भर्खरै :

सांस्कृतिक गुरुहरू सम्मानित

सांस्कृतिक गुरुहरू सम्मानित

भक्तपुर सांस्कृतिक नगर हो । भक्तपुर प्राचीन बस्तीको सहर हो । भक्तपुर कला र संस्कृतिमा धनी सहर हो । भक्तपुर नाचगानको राजधानी हो । भक्तपुर सभ्यता र संस्कार बोकेको सहर हो । भक्तपुर पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको छ । भक्तपुर सम्पदा संरक्षित सहर हो । भक्तपुर शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि अग्रणी स्थानमा छ । भक्तपुर सरसफाइ भएको सहर हो । यहाँ असङ्ख्य मठ, मन्दिर, पाटी – पौवा, सत्तल, पोखरी, इनार, ढुङ्गेधारा, चैत्य, विहार र वहालहरू छन् । यहाँका पुराना आफ्नै मौलिक शैलीको घर छ । पुर्खाले सिर्जेको कला र संस्कृतिको अनुपम नमुना भएको भक्तपुरमा नाचगान र वाद्यवादकमात्र होइन कलाकारहरूको सहर पनि हो ।

मूर्तिकार, शिलाकार, लोहँकर्मी, डकर्मी, सिकर्मी, ताम्राकार, वास्तुकलाकार, मृत्तिकाकार, काष्ठकलाकार वाद्यवादक तथा नाचगानमा संलग्न सांस्कृतिक गुरुहरू भएको सहर पनि हो भक्तपुर । यहाँका नाचगान र वाद्यवादक गुरुहरू जीवन पर्यन्तसम्म नाच्छन्, बाजा बजाउँछन् र गीत गाउँछन् । निःस्वार्थ र इमानदारीपूर्वक नाचगान, वाद्यवादनमा जीवनभर अर्पित सांस्कृतिक गुरुहरूको बिहीबार भक्तपुर नगरपालिकाले एक विशेष समारोहबिच सम्मान ग¥यो । विभिन्न नाचगान र वाद्यवादनका अग्रजहरूको सो सम्मान गर्नुको अर्थ उनीहरूको कला, सीप र अनुभवको कदर गर्नु हो । सरकारले नदेखेका, नचिनेका तर समाज र जनताले चिनेका या जनताबिच परिचित अग्रजहरूको सम्मान या कदर स्वागतयोग्य छ । अग्रज सांस्कृतिक गुरुहरू आ–आफ्नो सीप या कला नयाँ पुस्तालाई हस्तान्तरण गराउने काममा लागेका छन् । यो राम्रो पक्ष हो । सम्मानित हरेक गुरुहरूले नयाँ पुस्तालाई विभिन्न बाजा र नाचगान सिकाउँदै छन्† सिकाउँदै जानुपर्छ नत्र बुढा मरेभाषा सरे भनेझैँ यहाँका नाचगान लोप हुँदै जानेछ ।

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष सांस्कृतिक गुरुहरूको सम्मान गर्दै आएको हो । यो वर्ष पनि भनपाले परम्परागत तथा आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहलाई पुरस्कार वितरण गरेको छ । यो वर्ष भनपाले १० जना सांस्कृतिक गुरुलाई सम्मान गरेको हो । सांस्कृतिक गुरुहरूसँग औपचारिक लेखपढको प्रमाणपत्र नभए पनि नाचगान र वाद्यवादनको ज्ञान, सीप र कला छ । यो ज्ञान, कला र अनुभव विद्यालयका शिक्षक र विश्वविद्यालयका प्राध्यापकको भन्दा कम छैन । सरकारले नदेखेका सांस्कृतिक गुरुहरूलाई हौसला दिन र नयाँ पुस्तामा हस्तान्तरण गराउने कार्यमा प्रेरित गर्न थालेको सांस्कृतिक गुरुको सम्मान स्वागतयोग्य छ । भनपाले अग्रज गुरुहरूको सम्मानको साथै देश विदेशमा उत्कृष्ट रहेका खेलाडीहरूको पनि सम्मान गर्दै आएको छ । भनपाको अर्को महत्वपूर्ण पक्ष बाजागाजाको प्रतियोगिता पनि हो । खेलकुद प्रतियोगिताले टोल–टोलमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तयार गर्दै छ भने बाजाको प्रतियोगिताले टोल–टोलमा बाजाको विस्तारमात्र होइन यहाँ रहेका अनेक बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा सहयोग पु¥याएको छ ।
भक्तपुर नगरपालिका सफा नगरहरूमध्ये एक हो । यहाँका अधिकांश सम्पदाको मर्मत, सम्भार तथा पुनः निर्माण भइसकेको छ । सम्पदा संरक्षण गर्ने कार्य अझै भइरहेको छ । भक्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा सूचिकृत छ । टौमढी क्षेत्र पनि विश्व सम्पदा सूचीमा परेको छ । यसबाहेक दत्तात्रयजस्ता विभिन्न सम्पदा स्थल र पुराना नगरका दायाँ बायाँका स्थलहरू सम्पदा भित्रै परेका छन् । यहाँका पहिलेका घरहरूको आफ्नै मौलिकता छ । यहाँका घरका झयालहरू एकमुखे, तीनमुखे, पाँचमुखे अर्थात् बेजोडामुखी हुन्छ । हरेकजस्तो घर इँटा माटोले बनेको हुन्छ । हरेक घर चारतले हुन्छ । पहिलेझैँ यहाँका हरेक घरलाई पुरानै शैलीमा कायम राख्न भनपाले प्रत्येक वर्ष आर्थिक सहयोग गर्दै छ ।
भक्तपुरको मौलिक शैली कायम राख्न या जीवित सङ्ग्रहालय या मौलिक शैलीको जीवन्त सहर बनाइराख्न नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले ‘सय वर्षपछिको भक्तपुर’ को अवधारणा अगाडि ल्याउनुभएको हो । भक्तपुुरलाई मौलिक शैलीमा जीवन्त सहर बनाउन सकेमा भक्तपुर बाह्य तथा आन्तरिक पर्यटकहरूको केन्द्र बन्ने छ । यहाँ हजारौँ हजार पर्यटक आउनेछन् । भक्तपुर साँच्चै पर्यटकहरूको केन्द्र बन्ने छ । पर्यटकहरू नै यहाँको मुख्य आयस्रोत बन्ने छ । उनीहरूकै आयस्रोतबाट भक्तपुरलाई अझ आकर्षक र सभ्य नगर बनाउने छ । यसकारण, भक्तपुर नगरपालिकाले थालेको सांस्कृतिक गुरुहरूको सम्मान, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूको सम्मान, विभिन्न बाजागाजाहरूको प्रतियोगितालाई चालु राख्नु आवश्यक छ । त्यस्तै गुन्हिपुन्ही सापारुको अवसरमा आयोजित विभिन्न नाचगानहरूको प्रतियोगितालाई पनि चालु राख्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *