सरकारको निर्मम दमन नै सबैको लागि असह्य
- आश्विन ९, २०८२
कुन सरकारले कुन वर्गका जनताको प्रतिनिधित्व गर्छ भन्ने कुरा बखानले होइन काम या व्यवहारले थाहा हुन्छ । सरकारको नेतृत्व परिवर्तन हुँदैमा सरकार गतिलो हुन्छ या बहुमत जनताको प्रतिनिधित्व गर्छ भन्ने होइन । देशमा बहुदलीय व्यवस्था आएपछि दर्जनौँ पटक सरकार फेरियो; दलका धेरै नेताहरूले शासन गरे; काम गर्ने प्रतिबद्वता व्यक्त गरे; आश्वासन बाँडे । तर, देशका जनता खुसी छैनन्† सन्तुष्ट छैनन् । प्रजातन्त्रवादी, जनवादी र क्रान्तिकारी भन्ने दलको नेतृत्वमा पटक पटक सरकार गठन भए पनि किन कुनै दलले चित्तबुझ्दो काम गर्न सकेन ? युवा पुस्ताको आन्दोलनले शक्तिशाली सरकार पनि टिकेन । यसले थाहा हुन्छ, सङ्घर्ष या आन्दोलनले सरकारको नेतृत्व पल्टाउँछ । तर, सन्दर्भ सरकारको हेरफेर मात्र होइन । सरकार हेरफेर हुँदैमा बनेको सरकारले सही या राम्रो काम गर्छ भन्ने होइन । कुनै दल, समूह या व्यक्तिको नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हो । त्यो सरकारले देश र जनताको निम्ति महत्वपूर्ण काम के ग¥यो भन्ने कुरा महत्वपूर्ण हो । सरकारले देश र जनताको निम्ति उल्लेखनीय काम गर्दैन भने त्यो सरकार पनि जति जोगी आए पनि कानै चिरेको भनेझैँ हुनेछ ।
शासकहरू जहिले पनि देश र जनताकेन्द्रित हुनुपर्छ । मन्त्रीहरूले यो सरकार निर्वाचन गर्न र गराउनको निम्ति मात्र गठन भएको कुरा सोच्नु हुँदैन । निर्वाचनको घोषणा भएपछि निर्धारित समयमा सरकारले निर्वाचन गराउनुपर्छ । निर्वाचन निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्छ । निर्वाचन गराउने जिम्मा निर्वाचन आयोग र सरकारको हो; यसमा सन्देह छैन । तर, सरकार निर्वाचन गर्ने र गराउनेमा मात्र केन्द्रित हुनु हुँदैन । जनता सुरक्षित हुनुपर्छ; तोडफोड र आगजनी काम रोक्नुपर्छ । सरकारको नेतृत्व बदल्नको निम्ति विध्वंस गर्नैपर्ने मान्यता सही होइन । विध्वंस मच्चाएर सरकारको नेतृत्व परिवर्तन भए पनि देश र जनताको निम्ति उल्लेखनीय काम भएन भने, गर्न सकिएन भने सरकार परिवर्तनको के अर्थ रह्यो ? यसकारण, सरकारको नेतृत्व परिवर्तन मुख्य कुरा होइन† समाज बदलेर देश र जनताको हितमा काम गर्नु महत्वपूर्ण कुरा हो । यस कार्यमा सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार कति सफल होला ? विचारणीय छ ।
अहिले आश्वासन बाँड्ने समय होइन† काम गरेर देखाउनुपर्ने समय हो । हो, अहिले देश बनाउने समय आएको छ । सरकारमा रहेका मन्त्रीहरू रात दिन देश र जनताको निम्ति के काम गर्दा भलो हुन्छ भनी चिन्तन मनन गर्ने बेला हो यो । यसभन्दा अघिको सरकारले सुशासन ल्याउन सकेन; न्याय दिन सकेन† भ्रष्टाचार अन्त्य गर्न पहल गरेन भन्ने प्रम कार्कीले अहिले गरेर देखाउनुपर्छ । हिजोको सरकारझैँ अहिलेको सरकारको पनि दिन बित्यो भने हिजो र आजको सरकारको भिन्नता कसरी देखाउने ? अब राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा कहिले पनि नेपालको छविमा दाग नलागोस् भन्ने ध्येयले सरकार अघि बढ्नुपर्छ । सरकारले सीमा सुरक्षा गर्नुपर्छ; शान्ति सुरक्षा दिनुपर्छ । विदेशी शक्ति राष्ट्रसामु नेपाल र नेपालीको अहितमा कुनै असमान सन्धि सम्झौता सरकारले गर्नु हुँदैन । यहाँ विगतमा झैँ फेरि भ्रष्टाचार र अनियमितताका प्रकरणहरू दोहोरिनु हुँदैन । सरकार आफ्नो व्यक्तिगत लाभ र दलीय स्वार्थमा फस्नु हुँदैन । यस्ता घटना दोहोरिएमा फेरि अर्काे आन्दोलन हुन बेर लाग्दैन । आन्दोलनले नयाँ सरकार बन्यो भनेर सबै दलप्रति अविश्वास गर्ने यत्न पनि सही होइन । व्यक्ति भ्रष्टाचार हुनसक्छ तर दल भ्रष्टाचारी हुनसक्दैन । दल र देश दलका नेताहरूको कारण बदनाम हुन्छ ।
अब देश भ्रष्टाचारमुक्त हुनुपर्छ । अब देशमा पारदर्शी हुनुपर्छ । अब देशमा जनमुखी शासन हुनुपर्छ । अब सरकारले जनताको विश्वास जित्ने काम गर्नुपर्छ । देश विकासको लागि मार्गचित्र कोर्नुपर्छ । देश र जनताको आवश्यकता पूरा गर्ने बाटो कोर्नुपर्छ । सरकारको सफलता सिंहदरबारमा मन्त्री बनेको रेकर्ड मात्र राख्नु होइन; उदाहरणीय काम गर्नुपर्छ । सरकारको काम देखेर, हेरेर जनताले पुस्तौँ पुस्तासम्म सम्झिरहून् । यसको निम्ति समर्पण चाहिन्छ, अठोट चाहिन्छ, दृढता चाहिन्छ† आइपर्ने चुनौतीसँग सामना गर्नुपर्ने हुन्छ । यो आन्दोलनले बनेको सरकार हो । आन्दोलनले बनेको सरकारका मन्त्रीहरूमा जोश र आँट चाहिन्छ । यही बेला देश र जनताको निम्ति काम गर्ने हो भन्ने अठोट चाहिन्छ । नयाँ आन्दोलनले नयाँ सरकार गठन गरेर गर्व गर्नुभन्दा देश र जनताप्रति समर्पित भएर काम गर्नुपर्छ । अनि मात्रै सरकार गठन गर्दाको सार हुन्छ र सफलताको अनुभूति हुन्छ । के यस कार्यमा अन्तरिम सरकार सफल होला ?
Leave a Reply