कला : जीवन–दर्शन र यथार्थ – ४
- आश्विन १०, २०८२
के तपाईँले बेलुन फुट्दाको दृश्य सोच्नुभएको छ ? बेलुनमा थोरै–थोरै हावा थपिँदै जाँदा सुरुमा केही हुँदैन तर सीमा पुग्दा थोरै थपिएको हावाले पनि बेलुन फुटाइदिन्छ । साँचो कारण भने त्यो अन्तिम हावा नभई अघिल्ला सबै हावाले बनाएको दबाब हो ।
विज्ञान र समाजको समानता
ठीक त्यसरी नै बेलुन फ्ट्नुको नियम समाज र राजनीतिमा पनि हुन्छ । भौतिकशास्त्रले देखाउँछ, स–सानो परिवर्तनले तुरुन्तै ठुलो परिणाम ल्याउँदैन तर निरन्तर बढ्दै गएर एउटा स्तर पार गरेपछि मात्र विस्फोट हुन्छ । बेलुनको उदाहरण यहाँ सबैभन्दा सरल छ । हावाको हरेक कणले तुरुन्तै बेलुन फोड्दैन तर सञ्चित दबाबले अन्ततः बेलुनलाई फुटाउँछ । हावाको अन्तिम मात्रा केबल सङ्केत हो, कारण होइन । राजनीति र समाजमा पनि आन्दोलन उस्तै प्रक्रिया हो ।
सन् २०१९ मा चिलीमा भएको आन्दोलनलाई सामाजिक विस्फोटको जीवित उदाहरणको रूपमा लिन सकिन्छ । सान्तियागोमा मेट्रो रेलको भाडा करिब ४ सेन्टले मात्र बढाइयो, जुन सतहमा हेर्दा अत्यन्त सानो महँगीजस्तो देखिन्थ्यो । तर, यसले देशव्यापी आन्दोलनलाई जन्म दियो । यसको मूल कारण भने तत्कालीन भाडा वृद्धि मात्र होइन बरु लामो समयदेखि सञ्चित असन्तोष थियो ।
चिली ल्याटिन अमेरिकामै सबैभन्दा बढी असमानता भएको देश मानिन्थ्यो । सामान्य जनतालाई शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सहज पहुँच थिएन । साथै, अगस्टो पिनोचे शासनकालको संविधान कायम रहनु पनि नागरिक असन्तुष्टिको एक प्रमुख कारण थियो । यी सबै समस्या वर्षौँदेखि जम्मा भइरहेका थिए तर सतहमा प्रत्यक्ष देखिएको घटना भने रेलको भाडा वृद्धि थियो । त्यसैले, भाडा वृद्धिलाई अन्तिम ‘हावा’ मात्र मान्न सकिन्छ, जबकि वास्तवमा आन्दोलनलाई जन्म दिने शक्ति दशकौँदेखि बढिरहेको असमानता र संरचनात्मक समस्याहरू नै थिए ।
श्रीलङ्काको २०२२ सङ्कट एउटा पीडादायी कथाजस्तै थियो, जहाँ आमजनताको दैनिक जीवन नै ध्वस्त पारियो । सरकारको असफल आर्थिक नीतिले देशलाई निरन्तर डुबाउँदै लग्यो, विदेशी ऋणको भारी बोझ र असन्तुलित खर्चले राष्ट्रको मेरुदण्ड नै कमजोर बनाइदियो । अन्ततः जब घरमा पकाउने चामल पाउन गा¥हो भयो, पेट्रोलपम्पमा लाइनै लागेर पनि इन्धन नपाइने अवस्था आयो र औषधि खोज्दा खाली ¥याकमात्र देखियो, त्यतिबेला श्रीलङ्काली जनताले सहन सक्ने सीमा पार गरिसकेका थिए । सडकमा उठेको आवाज पेट्रोल वा बिजुली काटिएको पीडाको प्रतिक्रियामात्र थिएन, त्यो दशकौँदेखि हुँदै आएको आर्थिक दुरूपयोग, भ्रष्टाचार र राजापाक्षे परिवारको सत्तामाथि निरङ्कुश नियन्त्रणप्रतिको विस्फोट थियो । यसरी अन्तिम क्षणमा देखिएका अभावहरू चिङ्गारी मात्र बने तर आगो भने वर्षौँदेखि जनताको मुटुमा जमेको असन्तोषकै परिणाम थियो ।
सन् २०२४ मा बङ्गलादेशमा विद्यार्थी आन्दोलन अचानक तीव्र गतिमा फैलियो र देशको राजनीतिक–सामाजिक जीवनलाई हल्लाइदियो । यस आन्दोलनको प्रत्यक्ष कारण भनेको कर्मचारी भर्ती प्रणालीमा लागु गरिएको आरक्षण नीतिप्रति गहिरो असन्तोष थियो । विद्यार्थीहरूले यसलाई न्यायसङ्गत अवसरमा अवरोध गर्ने व्यवस्था भनेर बुझेका थिए । तर, समस्या केवल आरक्षणसम्म सीमित थिएन । लामो समयदेखि युवाहरू बेरोजगारीको पीडामा थिए, उनीहरूलाई आफ्ना क्षमताअनुसार अवसर प्राप्त गर्ने सम्भावना झन् न्यून हुँदै गइरहेको थियो । राजनीति र प्रशासनमा दलगत पकडले निष्पक्ष प्रणालीलाई कमजोर बनाएकोमा युवा पुस्ता आक्रोशित थिए । असमान अवसर र भविष्यप्रतिको अनिश्चितताले युवाहरूलाई आन्दोलनमा सामेल हुन अझ प्रेरित ग¥यो ।
सरकारले सुरुवाती चरणमा आन्दोलन दबाउन खोज्यो तर दमनकारी उपायले स्थिति झन् चर्कियो । सडकमा विद्यार्थीहरूको लहर अझ ठुलो भयो, नारा झनै बुलन्द भयो । अन्ततः सरकारलाई आफ्ना निर्णयप्रति पुनर्विचार गर्न बाध्य बनाइयो । यसरी, युवा पुस्ताको आवाजलाई दबाउन सकिँदैन बरु उनीहरूको असली माग सुनेर दीर्घकालीन समाधान खोज्न सकिन्छ भन्ने कुरा बङ्गलादेशको विद्यार्थी आन्दोलनले देखायो ।
नेपालमा हालसालै देखापरेको ‘जेन–जी’ आन्दोलन अझै ताजा स्मृतिमा छ । सतहमा हेर्दा यसको प्रत्यक्ष कारण सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय थियो । नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले युवापुस्तालाई सडकमा ल्यायो तर वास्तविकता योभन्दा धेरै गहिरो थियो । यसको जरा भने बेरोजगारी, असमानता, भ्रष्टाचार, भात्तिजावाद र नेतृत्वप्रतिको निराशामा थियो । अर्थात्, अन्तिम घटना केबल एउटा बहाना हो, तर आन्दोलनलाई जन्म दिने कारक तत्व भने लामो समयदेखिको सञ्चित पीडा र असन्तुष्टि नै हो ।
नेपालका युवाहरूले लामो समयदेखि बेरोजगारीको पीडा भोगिरहेका छन् । ठुलो सङ्ख्यामा युवा रोजगारीको खोजीमा वैदेशिक श्रम बजारमा निर्भर रहँदा उनीहरूको भविष्यप्रतिको निराशा बढाएको छ । त्यसमाथि देशभित्र व्यापक भ्रष्टाचार र दण्डहीनताले न्याय र अवसरको विश्वास तोड्दै आएको छ । शिक्षाले भविष्य सुरक्षित गर्ने अपेक्षा पूरा गर्न नसकेको अवस्थामा शिक्षा प्रणालीप्रतिको असन्तोष पनि गहिरो छ । यी सबैसँगै राजनीतिक दलहरूप्रति रहेको अविश्वासले युवा पुस्ताको मनमा असन्तोषलाई अझ तीव्र बनाएको छ ।
‘जेन–जी’ पुस्ता डिजिटल–साक्षर मात्रै होइन, उनीहरू स्वतन्त्रतालाई आफ्नो जीवनको मुख्य मूल्यका रूपमा मान्छन् । उनीहरूको दृष्टिमा सामाजिक सञ्जाल बन्द गर्नु इन्टरनेट नियन्त्रणमात्र नभई व्यक्तिगत स्वतन्त्रता खोस्ने सङ्केत थियो । यही कारणले उनीहरू सडकमै ओर्लिए र आफ्ना आवाजलाई ठुला नारा र प्रतिरोधमार्फत सार्वजनिक गरे ।
यी आन्दोलनहरूलाई चिली, श्रीलङ्का र बङ्गलादेशसँग तुलना गर्दा एउटा समान धागो भेटिन्छ । आन्दोलन कहिल्यै पनि अन्तिम कारण वा सानो निर्णयका कारण मात्र सुरु हुँदैन, बरु लामो समयदेखि सञ्चित असन्तोषले अन्ततः विस्फोट ल्याउँछ । युवा पुस्तालाई भविष्यको चिन्ता सबैभन्दा बढी हुने हुँदा यस्ता आन्दोलनमा युवा पुस्ता सधैँ अग्रपङ्क्तिमा देखिन्छ । त्यस्तै, सरकारले अपनाएको गलत प्रतिक्रिया, दमन वा बेवास्ताले आन्दोलनलाई शान्त पार्ने होइन, झन् चर्काउने काम गर्छ ।
चिलीको रेलभाडा, श्रीलङ्काको इन्धन सङ्कट, बङ्गलादेशको आरक्षण नीति वा नेपालको सामाजिक सञ्जाल बन्द, यी सबै अन्तिम थोपा हावामात्र थिए । वास्तविक बेलुन फुटाउने शक्ति भने लामो समयदेखि जम्मा हुँदै आएको असन्तोष हो । विज्ञानको नियम समाजमा पनि लागु हुन्छ, सञ्चित दबाबले अन्ततः विस्फोट ल्याउँछ । नेपालका युवाहरूले देखाएको चेतावनीलाई सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ । अन्यथा, सानो निर्णय पनि ठुलो राजनीतिक सङ्कटको कारण बन्छ ।
Leave a Reply