भिक्टर भोलिपल्ट चिली रङ्गशालामा घाइते अवस्थामा थिए । उनलाई शरीरभरि निलडाम हुने गरी क्रूर यातना दिइएको थियो । रगताम्य शरीरमा धेरै खराब घाउ थिए । तथापि, त्यहाँ कैद विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूलाई उत्साहित बनाउन उनले गीत रचना गरे र गाए । उक्त रङ्गशालामा ५००० बन्दीहरू कोचिएका थिए । फासीवादी सेनाले अन्तिम अवस्थासम्म पनि भिक्टरलाई अपमान र कुटपिट गरे । चार दिनको निर्घात कुटपिटपछि असह्य पीडामा पपुलर युनिटी पार्टीको गीत गुनगुनाउँदै उनले मृत्युवरण गरे । यसबाट फासीवादी सेना कति निर्दयी र क्रूर हुन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
भिक्टरले चिली रङ्गशालामा थुनिएको अवस्थामा सिपाहीको आँखा छलेर एक कविता लेखेका थिए । उक्त कविता उनीसँगै थुनिएका एकजना कैदीले गोप्यरूपमा बाहिर ल्याउन सफल भए । उक्त कविताले जोकोही पाठकलाई फासीवादीविरूद्ध लड्न उत्प्रेरित गर्छ । भिक्टर हाराको कवितांश–
‘जब मैले आतङ्क गाउनुपर्दा
गाउन कति गा¥हो भएको छ ।
आतङ्कमा जहाँ म बाँचिरहेछु,
आतङ्कमा जहाँ म मरिरहेछु ।
यो अवस्थाबिच आफूलाई उभ्याइरहँदा
र यो अगम्य क्षणबिच रहँदा
मौनता र चिच्याहटमा नै
मेरो गीतको अन्त्य भइरहेछ ।
मैले जे देखेँ, कहिल्यै देखेको थिइनँ
जे मैले आभास गरेँ, कहिल्यै गरेको थिइनँ
यो समयले नै नयाँ समयलाई जन्म दिनेछ ।’

भिक्टर हारा
पुस्तकमा चिलीका विश्वविख्यात लेखक पाब्लो नेरूदाबारे माटिल्डे उरूसिया, जोएन हारा र सुमनले लेखेका छन् । जसमा चिलीको सत्ताविप्लवको घटना भएको केही समय पछाडि नै पाब्लो नेरूदाको निधन भएको र उनको शवयात्राको दृश्य प्रस्तुत छ । पाब्लो नेरूदाको मृत्यु सुरूमा प्रोस्टेट क्यान्सरको कारण भएको बताइए पनि पछि ९ वर्ष अगाडि उनका अङ्गरक्षक म्यानुयल अरायाले उनको हत्या भएको दाबी गरे । नेरूदा एयेन्डे सरकारका खम्बा थिए । उनी कम्युनिस्ट पार्टीका सदस्य थिए । नेरूदाका प्रगतिशील विचार र उनका लेखहरू तानाशाही पिनोचेका लागि घातक थिए । त्यसकारण, विषालु सुईको प्रयोगद्वारा उनको हत्या गरियो ।
चिलीको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा संरा अमेरिकी–पिनोचे फासीवादी दमन संसारका सबै स्वतन्त्र र सार्वभौम देशका प्रजातन्त्रवादी र प्रगतिशील जनताको निम्ति महत्वपूर्ण शिक्षा हुनेछ । ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकले चुनावी बहुमतबाट कम्युनिस्ट वा वामपन्थी पार्टीले समाजवादी राज्य सत्ता स्थापना गर्नसक्दैन भन्ने सन्देश दिएको छ ।
पुस्तकको अन्तमा सन् १९७० देखि १९७३ सम्म चिलीमा भएका घटना विवरण मितिसहित उल्लेख छ । त्यसले सेप्टेम्बर ११ घटनाको पृष्ठभूमि बुझ्न मद्दत पु¥याएको छ । शीर्षकसहितका तस्वीरहरू घतलाग्दा छन् । अनुवाद सरल छ । पुस्तक प्रकाशनको निम्ति पत्रकार समाज, नेपाललाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *