भर्खरै :

हस्तक्षेप र सीमा अतिक्रमणले सम्बन्ध गहिरो नहुने

हस्तक्षेप र सीमा अतिक्रमणले सम्बन्ध गहिरो नहुने

काठमाडौँ, १ असोज । देशलाई जोगाउनु र बनाउनुपर्छ† यसमा सन्देह छैन । देश जोगाउन र बनाउन शासकहरू जागरूक हुनुपर्छ । देश विकास गर्ने आधार विदेशी शक्ति राष्ट्र होइन स्वदेशी सरकार र जनता नै हुन् । देशका निर्माणकर्ता जनता नै हुन् । विदेशमा मागेर देश कहिल्यै विकास र आत्मनिर्भर हुँदैन । कुनै देशको सहयोगले केही मद्दत मिल्ला या केही काम पूरा होला । देश विकास गर्न सरकार र जनता नै जागरूक हुनुपर्छ । विगतमा शासकहरूले स–साना काममा पनि विदेशीसँग सहयोग मागे । सहयोगले नै देश चलिरहेको छ भनी उनीहरूले देश विकास गर्ने पाइला चालेनन् या पूर्वाधार तयार गरेनन् । विदेशीले सहयोगको कुरा गरेपछि देशको अस्मिता या सार्वभौमसत्तामा आँच पुग्ने काममा पनि सरकारले आँखा चिम्लेर असमान सन्धि सम्झौतामा हस्ताक्षर गरेको आलै छ ।
कुनै देशले मित्रवत् ढङ्गले सहयोग गर्नु नराम्रो होइन । तर, कुनै सहयोगमा सर्त राख्छ या देशबाट केही पाउने आशाले सहयोग गर्छ भने त्यो वास्तविक सहयोगभन्दा लोभ देखाएको भन्नुपर्ने हुन्छ । भारतीय शासकहरूले केही सहयोग दिएर देशको प्राकृतिक स्रोत, साधन, उद्योगधन्दामा आँखा गाडेका थिए† आफ्नो कब्जामा लिएका थिए । यही कारण नेपालका धेरै प्राकृतिक स्रोत र साधन गुमेकै हो । नेपाल–भारतको सीमा स्तम्भ नेपालतिर सारिएको छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पारिएकै हो । देशमा सरकारले नेतृत्वको परिवर्तनसँगै भारतले आवश्यक सहयोग गर्ने वचन दिएको खबर विभिन्न सञ्चारमाध्यममा आएको छ । सहयोगको त्यो वचन केको लागि हो ? त्यसबारे नयाँ सरकार गम्भीर हुनुपर्छ ।
हरेक देश स्वाधीन र सार्वभौम हुन्छ । सहयोगको नाउँमा देशका शासकहरू लम्पसार पर्नुहुँदैन । अहिले नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच बिहीबार (आज) द्विपक्षीय फोन वार्ता हुने खबर छापामा आएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयबिचको आन्तरिक समन्वयपछि दुवै प्रमबिच वार्ताको कार्यक्रम तय भएको हो । तर, के विषयमा वार्ता हुने हो ? सोको विषय टुङ्गिएको छैन । नेपाल र भारतबिचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने भारतको प्रतिबद्धता भनिन्छ तर अहिलेसम्म भारतीय सरकारले नेपाल र नेपालीको अहितमा सन्धि सम्झौता गरेको बग्रेल्ती उदाहरण छन् । दुई देशबिच गहिरो सम्बन्ध कायम रहेको दाबी भारतीय पक्षको भए पनि यथार्थमा भारतले नेपालमा मिचेको, थिचेको र हस्तक्षेप गर्ने गरेको छ । भारतीय पक्षको हस्तक्षेप र सीमा अतिक्रमण सहेर दुई देशबिचको सम्बन्ध कसरी गहिरो हुन्छ ? दुई देशबिच कसरी मैत्रीपूर्ण सम्बन्ध हुन्छ ?
नेपाल सरकार कहिले पनि विदेशीको भरमा बस्नु हुँदैन । आपत्विपत्को बेला राहत, भौतिक सामग्री या आर्थिक सहयोग गर्नु स्वाभाविक हो । तर, संरा अमेरिकाले युक्रेनमा हातहतियारको सहयोग गरेबापत खनिज पदार्थमा आँखा गाडेझैँ भारतले नेपालमा आँखा गाडे ठीक हुँदैन । भारतीय एकाधिकार पुँजी र विदेशवादी नीतिप्रति नेपाल सरकार चनाखो हुनुपर्छ । नत्र, देश फेरि विगतमा झैँ फस्दै जानेछ† नेपाल जहिल्यै भारतनिर्भर भएर बस्नुपर्ने हुन्छ । भारतको थिचोमिचो र हेपाहाले नै नेपाली जनताले भारतीय विस्तारवादको विरोध गरेका हुन् । भारतीय सरकारले नेपाल र नेपाली जनताको विश्वास जित्न नसक्नु पनि हस्तक्षेप र दबाब नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *