भर्खरै :

क्युवाली क्रान्तिमा महिला नेतृ असेला

क्युवाली क्रान्तिमा महिला नेतृ असेला

लाखौँ–लाख श्रमजीवी क्युवाली जनताले निरङ्कुश शासनविरुद्ध गरेको सङ्घर्ष थियो क्युवाली समाजवादी क्रान्ति । आफ्नो भाग्य बदल्न त्यो सङ्घर्षको मैदानमा कामदार वर्गका पुरुष र महिलाहरूले उतिकै ऊर्जा र जोशसहित लडे । सङ्घर्षका पहाडहरूमा शोषण, अन्याय, अत्याचारविरुद्ध विजयको झन्डा गाड्न क्युवाली महिलाहरूले बेजोड भूमिका निर्वाह गरे । त्यसैले हामी भन्न सक्छौँ– शोषणविरुद्ध सङ्घर्ष या लडाइँ क्युवाली महिलाहरूको बाध्यता थिएन बरु रोजाइ थियो । फाल्गुन्सिया वाटिस्ताको निरङ्कुशताविरुद्ध क्रान्तिकारी सेनामा भर्ती हुनु क्युवाली महिलाहरूको छनोट या इच्छा थियो । क्रान्तिकारी क्युवाली महिला सियरामायस्ट्राले जङ्गलमा आँधीहुरी र भोकसँग लड्न पनि डराएनन् किनभने तिनलाई थाहा थियो हजारौँ वर्षदेखि कामदार वर्गमाथि भएको दलनमा मुक्तिको बाटो वर्गसङ्घर्ष मात्रै हो ।
क्युवाली महिलाहरूले सान्टियागो डि क्युवा र क्रान्तिकारी सेनादेखि क्युवाली महिला फेडरेसन (Federation of Cuban Women (FMC)) स्थापनासम्म महत्वपूर्ण भूमिका निर्वाह गरे । नेतृ भिल्मा इस्पिन क्युवाली क्रान्तिको मैदानले जन्माएको एक योद्धा थिइन् । उनले क्युवामा महिलाहरूको मुक्तिका निम्ति क्रान्तिदेखि अर्को क्रान्तिसम्मको जिम्मेवारी सम्हालिन् । क्रान्तिमा विजयी बनेको केही वर्षमा क्युवाले एउटा अर्को क्रान्ति अनुभव गर्दै थियो । श्रमजीवी महिलाहरूको मुक्तिका निम्ति भएका हरेक गतिविधि लडाइँका चरणहरूभन्दा कम थिएनन् ।
एउटा तथ्याङ्क छ – सन् १९५० अर्थात् क्रान्तिपूर्व क्युवा ल्याटिन अमेरिकाकै सबैभन्दा गरिब देश थियो । सन् १५५३ सम्म जम्मा १३.५ प्रतिशत महिला घरबाहिर काम गर्थे । क्रान्तिको २० वर्ष अर्थात् १९८१ मा ४४.५ प्रतिशत र सन् २००८ सम्ममा ५९ प्रतिशत महिला घर बाहिर काम गर्न थाले । हाल यो तथ्याङ्क कायम छ । फ्रेडरिक एङ्गेल्सले भन्नुभएको थियो – “महिला र पुरुषबिचको साँचो समानता तब हुन्छ जब पुँजीको शोषण अन्त्य हुन्छ र घरभित्रको निजी काम सार्वजनिक उद्योगमा परिणत हुन्छ ।” एङ्गेल्सको विचार क्रान्तिपछि क्युवाली महिलाहरूको जीवनपद्धति बनेको थियो ।
क्युवाली क्रान्तिपछि एफएमसीको स्थापनाले कामदारवर्गका महिला मुक्तिको अर्को क्रान्ति तय ग¥यो । स्कूल र विश्वविद्यालय देख्न नपाएका महिला अर्थात् घरको चार भित्ताभित्र कैद महिलालाई बाहिरी दुनियाँसँग साक्षात्कार गराई साक्षर बनाउने अभियान चलाइयो । विद्यालय, कलेज स्थापना, शिशुस्याहार केन्द्र र बालोद्यानको बन्दोबस्त द्रुतगतिमा गरियो । छोरीलाई शिक्षा प्राथमिकतामा राखियो । शिक्षामा लैङ्गिक समानता समाजवादी क्युवाको उद्देश्य बन्यो । आज क्युवामा मेडिकल पढ्ने विद्यार्थीमा ८१ प्रतिशत छोरीहरू छन्, इन्जिनियरिङमा ४० प्रतिशत छोरीहरू छन् । मेडिकल, कानुन र शिक्षण पेसामा महिला बढी छन् । ६९ प्रतिशत स्वास्थ्य स्वयम्सेविका, ८० प्रतिशत शिक्षाकर्मी, ६६ प्रतिशत वकिल छन् । एफएमसीले चलाएको साक्षरता अभियान (१९६१ साक्षरता अभियान) ले २०.६ प्रतिशत निरक्षरता दरबाट सन् १९६१ सम्म ३.१ प्रतिशतमा झा¥यो । आज क्युवामा महिला र पुरुषको साक्षरता प्रतिशत ९९ प्रतिशत छ । यो विश्वकै सबैभन्दा उच्चत्तम तथ्याङ्क हो ।
विश्वविद्यालय शिक्षामा महिला अगाडि छन् । हरेक १०० जना पुरुषमा १५६ जना महिला विश्वविद्यालय भर्ना हुन्छन् अर्थात् विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीमा ६३ प्रतिशत महिला हुन्छन् । त्यतिमात्र होइन राजनीतिमा महिला सहभागिता उत्कृष्ट छ । संसद्मा महिला सहभागिता ४८.९ प्रतिशत
(२०१५ को तथ्याङ्क) छ । यो भनेको १६२ देशमा छैटौँ स्थान हो । क्युवामा क्रान्तिपछि महिलाहरूको स्थितिको केही दृष्टान्त हुन् यी । यो स्थितिसम्म आइपुग्न क्युवाली कम्युनिस्ट पार्टीले क्रान्तिपछि पनि कामदारवर्गका महिलाहरूको मुक्तिको निम्ति सङ्घर्ष जारी राख्यो । पार्टीको निर्देशनमा त्यसको नेतृत्व भिल्मा इस्पिनहरूले गरे ।
एफएमसीको स्थापना क्युवामा महिला मुक्तिको महत्वपूर्ण अगुवाइ थियो । भिल्माले त्यसको अध्यक्षका रूपमा जिम्मेवारी पूरा गरिन् । क्युवामा महिलाहरूको स्वतन्त्रताका निम्ति भिल्मासँगै लड्ने क्रान्तिकारी महिला नेतृहरू पनि थिए । ती नेतृहरूसँग यस पुस्तकले हामीलाई परिचित गराउँछ । तीमध्ये नेतृ असेला डि लस सान्टोस तामायो (Asela de los Tamayo) बारे सङ्क्षिप्त चर्चा गरौँ ।
असेला डि लस सान्टोसको जन्म १९२९ मा सान्टियागो डि क्युवामा भएको थियो । उनका बुबा जोसे डि लस सान्टोस (Jos’e de los Santos) एक निवृत्त आर्मी लेफ्टिनेन्ट थिए भने उनकी आमा पर्मेनिया तामायो (Parmenia Tamayo) गृहिणी थिइन् ।
उनी सन् १९४९ मा ओरेन्ट विश्वविद्यालय University of Oriente मा प्रवेश भइन् । एक हुर्कँदै गरेकी युवा असेलालाई देशभित्र भइरहेको सामाजिक तथा राजनीतिक गतिविधिहरूबारे जानकारी थियो । ओरियन्ट विश्वविद्यालयमा उनी एक शिक्षिका बन्ने उद्देश्यले भर्ना भएकी थिइन् । उनले त्यहाँ भिल्मा इस्पिनसँग भेटिन् । पछि दुवै जीवनभरका सहयोद्धा तथा कमरेड बने ।
सन् १९५२ मार्च १० मा फाल्गुनसिया वाटिस्ताले संरा अमेरिकी सेनाको सहयोगमा अत्याचार तथा दमन तीव्र पा¥यो । त्यतिबेला विश्वविद्यालयका विद्यार्थीहरूमा देशको अर्थतन्त्र, राजनीति तथा सामाजिक अवस्था अन्य देशको हातमा पठाउनु हुँदैन भन्ने भावना थियो । अधिकांश जनता जमिनदारहरूको शोषणका कारण भूमिहीन मात्र होइन, शिक्षा र रोजगारीबाट वञ्चित थिए । राजनीति भ्रष्टाचारीहरूको हातमा थियो । वाटिस्ताको निरङ्कुशता बढ्दै थियो । त्यो अवस्थामा थुप्रै विद्यार्थीसँगै भिल्मा र असेला पनि वाटिस्ता र अमेरिकी सेनाको हस्तक्षेपविरुद्ध सडकमा उत्रे ।
विश्वविद्यालयभित्रै प्रगतिशील प्राध्यापकहरूसँग मिलेर भिल्मा र असेलाहरूले ओरियन्ट विश्वविद्यालयलाई पनि हवानाका विश्वविद्यालयहरूलाई झैँ राष्ट्रिय मान्यता दिलाउन सङ्घर्ष गरेका थिए । सन् १९४९ मार्चसम्ममा विश्वविद्यालयले राष्ट्रिय मान्यता मात्र होइन क्युवाको राष्ट्रिय बजेट प्राप्त ग¥यो । असेलाको निम्ति त्यो सफलताले धेरै महत्व राख्यो । विश्वविद्यालयका प्राध्यापक जोसे एन्टोनिओ पोर्टुन्डो कम्युनिस्ट पार्टीका सदस्य थिए । उनको प्रभाव असेलामा प¥यो । वाटिस्ताको निर्ममताविरुद्ध विश्वविद्यालयकै विद्यार्थीहरूले लड्नुपर्छ भन्ने भावना असेलामा थियो ।
सबै विद्यार्थी क्रान्तिकारी बन्दैनन्, केही मात्र बन्न सक्छन् । असेला देशभक्ति र क्रान्तिकारी भावनाबाट प्रभावित थिइन् । भिल्मा इन्जिनियरिङको विद्यार्थी थिइन् । उनको सौहार्दपूर्ण व्यवहार, साहस र धैर्य स्वभावले असेलालाई प्रभावित बनायो । उनी विद्यार्थीहरूमाझ केन्द्र बनेकी थिइन् । भिल्माको देशभक्तिपूर्ण भावनाले धेरै विद्यार्थीको मनमा छाप पार्यो । सन् १९५२ मार्चमा भएको वाटिस्ता हमलाविरुद्ध भिल्माको अभिव्यक्ति र आग्रहले सबैलाई प्रभाव प¥यो । उनले जोसे मारिया हेरेडिया, १९ औँ शताब्दीका क्युवाली कविको कवितांश राखेकी थिइन् –
“यदि मान्छेले आफूलाई
बाँधिएको सिक्री चुँडाल्ने हिम्मत गर्दैनन् भने
जमिनदार या शासक फाल्ने उपाय त भेटिएला
तर कहिल्यै स्वतन्त्रता मिल्नेछैन ।”
विद्यार्थीहरूको त्यो सडक आन्दोलनमा प्रहरी दमन भयो, धेरै विद्यार्थी मारिए । सन् १९५३ मा क्युवाली जनतालाई देशभक्ति र नैतिकता सिकाउने नेता होसे मार्टीको शतवार्षिकी मनाउन विश्वविद्यालयका विद्यार्थीसँगै असेला पनि सहभागी भइन् । त्यो लगतै मोन्काडा हमला भयो । फिडेलले भन्नुभएको थियो मोन्काडा हमलापछि त्यो ठाउँ यातना र मृत्युको कार्यशालामा परिणत भयो । ओरियन्ट प्रदेशका जनतालाई त्यो घटनाले पनि झक्झक्यायो । असेलाले नेता फिडेलको नाम सुनेकी थिइन् । उनी फिडेलको विचारबाट प्रभावित थिइन् । भिल्माको साथी बनेर विश्वविद्यालय र सडक आन्दोलनहरूमा असेला सक्रिय बनिन् ।
सन् १९५४ मा डि लस सान्टोस विश्वविद्यालयबाट दीक्षित भइन् र ईआई केनी EI Caney नजिक शिक्षण पेसामा लागिन् । त्यही वर्ष उनी ओरियन्ट क्रान्तिकारी मोर्चा (Oriente Rovolutionary Action) मा जोडिइन् जसको नेतृत्व फ्रान्क पाइस ९ँचबलप एबष्क० ले गरेका थिए । पछि पाइस सान्टिआगोको केन्द्रीय नेता बने र यसको कार्यकारी निर्देशक पनि बने । असेला जुलाई २६ को आन्दोलनमा सहभागी मात्र होइन सक्रिय बनिन् ।
सन् १९५६ नोभेम्बर ३० मा डि लस सान्टोस सान्टिआगो डि क्युवामा भएको क्रान्तिकारी सैन्य मोर्चामा सहभागी बनिन् । त्यो प्रयास सफल भयो । ग्रान्मासम्म त्यसको खबर पुग्यो । त्यसको लगत्तै असेलाले आफ्नो जागिर छोडिन् र आफ्नो सम्पूर्ण समय र ऊर्जा जुलाई २६ को आन्दोलनमा लगाइन् । अन्य क्रान्तिकारी महिलाहरू जस्तै आफूलाई सियरामायस्ट्राको जङ्गलमा उभिन सक्ने क्रान्तिकारी सेनाको रूपमा तयार हुन अहोरात्र मेहनत गरिन् । फिडेल क्यास्ट्रोको नेतृत्वमा भइरहेको निरङ्कुश वाटिस्ता शासन र अमेरिकी सैन्यहस्तक्षेप विरुद्धको सङ्घर्षमा एक योद्धा बनेर लड्ने इच्छा असेलाको थियो । नभन्दै जुलाई २६ को आन्दोलनमा उनी एक जुझारू योद्धा बन्न सफल भइन् । फ्रान्क पाइसको हत्याले तितरबितर बनेको आन्दोलनलाई पुनः उही सङ्घर्षको भावना र ऊर्जा प्रदान गर्दै उनले सान्टिआगो डि क्युवामा आन्दोलनको नेतृत्व सम्हालिन् । एक क्रान्तिकारी सिपाही बन्न लिएका हरएक परीक्षाहरूमा उनी उत्तीर्ण बनिन् ।
उनले सन् १९५७ देखि १९५८ सम्ममा एक सन्देशबाहक बनेर मियामीसम्म ९ पटक यात्रा गरिन् । क्युवाको क्रान्तिकारी आन्दोलनका लागि सन्देशसँगै आवश्यक हातहतियार, गोलाबारुद र पैसाको जोहो गर्ने अर्थात् व्यवस्थापन गर्ने जिम्मेवारी इमानदारीसाथ निर्वाह गरिन् । असेलाले भनेकी थिइन्, “मैले मार्च १९५२ मा वाटिस्ताको सैन्य कू देखेँ । त्यो निर्ममता र हिंसाको पराकाष्ठा थियो । विश्वविद्यालयले त्यसको विरोधमा आफ्ना ढोकाहरू बन्द गरे ।” वाटिस्ताको बर्बरताविरुद्ध त्यहीबाट उनले लड्न सुरु गरिन् ।
असेलाले बोलेकी थिइन्, “मोन्काडा व्यारेकमाथिको हमला क्रान्तिकारी हृदय भएका युवाहरूको निम्ति एउटा प्रश्न तेर्सियो । क्रान्तिको निम्ति अघि बढ्ने या वाटिस्ताको बर्बरता सहने ? युवाहरूले मोन्काडा घटनापछि सङ्घर्ष र आन्दोलनहरूको नेतृत्व गर्न सुरु गरे ।”
असेलाले त्यहीबाट सान्टिआगोको आन्दोलनमा नेतृत्व गर्ने ऊर्जा बटुलेकी थिइन् भन्दा उपयुक्त होला । उनले जुलाई २६ आन्दोलनको सफलतासँगै भनेकी थिइन्, “सन् १९५६ नोभेम्बरको ३० मा जुलाई २६ आन्दोलनका करिब ३६० योद्धाहरूले ग्रान्माको सहयोगमा आन्दोलनलाई सफलतामा टुङ्ग्याए ।”
सन् १९५८ अगस्तमा भिल्मा इस्पिनको प्रस्तावमा असेलालाई क्रान्तिकारी सेनाको फ्राङ्क पाइस दोस्रो पूर्वी मोर्चामा खटाइयो । त्यो मोर्चामा बन्दै गरेका विद्यालयहरूको इन्चार्ज बनाइयो । एकै महिनामा असेलाले नेतृत्व गरेको शिक्षा विभागअन्तर्गत करिब चार सत्न्दा बढी आधारभूत विद्यालयहरूको जिम्मेवारी थपियो । क्रान्तिका योद्धाहरूका निम्ति बनाइएका रात्रिकक्षा, विद्यालय र लेखपढ नजान्ने योद्धाहरूको निम्ति साक्षरता कक्षा सञ्चालनमा असेलाले नेतृत्व गरिन् । क्रान्तिको मैदानबाटै शैक्षिक क्रान्ति अघि बढाउने नेता फिडेलको विचारका संवाहक र योद्धा बनिन् असेला । किसान मजदुरको निम्ति त्यो पहिलो साक्षरता आन्दोलन थियो ।
सन् १९५९ जनवरी १ मा क्रान्ति विजयमा टुङ्गिएपछि पनि उनी दोस्रो मोर्चामा राज्यले नेतृत्व गर्ने विद्यालय शिक्षा र विद्यालयहरूको इन्चार्ज थिइन् । त्यही वर्ष उनले समग्र ओरियन्ट प्रदेशमा शिक्षाको लागि जिम्मेवारी पाइन् ।
सन् १९६० देखि १९६६ सम्म असेला भिल्मासँगै क्युवाली महिला फेडरेसन (एफ.एम.सी.) स्थापना, निर्माण तथा विकासमा सक्रिय बनिन् । उनले एफ.एम.सी.को राष्ट्रिय व्युरोमा महासचिवको जिम्मेवारी सम्हालिन् । फिडेल क्यास्ट्रोको “क्रान्तिमा महिला सहभागिता क्रान्तिभित्रको पनि क्रान्ति हो र क्रान्तिको सबैभन्दा क्रान्तिकारी पक्ष कामदार महिलाहरूको उत्थान र विकास हो” भन्ने विचारलाई असेलाले मनन् गरिन् र आफ्नो जीवन क्रान्तिको उपलब्धि जोगाउने र कामदार महिलाहरूको शिक्षा, स्वास्थ्य र मुक्तिका निम्ति समर्पण गरिन् ।
उनी आजीवन एफ.एम.सी.को केन्द्रीय समितिमा थिइन् र महासचिवका निम्ति सल्लाहकार थिइन् । सन् १९६५ मा असेलाले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरिन् र केन्द्रीय सदस्य बनेर सन् १९७५ देखि १९९१ सम्म काम गरिन् । सन् १९६६ देखि १९७० सम्म एक क्याप्टेनको रूपमा क्रान्तिकारी सैन्यशक्तिका लागि शिक्षा निर्देशक बनेर काम गरिन् । उनले कामिलो सियनफुगस सैन्य विद्यालय (Camilo Cienfuegos Military School) स्थापनाको निम्ति सघाइन् । जुन विद्यालयहरूले शैक्षिक डिग्रीसँगै विद्यार्थीहरूलाई सैन्य सीप र तालिमहरू दिने गर्थे ।
सन् १९७० मा डि लस सान्टोस शिक्षा मन्त्रालयमा व्यक्तिगत तालिमका लागि निर्देशक नियुक्त भइन् । सन् १९७४ देखि १९७९ सम्म उनी उपशिक्षामन्त्रीको जिम्मेवारीमा थिइन् । सन् १९७९ देखि १९८१ सम्म उनले शिक्षामन्त्री बनेर क्युवा र क्युवाली जनताको सेवा गरिन् । शिक्षिका बन्छु भनेर विश्वविद्यालय प्रवेश गरेकी असेलाले लामो समय देशको शैक्षिक भविष्यको निम्ति आफूलाई समर्पित गरिन् ।
उनका निम्ति क्रान्तिमा महिला सहभागिता र क्रान्तिपछि महिलाहरूको जीवनमा आएको परिवर्तनले ठुलो अर्थ राख्थ्यो । उनी भन्ने गर्थिन् –“जतिबेला क्युवामा क्रान्तिकारी सङ्घर्ष सघन बन्दै थियो तब महिलाहरूले आफ्नो भविष्य र सम्भावनाका ढोकाहरू खुलेको अनुभव गरे । क्रान्तिमा महिला सहभागिता र भूमिकाले वास्तवमै सदिऔँदेखि दबिएका महिलाहरूलाई स्वतन्त्रता दिलायो, शिक्षा र राजनीतिक अधिकार दिलायो । त्यसकारण, क्रान्तिमा महिला सहभागिता महिलाहरूको रोजाइ थियो । लाखौँलाख कामदार महिलाहरू स्वइच्छाले क्रान्तिमा होमिएका थिए ।” असेला भन्ने गर्थिन्, “त्यही समाजवादी क्रान्तिले कामदार महिलाहरूको भाग्य बदल्यो ।”
असेलाले आरक्षण विभाग सचिव जोसे रामोन फर्नान्डेजसँग विवाह गरिन् । फर्नान्डेज मन्त्रीपरिषद्का उपाध्यक्षसमेत थिए । फर्नान्डेज सन् १९६१ को लडाईंका एक कमान्डर थिए र संरा अमेरिकाको ‘बे अफ पिग’ आक्रमणलाई परास्त पार्न लड्ने योद्धा थिए ।
डि लस सान्टोसले सन् २००९ मा अर्डर प्लाया गिरोन Order of Playa Giron को उपाधि पाइन् । सन् २०११ मा ‘हिरो अफ लेबर’ को उपाधिबाट विभूषित भइन् । उनले जीवनको उत्तराद्र्धसम्म क्रान्तिकारी सैन्यशक्तिको इतिहास अध्ययन र खोजमा समय व्यतीत गरिन् ।
सन् २०२० जनवरी २३ मा उनको दुखद निधन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *